म्याथ्यु हेडनकी छोरी विश्वकप क्रिकेटमा टेलिभिजन प्रस्तोताको भूमिकामा
काठमाडौँ । आफ्नो समयका प्रभावशाली क्रिकेटर हुन्, म्याथ्यु हेडन । अस्ट्रेलियन टोलीले हासिल गरेको थुप्रै अन्तर्राष्ट्रिय सफलतामा उनको महत्त्वपूर्ण योगदान रहेको छ ।
सक्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी—२० अन्तर्राष्ट्रिय गरी तीनवटै ढाँचाको प्रतियोगिता खेलेका थिए ।
हेडनले दुईपटक अस्ट्रेलियाका लागि एकदिवसीय विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान पनि गरेका छन् । हेडनसहितको अस्ट्रेलियन टोलीले सन् २००३ र सन् २००७ मा एकदिवसीय विश्वकपको उपाधि उचालेको थियो ।
एकदिवसीय विश्वकपको १३औँ संस्करण अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना हुँदैछ । यो विश्वकपमा ग्रेस हेडन नामकी एक युवति निकै चर्चामा छिन् । उनी आईसीसी एकदिवसीय विश्वकपमा पहिलो पटक टेलिभिजन प्रस्तोताका भूमिकामा देखा पर्न लागेकी हुन् ।
१३औं एकदिवसीय विश्वकपमा आफ्नो नाम टेलिभिजन प्रस्तोताका रुपमा अगाडि आएदेखि नै ग्रेस हेडन समाचारको विषय बन्न पुगेकी छन् । उनी समाचारको विषय बन्नुको खास कारण उनका पिता हुन् । खासमा ग्रेस हेडन आफ्नो समयका चर्चित क्रिकेटर म्याथ्यु हेडनकी छोरी हुन् ।
‘विश्वकपको मैदानमा म्याथ्यु हेडनको प्रतिबिम्ब’ ग्रेस हेडनको विषयमा लेखिएको एक समाचारमा भनिएको छ, ‘पहिले म्याथ्यु हेडनले विश्वकप क्रिकेट हल्लाएका थिए अब उनकी छोरी ग्रेस हेडन विश्वकपसँग जोडिन पुगेकी छन् ।’
आगामी एकदिवसीय विश्वकपको आधिकारीक प्रशारण संस्था ‘स्टार स्पोर्टस’ हो । विश्वकपका खेलहरुको प्रत्यक्ष प्रशारण स्टर स्पोर्टसले नै गर्नेछ । सोही प्रयोजनका लागि स्टार स्पोर्टसले ग्रेस हेडनलाई आफ्नो टोलीमा समावेश गरेको हो ।
विश्वकपका क्रममा ग्रेस हेडनले मयन्ती लेंगर, जतिन सप्रु, रिकी पोन्टिङ र इयोन मोर्गनसँग मिलेर काम गर्नेछिन् । मयन्ती लेंगरको सम्बन्ध पनि क्रिकेटर परिवारसँग जोडिएको छ । उनी स्टुअर्ट बिन्नीकी पत्नी र रोजर बिन्नीकी बुहारी हुन् ।