देवीको अगाडि भैरवले कटौरा लिएर नाच्दा...
मल्लकालमा आम जनताबीच कामको बाँडफाँड गर्दा चित्रकारिताको काम भएको नेवार समुदायभित्रको चित्रकार थरधारीमा पर्न गयो । तत्पश्चात नेवार समुदायका अनुष्ठान तथा संस्कृतिका लागि आवश्यक चित्र बनाउने काम चित्रकार थरधारीले गर्दै आए । यसमा पनि देवी–देवताको चित्र (पौभा) बनाउने काम चित्रकारबाहेक अरुबाट हुनै नसक्ने जस्तो हुन्थ्यो । पछिल्लो कालमा आएर बिस्तारै नेवार समुदायका शाक्य, वज्राचार्य, ह्योजु, सुवाल, जोशी लगायतले समेत पौभाचित्र बनाउन थाले । अहिले त जो कसैले यस्ता चित्र बनाउन थालेका छन् । यद्यपि चित्रकारहरूले अद्यापि पौभाचित्र बनाउने कार्य गर्दै आएका छन् ।
पुस्ता दर–पुस्ता हुँदै यो परम्परा कायमै हुँदा आजको दिनसम्म पौभाचित्र बनाउने अति विशिष्ट कलाकारका रूपमा चित्रकारहरू नै बढी छन् । चित्रकारिता गर्ने भएकै कारण पहिले चित्रकार थरधारीलाई अलि हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । त्यसैले नेवार समुदायकै अन्य थरका मान्छेलाई कला क्षेत्रमा प्रवेश गर्न परिवारबाटै रोक लगाउने गरिन्थ्यो । यहाँ चर्चा गर्न लागेका कलाकार भने श्रेष्ठ हुन्, चित्रकार होइनन् । यसले पनि कला क्षेत्रमा अलग्ग अर्थ राख्छ ।
गत नोभेम्बर १८ देखि ठमेलस्थित ‘म्युजियम अफ नेपाली आर्ट’ (मोना)मा पौभाचित्रका अति विशिष्ट चित्रकार उदयचरण श्रेष्ठको सोलो कला प्रदर्शनी भइरहेको छ । आगामी १ जनवरीसम्म चल्ने यस प्रदर्शनीमा देवी गायत्री, गंगा, दक्षिणकाली, मातृका, भैरवी, वैष्णवी, अर्धनारीश्वर संहार ताण्डव, देवी कालरात्रि, सप्तम दुर्गा, बगलामुखी, अन्नपूर्ण, लोकेश्वर, श्रीगणेश, महालक्ष्मी, कौमारी र चन्दा भैरव, चन्दा भैरव र कौमारी लगायत अनेकौँ पौभाचित्र अवलोकन गर्न सकिन्छ ।
६० वर्ष टेक्दै गरेका कलाकार उदयको पहिलो चित्र ‘शिव परिवार’ भन्ने थियो । उनको त्यो पहिलो चित्र त यसपालिको प्रदर्शनीमा छैन तर उनले बाल्यकालमा कोरेका कतिपय स्केच भने प्रदर्शनमा राखिएका छन् । यसबाहेक आधुनिक दृश्यचित्र, व्यक्तिचित्र, यथार्थवादीदेखि स्वैरकाल्पनिक, यहाँसम्म कि अमूर्त चित्रलाई समेत प्रदर्शनार्थ राखिएको छ । अति राम्रा अद्भूत देवी–देवताका पारम्परिक पौभाचित्र त बग्रेल्ती रूपमा छन् नै ।
उनैको भनाइ अनुसार, सुरुवाती समयमा उनलाई पौभा कलाबारे राम्ररी थाहा थिएन । क्रमशः देवी–देवताका चित्रमाथि आस्था र रुचि बढ्दै जाँदा उनी पौभाचित्रमा अब्बल कलाकार बन्न पुगे ।
नेपाली परम्परागत यस्ता पौभा कलालाई एकै ठाउँमा सङ्कलन गरेर सोलो कला प्रदर्शनी गर्नु अति नै जटिल काम हो । पौभा कला अति महँगो हुन्छ । तैपनि यस्ता कलालाई कसै न कसैले किनेर आफ्नो सङ्कलनमा राखिसकेका हुन्छन् । प्रदर्शनीका लागि ती भावकसँग केही समयका लागि मागेर ल्याउनुपर्ने (लोन लिनु भनिन्छ कलागत भाषामा) हुन्छ ।
किनेर लैजाने भावकले पनि पुनः प्रदर्शन गर्नका लागि सितिमिती दिँदैनन् । अर्को कुरा, प्रदर्शनी गर्दा सुरक्षाका दृष्टि (वातानुकूल प्रदर्शन कक्ष नहुनु)ले सम्हालेर राख्न अझ कठिन हुन्छ । यस कारण कलाकार आफैँले यस किसिमको प्रदर्शनी आयोजना गर्नु असम्भव छ । यसपल्ट भने मोनाले प्रदर्शनीको सम्पूर्ण व्यवस्थापन जिम्मा लिएकाले सम्भव भएको हो भन्दा असजिलो मान्नुपर्दैन । किनभने यस्ता काम अन्य कलाका ग्यालरीमा प्रायः हेर्न–देख्न पाइन्न । यसअघि मोना अझ भनौँ मोनाका सञ्चालक तथा व्यवस्थापक राजन शाक्यले पौभा कलाका हस्ती लोक चित्रकार र समुन्द्रमान सिंहका चित्रलाई सोलो कला प्रदर्शनीको व्यवस्था मिलाएका थिए ।
पश्चिमा अनि पूर्वेली कलाको फ्युजन
कल्पनाले मडारिएका, न्यारेटिभ आर्टको झझल्को दिने, गहिरो ध्यान तथा अथाह ज्ञानको समिश्रण बोकेको लाग्ने अनेक प्रकारका चित्र यस कला प्रदर्शनीमा समावेश छन् । केन्द्रबिन्दुमा भने उनले २० वर्ष लगाएर बनाएको देवी गायत्रीको चित्र छ । जसमा गायत्रीका पात्रवटा शिर र १० वटा हात ल्याइएको छ । सामान्यतः गायत्री देवीलाई सरस्वती, लक्ष्मी अनि दुर्गाको रूप मानिन्छ । ज्ञान, कला–साहित्य, गीत–संगीत, नृत्य, नाटक समग्रमा वेदको देवीको रूपमा पुजिने हुँदा पनि यी देवीको महत्ता एक अलग्ग प्रकारले स्थापित भएको देखिन्छ । यिनै देवीको नामबाट उत्पन्न भएको गायत्री मन्त्रलाई हिन्दुहरूले विशेष रूपमा लिने गर्छन् ।
औपचारिक कला शिक्षा लिएका र पश्चिमी कला प्रविधिलाई अँगाली सशक्त चित्र बनाउने एक मात्र कलाकार हुन् उदयचरण । नेपाली परम्परागत कलाको पूर्वीय अंकन पद्धति, कला दर्शन, कलागत मान्यता र समसामयिक कलाको पश्चिमी कला अंकन पद्धति, स्वरूप, शैली अवधारणा नितान्त अलग हुन् । यी दुवैको ज्ञानका आधारमा कला सिर्जना गर्ने कलाकार उदयलाई अद्वितीय प्रतिभा मान्नुपर्छ ।
सन् १९९७ मा बनाएको उनको ‘चिल्ड्रेन अफ इस्ट एन्ड वेस्ट’ नामक चित्र यसको गतिलो उदाहरण हो । यो चित्रमा अचम्मको कलागत संयोजन छ । यो परम्परागत चित्र होइन । पृष्ठभूमिमा दृश्यचित्र छ । यसमाथि ताजमहल, धरहरा पनि छ । अजङ्गका सिंह र बाघ पनि छन् । जिराफ अनि जोकरजस्ता मानव आकृति पनि छन् । ज्वालामुखी विस्फोट त्यहाँ देखिन्छ भने ज्वालाबाट निस्किरहेका अजीवको मानव–आकृति पनि देखिन्छ । स्वैरकाल्पनिकताको यथेष्ट अनुभूति दिने यो चित्रमा सबै कुराको समावेश हुनु वा गर्नुले पनि एउटा लामो कथा र गाथा बोकेको स्पष्ट देखिन्छ । यो कला उनले एक इन्डोनेसियन म्युजिसियनका लागि बनाइदिएका थिए । जसले भारतीय प्रख्यात म्युजिसिएन हरिप्रसाद चौरसियासँग मिलेर म्युजिक अनि भिजुअल आर्टलाई लिएर एक अलग्ग किसिमको कार्यक्रम गर्न लागेका रहेछन् । यसैका लागि बनाइएको यो चित्र इन्डोनेसियाको बालीमा केही समय प्रदर्शन पनि भयो ।
यसै बेलाको अर्को चित्रमा पहाड, हिमाल, नदीमाथि डुंगाहरू अनि आकाशमा देवी–देवता (पारम्परिक स्वरूपमा) स्थापित गरिएको देखिन्छ । अनेक पारम्परिक बुट्टा गाँसिएका डुंगा हेर्दै जाँदा कसरी पश्चिमी र पूर्वेली कलाको समिश्रण हँुदै छ भन्ने अनुभव गर्न सकिन्छ । सरस्वती र ब्रह्मा आदि धार्मिक पात्रको संगठनले गर्दा पश्चिमा शैलीमा हाम्रो पूर्वीय कलागत प्रवृत्तिको फ्युजन भएको उनका चित्रमा स्पष्ट अनुभव गर्न सकिन्छ ।
सुरुवातमा यस्ता–यस्तै चित्र बनाउँदै आएका उदयचरण पछिल्लो समय नितान्त पौभाचित्रको सिर्जनामा तल्लीन भएका देखिन्छन् । पौभाचित्रकै संंरचनामा पनि नितान्त नौला प्रतीक र विम्बलाई ल्याउने हुँदा उनको कामलाई समसामयिक पौभाचित्र भन्न उपयुक्त देखिन्छ ।
उनले सन् २००९–१० तिर बनाएको जलरङ्गी अनि तेलरङ्गका उत्कृष्ट व्यक्तिचित्र यसै प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । पेन्सिलले बनाएका व्यक्तिचित्र अझ राम्रा र खारिएका देखिन्छन् । जलरङ्गका प्रभाववादी उत्कृष्ट दृश्यचित्रलाई पनि यहाँ अवलोकन गर्न सकिन्छ । ‘म्युजिक एन्ड ह्युज–१, २, ३’ नामकरण गरिएका तीनवटा नितान्त अमूर्तकला प्रदर्शनीमा राखिएको छ । यसमध्ये अमूर्त आँखालाई केन्द्रबिन्दुमा राखेर बनाइएको एउटा चित्र छ, जसमा मोटा, राता, हरिया, पहेँला तुलिकाघात सेता क्यानभासमाथि कुदेका देखिन्छन् । दोस्रो चित्रमा रातो क्यानभासमाथि पहेँलो र कालो रङ्गका रेखा कुदेका देखिन्छन् भने तेस्रोमा नीलो पृष्ठभूमिको क्यानभासमा हरियो, पहेँलो, कालो रङ्गका रेखा गोलाकारमा घुमेका देखिन्छन् । यी तीनवटै अमूर्त चित्र उनले सन् २०१८ मा बनाएका हुन् । यी चित्रमा आधारभूत रङ्ग अनि तत्क्षणको आवेग परिलक्षित भएको बुझिन्छ ।
उनले स्कुल पढ्दाका बेला बनाएको ‘म्हःपूजा’ नामक चित्र अझ मार्मिक देखिन्छ । नेवार समुदायको एक महत्त्वपूर्ण संस्कारलाई लिएर पेन्सिलको रेखाले बनाएको यो चित्रलाई अझै पनि कलाकार आफैँले सम्हालेर राखेका रहेछन् ।
किशोरावस्थामै उनले रेखाहरूमा पकड राखेर संयोजन र प्रस्तुतिको बेजोड परिकल्पना गरी चित्र कोर्थे भन्ने देखिन्छ । व्यक्तिचित्रकै कुरा गर्दा, यसै कला प्रदर्शनीमा राखिएको ‘यशोधा र बालकृष्ण’ नामक काम आकर्षक देखिन्छ । आमाछोराको वात्सल्यले भरपुर यस चित्रमा सुन्दर मुखाकृतिलाई गरहनाले झपक्कै ढाक्दा मनमोहक र माधुर्यले भरिभराउ देखिन्छ । विषय धार्मिक भए पनि समसामयिक अंकन पद्धतिले भरिएकाले यस कलामा समसामयिकताको अंशलाई छाम्न सकिन्छ ।
उदय कहिले नितान्त समसामयिक कलामा अनि कहिले परम्परागत कला पौभामा झुल्कनु उनको अद्भूत कलागत स्वभावमा हो । ‘राजमती’ नामक उनको एउटा यथार्थवादी चित्रकला छ, नेवार युवतीलाई सजधजका साथ टेबुलमा राखी अलग्ग ढंगले प्रस्तुत गर्दा उनीमा रहेको अत्याधुनिक कलाको चेतलाई समेत छाम्न सकिन्छ । सन् १९९५ मा ‘राजमती’ नामक चलचित्र बनाउने खुबै हल्ला चलेको थियो, त्यसै बेला उदयले कल्पनामा उनेर ‘राजमती’ चित्र बनाएका हुन् । यस चित्रमा हाकुपटासीमा सजिएकी युवतीले अर्कै कल्पना गर्दै शृङ्गार गरिरहेको देखिन्छ । हातमा सानो ऐना बोके पनि नजर वा मन भने कतै अल्झिएको जस्तो लाग्ने गरी उनले अन्यत्र कतै हेरिरहेकी छन् । नेवारी संस्कृतिका अनेक अवयव चारैतिर सजाइएको अवस्थामा छन् । यस चित्रमा प्रदर्शनार्थ प्रस्तुतिको ढंग पनि अलग्ग छ । हाकुपटासी (नेवार युवतीको पहिरन), सुकुल बिच्छाएको टेबुलमाथि सुकुन्दा, कल्ली आदि विविध प्रकारका धातुका सामग्री राखेर इन्स्टलेसन स्वरूपमा यो चित्रको प्रस्तुत गरिएको छ ।
रमाइलो कुरा, यस चित्रमा देखिएका कल्ली, सुकुन्दा आदि जे छन्, ती वस्तुलाई समेत प्रत्यक्ष प्रदर्शन गरिएको छ । यो आफैँमा नौलो ढंगको छँदै छ, चित्रमा आएका विषयलाई भौतिक वस्तुकै रूपमा अगाडि देख्दा भावकले रोमाञ्चित अनुभव गर्छन् ।
परम्परागत कला गर्ने कलाकारको हामीकहाँ एक अलग्गै जमात छ । उनीहरू पहिले पहिले घरको कुनामा बसेर ध्यान गरेजस्तो महिनौँ, वर्षौं लगाएर चित्र बनाउन तल्लीन रहन्थे, बाहिर निस्केको त्यति देखिँदैनथ्यो । समसामयिक कलामा काम गर्ने अन्य समूहसँग भेटघाट हुने कुरा सपनाजस्तो लाग्थ्यो । उदय भने यी दुवै (परम्परागत र समसामयिक) विधाबीच एउटा सेतुजस्तो भएर उभिएको देखिन्छ । के पारम्परिक के समसामयिक दुवै कलामा उनको पहुँच छ । दुवैतिरका साथीभाइ उनीसँग नजिक छन् । दुवैका कार्यक्रममा आउने–जाने अनि गफगाफ गर्ने स्वभाव हुँदा पनि अन्य पौभा कलाकारभन्दा उनी अलग्ग देखिन्छन् । दुवै कलाका विधामा ज्ञान र सीप मात्र उनले हासिल गरेनन्, दुवैलाई समष्टिमा अगाडि लैजानका लागि उनले प्रशस्त प्रयोग समेत गरेको देखिन्छ ।
स्कुलका भित्ताहरूमा देखिने देवी–देवताका चित्रले उनलाई केटाकेटीदेखि नै मोहित पारेको थियो । स्कुलमा पश्चिमी अंकन पद्धतिको कला सिकाइन्थ्यो । कलाको विषय भने नेपाली परम्परा, संस्कृति आदिबाट लिने गरिन्थ्यो । यसरी विद्यार्थी कालदेखि नै उनले पूर्वीय र पश्चिमा दुवै कलालाई बुझ्ने अवसर पाए ।
अर्कोतिर, उनका मामा (मावली नातेदारहरू) नै तलेजु भवानीमा पुजारी थिए । उनीसँग निकट रहेर उदयले विधिपूर्वक गरिने तलेजु भवानीको पूजाआजादेखि जात्रा लगायत नेवारी संस्कारलाई नजिकबाट नियाल्ने मौका पाए । यो प्रकारको वातावरणले गर्दा उनी अब्बल पौभा कलाकारको रूपमा देखिन आएका हुन् ।
कला कोर्न शुभारम्भ गरेकै बेला उनको भेट पौभा कलाकारद्वय सुदर्शन सुवाल र दीपक जोशीसँग भयो । यी दुवै सिद्धहस्त पौभा कलाकार थिए, यसले पनि उनको जीवनमा पौभा कलातर्फ अझ गहिरिएर लाग्न प्रोत्साहन गर्यो ।
देवी–देवताका चित्र
उदयले अधिकांश चित्रमा देवीदेवता र धार्मिक परम्परालाई उतारेका छन् । धार्मिक शास्त्रीय मान्यता अनुसार, निश्चित रङ्ग, शारीरिक संरचनादेखि आसन र आयुुधलाई अनुशासनबद्ध बनाएर चित्र कोर्ने भएकाले उनका हरेकजसो देवीदेवताका चित्र एक अलौकिक भाव–भङ्गिमाका साथ प्रस्तुत भएको देखिन्छ । पृष्ठभूमि वा अग्र भागमा अनेक विम्ब र प्रतीकहरूलाई शोभायमान गराउँदा उनको काम एक अलग्ग पाराको पौभाचित्रका रूपमा देखिन्छ ।
कुनै पनि देवी–देवतालाई निश्चित धर्म गाथामा गाँस्न पात्रहरूको चयनदेखि पोजिसन, एक्सनको परिकल्पना, कलर स्किम आदिमा विशेष रुपमा ध्यान दिनुपर्छ । कतै आवेश र आक्रोश अनि कतै शान्त मुद्रामा पनि भयावहको अवस्था आदि सिर्जना गर्नु नै उनको मूल विशेषता देखिन्छ ।
उदाहरणका लागि ‘कौमारी एन्ड चन्दा भैरव’लाई लिन सकिन्छ, जुन उनले सन् २०१८ मा बनाएका हुन् । हल्का आगोको रापको पृष्ठभूमिमा कमलको फूलमाथि विशेष आसनमा विराजमान भई बसेकी देवी कौमारी शान्त भावमा देखिन्छन् भने अग्रभागमा नीलो रङ्गमा भैरव कटौरा लिई नाच्दै गरेको परिदृश्य देखिन्छ । कटौराबाट निस्केको आगोको रापले कौमारीको अनुहार झलझल्ती बलेको देखिन्छ, देवीको अनुहारमा केन्द्रित रहेको यो कला साह्रै आकर्षक ढंगको संरचना हो ।
यस्तै अर्को चित्र ‘चन्दा भैरव एन्ड कौमारी’लाई उनले सन् २०२० मा बनाएका हुन् । आगोको ज्वाला पृष्ठभूमिमा रौद्र रूपमा पलेँटी कसी बसेका नीलो रङ्गका चन्दा भैरवको काखमा रातो रङ्गमा हँसिलो मुद्रामा देवी कौमारीलाई देखाइएको छ । दुवैका हातमा आयुधको रूपमा कटौरा लिएको देखाइएको छ । एउटै विषयलाई कल्पना शक्तिले संयोजन अनि शक्तिशाली प्रस्तुति गर्न सक्ने खुबी नै उदयचरणको मूल कलागत विशेषता हो ।
(मल्ल कलाकार र कला समीक्षक हुन् ।)