शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
माछापालन

सुदूरपश्चिममा उत्पादित माछाले ७५ प्रतिशत माग धान्दै

पोखरीमा पुगेर किनेको माछा घर–घर लगेर बिक्री
मङ्गलबार, १९ मङ्सिर २०८०, १० : ५७
मङ्गलबार, १९ मङ्सिर २०८०

धनगढी । कैलालीको कैलारी गाउँपालिका–८ डुधियाका तीन सहोदर दाजुभाइ श्रेष्ठबहादुर चौधरी, चुनीलाल चौधरी र रामलाल चौधरीको दिनचर्या हरेक बिहान ३ बजेदेखि सुरु हुन्छ । घरबाट एक साथ निस्किने उनीहरु झिसमिसेमै माछा पोखरी पुग्छन् । दैनिक बिक्रीका लागि आफूलाई चाहिने माछाको भारी ठिक पारेर ढक–तराजु, हँसिया, अचानो मिलाउँछन् अनि साइकलमा दिनभरि गाउँघरमा डुलेर व्यापार गर्छन् ।

पोखरीबाट माछा लिएर केही दुरी साथसाथ हिँड्ने उनीहरु निश्चित दुरीपछि भने छुट्टिन्छन् । साँझ फेरि तीनै जना एक ठाउँमा भेट हुन्छन् । दिनभरिको आ–आफ्नो भोगाइ सुनाउँदै, सुन्दै अबेर राति घर फर्किन्छन् ।

रामलाल र चुनीलालले २०४६ देखि माछा बिक्री गर्दै आएका छन् । सुरुमा उनीहरुले धनगढी हाटबजारमा बसेर माछा व्यवसाय गर्दै आएका थिए । कैलालीमा व्यावसायिक माछा पालन वृद्धि हुँदै गएपछि उनीहरुले आफ्नो व्यवसायलाई गाउँघर केन्द्रित बनाएका छन् । दाइहरुको सङ्गतले पछि कान्छो भाइ श्रेष्ठबहादुर पनि २०६६ देखि माछा व्यापारमा जोडिएका हुन् ।

माछा बिक्रीबाट हुने कमाइले उत्साहित भएका श्रेष्ठबहादुर भन्छन्, ‘हामी केही दिन बर्खामा खेतीपातीको काम गर्छौं । त्यसपछि बाह्रैमास यही काममा जुट्छौँ । हाम्रो घर परिवारको गुजारा यसैबाट चल्छ । काम गर्न बाहिर जानु परेको छैन ।’

उनीहरु दैनिक फरक–फरक गाउँघरमा पुगेर माछा बिक्री गर्छन् । ग्राहकको रुचि अनुसार कसैलाई जिउँदो त कसैलाई ग्राहकको घरमै माछा काटेर दिन्छन् । ग्राहकहरुकै घरमा खाना खान्छन् । एक जनाले दैनिक ७ देखि १० गाउँसम्म पुगेर माछा बिक्री गर्ने उनीहरु कैलालीको कैलारी, गौरीगंगा, घोडाघोडी नगरपालिकामा निकै रुचाइएका छन् । उनीहरु कैलालीको चुरे फेदीको गाउँघरसम्म पुगेर माछा बिक्री गर्दै आएको बताउँछन् ।

चुनीलाल भन्छन्, ‘जहाँ बजार छैन । त्यहाँ हाम्रो उपस्थिति छ । हामी पुग्छौँ । हाम्रो आफ्नै ग्राहक र बजार छ । फोन गरेरै हामीलाई बोलाउनु हुन्छ । जहाँ पुग्छौँ, त्यहाँकै ग्राहकको घरमा हाम्रो खाना हुन्छ ।’

दैनिक एक जनाले १५ देखि ३० किलो माछा बिक्री गरेको उनीहरु सुनाउँछन् । माछा पालक कृषकबाट थोक मूल्यमा माछा खरिद गर्ने उनीहरु प्रतिकिलो १०० सय रुपैयाँ मुनाफा लिइ बिक्री गर्छन् । एक जनाले सालाखाला मासिक  ५० हजार रुपैयाँ मुनाफा हुँदै आएको र घर परिवारको खर्च, छोराछोरीको पढाइ खर्चमा कुनै समस्या नभएको श्रेष्ठबहादुर बताउँछन् ।

उनीहरुको काममा छोराछोरीले पनि सघाउन थालेका छन् । रामलाल भन्छन्, ‘कहिलेकाहीँ बिहान लगेको माछा चाँडै सकिने हुन्छ । ग्राहकको माग भएको अवस्थामा छोराहरुले हामी भएकै ठाउँमा थप माछा ल्याइदिन्छन् ।’

matsya bikas kendra

लगिएको माछा बिक्री भइसकेपछि उनीहरु निश्चित ठाउँमा भेला हुन्छन् । तीनै जना एक ठाउँमा जुटेपछि सँगै खाजा खान्छन् ।

रामलालले भने, ‘हामी दाजुभाइ मात्रै होइनौँ, मिल्ने साथी पनि हौँ । बिहान छुट्टिएका हामी साँझ एक ठाउँमा भेट्छौँ । दिनभरिको सुखदुःख साटासाट गर्छौं । राति ८ बजेतिर घर फर्किन्छौँ ।’

पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्ला माछापालनको हवको रुपमा विकास भएको छ ।

यहाँ करिब २ सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ । जसले यहाँका श्रेष्ठबहादुर, रामलाल र चुनीलाल मात्रै होइन, हजारौँ युवालाई आयआर्जनको बाटो खोलिदिएको छ ।

तर माछा पालन व्यवसायमा सरकारी लगानी नहुँदा र बजारीकरणमा समस्या हुँदा माछा पालक किसान भने निराश देखिएका छन् ।

सुदूरपश्चिममा माछा व्यवसायको अवस्था

सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिममा वार्षिक १० हजार मेट्रिक टन माछा उत्पादन हुँदै आएको छ ।

मत्स्य विकास केन्द्र गेटा कैलालीका प्रमुख सूर्य शाहीले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुर जिल्ला माछा उत्पादनको प्रमुख जिल्ला रहेको बताउँदै सुदूरपश्चिममा उत्पादित माछाले यहाँको ७५ प्रतिशत मात्रै माग धानिरहेको जानकारी दिए । बाँकी २५ प्रतिशत माछा भारत तथा अन्य प्रदेशबाट आयात भइरहेको हो ।

सुदूरपश्चिममा माछाको खपत पनि निकै कम रहेको बताइएको छ । एक व्यक्तिले वार्षिक सरदर साढे २ किलो माछामात्रै उपभोग गर्ने गरेको बताइएको छ ।

उत्पादनमा बृद्धिसँगै आउँदो १० वर्षमा प्रति व्यक्तिले १० केजी माछा उपभोग गराउने लक्ष्य रहेको शाही बताउँछन् ।

हालको उत्पादनलाई ४ गुणा बढाउनुपर्ने बताउँदै शाहीले यसका लागि सरकारी लगानी बढाउनुपर्ने औँल्याए । आउँदो १० वर्षभित्र ३० हजार मेट्रिक टन उत्पादन पु¥याउनुपर्ने उनको जोड छ ।

यहाँका माछा पालक कृषकले विभिन्न समस्या झेल्दै आएका छन् । समयमा गुणस्तरीय माछाको भुरा, दाना, औषधिसमेत नपाउने समस्या रहेको बताइएको छ । जसोतसो माछा उत्पादन भए बजारीकरणमा निकै समस्या झेल्नु परेको शाहीको भनाइ छ । योसँगै माछा प्रशोधन, नयाँ परिकार बनाउने तथा माछा खाद्य प्रविधिको समेत अभाव रहेको विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप