पौराणिक कथा : रजस्वला
वराहक्षेत्र नजिक चतरामा महर्षि कण्वको गुरुकुल आश्रम थियो । आश्रममा दसौँहजार विद्यार्थी थिए, जसले एकैसाथ खानबस्नसहितको पढ्ने सुविधा पाउँथे । आयस्रोतका लागि गौशालाहरू थिए, जहाँँ हजारौँ दुधालु गाई हुन्थे । सप्तकोशीबाट बग्ने चिसो हावाबाट आश्रमपरिसर यसै पनि पवित्र थियो ।
त्यसमाथि साँझ बिहान निस्कने शङ्ख ध्वनि र वेदमन्त्रका गुञ्जनले थप पवित्र हुन पुगेको थियो । आश्रमको थप शोभा थिइन् मेनकापुत्री शकुन्तला, जो सप्तकोशीसित पौँठेजोडी खेल्दै र गुरुभाइहरूको ‘कृण्वन्तु विश्वमार्याम्’ तथा विद्ययाऽमृतमस्नुते जस्ता आर्ष वाक्य सुन्दै हुर्कँदै थिइन् । आश्रमका लागि फूल टिप्ने र आश्रम परिसरमा चर्ने मृगशावकहरूसित खेल्ने उनको दिन चर्या थियो । गुरु भाइहरूले पढेको सुनेर केही मन्त्र उनलाई पनि कण्ठ भइसेका थिए, जसलाई मनमनै गुनगुनाउने गर्थिन् ।
एक दिन सप्तकोशीमा नुहाउँदै गर्दा छातीमा सानो खटिरो देखेर छक्क परिन् । छामछाम छुमछुम गरिन, दुःखदर्द थिएन । त्यसैले त्यतातिर खासै ध्यान दिइनन् तर खटिरो भने दिनदिनै बढ्दै गएको थियो । त्यसपछि भने मनमनै सोच्न लागिन् । के हो यो ? धर्मपिता कण्व र गुरु भाइहरूको छातीमा त यस्तो छैन । मलाई मात्र किन यस्तो भएको होला ? कुनै रोग पो हो कि ? तर सोध्ने कसलाई ? आमा मेनकालाई सोधौँ जन्मदैँ बाबुको जिम्मा लगाएर गएकी थिइन् । बाबु विश्वामित्रलाई सोधौँ उनले पनि तत्कालै कोशीकिनारमा छाडेर हिँडेका थिए । धर्म पिता कण्वलाई सोधौँ कसरी सोध्ने ? वक्षस्थलमा आएको खटिराको कुरा छ । आऽ जे सुकै होस् । दुःखेछ भने त्यतिबेलै हेरौँला । यस्तैयस्तै ।
समय बित्दै गयो उनको शरीरमा यौवनले थप रङ्ग देखाउन थाल्यो । प्रकति हो आफ्नो काम गर्न कहाँ छाड्छ र । कसलाई के पर्छ त्यो उसको कुरा हो । प्रकृतिसित यसको लिनुदिनु रहँदैन । मानिसले ध्यान नदिए पनि उसले ध्यान दिन छाडेको हुँदैन । बिस्तारै प्रकृतिले त्यो दिन पनि ल्यायो, जुन दिन शकुन्तलाको गुप्ताङ्गबाट रगत बगेको थियो । त्यसपछि भने अलि बढी नै डराइन् र लजाउँदै धर्मपिता कण्वसित भनिन्–
‘बाबा बाबा !’ ....। बोली लर्बराएकाले अगाडि बढ्न सकिनन् ।
छोरीको अवस्था देखेर कण्वले प्यारभरि आँखाले हेर्दै भने–
‘भन पुत्री ! किन रोकियौँ । बाबु हुँ, आफूलाई लागेको कुरा ढुक्क भन्न सक्छ्यौ ।’
बाबुको कुराले केही हिम्मत दिएकाले उनले आफ्नो अवस्था बताइन् । छोरीको कुरा सुनेर कण्व मुसुक्क हाँसे । बाबुको हाँसोले कौतुहलता जागेकाले कारण जान्न चाहिन् ।
त्यसपछि कण्वले सम्झाउँदै भने
‘यो यौवन आरम्भको लक्षण हो पुत्री ! डराउनुपर्दैन ।’
बाबुको कुराले उनको चित्त बुझेन र प्रस्ट पार्न आग्रह गरिन् ।
त्यसपछि कण्वले बेलिबिस्तार लगाउँदै भने–
‘हेर छोरी ! तिमी रजोवती भएकी हौ । नारी जातिलाई प्रकृतिले प्रजन शक्ति दिएको हुन्छ । तिमीमा यतिबेला त्यसैको लक्षण देखिएको हो । यसले तिमीमा प्रजनन क्षमता विकास हुँदै छ भन्ने सङ्केत गरेको छ । प्राकृतिक गुण अनुसार उमेर पुगेका प्रत्येक नारीको शरीरबाट महिनाको एक पटक यसैगरी रगत निस्कने गर्छ, जसलाई रजस्वला भएको भनिन्छ । यही सममा नै नारी जाति गर्भ धारण गर्न सक्षम हुन्छिन् तर तिमी सानै छ्यौ । अहिले त्यो कुरा बुझ्दिनौ । अहिलेलाई यति बुझ पहिलो पटक राजस्वला भएकी हौ । यतिबेला चन्द्र, सूर्य र पुरुष जाति खासगरी बाबु र दाजुको मुख हेर्नु हुँदैन । त्यसैले दाजुहरूलाई भनेर एकान्तमा सानो कोठा बार्न लगाउनेछु, जहाँ तिमीले २१ दिन बस्नुपर्नेछ ।’
बाबुको कुरा शकुन्तलालाई मन परेन र प्रतिवाद गर्दै भनिन्–
‘यस्तो कसरी सम्भव हुन्छ बाबा ! एक्लै एकान्त स्थानको चिसो कोठामा २१ दिनसम्म कसरी बस्ने ? नाइ म त बस्दिन ।’
छोरीको कुरा सुनेर कण्वले सम्झाउँदै भने–
‘होइन छोरी ! त्यस्तो कुरा नगर । केही गाह्रो त हुन्छ तर यो परम्परा हो । जस्तोसुकै भए पनि धान्नैपर्छ ।
‘यस्तो परम्परा कसले बनाएको हो बाबा ?’ शकुन्तलाले जान्न चाहिन् ।
‘बनाउन त मानिसले नै बनाएको हो नानी !’ कण्वले छोटो उत्तर दिए ।
‘त्यसो भए बनाउन सक्नेले तोड्न पनि सक्छ होइन र ?’ शकुन्तला अलि कडा मुडमा प्रस्तुत भइन् ।
‘अनर्थ अनर्थ, घोर अनर्थ ।’ कण्वले रिसाउँदै भने–
‘कसरी ग¥यौ यस्तो कुरा गर्ने हिम्मत ? छोरी मानिस भएर बढी जान्ने हुन खोज्ने होइन बुझ्यौ ? भन्द्या छु खुरुक्क दाजुहरूले बरिदिएका कोठामा बस्नु ।’
यति भनेर उनी हिँडे । विचरी शकुन्तलाका लागि चुपचाप सहनुको विकल्प थिएन । २१ दिन कालकोठरीमा बिताइन् । दोस्रो पटक पनि त्यस्तै भयो । यति बेला भने यातना शिविर १४ दिनको तोकियो । तेस्रो पटक पनि यस्तै भयो । यति बेलाको समय भने सात दिनको थियो । चौथो पटकदेखि चारौँ दिनमा नुवाइ धुवाइ गरेपछि बाहिर आउनसम्म दिइयो तर आश्रमको कामकाज गर्न भने सात दिन कुर्नुपर्ने हुन्थ्यो ।
शकृुन्तला कारण जान्न उत्सुक थिइन् । बाबुले रजस्वला हुनु भनेको प्रजननका लागि तयारी हुनु हो मात्र भनेका थिए । यस्तो बेलामा किन एक्लै अँध्यारो कोठामा बस्नुपर्छ भन्ने कुरा भने प्रस्ट पारेका थिएन । त्यसैले एक दिन मृगशावकहरूसित सोधिन् । उनीहरूले आफूहरूलाई थाहा नभएको बताएकाले उनीहरूका आमासित सोधिन् । उनीहरूले भने आश्चर्य मान्दै भने–
‘प्रजनन प्रक्रिया त हाम्रो समूहमा पनि हुन्छ । हामी पनि बच्चा जन्माउँछौँ तर यसका लागि अलगै बस्ने चलन भने छैन । छैन मात्र होइन यस्तो कुरा अहिलेसम्म सुनेकासम्म थिएनौँ ।’
त्यसपछि उनी बगैँचामा गएर रुख बिरुवाहरूसित सोध्न लागिन् ।