सोमबार, ०३ वैशाख २०८१
ताजा लोकप्रिय

एडम होलिहोक पाकिस्तानी क्रिकेट टोलीको ब्याटिङ प्रशिक्षक

बुधबार, १३ मङ्सिर २०८०, १० : ५६
बुधबार, १३ मङ्सिर २०८०

काठमाडौँ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले इङ्ल्यान्डको एडम होलिओकलाई राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । ५२ वर्षीय होलिओक इङ्ल्यान्डको राष्ट्रिय टोलीका  पूर्व अलराउन्डर खेलाडी हुन् ।

पाकिस्तानी क्रिकेट टोलीले आगामी डिसेम्बर—जनवरीमा अस्ट्रेलियासँग तीन टेस्टको शृंखला खेल्दैछ । त्यो शृंखलामा होलिओक पहिलोपटक पाकिस्तानी टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा सहभागी हुने समाचारमा जनाइएको छ । 

हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा आफ्नो टोलीले निराशाजनक प्रदर्शन गरेपछि पीसीबीले प्रशिक्षण टोलीका अधिकांश पदाधिकारीलाई पदबाट बर्खास्त गरेको थियो । अस्ट्रेलियामा जन्मिएका होलिओकले इङ्ल्यान्डका लागि चार टेस्ट र ३५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । 

होलिओकले यसअघि हङ्कङ, अफगानिस्तान र इङ्ल्यान्ड लायन्समा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । पीसीबीले होलिओकको आगमनपछि राष्ट्रिय टोलीको ब्याटिङमा सुधार आउने विश्वास ब्यक्त गरेको छ ।

पाकिस्तानी टोली हालै सम्पन्न एकदिवसीय विश्वकपमा निराशाजनक प्रदर्शन गर्दै प्रारम्भिक चरणबाटै घर फर्किएको थियो । त्यसलगत्तै पीसीबीले प्रशिक्षण टोलीमा रहेका सबैलाई बर्खास्त गरेको थियो । त्यसपछि पीसीबीले गत साता उमर गुल र सइद अजमललाई अस्ट्रेलिया भ्रमणका लागि बलिङ प्रशिक्षकमा नियुक्त गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप