समाधानका तीन अवस्था
समाधानको अवस्था भनेको समस्या हटेपछिको स्थिति हो, आँधी रोकिएपछिको समुद्रको जस्तो स्थिति हो, बादल हटेपछिको दिनको जस्तो स्थिति हो । बादल हटेपछि, दुर्दिन हटेपछि वातावरण शान्त हुन्छ, स्वच्छ हुन्छ, धर्ती उज्यालो हुन्छ । समस्या समाधानको अवस्था पनि त्यस्तै हो । समस्या थियो उकुसमुकुस थियो, चिन्ता थियो, के हुन्छ, के हुन्छ भन्नुपर्ने स्थिति थियो । समाधान भयो मन उज्यालो भयो, तन उज्यालो भयो, घर उज्यालो भयो, समाज उज्यालो भयो ।
समाधानको अवस्थाको आफ्नै स्वरूप छैन, सत्ता छैन । यो भनेको समस्यामै भर पर्ने कुरा हो । त्यसैले यो सँधै एकै किसिमको हुन्छ भन्ने हुँदैन । तपाईँ कुन अवस्थामा हुनुहुन्छ, कस्तो परिस्थितिको सामना गरिरहनुभएको छ सोही अनुसारको हुन्छ यसको अवस्था । मोटामोटी रूपमा यसलाई तीन किसिमले अर्थ्याउन सकिन्छ, जसमा पूर्णावास्था वा सम्पन्नावस्था, अपूर्णावस्दा वा बन्दै गरेको अवस्था र विच्छिन्नावस्था वा बिग्रेको अवस्था पर्छन् । त्यस्तै यिनले दिने सन्देश पनि तीनै किसिमका हुन्छन्, सुखानुभूति, आशावादी र निराशा ।
यहाँनेर प्रश्न गर्न सक्नुहुन्छ प्रसङ्ग चल्दै छ समाधानको अवस्थाको तर कुरो आयो अपूर्णावास्था वा बन्दै गरेको र बिच्छिन्नावस्था वा बिग्रेको । यस्तो कसरी हुन्छ ? एक हदसम्म प्रश्न सही हो । झट्ट सुन्दा लाग्ने यस्तै हो तर अलिकति गहिरिएर हेर्नुभयो भने हेर्न खोज्नुभयो भने त्यसैभित्र नै यस्तो अवस्था पाउन सक्नुहुन्छ ।
मानौँ तपार्ईं कतै जाँदै हुनुहुन्थ्यो । घना जङ्गलको बिचमा गाडी बन्द भयो । तपाईँलाई गाडी बिग्रेको हो कि भन्ने शङ्का लाग्यो । यतिबेला के गर्नुहुन्छ ? ओर्लेर हेर्नुहुन्छ, इन्जिन चेक गर्नुहुन्छ, ठोकठाक गर्नुहुन्छ र पुन ः स्टार्ट गर्ने प्रयास गर्नुहुन्छ यही होइन ? यतिबेला गाडी पुन ः स्टार्ट भयो भने यो पूर्णावास्था व सम्पन्नावस्था भयो । गाडीमा सामान्य समस्या आएको थियो तर तपाईँले ठोकठाक गरेर जाम खोल्नुभयो गाडी चल्यो, तपाईँ सजिलै गन्तव्यमा पुग्नुभयो, जसले तपाईँलाई सुखानुभूति गरायो ।
त्यस्तै गाडी बिग्रेको थियो तर ठोकठाक गर्दा बन्ने अवस्था देखियो, बनाउन लाग्नुभयो यो अपूर्णावस्था वा बन्दै गरेको अवस्था भयो । यसले तपाईँलाई आशावादी गरायो । गाडी बनाउन खोज्दा पनि बनेन । यो पनि एउटा समाधानकै अवस्था हो, तपाईँमा जुन द्विविधा वा संशय थियो त्यसैको समाधानको अवस्था । अघि गाडी बिग्रेको हो कि भन्ने जुन द्विविधा थियो, संशय थियो चेक गर्नुभयो बिग्रेकै पाउनुभयो, बिग्रेकै हो रहेछ भन्ने निष्कर्षमा पुग्नुभयो । यसले तपाईँको द्विविधा, संशय समाधान गरायो तर उसको सन्देश भने राम्रो पाउनुभएन । निराशा गरायो, बेचैनी गरायो ।
आउनुस् केही उदाहरणबाट बुझ्ने प्रयास गरौँ । मानौँ तपाईँ कुनै मन्त्रालय, विभाग वा सरकारी कार्यालयको प्रमुख हुनुहुन्छ । अथवा कुनै बैङ्क, उद्योग कलकारखानाको हाकिम पनि हुन सक्नुहुन्छ । बाटो, पुल, ठुलठुला भवन निर्माणको काम चल्दै थियो । ठेकेदारहरूले ठेक्का लिएका थिए । समयमै काम सम्पन्न हुनेमा ढुक्क हुनुहुन्थ्यो । नभन्दै भयो पनि त्यस्तै । समयमै तोकिएको काम सकियो । यो समाधानको पूर्णावस्था वा सम्पन्नवस्था भयो । यसबाट सबैले सुख पाए । पुल बन्यो, बाटो बन्यो, रोकिएको आवतजावत सुचारु भयो । भवन बन्यो, बस्न पाइयो, बसाउन पाइयो । तपाईँलाई सुखानुभूति भयो, समयमै काम सम्पन्न गर्न सकिएको कामको सुखानुभूति । अरूहरूलाई सजिलै आवतजावत गर्न पाइएको, बस्न पाइएको सुखानुभूति भयो ।
तर, तपाईँले ठेकेदारहरूलाई कामको जिम्मा दिनुभएको थियो । समयमै काम सकिन्छ भन्नेमा ढुक्क हुनुहुन्थ्यो । कसैले आएर कामै भएको छैन भनेर रिपोर्ट दियो । तपाईँ हैरान हुनुभयो । एकैछिन पनि बस्न सक्नुभएन र आफैँ हेर्न जानुभयो तर रिपोर्ट पूर्ण सत्य पाउनु भएन । काम समयमै सक्न मुस्किल परेको त हो रहेछ तर कामै नभएको चाहिँ होइन रहेछ । ठेकेदारले भन्ने बित्तिकै भनेकै ठाउँमा इट्टा, सिमेन्ट, बालुवा नपाइएकाले केही विलम्ब हुने भयो तर कामै नहुने भन्ने छैन भन्ने रिपोर्ट दियो । आफैँले हेर्दा पनि त्यस्तै पाउनुभयो । काम धमाधम भइरहेको देख्नुभयो । यो भनेको अपूर्णावस्था वा बन्दै गरेको अवस्था हो । यसले तपाईँ पनि आशावादी हुनुभयो, अरूलाई पनि आशावादी गरायो ।
अब आयो विच्छिन्नावस्था वा बिग्रेको अवस्था । यसमा पनि तपार्ईँ यही उदाहरणबाट प्रस्ट हुन सक्नुहुन्छ । जस्तो तपाईँ कुनै ठेकेदारलाई कामको जिम्मा दिएर अर्को काममा लाग्नुभएको थियो तर ठेकेदारले काम अगाडि बढाउनै सकेन । उसले केही समान लिएर सम्बन्धित स्थानमा राख्यो, मजदुरहरू बोलाएर काम सुरु पनि ग¥यो तर बिचमा अनेक समस्या आयो । भनेको मूल्यमा समान नपाउने, पाए पनि भनेको स्थानमा नपाउने, मजदुरहरू नपाइने, पाए पनि भनेको बेला नपाइने, भनेको ज्यालामा काम गर्न नचाहने जस्ता समस्याका कारण ठेकेदार काम छाडेर भाग्यो । यसको जानकारी तपाईँसम्म आइपुग्यो ।
यहाँ तपाईँ द्विविधामा पर्नुभएको थियो, संशयमा पर्नुभएको थियो । यस्तो नहुनुपर्ने कसरी भयो जस्तो लागेको थियो । मनले धर नदिएकाले आफैँ हेर्न जानुभएको थियो तर स्थिति जस्तो भनिएको थियो त्यस्तै देखियो, पाउनुभयो । जता हेरे पनि लथालिङ्ग र भताभुङ्ग मात्रै पाउनुभयो । यो पनि अवस्था त समाधानकै हो, अघि तपाईँ जुन द्विविधामा पर्नुभएको थियो, संशयमा रहनुभएको थियो, यस्तो कसरी हुन्छ जस्तो लागेको थियो र आफैँ हेर्न जानुभएको थियो तर स्थिति त्यस्तै पाउनुभयो जस्तो भनिएको थियो । यसले तपाईँको द्विविधा, संशय समाधान गरिदियो । काम बिग्रेको थियो, बिग्रेकै निश्चय गर्नुभयो तर यसले भने निराशा बाहेक केही दिएन । तपाईँ निराश हुनुभयो, तमाम सेवाग्राही निराश भए । यिनै हुन् समाधानका तीन अवस्था ।