बिहीबार, २२ कात्तिक २०८१
ताजा लोकप्रिय
कथा

बडे दादाको अनुहार

शनिबार, २५ कात्तिक २०८०, १४ : ०४
शनिबार, २५ कात्तिक २०८०

शिरमा पहिरेको छ सुनका तारा जडिएको छत्रे टोपी, टोपीको घेरो वरिपरि छन् विष लेपन गरिएका तीखा न तीखा तीर । आङमा लगाएको छ मान्छेको रगतका खाटा बसेको मखमली बर्दी, कम्मरमा बाँधेको छ विषालु तीरहरू भिरेको छालाको पेटी । कम्मरमुनि लाएको छ धोजे जाँगे, पाउमा जखेका छन् एक अम्मलका काँटी ठोकेका जङ्गी बुट । दायाँ काँधमा भाला छ, बायाँ काँधमा राइफल । बायाँ हातमा छ खड्ग, दायाँ हातमा छ सिरूपाते तरबार ।

आणविक भट्टीबाट फुत्त निस्केको जगत्को बडे दादा टाँगन घोडा चढेर शान्तिको खेती गर्न डट्यो जगत्रूपी मैदानमा । सोही माफिकको पहिरन र शस्त्रास्त्रले सजिएका जगत्का मझौला दादाहरूको झुन्ड लाग्यो बडे दादाको छायाँझैँ लुखुर–लुखुर उसको पछिपछि । झुन्डको सबभन्दा पछाडि सुमुसुुमु हिँड्यो एउटा फुकिढल लुरे । लुरेको शिरवरिपरि पत्रु टोपीको घेरो थियो, कम्मरमा थियो — कन्दनीको फेरो र कम्मरमुनि थियो लगौँटीको ल्याफ्रो ।

धरतीभरि त्रासका तरङ्ग पैmलाउँदै जगत्को बडे दादा उर्फ जगत्को जेठो मुखिया मुखियागणको दलबलसहित पस्यो गोफ्लेको आँगनमा । बडे दादा बलात् अर्काको आँगनमा पसेको के थियो, जङ्गली लबजमा उसले कासन दिइहाल्यो– ‘घरमा जेजस्ता र जेजति हतियार छन् ती सब झटपट आँगनमा जम्मा पार ।’

मझौला मुखियाहरूले जेठा मुखियाको ठूलो मुखसँगै आ–आफ्ना मझौला मुख चलाए । लगौँटीधारी लुरेको पालो अखण्ड स्वामीभक्तिको मुद्रामा लिखुरे औँलो ठड्याउँदै तीन बित्ता उफ्रियो । उपद्रै सप्रेको उसको टुप्पी ठाडो भयो र फिरिक–फिरिक हल्लियो उसको लगौँटीको फुर्को । जेठा मुखियाका दुई हातका दुई हतियार आतङ्कको लयमा हावामा नाचे । उसको छत्रे टोपी र कम्मरका तीर कसैका छातीमा रोपिन तमतयार भए । उसका बुटका काँटी आँगनका ढुङ्गामा बज्रिँदा पैदा भयो आङै सिरिङ्ग हुने भयकारी आवाज । गोफ्लेले तत्काल कासन पालन नगर्दा तामसी जेठो मुखिया रिसले त्यसैत्यसै बुमबुम भयो । र, उन्मादी मुद्रामा उद्दण्ड पाराले आँगनमा भैरव नाच नाच्न थाल्यो ऊ । जेठा मुखियाको सनकमा सनक र तुजुुकमा तुजुक मिलाउँदै मझौला मुखियाहरूले सभक्ति उसको सिको गरे । लगौँटीधारी लुरमानले टुप्पी हल्लाउँदै तमासा झिक्यो । लुरमानको ताहुरमाहुर देखेर मझौला मुखियाहरूले चकित भावमा मुखामुख गरे ।

बडे मुखियाको सिरुपाते तरबारको झटारो बिजुली वेगमा भोको बालकको निर्दोष गर्धनमा बज्रियो । र, बालकको कलिलो ज्यान मुलाझैँ काटियो । हावामा आलो रगतका सिर्काको एउटा अद्भूत आकार अङ्कित भयो– प्रजातन्त्र !

जगत्को जेठा मुखियाले जङ्गी शैलीमा सिट्ठी बजायो । जगत्का मझौला मुखियाहरूले बडो अदपका साथ ठोके उसलाई सलामी– ड्याम्म । जेठा मुखियाले जुँगा मुसार्दै इसारा ग¥यो, मझौला मुखियाहरूले गोफ्लेको घरमा झटपट हाले घेरा । अनि जेठो मुखिया पस्यो हान्निदै गोफ्लेको घरभित्र । लगौँटीधारी लुरमान जेठा मुखियाको चाक चुमुलाझैँ गरी धनुसमान कुप्रिएर लाग्यो उसको पछिपछि । जेठो मुखिया गोफ्लेलाई पक्रेर पलभरमै आँगनमा निस्क्यो । मुखियागणका मुखेन्जी स्वामीभक्ति देखाउँदै लगौँटीधारी लुरमान गोफ्लेलाई पछिल्तिरबाट घुस्सा हान्दै आयो । मिचाहा मुखियागणले गोफ्लेलाई उसैको आँगनमा हातमा हतकडी लगायो र खुट्टामा ठोक्यो नेल ।

‘मलाई छाड्दे,’ काम्दै गोफ्ले करायो । 

‘बल्ल परिस् तँ फेला,’ जेठा मुखियाले शानले तरबार हल्लायो ।

‘परिस्,’ गोफ्लेको निधारमा धारे हातले हान्दै सुगा शैलीमा बोल्यो लुरमान ।

‘साला,’ आफ्नो एकछत्र मौजाको चल्तीको भाषामा बडे मुखियाले दच्कायो, ‘तँ मु** घरभित्र स्वास्नी–छोराछोरीलाई कुट्ने, घरबाहिर छरछिमेकको सन्धि–सर्पन मिच्ने ?’

‘तँ कुट्ने ?’ लगौँटीधारीले टुप्पी हल्लाउँदै हामा हा मिलायो ।

‘कुट्छु ।’ गोफ्लेले ओठे जवाफ दियो । 

‘अझ कुट्छु रे ?’ जेठा मुखियाले सिरुपाते तरबार उजायो, ‘तँ मु** मलाई नसोधी छरछिमेकको सन्धिसर्पन मिच्ने ?’

‘तँ मिच्ने ?’ कन्दनीमा हात स्युरेर लगौँटीधारीले ख्वामितको स्वरमा सार मिलायो ।

‘मिच्छु ।’ गोफ्लेले उग्र भएर भन्यो, ‘मेरो आँगनमा घुसेर तँ मिचाहा मेरै बेइजती गर्ने ?’

‘अझ तँ मसँग मुखमुखै लाग्ने ?’

‘तँ लाग्ने ?’ लगौँटीधारीले जेठा मुखियाको हुङ्कार भुइँमा खस्न नपाउँदै भन्यो ।

विश्वमौजाका बडे मुखियाको सिरुपाते तरबार बिजुली वेगमा क्षेत्रीय मुखिया गोफ्लेका गर्धनमा बज्य्रो । र, गोफ्ले मुलाझैँ काटियो । बडे मुखियाले जङ्गी शैलीमा सिट्ठी बजायो । मझौला मुखियाहरूले बडे मुखियालाई अदपका साथ ठोके सलामी । बडे मुखियाले जुँगा मुसार्दै हुकुम दियो । मझौला मुखियाहरू बिजुली वेगमा पसे गोफ्लेको घरभित्र । घरभित्र एकाएक मच्चियो कोलाहल, हाहाकार र चीत्कार । मझौला मुखियाहरू पलभरमै जो भएका सानातिना हतियार सोहोरेर निस्के । हतियारहरू थिए— भरुवा बन्दुक, भाला, बन्चरो, खुकुरी, चक्कु आदि । लगौँटीधारी लुरमान लुरुलुरु पछि लागेर निस्क्यो । ऊ एक हातमा मट्याङ्रा बोकेर अर्को हातले स्वाद मानीमानीकन काँचा सखरखण्ड खाँदै थियो । चपाइको तालमा हल्लिरहेको थियो उसको सप्रेको टुप्पी— लिखिर्लिखिर, लिखिर्लिखिर ।

जोसिएको बडे मुखियाले जङ्गी शैलीमा सिट्ठी बजायो । मझौला मुखियाहरूले बडे मुखियालाई अदपका साथ ठोके सलामी । बडे मुखियाले जुँगा मुसार्दै हुकुम जारी ग¥यो, ‘भित्र जो जो छन्, हतियारसहित तिनलाई बाहिर निकाल ।’

सिनियर मुखियाको वचन भुइँमा खस्नु के थियो, जुनियर मुखियाहरू हानेको काणसरी पसे घरभित्र । तिनले पलभरमै लालाबाला, बुढापाका, तरुनी–तन्नेरी, रोगी–अशक्त, अनाथ–अपाङ्ग सारालाई निर्ममतासाथ मुन्ट्याउँदै, मुक्क्याउँदै, लछारपछार गर्दै र घिसार्दै निकाले आँगनमा । बूढी बज्यैका हातको नातिनीको भोटो तुन्दातुन्दैको सियो उनको आतङ्कित चित्तको कम्पनसँगै कामिरहेको थियो ।

‘त्योे हतियार भुइँमा राख् ।’ बज्यैको गर्धनमा तरबार बजार्न खोज्दै बडे मुखियाले हुकुम दियो । 

‘यो हतियार होइन, राजा !’ बज्यैले शुष्क स्वरमा करुण पुकारा गरिन्, ‘यो त मेरा लालाबालाका लुगाफाटा तुन्ने सियो पो हो ।’ ‘न न, त्योे हतियार हो ।’ हावामा तरबार नचाउँदै बडे मुखियाले भन्यो, ‘त्योे ज्यान मार्ने हतियार हो । हतियार नमासी जगत्मा शान्ति हुँदैन ।’

‘त्यो राख् ।’ लुरमानले लुरे हात उजायो ।

विश्वमौजाका बडे मुखियाको विषाक्त तरबार देखेर बज्यैका आङमा डरका चिसा तरङ्ग दगुरे ।

‘यो हतियार होइन, राजा !’ बज्यैले शुष्क स्वरमा करुण पुकारा गरिन्, ‘यो त मेरा लालाबालाका लुगाफाटा तुन्ने सियो पो हो ।’

‘न न, त्योे हतियार हो ।’ हावामा तरबार नचाउँदै बडे मुखियाले भन्यो, ‘त्योे ज्यान मार्ने हतियार हो । हतियार नमासी जगत्मा शान्ति हुँदैन ।’

‘शान्ति हुँदैन ।’ लुरमानले स्वामीको स्वरमा स्वर मिलायो । अनि अघि सरेर बज्यैका हातको सियो खोस्न ऊ तम्स्यो । बज्यैले सियो मुठ्ठीभित्र लुकाइन् ।

‘मेरा नाति–नातिनी नाङ्गै ह्ुन्छन्, राजा !’ बज्यैले बिन्ती बिसाइन्, ‘यो सियो हो, हतियार होइन । यसले कसको के बिगा¥या छ र ?’

‘न न, यो घातक हतियार हो ।’ बज्यैका शिरमाथि तरबार चम्चम् नचाउँदै बडे मुखिया कुल्र्यो, ‘यो आतङ्क मच्चाउने हतियार हो । हतियार नमासी जगत्मा शान्ति हुँदैन ।’

‘शान्ति हुँदैन ।’ लुरमानले ख्वामित्को स्वरमा सार मिलायो ।

बज्यैले सियो हत्तपत्त पोल्टामा लुकाइन् ।

बडे मुखियाको सिरुपाते तरबार बिजुली वेगमा बज्यैका गर्धनमा बज्रियो । र, बज्यै मुलाझैँ काटिइन् । मझौला मुखियाहरूले एक मुखले बडे मुखियाको जयजयकार गरे । जोसले उफ्रेर मालिकको जयजयकार गर्दा लुरमानको टुप्पी ठाडो भयो । टुप्पीको उचाइले गर्दा सबैभन्दा होँचो लुरमान सबैभन्दा अग्लो देखियो ।

आयो अब दुलहीको पालो ।

बडे मुखियाका आशक्त नजर दुलहीको रूप र यौवनमा लट्ठिए । लगौँटीधारी बडे मुखियाको मुख हेरेर दङ्ग पर्दै मुस्कुरायो । छायाँ मुखियाहरूले कामुक मुद्रामा मुखामुख गरे ।

‘त्योे हतियार राख् ।’ तरबारले दुलहीका हातको चुलेसी ताकेर बडे मुखिया गर्जियो ।

‘यो त चुलेसी हो, राजा !’ लाज र त्रासले पछ्यौैरीको फेरो टोक्दै कम्पन छुटेको स्वरमा दुलहीले भनिन् ‘राजा ! यो त तरकारी काटीखाने चुलेसी पो हो ।’

‘न न, त्योे घातक हतियार हो ।’ बडे मुखिया बम्कियो, ‘हतियार नमासी जगत्मा शान्ति हुँदैन ।’

‘हुँदैन, हुँदैन ।’ लुरमानका ओठ चले ।

‘म भन्दै छु, त्योे घातक हतियार थपक्क भुइँमा राख् ।’ बडे मुखियाको तरबार हावामा हल्लियोे ।

दुलहीले चुलेसी हत्तपत्त खोकिलाभित्र लुकाइन् ।

विश्वमौजाको बडे मुखियाले दुनियाँका मुखेन्जी चरम त्रूmरतासाथ दुलहीलाई बलात्कार ग¥यो । दुलहीको आहत क्रन्दन र हृदयविदारक चीत्कारले वायुमण्डल चिरा प¥यो । असहाय नारीको अकथनीय क्रन्दन र मर्मान्त चीत्कारको परम् आनन्ददायी सङ्गीतमा लीन हुँदै मझौला मुखियाहरूले दुलहीलाई पालैपालो बलात्कार गरे । त्योे वीभत्स नाटकको मञ्चन भइरहँदा लुरमान दुङदुङे बोकाको जस्तो अशिष्ट उन्माद प्रकट गर्दै आँगनमा फनफनी घुमिरह्यो । बडे मुखियाको सिरुपाते तरबार बिजुली वेगमा आफ्नै रगतमा डुबेकी दुलहीका गर्धनमा बज्रियो । र, दुलहीको सारसउँदो ज्यान मुलाझैँ काटियो ।

खेत जोतेर हली फर्किए । उनको खुइलिएको काँधमा चिलाउनेको हलो थियो ।

‘त्योे हतियार यहाँ दाखिला गर् ।’ फालीतिर तरबार ताक्दै बडे मुखियाले हुकुम दियो । 

कन्सिरी कन्याउँदै हलीले बिन्ती बिसाए, ‘मालिक, यो त जिमिन जोतीखाने फाली पो हो ।’

‘न न, त्योे घातक हतियार हो ।’ बडे मुखिया कुर्लियो, ‘हतियार नमासी संसारमा अमनचैन कायम हुँदैन ।’

‘हुँदैन, हुँदैन ।’ लगौँटीधारीले धारेहात हल्लायो ।

‘त्योे हतियार दाखिला गर् ।’ बडे मुखियाले गर्जिंदै सिरुपाते तरबार उजायो ।

हलीले हत्तपत्त घोप्टो परेर आफ्नै ज्यानले जोगाउन फाली छोपे । बडे मुखियाको सिरुपाते तरबार बिजुली वेगमा हलीको गर्धनमा बज्रियो । र, हलीको थाकेको ज्यान मुलाझैँ काटियो ।

हावामा आलो रगतका सिर्काको एउटा अद्भूत आकार अङ्कित भयो– मानवमुक्ति ! 

चिरीखाने, काटीखाने र जोतीखाने सबै झिना–मसिना हतियार बडे मुखियाका शान्ति महलतिर पठाइए । बडे मुखिया अघिअघि, मझौला मुखिया पछिपछि लागेर हिँडे अब बगैँचातिर । बगैँचामा लटरम्म अङ्गुरको झ्याङमाथि चढेर हाङ्राले पाङ्रा निलेझैँ ती अङ्गुुर खान थाले । लुरमान तल भुइँमा आँ गरेर उभियो । बडे मुखियाले अङ्गुरका दानाका छोक्रा र बोक्रा छिनछिनमा ओकल्यो । लुरेले जुठा छोक्रा र बोक्रा हावामै सासले टिप्यो । र, स्वामीको जुठो स्वादले फुर्किंदै ऊ फिरिक्क एक फन्को नाच्यो ।

एउटा दूधमुखे बालक नक्कली पिस्तोल बोकेर अङ्गुरको झ्याङमुनि आयो । उसका आमा–बाबुको हत्या भइसकेको थियो । बेसहारा भएको थियो बरा त्यो बालक । भोकले उसका ओठतालु सुकेका थिए । आश भरिएका अबोध आँखा मास्तिर उठाउँदै मायालाग्दो स्वरमा बालकले भन्यो, ‘बा ! म नि अङ्गुर खाने ।’

‘पहिले त्यो हतियार भुइँमा राख् ।’ बडे मुखियाले अङ्गुरको झुप्पो क्वाप्प मुखमा हाल्दै माथिबाट हुकुम दियो ।

‘पहिले त्यो राख् ।’ लगौँटीधारी उवाच ।

बालकले कुरा बुझेन । उसले बालसुभल चञ्चलता साथ नक्कली पिस्तोल उठायो । 

बडे मुखियाको सिरुपाते तरबारको झटारो बिजुली वेगमा भोको बालकको निर्दोष गर्धनमा बज्रियो । र, बालकको कलिलो ज्यान मुलाझैँ काटियो ।

हावामा आलो रगतका सिर्काको एउटा अद्भूत आकार अङ्कित भयो– प्रजातन्त्र ! 

अलि ठूलो बालक दगुर्दै आयो । भाइको छटपटाइरहेको ज्यान देखेर ऊ त्यसैत्यसै कहालिँदै काम्यो । उसले भाइको प्राणपखेरु उड्न लागेको अनुहार मायाले मुसा¥यो । भाइका रगतपच्छे गालामा उसले प्रेमपूर्ण आवेगसाथ म्वाइँ खायो । अनि खेलौनारूपी धनुकाँणको ताँदो कानसम्म खैँचेर उसले बडे मुखियातिर ताक्यो ।

‘अङ्गुर खान्छस्, बाबु ?’ बडे मुखियाले सोध्यो ।

भोकले हिरिक्क सास जालाझैँ भएको थियो । उसले ‘खान्छु बाबा’ भन्यो ।

‘खान्छस् भने त्योे धनुकाँण भुइँमा राख् ।’ बडे मुखियाले फर्मान जारी ग¥यो ।

‘त्योे राख् ।’ लुरमान कुल्र्यो ।

‘तँ पहिले त्योे बन्दुक राख् ।’ विश्वसम्राटलाई एक टकले हेरेर बालकले भन्यो ।

बडे मुखिया अङ्गुरको रसले मुख मिठ्याउँदै हाँस्यो । ‘बाबु !’ कुटिल स्वरमा उसले सोध्यो, ‘अङ्गुर खाने हो त ?’

अनाथ बालकले भन्यो, ‘खान्छु बाबा ।’ बडे मुखियाको खड्गको झटारो बिजुली वेगमा भोको बालकको निम्छरो गर्धनमा बज्रियो । र, निर्दोष बालकको ज्यान मुलाझैँ काटियो । अनि हावामा आलो रगतका सिर्काको एउटा अद्भूत आकार अङ्कित भयो– मानवअधिकार ! 

विश्वसम्राटको जयजयकारले समस्त संसार गुञ्जायमान भयो ।

(इराकमाथि बडे दादाको आक्रमणको कथा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप