सोमबार, १४ जेठ २०८१
ताजा लोकप्रिय

दुई गोलको अग्रता जोगाउन नसक्दा चुक्यो इलाम

शनिबार, २३ मङ्सिर २०८०, १५ : ४१
शनिबार, २३ मङ्सिर २०८०

काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ । दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौँ खेलमा शनिवार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो । 

अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको सङ्कट टार्‍यो । ४४औँ मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे । पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल थप्यो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे । त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो ।

धनगढीले ६९औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए । एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन् । अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके ।

७४औँ मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए । तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन् । खेलको अन्त्यतिर ओलावाले आफिजको हेडरबाट गोल गरेपछि धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे ।

अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किँदा धनगढीले जित निकाल्ने अवसर गुमायो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा पोखरा थण्डर्सको पनि समान आठ अङ्क भए पनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो । यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अङ्कसहित छैटौँ स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप