बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

पौराणिक कथा : प्रकृति प्रेम

शुक्रबार, ०६ पुस २०८०, १० : २२
शुक्रबार, ०६ पुस २०८०

बिस्तारै शकुन्तला खेल्न मन पराउन थालिन् । हरेक दिन फुर्सद हुनासाथ बगैँचामा जान्थिन् । झुम्राको पुतली र माटाको भाँडाकुटी बनाएर खेल्थिन् । कहिले रुखबिरुवा गोडमेल गर्थिन् । कहिले उनीहरूको फेदमा पानी हाल्ने गर्थिन् । चराचुरुङ्गीका लागि भनेर आश्रममा पूजा गरेर बाँकी रहेको अक्षता चौरमा छर्ने त उनको नियमित दिनचर्या नै बनेको थियो । त्यसैले उनलाई देख्नासाथ उनीहरू अगाडि झुम्मिने गर्थे । बिस्तारै मृगशावकहरूसमेत काखमा लुटपुटिन थाले । कहिले बुई चढ्थे । कहिले काँधमा चडेर उफ्रन्थे । कहिले टाउकोले र कहिले थुतुनोले कोट्याउने गर्थे । उनी मायालु पाराले उनीहरूलाई सुमसुम्याउँथिन् । उनीहरूका आमाहरूचाहिँ नजिकै बसी रमाइलो मानेर हेरिरहेका हुन्थे । 

‘सखी आम्रमञ्जरी ! तिमीहरूले हामीलाई कति सेवा गरेका छौ हगि । कहिले फल दिन्छौ, कहिले फूल दिन्छौ । जति पनि फलाउँछौ फुलाउँछौ सबै अरूलाई दिन्छौ, अरूलाई नै लुटाउँछौ तर यसबापत कहिल्यै केही मागेका छैनौ । तिमीहरूका पनि आवश्यकता हुँदा हुन् तर तिमीहरूले न मागेका छौ न हामीले दिएका छौ । हामी मानिसको जातै त्यस्तै नमागी दिनै नजान्ने । हुन सक्छ कहिले मागेपछि पनि दिएका छैनौँ होला । अझ हुन सक्छ कहिले मागिहाले पनि गाली गरेर रित्तो हात फर्काउने गरेका पनि हौँला तर तिमीहरू त्यस्ता छैनौ । धन्यवाद छ तिमीहरूलाई । तिमीहरूका भावनालाई ।’ एक दिन आम्रमञ्जरीलाई सुमसुम्याउँदै शकुन्तलाले भनिन् । 

‘लौन के कुरा ग¥या त्यस्तो धन्यवाद लिने र दिने सखी ? हामीले पनि अरूले दिएको चीजै त दिएका हौँ नि । यसबाहेक के गरेका छौँ र ? के माता प्रकृतिले नदिएकी भए दिन सक्थ्यौँ र ? त्यसैले दिने नै भए प्रकृतिलाई दिनुपर्छ । धन्यवादको हकदार उनै हुन्, हामी होइनौँ । हामीले त आफ्नो कर्म गरेका हौँ । प्रकृतिले जुन काम गर्न खटाएको थियो सोही काम गरेका न हौँ ? त्यति पनि गर्न नसके प्राणी शरीर पाउनुको के नै अर्थ रह्यो र ? के हामीलाई यो शरीर अरूले नै दिएको होइन र ? अरूले दिएका हुन् भने अरूकै लागि दिएको होइन र ? जब अरूले दिएका हुन् र अरूकै लागि दिएको हो भने त्यति पनि नगरेर के गर्ने ? त्यसैले हामीले यसबापत मागेका पनि छैनौँ, माग्दा पनि माग्दैनौँ र त्यस्तो आशा गर्दा पनि गर्दैनौँ । हो, तिमीले भनेको ठीक हो । मानिस सकेसम्म लिन चाहन्छन् । दिन कोही पनि सितिमिति चाहँदैनन् तर तिमी र तिम्रो आश्रम त्यस्तो छैन । स्याहार पाएका छौँ, सुसार पाएका छौँ । सबैभन्दा बढी संरक्षण पाएका छौँ । भगवान्ले रक्षा गरून् यस आश्रमलाई, लामो आयु दिउन् तिमीलाई ।’ आम्रमञ्जरीले कृतज्ञता प्रकट गरी ।

‘सखी ! तिमीहरूलाई चाहिँ केही चाहिएको छ भने भन है । हामीले त आश्रय मात्र दिएका हौँ । आवश्यकता केकस्तो छ सोधेका छैनौँ । प्रकृतिले जे दिएको छ त्यसैमा सन्तुष्ट छौ । भरपेट खान पनि पाएका छौ कि छैनौ तर कहिले पनि गुनासो गरेका छैनौ । प्राणी हौ दुःख्नुपिर्नु पनि हुँदो हो । बिरामी पनि पर्दा हौ ।  हामी मानिस पातलो दिसा आउनासाथ जडीबुटी खोज्न थाल्छौँ तर तिमीहरूले उपचार खोजेको कहिल्यै थाहा पाएका छैनौँ ।’ शकुन्तलाले मृगशावकका आमाहरूको भावना जान्न चाहिन् । 

‘होइन केही चाहिएको छैन । राम्रो आश्रय पाएका छौ यही नै ठुलो कुरा हो । प्रायः मानिस हाम्रो वासस्थान नै डडाइदिने गर्छन् । देख्नासाथ गुलेली ताक्ने पनि छन् । हतियार उठाउने पनि छन् तर यहाँ त्यस्तो छेन । यस अर्थमा आफूलाई भाग्यमानी ठानेका छौँ । ऋषि आश्रममा आरामले बस्न पाएका छौँ । कहिल्यै असुरक्षा अनुभव गर्न परेको छैन । त्योभन्दा पनि खुसीको कुरा त के भने हाम्रा शावकहरूले तिमीजस्ती साथी पाएका छन् । तिम्रा काखमा खेल्न पाएर मख्ख छन् । योभन्दा ठुलो कुरा के हुन्छ ? धन्यवाद छ यस आश्रमलाई आशीर्वाद छ तिमीलाई । कहिल्यै दुख्नुपिर्नु नहोस् । लोकले मानून्, रानी बनेर बस्न पाएस् ।’ मृगशावकका आमाहरूले आशीष दिए । 

‘हे चराचुरुङ्गी भाइबहिनी ! तिमीहरूको अवस्था के कस्तो छ कुन्नि ? कुनै दुःख पो छ कि ? अथवा हुन सक्छ हामीले नै दुःख दिएका पो छौँ कि ? हेर न हामी मानिसको जात कस्तो ? प्रकृतिलार्ई आफ्नै पेवा ठान्छौँ र मन लाग्दी गर्छौँ । प्रकृति साझा हो, सबैको समान हक लाग्छ भन्ने सोच्नै भ्याउँदैनौँ । माफी चाहन्छु यसप्रति । मानिस भएको नाताले जोजसबाट भएको भए पनि यस्तमा ज्यादतीको माफी मैले नै मागेँ है ।’ शकुन्तलाले चराचुरुङ्गीहरूसित माफी मागिन् । 

‘होइन होइन त्यस्तो केही भएको छैन । पहिले त हामीलाई शङ्का नलाकेको होइन । तिमीहरू पनि अरूजस्तै हौ कि भनेर निकै सतर्क भयौँ । सकेसम्म लुकेर हिँड्यौँ । देख्नासाथ भाग्ने गथ्यौँ । गुड पनि नदेख्ने ठाउँमा बनाउँथ्यौँ । कदाचित कसैले देखिहाले भने त्यहाँबाट अन्यत्रै सथ्र्यौ, सार्ने गथ्र्यौँ तर अब त्यस्तो छैन । हामीले तिमीलाई पनि चिनिसकेका छौँ । तिम्रा आश्रमलाई  चिनिसकेका छौँ । तिमीहरूको साथ पाएर ढुक्क छौँ । बच्चाहरू पनि खुसी छन् । त्यसैले अन्यत्र हुने बन्धुबान्धवहरूलाई पनि सकेसम्म यतै आउन भन्ने गरेका छौँ । आशीष तिमीलाई लिएर खान नपरोस्, सकेसम्म दिएर खान पाएस् । ’ चराचुरुङ्गीले हर्ष प्रकट गरे ।

शकुन्तला वनपैदावर र वन्यजन्तुहरूसँग यस्तै कुरा गर्दै थिइन् । आश्रमबाट बाबा कण्वले बोलाएकाले त्यतै लागिन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप