राशिद खानलाई १० करोड भारु दिने समाचार गलत : रतन टाटा
सोमबार, १३ कात्तिक २०८०, १४ : ४०
![राशिद खानलाई १० करोड भारु दिने समाचार गलत : रतन टाटा](https://npcdn.ratopati.com/media/news/ratan_PDTbkUsjjq.jpg)
नयाँ दिल्ली । अफगानिस्तानका क्रिकेटर राशिद खानलाई १० करोड भारतीय रुपैयाँ दिने समाचारको उद्योगपति रतन टाटाले खण्डन गरेका छन् । सोमबार उनको नाममा झुटो समाचार फैलिएपछि टाटा आफैले यसको खण्डन गरेका हुन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘मैले आईसीसी वा कुनै पनि क्रिकेट फ्याकल्टीलाई कुनै पनि खेलाडीलाई जरिवाना वा पुरस्कार दिने विषयमा कुनै सुझाव दिएको छैन । मेरो क्रिकेटसँग कुनै सम्बन्ध छैन । मेरो आधिकारिक प्ल्याटफर्मबाट पोस्ट नभएसम्म कृपया यस तरिकाको ह्वाट्सएपबाट फरवार्ड गरिएका समाचार वा भिडियोमाथि विश्वास नगर्नु होला ।’
सामाजिक सञ्जालमा रतन टाटाले राशिद खानलाई करोडौँ रुपैयाँ दिने प्रतिबद्धता जनाएको समाचार भाइरल बनेको थियो । यसपछि उनले बाध्य भएर यसको खण्डन गरेका हुन् ।