शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय
दसैँ

मधेसका यी शक्तिपीठ जहाँ नवरात्रिमा विशेष पूजा हुन्छ

सोमबार, ०६ कात्तिक २०८०, ०६ : १४
सोमबार, ०६ कात्तिक २०८०

जनकपुरधाम । मधेसमा विशेष तरिकाले दसैँ मनाइन्छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न शक्तिपीठ छन् जहाँ नवरात्रिका अवसरमा विशेष पूजा गरिन्छ ।

खासगरी जनकपुरधाम, वीरगञ्ज र सप्तरीमा नवरात्रिका अवसरमा देवीको शक्तिपीठमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दछ । मन्दिरमा दर्शनार्थीको सहजताका लागि व्यक्तिगत, समुदायिक रुपमा, कतै  क्लवहरुको सक्रियतामा व्यवस्थापनको काम हुन्छ ।

घटस्थापनाकै दिनदेखि शक्तिपीठहरुमा लोक नृत्य, सांस्कृतिक कार्यक्रम लगायत विविध कार्यक्रम आयोजना हुन्छन् । अझ साँझ र बिहान मन्दिरहरुमा महिलाको भिडभाड बढी हुन्छ । प्रत्येक बिहान स्नान गरी मन्दिरमा पूर्जा अर्चना गर्नेको भिड घटस्थापनादेखि नै नवरात्रिभर हुन्छ ।

जनकपुरधामको राजदेवी मन्दिर, लहानको दुर्गा मन्दिर, सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, महोत्तरीको सोनामाई मन्दिर, सर्लाहीको चमेलीमाई मन्दिर, गौरको राजदेवी मन्दिर, पर्सामा गहवा माई मन्दिर र बारास्थित गढीमाई मन्दिरमा नवरात्रिभर दर्शनार्थीको भिड लाग्ने गर्दछ ।

यी हुन् मधेस प्रदेशका प्रमुख शक्तिपीठ–

राजदेवी मन्दिर, जनकपुरधाम(धनुषा)

Rajdevi-Janakpur1

मधेस प्रदेशको राजधानी जनकपुरधामस्थित राजदेवी मन्दिर प्रमुख शक्तिपीठ मानिन्छ । यो मन्दिरमा प्रत्येक वर्ष दसैँ र चैते दसैँमा भव्य मेला लाग्छ । मन्दिरलाई स्थानीय युवा क्लवले बेहुलीझैँ सजाएर मेला आयोजना गर्छन् । यहाँ नेपालमात्रै होइन, भारतका विभिन्न ठाउँबाट दर्शनार्थी आउने गर्छन् ।

राजदेवीलाई राजा जनकको कुलदेवी मानिन्छ । मधेसमै चर्चित यो मन्दिरमा नवरात्रभरि दर्शनार्थीहरुको अत्यधिक घुइँचो लाग्ने गरेको छ ।

यो मन्दिरमा एकैरात १५ हजारभन्दा बढी खसीबोका बलि दिइन्छ । अष्टमीको राति राजदेवी मन्दिरमा प्रत्येक वर्ष १५ हजारभन्दा बढी खसीबोका बलि चढाउने गरिन्छ ।

दुर्गा मन्दिर, लहान (सिराहा)

लहान नगरपालिका–७ स्थित दुर्गा मन्दिरमा यतिबेला भव्य मेला लागेको छ । यहाँ आसपासका जिल्ला तथा भारतबाट समेत भक्तजनहरु दुर्गा माताको दर्शन गर्न आउँछन् ।

देवीलाई भाकल गर्ने र मनोकांक्षा पूरा भएपछि सोही अनुसार बलि दिनका लागि यहाँ भक्तजन आउने गर्दछन् । यहाँको मेला दुर्गा मन्दिर पूजा समितिले आयोजना गर्छ । गत वर्ष यो मन्दिरमा दुर्गाको मूर्तिलाई ठुलो परिमाणमा सुनको गरगहना चढाइएको थियो ।

सोनामाई मन्दिर, औरही (महोत्तरी)

महोत्तरीको औरहीस्थित सोनामाई मन्दिरमा पनि नवरात्रिको समय दर्शनार्थीको ओइरो लाग्ने गर्दछ । यहाँ दसैँमा भूतमेला लाग्ने गरेको छ । दसैँको षष्ठी तिथिदेखि दशमीसम्म भूत, प्रेतात्माले सताएकाहरू मन्दिरमा आउने गर्दछन् ।

sonamai mahottari

जादु–टुनामुना (तन्त्रसिद्धी) तथा भूतबोक्सीमा विश्वास गर्नेहरुले तिनको प्रभाव नपरोस् भन्नका लागि घटस्थापनादेखि नै पूजापाठ गर्ने गर्दछन् । तान्त्रिक मान्यताअनुसार घटस्थापनादेखि महानवमीसम्मको अवधिलाई तन्त्रमन्त्रको साधना अभ्यास र परीक्षण गर्ने महापर्वको रुपमा लिने गरिन्छ । यसमा विश्वास गर्ने (कारनी) हरू बर्सेनि सोनामाई मन्दिरमा ओइरो लाग्ने गर्दछन् ।

कारनी र तिनका आफन्तहरु सोनामाइको प्रभावले तन्त्रमन्त्रको अवसरबाट मुक्ति मिल्ने विश्वासका साथ यहाँ आउने गर्दछन् । सोनामाइस्थानको ८ वर्ग किलोमिटर सीमा क्षेत्रभित्र पाइला टेक्नासाथ कारनीहरु काम्न सुरु गर्ने मन्दिरका पूजारी केदार झाको भनाइ छ । उक्त मेलामा शरीरको दुःख निवारणका लागि सोनामाइको शरणमा भक्तजनहरु आउने गरेको झा बताउँछन् ।

सोनामाईको मूर्ति राखिएकै मन्दिर परिसरमै पूर्वतर्फ राजदेवी काठको मौलो छ, जहाँ अदभूत मेला लाग्ने गर्छ । सोनामाईमा लाग्ने भूतमेला यस क्षेत्रमै प्रख्यात मेलाको रुपमा मानिन्छ ।

मेलामा महोत्तरी, सर्लाही, धनुषा, सिरहा, रौतहटलगायत नेपालका मकवानपुर, सुनसरी, मोरङ र काठमाडौंदेखि भारतका सीतामढी, मधुवनी र पटना सहरसम्मका मानिस आउने गर्छन् ।

सोनामाई मन्दिरमा भक्तजनहरूले भाकलको रुपमा बोकाको बलि दिने गर्छन् । यहाँ बाहिरबाट आउने श्रद्धालु भक्तजनहरुको सुविधालाई ध्यानमा राखेर आवास र खानपानको समेत व्यवस्था गरिन्छ ।

दुर्गा मन्दिर, मटिहानी (महोत्तरी)

यस्तै महोत्तरीको मटिहानीमा पनि दसैँमा दुर्गा मेला विशेष रुपले मनाइन्छ । नेपाल भारतको सिमानामा पर्ने यो ठाउँमा भव्य मेला आयोजना गरिन्छ ।

matihani-mahottari

व्यापारिक ठाउँ रहेकाले यहाँ पारीको मधवापुर र वारीको मटिहानीबिचका व्यापारीहरुबिच प्रतिस्पर्धात्मक रुपमा मेला लगाइन्छ । मूर्ति बिर्सजन गर्ने दिन नेपालीहरुले भारतमा र भारतीयहरुले नेपालमा मूर्ति बिसर्जन गर्दछन् ।

छिन्नमस्ता भगवती मन्दिर, सप्तरी

सप्तरी जिल्लाको छिन्नमस्ता भगवती मन्दिर पर्यटकको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा नवरात्रिको बेलामा बिहानदेखि रातिसम्म भिड लागेको हुन्छ । यहाँ भारतीय पनि ठूलो संख्यामा पूजाका लागि आउने गर्दछन् । 

chinnamasta

सप्तरीको राजविराजबाट १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिकास्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता मन्दिर प्रमुख ५१ शक्तिपीठमध्ये एक हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण रहेको यहाँ नवरात्रिमा बिहानदेखि रातिसम्म नेपाली तथा भारतीय श्रद्धालुको भिड लाग्ने गर्दछ ।

मन्दिरमा दसैँका बेला ठूलो उत्सव नै हुने गर्दछ । यस मन्दिरमा श्रद्धालुले भाकल पूरा भएपछि लड्डु र बोका चढाउने परम्परा छ । यहाँ छिन्नमस्ता भगवती, सखडा भगवती, सखडेश्वरी र सखडा माता भनेर पूजा–अर्चना तथा भाकल गरिन्छ । सखडेश्वरीको मस्तक अर्थात् शीर नभएका कारण भक्तजनले सो भगवतीलाई छिन्नमस्ता तथा छिन्नमस्तिका भगवती भनेर सम्बोधन गर्दछन् ।

कङ्कालिनी मन्दिर, भारदह (सप्तरी)

सप्तरी जिल्लाको राजविराजबाट २३ किलोमिटर पूर्व हनुमाननगर कङ्कालिनी नगरपालिकाको भारदहमा पर्ने कङ्कालिनी मन्दिर पनि सप्तरीको प्रमुख शक्तिपीठमध्ये एक हो । यो मन्दिरमा पूजा गरेपछि भक्तजनहरूको मनोकामना पूरा हुने जनविश्वास छ । यहाँ पनि नेपाल र भारतका श्रद्धालु–भक्तजन पूजाका लागि आउने गर्दछन् । दसैँमा यहाँ ठुलो मेला लाग्ने गरेको छ ।

Kankalini Mandir-Saptari

किम्बदन्ती अनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खनन् गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो । त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पूजा सुरू गरेका थिए ।

यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनले बोका, भेडा, राँगा, परेवा, हाँस, माछा आदि बलिदान सामग्रीसहित आउने गर्दछन् । यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा सयौँको संख्या बलि चढाइन्छ । मनोकामना पूरा भएकाहरूले यहाँ पञ्चबलिसमेत गर्छन् । यहाँ बर्सेनि ३० हजारभन्दा बढी बलि प्रदान हुने गरेको बताइन्छ ।

यहाँको मुख्य मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । यस मन्दिरमा पाँच स्तरको छाना छ ।

चमेली माई मन्दिर, सलेमपुर (सर्लाही)

सर्लाहीको सलेमपुरमा रहेको चमेली माई मन्दिरमा पनि दसैँका अवसरमा विशेष चहलपहल हुन्छ । यहाँ पनि घटस्थापनाको दिनदेखि दसैँको अन्तिम दिनसम्म दर्शनार्थीहरुको भिड लाग्छ ।

ऐतिहासिक धार्मिकस्थलको रुपमा रहेको मधेस प्रदेशका गन्तव्यमा यो मन्दिर पनि समावेश छ । जिल्लाको विभिन्न ठाउँबाट हजारौँको संख्यामा भक्तजनहरु यहाँ पूजा गर्न आउँछन् । यो मन्दिरको पनि आफ्नै महत्त्व छ । यहाँ दसैँमा मात्रै होइन, अन्य समयमा पनि बाटो हिँड्ने यात्रीले आ–आफ्नो सवारीसाधन रोकेर देवीको दर्शन गर्न जान्छन् ।

राजदेवी मन्दिर, गौर (रौतहट)

रौतहटको सदरमुकाम गौरमा रहेको राजदेवी मन्दिर पनि नवरात्रिमा दर्शनार्थीको भिड हुने एउटा शक्तिपीठ हो । यो मन्दिरमा अष्टमीका दिन एक हजारभन्दा बढी खसी, बोकाको बलि दिइन्छ ।

रौतहटमा सबैभन्दा बढी बलि दिइने मन्दिरका रुपमा परिचित राजदेवी मन्दिरमा पूर्ण तान्त्रिक विधिबाट पूजा सम्पन्न भएपछि बलि चढाउने चलन छ ।

गढीमाई मन्दिर, बारा(बारा)

विश्वमै सबैभन्दा बढी पशु बली दिने मन्दिरका रुपमा गढीमाईलाई चिनिन्छि । यो मन्दिर बारा जिल्लामा पर्छ । सदरमुकाम कलैयाबाट करिब आठ किलोमिटर पूर्व बरियारपुरस्थित गढीमाईमा पाँच–पाँच वर्षमा मार्ग शुक्ल सप्तमीदेखि मेला लाग्छ ।

Gadimai-

पाँच–पाँच वर्षमा मेला लागे पनि यहाँ बडादसैँको बेला पनि उत्तिकै भिडभाड र मेला लाग्ने गर्छ । बडादसैँका बेला यहाँ राँगा तथा बोकाको बलि दिने चलन छ । गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई तथा भक्तिमाईको पनि पूजा गरिन्छ ।

गढीमाई मन्दिर मधेस प्रदेशमा रहेको प्रशिद्ध शक्तिपीठ हो । नेपालका विभिन्न क्षेत्रबाट लाखौँ दर्शनार्थीहरू ओइरो लाग्ने यस पीठमा हजारौँ भारतीय दर्शनार्थी पनि आउने गर्छन् ।

बरियारपुरको खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूल रूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ । मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै ब्रह्मास्थल छ । ब्रह्मास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ, लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँचदिनसम्म पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ । गढीमाईका पूजारी थारूजातिका छन् ।

गहवामाई मन्दिर, वीरगन्ज (पर्सा)

पर्साको वीरगन्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरमा घटस्थापनादेखिनै श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । गहवामाई मन्दिर हिन्दु धर्मावलम्बीको विश्वास र आस्थाका केन्द्रका रूपमा स्थापित भएको छ ।

gahawa mai-1

दसैँभर साँझको समयमा महिलाहरु दियो बाल्न मन्दिर पुग्ने गर्छन् । यहाँ पनि भव्य मेला लाग्छ । यहाँ पनि अष्टमीको दिन देवीलाई पशु बलि चढाइन्छ ।

यो मन्दिरको क्षेत्रफल करिब ७२२५ वर्गफिट छ । मन्दिरको तीन वटा ढोका छन् । मूल ढोका पश्चिमतर्फ छ । यो मन्दिरमा अनेकौँ देवीदेवताका मूर्ति छन् । यद्यपि यहाँ विशेषगरी दुर्गा पूजा गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप