मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

‘भुटी दिदी’लाई ७३ वर्षमा नागरिकता

मङ्गलबार, १९ मङ्सिर २०८०, १६ : २३
मङ्गलबार, १९ मङ्सिर २०८०

बझाङ । बझाङको काँडा गाउँमा दर्जनभन्दा बढी ज्येष्ठ नागरिक छन् । उनीहरूमध्ये एक जना अविवाहित महिला छिन् भुटी गुरुङ उर्फ भुटी दिदी । 

हुम्लामा जन्मिएर बुबाआमासँगै साइपाल पुगेकी भुटी दिदीका सात दशक काँडामा लेकबेँसी गर्दै दिन बिते । २००८ सालमा जन्मेएकी भुटी दिदीका बाल्यकालबाटै भेडा–च्याङ्ग्रा साथी बने । त्यसपछिका साथी आफ्नै भाइबहिनी, गाउँले भाइबहिनी र उनीहरूका सन्तान भए । यसैमा बित्यो उनको ७३ वर्ष  । घरको काम, भेडा–च्याङ्ग्रा, गाइवस्तुको गोठ नै उनका लागि संसार बन्यो । यतिसम्म कि उनले बिहे गर्नेसमेत समय पाइन्न ।

आजीवन एकल महिला रहेकी भुटीदिदीलाई गत साता जिल्ला प्रशासनले घरमै गएर नागरिकताको प्रमाणपत्र प्रदान गर्याे । जीवनको उत्तराद्र्धमा प्रवेश गरेसँगै मानसिक रोगले थलिएकी भुटी दिदी भतिज टेक गुरुङको घरमा बस्छिन् ।

गाउँमा तीन पुस्ताले नै उनलाई भुट दिदी भनेर सम्बोधन गर्छन् । उनलाई चिन्नेले पनि भुटीदिदीकै नामले चिन्छन् । धामी, बोहरा, गुरुङ, रोकायालगायत विभिन्न थरका बासिन्दाको बसोबास भएको हुँदा पनि उनी सबैकी भुटी दिदी भएकी हुन् ।

भुटीदिदीले स्वस्थ हुँदा सबैलाई माया गर्ने, सक्दो आफन्तलाई काममा सघाउने र स–साना नानीहरूलाई ‘भदा/भदै’ भन्दै खेलाउने हुँदा गाउँमा उनी सबैकी प्यारी बनेको गाउँपालिका अध्यक्ष मानविर बोहराले बताए ।

भुटीदिदीले काखमा बोकेका भाइ बहिनीहरू अहिले भने बाजेसम्म भइसकेका छन् । तर, भुटी दिदी भने आफन्तकै नाति नातिनालाई खेलाइरहेकी छन् । अहिले उनको दैनिकी घरको आँगन र आफ्नो टोलमै बित्ने गरेको छ । उमेरमा घरायसी काममात्रै होइन, कसैको विवाह, व्रतबन्ध हुँदा कामका लागि अग्रस्थानमा रहने भुटी दिदी केही वर्षयता भने घरमै थन्किएकी छन् ।

साइपाल गाउँपालिका–३ काँडाका ज्ञानबहादुर बोहराले भने, “भुटीदिदीलाई गाउँमा सबैले माया गर्छन् । घरायसी काम, भेडा–च्याङ्ग्राको हेरचाहमै जीवन बिताउनुभएकी दिदीलाई बिहे गर्ने, घरबार जोड्ने कहिल्यै सोच आएन र यत्तिकै बस्नुभयो ।” बुढेसकालमा भने बिहे नगरेको पछुतो पो भयो कि क्या हो मानसिक समस्या आइलागेको बोहराले बताए ।

भतिज टेकको संरक्षणमा रहेकी भुटी दिदी जीवनभर घरायसी काममै बितेको हुँदा उनलाई बिहे गर्न पनि आवश्यक नठानेर अविवाहित नै बसेको टेकले बताए । उनका अनुसार त्यो बेलामा गाउँमा नागरिकताको आवश्यकताबारे पनि कसैलाई थाहा थिएन । विसं ०६४ सालतिर गाउँमा नागरिकता दिने घुम्ती टोली आएपछि धेरैले नागरिकता पाएको र फुपू गोठालो गएको हुँदा छुटेको उनले सुनाए । “उहाँलाई मात्रै होइन, हामीलाई पनि नागरिकताको बारेमा जानकारी थिएन । पछि घुम्ती शिविरको बेलामा नागरिकता र सरकारी सेवा सुविधाबारे जानकारी भयो त्यसपछि गाउँमा भेटिएकाले नागरिकता बनाएका थिए,” उनले भने ।

भतिज टेकका अनुसार त्यस बेलामा पनि धेरै जनाको नागरिकता बनाउन छुटेको थियो । “अहिलेको जस्तो सञ्चार थिएन । त्यसैमा पनि साइपाल गाउँपालिकामा हुने कुरै भएन । नागरिकता दिने टोली गाउँमा आयो । गाउँमा जति भेटिए, उनीहरूले नागरिकता पाए । टेक अहिले फुपूको नागरिकता समयमै नबनाएकोमा पछुतो गर्नुहुन्छ”,उनले भने, “त्यसै बेला बनाएको भए राज्यले दिने सेवा केही पाइन्थ्यो कि ! अहिले त वृद्धभत्ता पनि पाइन्छ ।  नागरिकता नहुँदा यतिका वर्ष त्यसबाट वञ्चित हुनुभयो ।” 

साइपालवासीलाई नागरिकता बनाउन त्यति सजिलो छैन । पैदल हिँडेर नै चार/पाँच दिनसम्म लाग्ने सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति रु ३० हजार खर्च हुन्छ । खर्च र समयका कारण पनि केहीले नागरिकता लिन ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताए । 

प्रमुख जिल्ला अधिकारीले भने, “सात दशकसम्म पनि नागरिकता नपाएको भन्ने खबर सुनेपछि घरमै गएर पनि नागरिकता दिनुपर्छ भन्ने सोचेँ । त्यसका लागि हिँडेरै भए पनि साइपाल जाने तयारीमा थियौँ । सौभाग्यवश, साइपालमा जलविद्युत् उत्पादनको तयारी गरिरहेको कम्पनीको हेलिकोप्टर आयो । त्यसैमा गएर नागरिकता प्रदान गर्‍यौँ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप

छुटाउनुभयो कि ?