बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय

भारतमा एउटा मिडियाको कार्यालय र त्यसमा कार्यरत विभिन्न पत्रकारको घरमा छापा

मङ्गलबार, १६ असोज २०८०, १५ : ३९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । भारतीय न्युज वेबसाइट ‘न्यूजक्लिक’सँथ आबद्ध केही पत्रकारको घरमा मंगलबार बिहान दिल्ली प्रहरीले छापा मारेको छ । प्रहरीले छापा मार्ने क्रममा मोबाइल, ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्री जफत गरेको जनाइएको छ ।

समाचार एजेन्सी ‘पीटीआई’ले एक अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार दिल्ली प्रहरीको ‘स्पेसल सेल’ले आरोपपत्र दायर गरी अनुसन्धान सुरु गरेको छ । ‘एएनआई’ समाचार एजेन्सीले ‘न्यूजक्लिक’सँग सम्बन्धित ३० भन्दा बढी स्थानमा छापा मारिएको जनाएको छ ।

प्रहरीले आतंकवाद विरोधी कानुन ‘यूएपीए’ अन्तर्गत मुद्दा दर्ता गरेको छ । सन् २००९ मा स्थापना भएको ‘न्यूजक्लिक’लाई भारतको वर्तमान सरकारको आलोचक मानिन्छ । केही अघि यो न्युज पोर्टलमाथि चीनसँग आर्थिक सहयोग लिएको आरोप लागेको थियो ।

उक्त न्युज वेबसाइटका सम्पादक प्रबीर पुरकायस्थ, पत्रकार अभिसार शर्मा, औनिंद्यो चक्रवर्ती, भाषा सिंह, व्यङ्ग्यकार संजय राजौरा, इतिहासकार सोहेल हाशमी लगायतको घरमा छापा मारिएको जनाइएको छ । यीमध्ये केहीलाई सोधपुछका लागि प्रहरी कार्यालयमा लगिएको पनि केही सञ्चारमाध्यमले जनाएका छन् ।

पत्रकार अभिसार शर्माले ‘एक्स’ (यसअघि ट्वीटर भन्ने गरिएको) मा लेखेका छन्, ‘दिल्ली पुलिस मेरो घरमा आयो, पुलिसले मेरो ल्यापटप र फोन लग्दैछ ।’

अगस्ट २०२३ मा न्यूयोर्क टाइम्सको एक रिपोर्ट अनुसार ‘न्यूजक्लिक’ वेबसाइटलाई चीनको ‘प्रोपोगाण्डा’ फैलाउनका लागि एक अमेरिकी करोडपतिले लगानी गरेका थिए । त्यसपछि प्रहरीले वेबसाइटविरुद्ध मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो । यद्यपि, ‘न्यूजक्लिक’ले आफूमाथि लगाइएका आरोप अस्वीकार गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप