शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय

ॐबारे बोले दीनानाथ : भने–हटाउने कुरा सोच्न पनि सकिँदैन

मङ्गलबार, १६ असोज २०८०, १६ : ५९
मङ्गलबार, १६ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सचिव समेत रहेका पूर्वमन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । सामाजिक सञ्जालमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्दै आलोचना भइरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । 

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन ।’

उनले श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने भन्दै शब्दकोश र किबोर्डबाट नहटेको प्रस्ट पारेका छन् । ‘वैदिककादेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु’, पूर्वमन्त्री शर्माको भनाइ छ  । उनले संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप