नीतिकथा : संयमको शक्ति
प्रसङ्ग त्यति बेलाको हो जति बेला व्यासजी र गणेशजीबीच महाभारतको कथा भन्ने र लेख्ने क्रम चलिरहेको थियो । व्यासजी भन्थे गणेशजी भन्न भ्याएका हुन्न भुर्जपत्रमा उतारिसक्थे । जब अन्तिम श्लोक पनि भन्ने र लेख्ने काम सकियो व्यासजीको मनमा ठूलै जिज्ञासा उत्पन्न भएकाले टोलाउन लागे । उनी टोलाएको देखेर गणेशजीको मनमा पनि जिज्ञासा उत्पन्न भएकाले सोधे–
‘गुरुजी ! टोलाउन लाग्नुभयो नि किन ? अब त तपाईँको चाहना अनुसार महाभारतको कथा लेख्ने काम पनि सकियो । तैपनि टोलाउँदै हुनुहुन्छ भने पक्कै कुनै कारण हुनुपर्छ । कुनै गल्ती भएको छ भने भन्नुस् है । म छउन्जेल चिन्ता गर्नुपर्दैन । अहिले नै सुधारिदिने छु ।’
गणेशजीको कुरा सुनेर व्यासजीले असहज मान्दै भने–
‘होइन गणेशजी ! त्यस्तो केही होइन । जहाँ तपाईँ जस्ता सिद्धिदायक विघ्न हर्ता गणेशजीको उपस्थिति हुन्छ त्यहाँ गल्ती हुने प्रश्नै आउन्न । जहाँसम्म किन टोलाउनुभयो भन्ने प्रश्न छ त्यसको भने अर्कै कारण छ ।’
‘कारण अर्कै छ ?’
‘हो, कारण अर्कै छ ।’
‘के कारण हो जान्न सक्छु ?’
‘यही कि मनमा एउटा जिज्ञासा उत्पन्न भइरहेको छ ।’
‘जिज्ञासा ?’
‘हो, जिज्ञासा ।’
‘कस्तो जिज्ञासा हो भन्नुस् न ।’
‘के भन्ने खोइ, यति लामो समयदेखि बोलिरहेको छु । बिसौँ लाख शब्द बोलिसकेँ होला तर तपाईंले भने एउटै शब्द बोल्नुभएको छैन । कसरी नबोलेरै यति लामो समय बिताउन सक्नुभएको होला । अझ त्योभन्दा पनि आश्चर्य त के भने मैले बोल्न भ्याएको हुन्न तपाईँ लेखेर भ्याउनुहुन्छ । यसको रहस्य के होला भन्ने लागिरहेको छ ।’
उनको कुरा सुनेर गणेशजीले मुस्कुराउँदै भने–
‘ल ! यो कुन ठुलो कुरा भयो र ? यही त हो मेरो शक्ति ।’
‘यही हो ?’
‘हो, यही हो ।’
‘कुरो बुझ्न गाह्रो परेकाले प्रस्ट पारिदिनुहुन आग्रह गर्छु ।’
त्यसपछि गणेशजीले मौनताको व्याख्या गर्दै भने–
‘हेर्नुस् व्यासजी ! मौनतामा जति शक्ति अरू केहीमा हुँदैन । जसरी कुनै दियोमा बढी तेल हुन्छ कुनैमा कम तर तेलको अक्षय भण्डार भने कुनैमा पनि हुँदैन त्यसैगरी देव, दानव, मानव लगायत सबै किसिमका प्राणीको प्राण शक्ति सीमित नै हुन्छ । मात्र फरक कसैमा कम होला कसैमा केही वेशी तर असीम भन्ने चाहिँ कसैमा पनि हुँदैन । त्यसैले प्राणशक्तिको पूरा प्रयोग उसैले गर्न सक्छ जसले संयम गर्न सकेको छ, जानेको हुन्छ ।
यति बुझ्नुस् संयम नै सबै किसिमका सिद्धिका आधार हो । जहाँसम्म संयमको पनि आधारको कुरा छ त्यो भने वाक्संयम नै हो । यही नै संयमको प्रथम सिँढी हो । जसले बोलीलाई संयममा राख्न जानेको हुँदैन वा सकेको हुँदैन उसको जिभ्रो बोलिरहन्छ । अनि जसको जिभ्रो बोलिरहन्छ तब बोल्न हुने पनि बोल्छ नहुने पनि बोल्छ । अन्ततः यही नै नाना भाँतीका समस्याका कारण बन्छ । सर्वप्रथम उसको प्राण शक्तिलाई सोसिदिने भएकाले काममा सिद्धि पाउन गाह्रो पर्छ । सारमा यति नै भन्न सकिन्छ वचनको संयम भनेको सबै किसिमको अनर्थ परम्पराको दग्धबीज हो । अतः सानैदेखि यही मौनको उपासक बन्दै आएको छु । हालसम्म जे जति काम गर्न सकेको छु वा मबाट हुन सकेका छन् त्यसको मूल कारण यही मौनको उपासना नै हो ।’
यति भनेर गणेशजी आफ्नो बाटो लागे । व्यासजी त्यसैको अभ्यास गर्न लागे । अन्ततः उनी यसैबाट १८ पुराणको रचना गर्न सक्षम भए ।
यस कथामा के कति सत्यता छ त्यो थाहा छैन तर मौनमा ठुलो शक्ति हुन्छ भन्ने कुरा भने सत्य हो । त्यसैले त गफाडीहरू गफै मात्र दुनियाँ हसाइरहेका हुन्छन् मौन रहनेहरू काम गरेर देखाइरहेका हुन्छन् ।