मङ्गलबार, २२ फागुन २०८०
ताजा लोकप्रिय

दुबईको प्रतिष्ठित कम्पनी हाँक्दैछन् गोर्खाली युवा मनोज मरहट्ठा

मङ्गलबार, ०५ मङ्सिर २०८०, १० : ०५
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । नेपालमा रोजगारीका अवसर नहुँदा धेरै नेपाली विदेशिन बाध्य छन् । त्यहाँ उनीहरूले भाँडा माझ्नेदेखि लिएर हेल्परको काम गर्छन् भने पारिश्रमिकसमेत अन्य देशका नागरिकको तुलनामा कम पाउँछन् ।  

नेपालबाट जाने अधिकांश नेपालीको पेसा भनेको ज्याला मजदुरी नै हो । यो अहिलेसम्म चल्दै आएको ट्रेन्ड हो । तर, कतिपय यस्ता नेपालीहरू पनि छन्, जसले मासिक दसौँ लाख तलब थाप्छन् । अनि, उनीहरूको नेतृत्वमा सयौँ कामदार काम गर्छन् ।  

यही भीडमा एक हुन्, एक दशकदेखि दुबईलाई आफ्नो कर्मथलो बनाएका गोरखाका मनोज मरहट्ठा । उनी दुबईको एक प्रतिष्ठित कम्पनीको एरिया म्यानेजर छन् । 

कोलकाताको सेन्टजेभियर कलेजबाट पढाई पुरा गरेका उनले त्यहीबाट विदेश जाने तयारी गरे, त्यहीबाट अन्तर्वार्ता दिए । अन्तर्वार्तामा छनौट त भए । तर, जानको लागि भारतीय पासपोर्ट चाहिने भयो । त्यसपछि उनी नेपाल आए । 

‘इन्डियाबाट इन्टरभ्यु दिएको थिएँ । सबै कुरा भयो । तर, अन्तिममा भारतीय पासपोर्ट माग्यो । म त्यो पासपोर्ट बनाउन सक्दिनँ भनेर छोडिदिएँ । बरु नेपालबाटै ट्राई गर्छु भनेर नेपाल आएँ,’ उनले भने, ‘काठमाडौँका धेरै म्यानपावर धाएँ ।’ 

सुरुमा उनको कतार जाने योजना थियो । तर, पछि दुबई जाने सोच बनाए । दुबईको एक फाईभस्टार होटलका लागि सुपरभाइजरको पोस्टमा अन्तर्वार्ता दिए । उनलाई मासिक तलब २५०० दिराम हुन्छ भनिएको थियो । तर, अन्तर्वार्ता भएर जब अफर लेटर आयो, त्यसमा भने ११०० दिराम उल्लेख थियो । जुन त्यतिबेला २८ हजार नेपाली रुपैयाँ मात्रै हुन्थ्यो । यो करिब एक दशक अघिको कुरा हो । 

‘२८ हजारमा कसरी काम गर्ने भन्ने टेन्सन थियो । तर, जसरी पनि दुबई जानुपर्छ भन्ने मेरो मनमा थियो । गाउँलेहरूले समेत नपढेकोले ५०/६० हजार तलब खाने गरी गएका छन्,’ उनले भने, ‘यो भने पढेर पनि यति थोरै तलबमा जान लाग्यो भनेर कुरा काट्ने भनेर मैले घरमा केही भनिनँ । आमाले सोध्ने बेला ढाँटेर ८० हजार तलब छ भनेको थिएँ ।’ 

दुबई नपुग्दासम्म उनको मनमा अनेकन् कुरा खेले । ‘त्यहाँ नपुग्दासम्म खाना, बस्न कस्तो होला ? भन्ने लागिरहेको थियो । तर, त्यहाँ पुगेपछि थाहा भयो । १० जना बस्ने एउटै कोठा थियो । एउटै खाटमा सुत्नुपर्ने । एकजना साथी ड्युटी गएपछि बल्ल अर्कोको पालो त्यो खाटमा सुत्ने आउँथ्यो । पीडा दुःख कस्तो हुन्छ भनेर दुबई पुगेपछि थाहा भयो,’ उनले विगत स्मरण गरे । 

यसरी, सुरुवाती दिनहरूमा उनले निकै दुःख भोगे । सुपरभाइजर भनेर गएका उनले भाँडा धुने, क्लिनिङ लगायतका सबै काम गरे । त्यो बेला उनी कोठामा एक्लै हुँदा धक फुकाएर रुन्थे । 

‘मसँगै पढेका इन्डियाबाट गएका साथीहरू कोही महिनाकै ५/६ हजार दिराम कमाउँथे । मेरो भने ११०० दिराम हुन्थ्यो,’ उनले भने, ‘सुपरभाइजर भनिएको थियो । तर, मैले के काम गरिनँ, भाँडा माझ्ने, क्लिनिङ लगायतका सबै काम गरे ।’ 

पछि बिस्तारै बानी पर्दै गयो । र, उनले आफूले गर्दै आएको काम लगाव दिएर गर्न थाले । त्यो बेला उनलाई अहिले दुःख गरे पो भोलि सुख पाइन्छ भन्ने लाग्यो । 

‘मेरो कन्फिडेन्स एकदमै बढी लाग्छ । म ठूल्ठूला मान्छेहरूसँग पनि कनेक्सनमा आइरहन्थे । उनीहरूसँग बोल्न डराउँदैन थिएँ ।’ उनले भने । 

385749529_10164831943274988_937420688182834417_n

एक वर्षपछिको त्यो टर्निङ प्वाइन्ट  

काम गर्दै गरेको वर्ष दिन पुग्दै थियो । त्यसै क्रममा एकदिन एकजनाले राम्रो कम्पनीमा जागिरको लागि आवेदन दिन आग्रह गरे । उनको आग्रह स्वीकार गर्दै उनले आवेदन दिए । त्यसपछि अन्तर्वार्ताको लागि बोलाइयो । 

ड्युटीमै रहेका बेला ब्रेक टाइममा उनी अन्तर्वार्ताका लागि त्यहाँ पुगे । जहाँ उनले कम्पनीकै पाइन्ट र जुत्ता लगाएका थिए । सर्ट भने ४० दिराममा किनेर नयाँ लगाएका थिए । 

‘अन्तर्वार्तामा जसरी पनि सेलेक्ट भएर आउँछु भन्ने कन्फिडेन्स थियो । त्यो बेला नेपाली भनेको म मात्रै थिएँ । अरू त सबै अमेरिकन, यूके, यूरोप, अरेबिक, इण्डियन लगायतका थिए,’ उनले भने ।   

अन्तर्वार्ताको क्रममा उनी निकै कन्फिडेन्सका साथ प्रस्तुत भए । अन्तर्वार्ताको क्रममा उनले आफूले गरिरहेको कामबारे नराम्रो केही भनेनन् । ‘म यो कामप्रति खुसी नै छु । ‘बट, आई बिलिभ आई क्यान डु मच मोर । दिस ईज नट माई लेभल’ भनेँ । त्यही कुराले उनीहरू प्रभावित भए ।’ त्यो बेलाको क्षणबारे मनोजले बताए ।  

अन्तर्वार्ता दिएको एक सातामै अफर आयो । हप्तामा ५ दिन काम, तलब पनि २८ हजारबाट एकै पटक लगभग २ लाख नेपाली रुपैयाँ थियो । त्यो नै उनको लागि टर्निङ प्वाइन्ट बन्यो । 

त्यसपछि उनले घरमा आमालाई फोन गरेर खुसी साटे । ‘तर, मम्मीले उल्टै मलाई सक्ड दिनुभयो । मलाई थाहा थियो छोरा, तिम्रो तलब नै कम छ भनेर तर, तिमीलाई नराम्रो नहोस् भनेर मैले केही भनेकी थिइन भन्नुभयो,’ उनले भने । 

२८ हजार कमाउँदा पनि उनले आफूसँग १५०० जति रुपैयाँ राखेर बाँकी सबै घरमा पठाउँथे । बाँकी मैले यता जम्मा गरेर राखेको छु भन्थे । किनकि उनले घरमा आमालाई पहिला नै ८० हजार तलब छ भनेर ढाँटेका थिए । 

त्यो एक वर्ष पछिको अन्तर्वार्ता र राम्रो कम्पनीमा जागिरको लागि अवसर पाउँदा उनी निकै उत्साहित भए । र, आफैले आफैलाई थप प्रोत्साहित बनाए । 

अहिले उनको मासिक ८/९ लाख रुपैयाँ तलब आउँछ । ‘मलाई मेरो तलब यति धेरै छ भन्दा पनि नेपाली भएर दुबईजस्तो ठाउँमा पनि यस्तो पोस्टमा पुगेको छु भनेर आफूप्रति नै गर्व लाग्छ,’ उनले भने । 

विदेशिने नेपालीको सोचाइमा समस्या  

वैदेशिक रोजगारीमा जाने नेपालीहरू सामान्य श्रमिकको रूपमा रहन्छन् । उनीहरूले कोठादेखि कम्पनी र कम्पनीदेखि बस्ने कोठालाई मात्र संसार देख्छन् । 

उनीहरू आफूलाई दुई वर्षको लागि यो काम गर्न आएको यसमै सीमित हुनुपर्छ भन्ने मान्यता राख्छन् । अनि त, आफूलाई सक्रिय बनाउन चाहँदैनन् । 

‘विदेश जाने अधिकांश नेपालीहरूको समस्या नै के हो भने थोरे सोच्ने । म यो कामको लागि आएको छु, मेरो दुई वर्षमा भिसा सकिन्छ । त्यसपछि म नेपाल फर्किन्छु भन्ने सोच्छन् । तर, त्यो होइन, त्यो दुई वर्षमा पनि यो भन्दा राम्रो के गर्न सक्छु ? कसरी राम्रो गरेर अगाडि बढ्न सक्छु भनेर सोच्नुपर्छ,’ उनले भने ।

‘म माथिको पोजिशनमा पनि काम गर्न सक्छु भनेर अघि बढ्ने हिम्मत र आँट गर्नुपर्छ । दुबईमा पनि कतिपय नेपालीहरू ठुलो पोजिशनमा पनि छन् ।’ उनले अगाडि भने । 

नेपालीका लागि सहयोगी  

दुबईमा उनले आफ्नो लागि मात्र हेरेका छैनन् । कोरोना महामारीपछि धेरै कम्पनीहरूले कर्मचारी कटौती गर्न थाले । त्यसले धेरै नेपालीहरूले जागिर गुमाए । त्यो बेला उनले धेरै नेपालीहरूलाई जागिर लगाइदिए । 

एकदिन एकजना रेस्टुरेन्टको ढोकामा उभिरहेको थियो । त्यो नेपालीजस्तै लागेर उनले सोधिहाले । नभन्दै उनी आफू नेपालबाट भिजिट भिसामा आएको बताए । 

‘भिजिट भिसामा बोलायो । अहिले फोन अफ गरेर बसेको छ । के गर्ने ? कस्तो गर्ने भन्ने केही थाहा छैन भन्यो । त्यसपछि मैले त्यो मान्छेलाई रुममा लिएर गएँ । भोलिपल्ट मेरो कनेक्सनमार्फत त्यो भाइलाई रेस्टुरेन्टमा काममा लगाइदिएँ,’ उनले भने ।  उनको सम्बन्ध म्यानेजर, डाइरेक्टर जस्ता ठूल्ठूला व्यक्तिहरूसँग छ । जसले गर्दा उनलाई सहयोग गर्न सजिलो भएको छ । 

सामाजिक सञ्जालमार्फत उनले ‘रिफर फ्रि जब’ ग्रुप पनि बनाएका थिए । फेसबुकले पछि त्यो ग्रुप ब्लक गरिदियो । तर, ह्वाट्सएपमा अहिले पनि एक्टिभ छ । त्यहीबाट समस्यामा परेका नेपालीहरूलाई जब खोजिदिने भइरहेको उनले जनाए ।

उनी हाल दुबईको प्रतिष्ठित इफ्को (आईएफएफसीओ) कम्पनीको एरिया म्यानेजर छन् । उक्त कम्पनी संसारको ४० देशमा छ । 

सुरुमा दुबई जाँदा उनी आफू यो अवस्थामा र यो लेभलमा पुगुँला भनेर सोचेका थिएनन् । उनको अबको सोच नेपाल मात्र नभई संसारका धेरै देशमा आफ्नै बिजनेस होस् भन्ने चाहना छ । ‘नेपाली नागरिक नै भएर पुरै विश्वभर व्यवसाय गर्ने भन्ने सोच छ । मलाई अहिले पनि अमेरिका तथा युरोपतिर सिफ्ट गर्न अफर आइरहेको हुन्छ । तर, म नेपाली हुँ, नेपालीको पहिचान गुमाउन चाहन्न’ उनले भने । 

दुबईमा आउने धेरै नेपालीहरू जनचेतनाको अभावमा समस्यामा पर्ने गरेको भन्दै त्यसका लागि सचेत हुन आग्रह गरे । ‘दुबई आएका धेरै नेपालीहरूको गुनासो भनेकै भिजिट भिसामा आएको, यहाँ काम पाइन्छ भन्यो । यति पैसा खायो तर, अहिले बिचल्ली भयो भन्ने कुरा गर्छन् । यस्तो सोसल मिडियाको जमानामा आफू पनि सचेत हुनुपर्‍यो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप