शनिबार, १९ फागुन २०८०
ताजा लोकप्रिय
अन्तरवार्ता

प्रचण्ड, बाबुराम र विप्लव मिल्दैमा केही माखो मार्दैनन् : पूर्वमन्त्री लोकेन्द्र विष्ट

‘अहिलेको व्यवस्था बुर्जुवा गणतन्त्र हो, जसले जहाँजहाँ खेलाए पनि हुन्छ’
बुधबार, १३ मङ्सिर २०८०, १४ : ५८
बुधबार, १३ मङ्सिर २०८०

पूर्वमन्त्री एवं माओवादीका चर्चित नेता लेकेन्द्र विष्ट मगर अहिले राजनीतिमा गुमनाम छन् । चार दशक लामो समय राजनीतिमा सक्रिय रहेका विष्ट २०७६ मा पार्टी परित्याग गरी कृषि व्यवसायमा सक्रिय रहँदै आएका छन् । सुरुमा काभ्रेको भकुण्डेबेंसीमा ४३ रोपनी जग्गामा कालो धान खेती गरेका उनले २०७६ सालतिर दाङको तुलसीपुर उपमहानगरपालिका–१८, तुलसीपुर–घोराही सडकखण्ड नजिक ६६ कट्ठा जर्जर जमिनमा ड्रागन फ्रुटको व्यावसायिक खेती गरी मनग्य आम्दानी गरेका छन् ।

कुनै बेला विष्ट माओवादीले सुरु गरेको सशस्त्र युद्धमा होमिएका थिए । गणतन्त्र स्थापनापछि उनी दुई पटक मन्त्री र सांसद भए । २०५२ सालमा माओवादीले युद्ध सुरु गर्दा १९ जना केन्द्रीय सदस्यमध्ये विष्ट प्रभावशाली नेता थिए । शान्ति प्रक्रियामा आइसकेपछि पनि उनी पार्टीभित्र प्रभावशाली नेतामै गनिन्थे । तर २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीबिच भएको एकताप्रति असहमति जनाउँदै उनले माओवादी परित्याग गरेका हुन् । त्यसयता राजनीतिमा गुमनाम जीवन बिताए पनि उनी मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबाट बेखबर भने छैनन् । व्यक्तिगत कामले काठमाडौँ आएका उनै  विष्टसँग रातोपाटीका सम्वाददाता गणेश पाण्डेले कुराकानी गरेका छन्  । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

के कामले काठमाडौँ आउनुभयो ?

व्यक्तिगत कामले आएको हुँ । केही समय भयो, यतै छु ।

ड्रागन फ्रुटको खेती कस्तो छ ?

ठिकै छ । राम्रै भइराखेको छ ।

देशको पछिल्लो राजनीतिक अवस्था देखेर तपाईंलाई फेरि राजनीतिमा आउन मन लागेको छैन ?  

राजनीतिमा मेरो खाँचो छैन । म त्यहाँ गए पनि बेइमान गराइहाल्छन् ।

पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेर्नुभएको छ ? गणतन्त्र बद्नाम भइराखेको छ । व्यवस्था धरापमा पर्‍यो भन्दै छन् नि ?

यो असली गणतन्त्र होइन । यो बुर्जुवा गणतन्त्र हो । जसले जहाँजहाँ खेलाए पनि हुन्छ । चौतारीमा राखेको मादलजस्तै हो, जसलाई मन लाग्छ, उसले जसरी बजाए पनि हुन्छ । त्यसकारण अहिलेको गणतन्त्र बुर्जुवा गणतन्त्र हो । हामीले चाहेको असली गणतन्त्र आएकै छैन ।

२०५२ सालमा जुन उद्देश्य राखेर तपाईं जनयुद्धमा होमिनुभयो, केही समय मन्त्री र सांसद पनि बन्नुभयो । अहिले राजनीति त्यागेर खेती किसानीमा लाग्नुभएको छ । यो व्यवस्थाले फाइदा गर्‍यो कि बेफाइदा ?

व्यक्तिगत रूपमा मलाई फाइदा बेफाइदा केही छैन । मन्त्री पाउनका लागि क्रान्तिमा लागेको पनि होइन । त्यतिबेला पार्टीले यसलाई अलिकति अनुभव गराइदिऊँ न भनेर चोपलेको मात्र हो । मैले केही पाइनँ भनेर पार्टी र राजनीति छोडेको पनि होइन ।

यही गणतन्त्रमा यसका सामान्य सिद्धान्तहरूलाई पालना गर्ने/गराउने कमरेडहरू नै कति लागि परेका छन्, देख्नुभएकै छ । विरोधीहरूले के गर्छन्, कसो गर्छन्, बदनाम गर्नु उनीहरूको धर्मै हो । संघीय लोकतान्त्रिक गणतन्त्रमा सामान्य बुर्जुवा राजनीतिक चरित्र पनि हिजो क्रान्ति गरेर आएका पार्टी र कमरेडहरूमा नभएपछि अरूले हेप्ने कुरा स्वतः भइहाल्यो नि । व्यक्तिगत रूपमा मैले के सोचेँ र के गरेँ भन्ने सहायक पाटो हो । मूल कुरा संस्था र नेतृत्वको कुरा गर्नुपर्छ ।

तपाईंले भनेजस्तो असली गणतन्त्र यही व्यवस्थाबाट आउँछ कि अर्को क्रान्ति आवश्यक छ ?

यो गणतन्त्र ल्याउन मैले पनि नेतृत्व गरेको हो तर म निर्णायक होइन । अर्को कुरा, अहिलेको लोकतन्त्र, संघीयता र गणतन्त्र ल्याउन पनि धेरै ठुलो कुर्बानी गरेको हो । दुःख गरेको हो । राजनीतिबाट पलायन भएको जुन कुरा छ, पलायन हुने वातावरण कसरी आयो, त्यो तपाईंहरूले खोज्ने कुरा हो । यसमा मेरो व्यक्तिगत रहर र इच्छा भन्दा पनि परिस्थिति त्यस्तै बन्यो । पार्टी एक ढङ्गले बुर्जुवा हुँदै गयो । हामीले भनेजस्तो नहुने भयो । नेतृत्वले सुन्ने कुरा पनि भएन । खास माओवादी पार्टी छैन । पार्टी नै नभएपछि हाम्रो काम के छ र ?

अहिले विदेशी टाउके, लाउके, धुपौरेहरू र अन्धभक्तहरूकै काम बढी छ । पुरानाभन्दा अब नयाँ जोगीहरू, घर साङ्लाभन्दा वन साङ्लाको बढी काम छ । सुकिलामुकिला, चारैतिर  फण्डा गरी घेरा हाल्ने, गाली गर्नेको काम छ । हामीजस्ता सोझा, सिधा इमानदारहरूको के काम ?

पूर्वमाओवादी घटकहरू फेरि जुट्ने काम भइरहेको छ । प्रचण्ड, बाबुराम र विप्लवबिच वार्ता भइराखेको छ । पार्टीमा तपाईंको पुनरागमन हुने अवस्था छ कि छैन ?

मबाट केही हुँदैन । यिनीहरूले गरेर पनि केही हुँदैन । सिन्को भाँच्दैनन् । एकता भनेको पानीमा उठ्ने फोकाजस्तै हो । निर्णायक फरक पार्दैन । प्रचण्ड, बाबुराम मिल्दैमा, विप्लव मिल्दैमा केही माखो मार्दैनन् । यिनीहरूको नाडी छामिसकेको छ । जहाँसम्म मैले नयाँ पार्टी खोल्ने कुरा ९९.९९ प्रतिशत असम्भव छ ।

त्यसो भए राजनीतिबाट सधैँका लागि सन्यास लिएको भन्दा हुन्छ ?

सन्यास भन्ने अर्थ त्यति राम्रो पदावली होइन कि जस्तो लाग्छ । राजनीति के बुझ्नु पर्‍यो भने यो कमाइ खाने भाँडो होइन । राजनीति सामान्य सेवा हो । भोलेन्टियर सर्भिस हो । जागिर, ठेक्कापट्टा हुनुभएन । राजनीतिमा मैले सबै कुरा गरेँ । अब म बाँकी जीवन सामाजिक सदस्यको रूपमा देश र जनताका लागि के कति योगदान दिन सक्छु, दिन्छु ।  आफ्नो ठाउँबाट दिइराखेको छु ।

पछिल्लो समय नयाँ पुस्ता र दलहरूको आगमन भइराखेको छ । रवि, बालेन जस्ता युवापुस्ता आउने क्रम जारी छ । उनीहरूको राजनीतिक भविष्यलाई कसरी  हेर्नुभएको छ ?

राजनीतिमा रवि लामिछाने किन आए ? रवीन्द्र मिश्र किन आए ? हर्क, बालेन किन आए ? राजावादीहरू किन सलबलाइराखेका छन् ? त्यो  कुरा बुझ्नु जरुरी छ । १० वर्षे जनयुद्ध र १९ दिने जनआन्दोलनका सहयात्री र त्यसको नेतृत्व टिमले जे–जति भूमिका खेल्नुपर्ने थियो, खेल्न नसकेको हुनाले उनीहरूले टाउको उठाउने मौका पाए । पार्टीले केही गर्दैन रहेछ, स्वतन्त्रलाई दिए हुन्छ भन्ने कुरा जनतामा भ्रम पर्‍यो ।

पूर्वमा हर्क साम्पाङलाई, बालेनलाई जिताउनुको पछाडि यो नहुनुभन्दा के जाति भने जस्तै हो । त्यसकारण राजनीतिक पार्टी र नेतृत्वहरू राज्यसत्तामा करिब करिब असफल भएको हुनाले आएको हो तर यो सफल हुँदैन । राजनीतिक पार्टीहरू सच्चिनुपर्छ । लडेर ल्याएको संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्नका लागि अहिलेसम्म उनीहरूले जे–जति कमजोरी देखाएका छन्, त्यो सच्याउनुपर्छ ।

यही व्यवस्थालाई सच्याउने हो कि खारेज गर्ने हो ?

अहिले नै क्रान्ति त हुँदैन । त्यो सम्भावना देखिँदैन । कसैले पनि क्रान्ति गर्न सक्दैन । भविष्यमा यो व्यवस्थाको काम छैन । यसलाई उल्टाउनुपर्छ, किनभने यो व्यवस्थाबाटै सबैको हकहित हुने अझै देखिँदैन । यो बुर्जुवा व्यवस्था हो । अन्ततः क्रान्ति गरेर नयाँ जनवाद ल्याउनुपर्छ । अन्तर्यमा यो व्यवस्था नेपालमा काम छैन । तर अहिले अर्को तयारी नगरुन्जेल र क्रान्ति नहुन्जेल यसलाई सच्याउन सकिन्छ भने सच्याउने, सकिँदैन भने अन्ततः जनताले लात हान्ने हो ।

अब खेतीपातीमै जीवन बिताउने सोच बनाउनुभयो, होइन ?

यो पेसा रोजीरोटीको पाटो हो । अहिले पनि म राजनीतिक प्राणी नै हुँ । सक्रियमात्र नभएको हो । समाजको सदस्य भइसकेपछि ऊ राजनीतिक हुन्छ । देशमा के भइरहेको छ ? राजनीतिक पार्टीले के गरिरहेका छन् ? राम्रोसँग चासो, चिन्ता र अध्ययन गरेको छु । त्यसको मतलब म कुनै पशु होइन । एक पेट खानेमात्र मेरो काम होइन । जहाँसम्म कृषि व्यवसायको कुरा छ, बाँच्नका लागि केही न केही पेसा अँगाल्नु पर्छ ।

राजनीति गर्नेहरूले कुनै पेसा र व्यवसाय नअँगाल्दा बेथिति आएको छ । अहिले नेताहरूले कुनै पेसा व्यवसाय अँगालेका छन् त ? त्यही नहुँदा राजनीतिलाई मागी खाने, धुपौरे, झोले घिनलाग्दो गरी मागेर खाने, गिडगिडाएर खाने हाबी हुँदै गए । त्यो गर्नु बेठिक हो । ठुला  नेताहरूले ठुला पुँजीपतिसँग माग्छन् । कार्यकर्तालाई तिनका जुठापुरा खान दिन्छन् । यस्ता प्रवृत्तिले राजनीतिक संस्कार बिगार्‍यो ।

पछिल्लो समय प्रचण्ड लगायत माओवादी नेताहरूसँग सम्पर्क वा भेटघाट छ कि छैन ?

मेरो केही काम पर्दैन, त्यसैले मेरो भेटघाट हुँदैन । म खोज्दै जान्न । उहाँहरूलाई अब म किन काम लाग्ने भएँ र ? त्यसैले भेटघाट जरुरत पनि पर्दैन, भेट्न मन पनि लागेको छैन ।

राजनीतिबाट इमानदार नेताहरू पलायन हुँदा पार्टीलाई क्षति पुग्दैन ?

त्यो मेरोमात्र समस्या होइन । देशको समस्या हो । पार्टीको समस्या हो । मैले चिन्ता गर्ने, म इमानदार छु, मलाई राख भनेर म गिडगिडाउने, ढोग गर्नुपर्ने, गुलामी गर्नुपर्ने जरुरी छैन । मेरो ठाउँबाट म कति इमानदार भएँ/भइनँ, कति काम गर्छु/गर्दिनँ, त्यो भविष्यले मूल्याङ्कन गर्ला । उनीहरूले पार्टीबाट योगदान गर्लान् । मैले सानो भए पनि सामाजिक रूपमा गरिरहेको छु । बाँकी जीवन यसैगरी बिताउँछु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप