मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

भाइलाई गुमाएको सालको तिहार

सोमबार, २७ कात्तिक २०८०, १० : १७
सोमबार, २७ कात्तिक २०८०

मेरो भाइ ! तिमी जन्मेदेखि मलाई तिहार आएको थियो । हो, हरेक वर्ष तिहार आउनेछ, फूलहरू यसरी नै फुल्नेछन्, घरघरमा दियोहरू यसरी नै बल्नेछन् तर अब तिमी भाइटीका थाप्न हामीमाझ कहिल्यै आउनेछैनौ । कस्तो अकाट्य सत्य, तिमी निभ्यौ ? तर हाम्रो स्मृतिबाट कहिल्यै निभ्ने छैनौ ।  

मेरा लागि जीवनको सबैभन्दा अमूल्य उपहार थियौ तिमी । तीन दिदीबहिनीपछिको एक मात्र भाइ तिमी । हाम्रो तिहार तिमी । हाम्रो खुसीको बहार तिमी । तिमी हाम्रा लागि सर्वस्व थियौ ।

बाबा–आमाले दुई छोरी (म र सुशीला) जन्मिएपछि अब हामीलाई सन्तान पुगे भन्नुभएको थियो रे । तर हजुरबा–हजुरआमाले गाली गर्नुभएछ, ‘मेरो वंश अगाडि बढ्न नदिने भयौ तिमीहरूले ।’ यसपछि बहिनी सुस्मिता र भाइ राजेशको जन्म भयो । भाइ मभन्दा सात वर्ष कान्छो थियो । मलाई उसको बाल्यकाल सबै थाहा छ । उसलाई हुर्काएको मैले हो, किनकि म घरकी जेठी छोरी थिएँ, त्यसमाथि म सानैदेखि भाइ भनेपछि हुरुक्क हुन्थेँ रे । 

बुवाआमाले हाम्रो पालनपोषण र शिक्षादीक्षामा कुनै कमी गर्नुभएन । जे भन्यो त्यही पु¥याउनुभयो, हामीलाई अभावको महसुस हुन दिनुभएन । दुःखसुखका बीच हाम्रो ६ सदस्यीय परिवारमा शान्ति र सन्तुष्टि थियो । यही वर्षको असार १२ गते एकाएक हाम्रो पारिवारिक शान्ति र सन्तुष्टिरूपी सागरमा भयानक सुनामी आयो । मोटरसाइकल दुर्घटनामा परी १८ वर्षीय भाइ हामीमाझ रहेन । आँखामा राखेर हुर्काएको भाइ आँखाको डिलबाट बलिन्द्र धारा बनेर बग्यो, बगिररहेछ । 

आमाको काख रित्तो भयो, बाबाका सपना चकनाचुर भए । हामी तीन दिदीबहिनीको माइती नै टुङ्गियो । त्यो जति ठूलो पीडा जीवनमा के नै हुन सक्ला र ! 

भाइ, तिमीले हामीलाई छाडेपछि हामी पाँचजनाले जीवन कसरी अगाडि बढाएका छौँ, त्यो हामीबाहेक कसलाई पो थाहा होला र ! आखिर जीवन के नै रहेछ । दुई दिनको घामछाया भन्थे, साँच्चै हो रहेछ । बाचुन्जेल लोभ–लाभ, माया–ममता, मरेपछि खरानी । बाबु ! आज तिमीबिना हाम्रो दियो निभेको छ । 

मेरा सुखदुःखमा तिमीले मलाई सधैँ हिम्मत दिन्थ्यौ । केही कुरामा मेरो मन दुख्दा तिमी पनि मसँगै दुख्थ्यौ । तिमीलाई चोट लाग्दा मलाई दुख्थ्यो । स–साना खुसीमा हामी सँगै हाँस्थ्यौ । यी सबै सम्झेर अनायसै आँसु बग्न थाल्छन्, तर जेठी छोरी भएकीले आज रुन पनि मैले एकपटक सोच्नुपर्छ । किनकि म रोएँ भनेँ बाबा, ममी, सुशीला र सुस्मिता के गर्लान् भन्ने सोच आउँछ । बाबु ! तिम्रो याद नआएको मेरो कुनै पल छैन सायद तर तिम्रो लागि मैले कहिल्यै परिवारको अगाडि आँसु झारेकी छैन । जिम्मेवारी भन्ने जिनिसले आँसुलाई पनि तौलने रहेछ । मेरो ठाउँमा तिमी भएको भए पनि यही गथ्र्यौ ।

तिम्रो अभाव हामीलाई जीवनभर रहने नै छ, तर बाबा–आमालाई तिम्रो अभाव महसुस हुन नदिन मैले के कस्तो जिम्मेवारी लिनुपर्छ भन्ने चिन्ता पनि ममा सधैँ रहनेछ, रहिरहेको छ । हामी तीनै दिदीबहिनीको भावना यही छ । अब हामी तीन दिदी–बहिनी हिम्मत हारेर होइन, हिम्मत राखेर अगाडि बढ्नु छ । हामीले अब बाबाआमाका लागि भाइको पनि जिम्मेवारी निर्वाह गर्नु छ । 

भाइ ! तिमी जन्मनुअघि हरेक तिहारमा बाबाआमासँग मेरो माग एउटै हुन्थ्यो, मलाई भाइ चाहिन्छ । आमाले भन्नुहुन्थ्यो — बहिनी (सुस्मिता)लाई भाइ बनाएर टीका लगाइदेऊ । मैले रुँदै भन्थेँ — मलाई भाइ चाहिन्छ ।

बाबु ! यसपालि पनि उसरी नै तिहार आएको छ, जसरी पहिले हामीले तिहार मनाउँथ्यौँ । सहर उसरी नै झिलीमिली छन् । फूलको व्यापार उस्तै छ, केवल तिमी हामीमाझ छैनौ । 

कतिपय संस्कृति अति नै सुन्दर हुन्छन्, यो भाइटीकाको संस्कृति मलाई औधि मन पर्छ तर गर्नु के ? भाइ ! तिमी जन्मनुअघि हरेक तिहारमा बाबाआमासँग मेरो माग एउटै हुन्थ्यो, मलाई भाइ चाहिन्छ । आमाले भन्नुहुन्थ्यो — बहिनी (सुस्मिता)लाई भाइ बनाएर टीका लगाइदेऊ । मैले रुँदै भन्थेँ — मलाई भाइ चाहिन्छ । 

तिमी आयौ र हाम्रो तिहार आएको थियो । तिहार सुरु हुनुभन्दा एक साता अघिदेखि हामीले सँगै पटका पड्काउँथ्यौँ, फूलका माला उनेर घरका झ्याल–ढोका सजाउँथ्यौँ । घर झिलीमिली बनाउन लागिपथ्र्यौं । अरुको घरभन्दा चिटिक्क पार्ने लालसा हामीमा हुन्थ्यो । तिमी छैनौ र हाम्रा लागि सबै उजाड छ । 

कथामा सुनेका थियौँ, तिहारको पौराणिक कथा । यमलोकबाट मृत्युका राजा यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा पृथ्वीलोकमा आएका थिए । यमपञ्चकभर यमराज बहिनी यमुनाको घरमा बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरेर भाइटीका लगाइदिइन् । 

यो पर्व त मृत्युका राजा यमराजलाई नै बहिनीले टीका लगाइदिएर सुरु भएको भनिन्छ । प्रश्न गर्न मन हुन्छ, के तिनै यमराजले हामीबाट भाइलाई खोसे ? तिहार आएका बेला यस्तै तर्कना मनमा आइरहेछन् । 

यसपालि पनि हाम्रो घरछेउमा मखमली उसरी नै फक्रेको छ तर तिमी छैनौँ र हाम्रो मन फुल्न सकेको छैन । सहरबजारभरि बेच्न राखेका मखमलीले मेरो मन दुखाएका छन्, सयपत्रीले मनलाई पत्रपत्र पारेका छन् ।

आफूले हुर्काएको भाइलाई जीवनभरि भाइटीका लगाइदिने धोको थियो, अधुरै रह्यो । झुटो विश्वास गर्न मन लाग्छ, तिमी यतै कतै छौ र हामीलाई सुन्दै छौ । कहाँ छौ ? यहाँ तिम्रा दिदीहरू तिमीलाई सम्झिरहेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सपना पौडेल
सपना पौडेल
लेखकबाट थप