बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सीमा नाकामा भारतीय सुरक्षाकर्मीले कडाइ गर्दा नेपालीलाई सास्ती

बिहीबार, २१ मङ्सिर २०८०, ०८ : ५९
बिहीबार, २१ मङ्सिर २०८०

रौतहट । रौतहटसँग जोडिएको साना नाकामा भारतीय सुरक्षाकर्मीले कडाइ गर्दा नेपाली नागरिकले अनावश्यक सास्ती खेप्नु परेको छ । विभिन्न बहानामा सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई एसएसबिले अनावश्यक दुःख दिने गरेको पीडितहरुले बताए ।

भारतीय सुरक्षाकर्मीले सीमाक्षेत्रमा आवतजावत गर्ने नेपालीलाई रोकेर पहिचान खुल्ने कागज देखाउन भन्दै दुःख दिरहेका छन् भने नेपाली नम्बरको मोटरसाइकलमा समेत कडाई गरेको छ।  गौर बैरगनियाबाहेक साना नाकाबाट चारचक्के गाडी आउजाउमा पूर्णरूपमा रोक लगाइएको छ ।

सीमावर्ती बौधिमाई नगरपालिका सरमुजवा गाउँका स्थानीय सञ्चारकर्मी आदर्श उपाध्यायले छोरा र  छोरीको बिहे सीमापारी भारतीय गाउँमै गरेका छन्। त्यस्तै सोही गाउँका ओमप्रकाश यादवले  पनि तीन छोरा छोरी मध्ये दुईजनाको बिहेवारी भारतीय गाउँमै गरेका छन्। 

उपाध्याय र यादव उदाहरण मात्र हुन्। रौतहटको सीमावर्ती बौधिमाई, ईशनाथ, राजपुर, परोहा, गौर, राजदेवी नगरपालिकाको हजारौँ परिवारका छोरा छोरीको बिहेवारी भारतीय गाँउहरुमा भएको छ। त्यस्तै उता सिमापारिका भारतीय चेली छोरीहरूको सिमाना वारी नेपालको गाउँहरुमा विहेवारी भएको छ। 

पत्रकार आदर्श उपाध्यायका अनुसार रौतहटस्थित २८ किलोमिटर लामो भारतीय सिमानासँग जोडिएको नेपाली गाउँका प्रायः सबै मानिस भारतीय बजार माथिनै निर्भर रहेका छन् । यहाँका अधिकांश मानिस घरको लागि दैनिक उपभोग्य वस्तु, कपडादेखि खेती किसानको लागि चाहिने बीउ, मलखाद लागायतका सामग्री भारतीय बजारबाट नै ल्याउने गर्दछन्।

जिल्ला सदरमुकाम गौर २०.२५  किलोमिटर टाढा र सीमापारी भारतीय बजार कुण्डवा चैनपुर, घोडासहन नजिक अर्थात मात्र ५.७ किलोमिटर दूरीमा रहेकाले यहाँका मानिसको घर परिवारमा कसैलाई कुनै बिरामी हुँदा समेत उपचारको लागि भारतीय डाक्टरमाथि निर्भर रहेको पत्रकार उपाध्यायले बताए ।

केही महिना अघि एकजना पाकिस्तानी महिला सीमा हैदर महोत्तरीको भिठामोड नाका हुँदै भारत उत्तरप्रदेशको नोयडा पुगेपछि सीमामा तैनाथ भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबीले नाकामा कडाइ गरेको हो ।

नेपाल-भारत सीमा क्षेत्रबाट आवतआवत गर्दा भारतीय सुरक्षाकर्मीहरुले परिचय खुल्ने कागजात माग्नुका साथै चार पाङ्ग्रे गाडी गौर हुँदै बैरगनिया नाका भएर मात्र आउजाउ गर्न दिएका छन्।

आकस्मिक बिरामी पर्दा भनसुन गरेपछि बिरामी बोकेको गाडी बाहेक भारतीय सुरक्षाकर्मीले रोक लगाएको छ । भारतीय सुरक्षाकर्मीले गाडी आउजाउमा रोक लगाएपछि ५ किलोमिटर पारीको गाउँ पुग्न २०.२५ किलोमिटर टाढाको घुमाउरो बाटो जानुपर्ने बाध्यता भएको पत्रकार उपाध्यायले गुनासो गरे ।

भारतीय मिडिया  अनुसार पाकिस्तानी नागरिक सीमा र भारतीय नागरिक सचिन गत १० मार्चदेखि १७ मार्चसम्म काठमाडौंमा थिए । त्यसपछि उनी स्थलमार्ग मधेश प्रदेश हुँदै भारतको युपी नोयडा पुगेका थिए। रौतहटका सिडियो धर्मेन्द्र कुमार मिश्रले भारतीय सुरक्षाकर्मीसँगको संयुक्त बैठकमा छलफलको माध्यमले समस्या समाधानको पहल गर्ने विश्वास दिलाए ।

झण्डै ९ महिनादेखि सीमाक्षेत्रका मानिसको समस्याबारे कुनै जनप्रतिनिधि, तथा कुनै पनि दलका नेताले राज्यस्तरसम्म आवाज उठाउन नसकेको कारण भारत सरकारको ध्यनाकर्षण हुन सकेको छैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप