शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : लेनिन शतवार्षिकी

नेपाल र विश्व सन्दर्भमा लेनिनवादको भविष्य कति ?

सोमबार, ०८ माघ २०८०, ०८ : ३५
सोमबार, ०८ माघ २०८०

आज २१ जनवरी लेनिनको मृत्युको सय वर्ष पुगेको दिन । हामी आज यहाँ लेनिनको मृत्युमा शोक मनाउन भेला भएका होइनौँ, न त लेनिनले सय वर्षअघि यस लोकलाई विरासतमा छाडेर गएको सोभियत संघको विघटनमाथि दुःखमनाउ गर्न उपस्थित भएका हौँ । 

हामी वास्तवमा लेनिनको वैचारिक लिगेसी र उनले नेतृत्व गरेको क्रान्तिकारी समाजवादको कहीँकतै हाम्रा र हामीभन्दा पछिल्ला पिँढीका लागि औचित्य बाँकी छ छैन भनेर विचार विमर्श गर्न भेला भएका छौँ । 

लेनिनलाई मन नपराउनेहरूको संसारमा ठूलो जमात छ । नेपालमा पनि छन् उनीहरू लेनिनलाई सत्तोसराप गर्न र उनले नेतृत्व गरेको बोल्सेभिक पार्टी, उसको नेतृत्वमा सम्पन्न भएको क्रान्ति र त्यसपछि प्रेरणास्वरूप विश्वव्यापी रूपमा आर्थिक तथा सामाजिक न्यायका खातिर भएका स्वतन्त्रतासम्बन्धी आन्दोलनहरू, साम्राज्यवाद विरुद्धको मुक्ति आन्दोलन र उपलब्धिहरूलाई नामेट पार्न रुचाउनेहरूको बिगबिगी अहिले पनि उत्तिकै देखिन्छ । यसको एउटै मात्र मूल कारण हो, पुँजीवादी मुलुक, तिनका शासक र चिन्तकलाई अहिले पनि लेनिनको वैचारिक तथा व्यावहारिक क्रान्तिकारी विधि, रणनीति तथा सांगठनिक प्रस्तावनाले आतंकित तुल्याउने गर्छ । यो पुँजीवादीहरूको हकमा मात्र होइन, साम्राज्यवादी, अधिनायकवादी, सुधारवादी र नक्कली क्रान्तिकारीहरूको जमातमा समेत लेनिनको भूतले डर उत्पादन गरिरहेको देखिन्छ ।

सन् २००८ मा इतिहासकार लार्स टी लिअको महत्त्वपूर्ण किताब ‘लेनिन रिडस्कभर्ड : ह्वाट इज टु वि डन’ प्रकाशित भयो । किताब प्रकाशित भएसँगै एउटा असलियत कुरा पनि बाहिर आयो । त्यो थियो, वास्तवमा इतिहासकार लिअ सैद्धान्तिक वैचारिक रूपमा भ्लादिमिर इल्विच लेनिनलाई गलत साबित गर्ने मनसाय राखेर अनुसन्धानमा निस्किएका थिए, अनुसन्धानको परिणामपछि भने उनी आफैँ लेनिनबाट प्रभावित हुन पुगे । उक्त किताब समाजवादप्रति प्रतिबद्ध प्रकाशन ‘मन्थ्ली रिभ्यू प्रेस’ले नै बाहिर ल्यायो । त्यसो त दोस्रो विश्वयुद्धलगत्तै पहिलो शीतयुद्धकालीन समयमा उदारवादी, वाम तथा दक्षिणपन्थी सुधारवादीहरू, एनार्किस्टहरू तथा कथित र्‍याडिकल्सहरूले लेनिनको बेइज्जत गर्न कुनै कसरत छाडेका थिएनन् । लेनिनलाई अघिल्लो पुस्ताका ब्लांन्की, बाकुनिनजस्ता जालसाजकर्ता, अराजकतावादी, देखाउन आजसम्म प्रयत्न गर्नेहरूको कमी छैन । अर्थको अनर्थ लाग्ने, झुट र वास्तविक इतिहासलाई बंग्याउन रबर्ट सर्भिस ( लेनिन अ पोलिटिकल लाइफका लेखक), ओरलान्डो फिग्स (दी पिपुल्स ट्रेजेडीका लेखक) जस्ता नाम चलेका इतिहासकार समेत लागिपरेका थिए । अक्टोबर क्रान्तिलाई हुलमुलमा, जालसाजी गरेर जितेको, झुटमुठको क्रान्ति देखाउन लागिपरेको भनाउन पनि कसरत गरिएको थियो । अहिले पनि निकै ठूला ठेली प्रकाशित गरेर या बुकलेट निकालेर, वा कमिक्स (सचित्र) निकालेर लेनिन तथा उनको बोल्सेभिक पार्टीलाई अलोकतान्त्रिक, तानाशाहीको जगमा उभिएको बताउन र लेनिनलाई भिलेन बनाउन प्रयत्न गर्नेहरूको लर्को निकै लामो देखिन्छ । त्यसको अर्थ लेनिनबारे सत्यतथ्य लेख्नेहरूको अभाव छ भन्ने होइन । सन् २००८–०९ को विश्वव्यापी मन्दीपछि मार्क्सवादलाई खोजिएजस्तै लेनिनको खोजी गर्नेहरूको जमात पनि त्यत्तिकै बढिरहेको छ ।

सन् १९९० को सुरुवातमै लेनिनको नेतृत्वमा स्थापित हुन पुगेको सोभियत सत्ता ढल्यो । मुलुक नै विखण्डित हुन पुग्यो । उदारवादी र नवउदारवादी लेखक तथा र राजनीतिशास्त्रीले सोभियत संघको विघटनपछि समाजवादको हार र पुँजीवादको जित भनेर अर्थाए । समाजवाद फेरि कहिल्यै नफर्कने घोषणा गरे । त्यसपछि लेनिनलाई सत्तोसराप गर्नेहरूमा पूर्वी युरोपेली र विघटित सोभियत संघकै शासक पनि थपिए । लेनिनलाई होच्याउन नयाँ–नयाँ चलचित्र पनि बनाइए । जस्तो ः गुडबाई लेनिन (२००३) । ती चलचित्रले पूर्वीयुरोप र विघटित सोभियत गणराज्यहरूलाई खुइल्याउन र कम्युनिस्ट सपनालाई भ्रष्टीकरण गर्न ती सहयोगी नै देखिए । खासगरी लेनिनको विचार र लेनिनलाई राक्षसीकरण गर्न नै त्यस्ता चलचित्र निर्माण गरिएका थिए भन्ने बुझ्न गाह्रो थिएन ।

तर धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशयी हुँदै गयो । एकपछि अर्को दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनीतिक समस्याले ग्रसित हुँदै गए । फेरि पहिलो समाजवादी क्रान्तिका वाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो । उनका विचार र भावना, उनका काम गराई र प्राप्त परिणामबारे नयाँ शिराबाट छानबिन तथा अन्वेषण गर्ने काम सुरु भएको छ । हामी आफैँ पनि यस हलमा लेनिनको विचार र कामका बारेमा छलफल गर्न उपस्थित भएका छौँ । कुनै एक व्यक्तिको पूजा अर्चना गर्न वा देवत्वकरणका लागि यहाँ हामी उपस्थित भएका होइनौँ ।

हामीलाई व्यक्तिको व्यक्तित्वप्रति कुनै चासो राख्नुपर्ने आवश्यकता छैन । तर हामीलाई लाग्छ, लेनिन मार्क्सवादवादलाई गहिरोसँग बुझेर, विश्व परिवेशलाई केलाएर, नयाँ–नयाँ विधि र प्रक्रिया तयार पारेर अगाडि बढेका थिए । उनले मार्क्सवादवादको कपी पेस्ट गरेनन्, बल्की माक्क्र्सवादी सिद्धान्त र त्यसले बोकेको स्प्रिटबमोजिम त्यसको उन्नति र प्रगतिमा आफूलाई होमे । वास्तवमा ‘राज्य र क्रान्ति’, ‘के गर्ने ?’, ‘साम्राज्यवाद पुँजीवादको उच्च अवस्था’जस्ता कीर्तिहरू त्यही स्प्रिटका उपज थिए । उनले आफ्नो जीवन नै क्रान्तिकारी परिवर्तनका लागि न्यौच्छावर गरेका थिए ।

लेनिन श्रमजीवी वर्ग खासगरी मजदुर र किसानको हितमा उनीहरूलाई संगठित गरी उनीहरूकै नेतृत्वमा जारशाही उखलेर फ्याँक्न चाहन्थे । इतिहासकार लिअले ‘लेनिन रिडस्कभर्ड ः ह्वाट इज टु वि डन’ शीर्षकको किताबमा समाजवाद प्राप्तिका लागि लेनिनको प्रतिबद्धता बेजोड रहेको स्वीकार गरेका छन् । आम रूपमा लेनिन श्रमजीवी वर्गको संघर्ष गर्ने क्षमतामाथि पूर्ण विश्वास गर्दथे । सैद्धान्तिक रूपमा मार्क्सवादवादमा आधारित समाजवादी कार्यक्रममाथि प्रतिबद्धता भएको र पेसागत रूपमा होमिन सक्ने क्षमता भएको श्रमजीवीको पार्टी हुने हो भने राजनीतिक क्रान्ति सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा लेनिनमा दृढ विश्वास थियो ।

  • लेनिनको विचारमा मार्क्सवादवाद

सन १८९० मा रुसमा पहिलो क्रान्ति हुन खोज्यो तर असफल भयो । इतिहासकार तामास काउजका अनुसार त्यस क्रान्तिले निम्नानुसार प्रश्न खडा गर्‍यो । पहिलो, पुँजीवादको सीमा कति हो ? वैदेशिक प्रत्यक्ष पुँजी लगानीको सीमा कसरी निर्धारण हुन्छ ? यसैमा जोडिएर आउने कृषि पुँजीवादको जरो कता गाँसिन्छ ? जबकि रुसको दुई ठूला सहरहरूमा मात्र औद्योगिक करिडोर रहेको अवस्थामा औद्योगिक पुँजीवादको विस्तार कसरी हुन्छ ? यी प्रश्नले राजनीतिक रूपमा पनि अरु तीन आधारभूत प्रश्न खडा गरिदिएको थियो । पहिलो, तानाशाही राजतन्त्रको भविष्य अब के हुन्छ ? दोस्रो, रुसी आर्थिक विकासमा कृषि क्षेत्रको सुधारको प्रश्न कसरी हल हुन्छ ? र, तेस्रो, औद्योगिक विकास र खेतीयोग्य जमिनको वितरणको राजनीतिक समाधान कसरी खोज्ने ? वास्तवमा अन्तिम प्रश्नको आफूलाई क्रान्तिकारी दाबी गर्ने सबैले कार्यक्रमकै रूपमा उत्तर खोज्नुपर्ने अवस्था त्यस आन्दोलनले खडा गर्‍यो । यी माथि उठेका प्रश्नहरूमा गहिरोसँग घोत्लिन थालेपछि लेनिनको नरोद्निकसँगको नाता तोडियो ।

हामी सबैले योबिचमा अनेकन् विद्रोहहरूलाई भोग्यौँ, र सामेल भयौँ । नेपालदेखि अफ्रिकासम्म यो क्रम चल्यो, तर नवउदारवादी राज्यले सबैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनबाट रोक्यो ।

लेनिनले निकै ढिला गरी निर्वासनका बेला जोन ए हब्र्स ‘दी इभोलुसन अफ मोर्डन क्यापिटालिजम’ पढे । असल पुँजीवाद र खराब पुँजीवादको व्याख्याले उनलाई दिक्कै तुल्यायो । सन् १९०५ मा भएको रसियन क्रान्तिले मार्क्सवादवादीहरू र उदारवादीहरू बिच कित्ताकटा हुने गरी नाता तोडियो । खासगरी गणतन्त्रको स्थापना र लोकतान्त्रिक संघीय गणतन्त्र स्थापना गर्ने विषयमा मतभेद देखापरे । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रजातान्त्रिक स्वतन्त्रतालाई अधिकारका रूपमा स्थापित गर्ने विषय, संविधानले ग्यारेन्टी गर्ने संसद् तथा श्रमिकले रोजगारीका लागि आठ घन्टा मात्र समय व्यतित गर्न पाउनुपर्ने अधिकारको विषयमा उदारवादीहरूसँग मार्क्सवादवादीहरूको विमति रह्यो । यी यस्ता विषय थिए, जसमा प्रजातान्त्रिक क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्न सकिन्छ भन्ने विषय प्रमुख भएर जोडिन्थे । जस्तो ः कृषि क्षेत्रको विकाससम्बन्धी मुद्दा, जमिन नभएकालाई खेतीयोग्य जमिन उपलब्ध गराउने कुरा, शिक्षा र स्वास्थ्यमा आम मान्छेको अधिकार स्थापित गर्ने विषय, समाजमा देखिएका सामाजिक तथा कानुनी भेदभाव, आत्मनिर्णयको अधिकारको विषय अथवा क्रान्तिकारी अधिनायकवाद स्थापित गर्ने विपय समाजका मुद्दा बनाउन उदारवादीहरू तत्पर भएनन् । यी यस्ता समस्याहरू थिए, यसले नै त्यस बेला देशभित्र भएका पार्टीहरूसँगको सम्बन्ध वा दूरी तय गथ्र्यो । यसको अर्थ बुर्जुवाहरूको पक्षमा उभिने कि गरिब किसान तथा मजदुरको पक्षमा ? खासगरी समाजवादी पार्टीहरू कसको पक्षमा उभिने प्रश्न महत्वपूर्ण थियो ? यो प्रश्न क्रान्ति कसको पक्षमा गर्ने या हुने भन्ने मुद्दाहरूले सामाजिक जनवादी भनिने पार्टीहरूमै समेत विभाजन ल्याइदियो । यो प्रश्न वास्तवमा मार्क्सवादवाद रोज्ने कि उदारवाद रोज्ने भन्ने आजको प्रश्न त्यति बेला पनि उठेको हो । यी सबै विषयमाथि उब्जिएका प्रश्नहरूको उदारवादमा उत्तर नभेटिएपछि लेनिनले तत्कालीन सन्दर्भको उदारवाद र वनेस्टाइनको सुधारवादबाट आफूलाई अलग्याए । मार्क्सवादवादलाई आफ्नो (रुसी) सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भनेर लागिपरे ।

मार्क्सवादवादको गहिरो अध्ययनपछि लेनिन समाजवाद आधुनिक बुर्जुवा पुँजीवादमाथि विद्रोह बोलेर नै आउने निधोमा पुगे । उनले रुसी पुँजीवादमा समाजवादका लागि संघर्ष गर्ने तीनवटा काम फेला पारे । पहिलो, मार्क्सवादको ऐतिहासिक भौतिकवादको मार्क्सवादवादी नियममा आधारित रहेर पुँजीवादको असमान विकासमा उब्जने अन्तर्विरोधलाई बुझ्ने काम । दोस्रो, पुँजीवादभित्रका अन्तर्विरोधलाई बुझेर राजनीतिक दलले आफ्नो शक्तिलाई क्रियाशील बनाउँदै क्रान्तिका योजनालाई आम आन्दोलनमा बदल्न कोसिस गर्नुपर्ने काम र तेस्रो, एकाधिकार पुँजीवाद तहगत जगमा खडा हुने साम्राज्यवादका क्रियाकलापलाई संश्लेपण गरी अगाडि बढ्ने काम । यी कामको जगमा उभिएर लेनिनले राजनीतिक अर्थशास्त्र तथा सामाजिक संरचनाबारे समाजशास्त्रीय कोणबाट स्थानीय परिस्थितिलाई बोध गर्ने र राजनीतिक क्रियाकलाप अगाडि बढाउने मौलिक प्रयत्न थाले ।

  • विधि, संगठन र क्रान्ति

मार्क्सवादबाट लेनिनले सिकेको प्रमुख मन्त्र भनेकै ‘क्रान्तिकारी बाटोबाट मात्र पुँजीवादलाई विस्थापित गर्न सकिन्छ’ भन्ने विषय थियो । सन् १८९० यता लेनिनले पुँजीवादलाई विस्थापित गर्न कस्तो साधन, कस्तो विधि तथा कस्तो सांगठनिक शक्तिको आवश्यक पर्छ भन्ने ध्याउन्नमा समय खर्चिए ।

उनको पहिलो ध्याउन्न पुँजीवादलाई विस्थापित गर्न के गर्ने भन्नेमा केन्द्रित रह्यो । अर्थात् कस्तो पार्टी र कस्तो क्रान्तिका लागि कस्तो वर्गीय चेतना आवश्यक पर्छ भन्ने विषय । सन् १८९० ताका सामाजिक जनवादीहरूबिचको छलफल बहस नै ‘के गर्ने ?’ भन्ने विषय माउ विषय बनेको थियो । र ‘के गर्ने ?’ मार्क्सवादवादी बहसको सह–उत्पादनका रूपमा उठेको थियो । एकतेरिना कुस्कोभा र सर्गेइ प्रोकोभिचले यस सन्दर्भमा एउटा पम्प्लेट सन् १८९९ मै निकालेका थिए । श्रमजीवी कामदार वर्गको आर्थिक मुद्दा र संघर्ष एकातर्फ र पार्टीहरूको राजनीतिक संघर्ष अर्काेतर्फ भइदिँदा के अप्ठेरो हुन्छ भन्ने बहस बर्नेस्टाइनको सुधारवादलाई जोडेर उठेको बहस नोट त्यस पम्प्लेटमा उद्धृत गरिएको थियो । लेनिनले सन् १९०२ मा अकस्मात हुने जनविद्रोहमा सामाजिक जनवादीहरूको भूमिका के हुने ? जारको तानाशाहीलाई कसरी त्यो कामदार वर्गको जनविद्रोहमा केन्द्रित हुन सम्भव छ ? यो सामान्य अर्थतन्त्रको मुद्दा मात्र थिएन, मजदुरको जीवनयापनको प्रश्नसँग राजनीतिक तथा आर्थिक संरचनाको विश्लेषण या कार्यक्रममार्फत सम्बोधन गर्नुपर्छ भन्ने लेनिनको मान्यता थियो । यो विषय तत्कालीन राज्यले समाधान नखोज्दा नै क्रान्तिले सम्बोधन गर्नुपर्ने हुन्थ्यो ।

लेनिनको पार्टी निर्माणको थेसिस वास्तवमा श्रमजीवी वर्गको वर्ग चेतनासँग जोडिएर आउँछ । उनको विश्लेषण अनुसार श्रमजीवी वर्ग वास्तवमा पुँजीवादी प्रणालीको एउटा कंक्रिट भाग हो । यदि श्रमिक वर्ग आफ्नो अधिकारका लागि चेतनशील हुन पुग्यो भने परिवर्तनलाई कसैले रोक्न सक्ने सम्भावना हुँदैन, तर लेनिनको विचारमा श्रमजीवी आफैँ वा आफ्नै प्रयत्नमा मात्र चेतनशील हुन सक्ने सम्भावना रहन्न । लेनिनले श्रमजीवीको यो अवस्था पश्चिम युरोपमा एक वर्ष आप्रवासनमा बस्दा महसुस गरेका थिए । किनभने आम श्रमजीवीको ध्यान पुँजीवादका अनेकन् विज्ञापन, प्रोपोगन्डा तथा समाचारहरूले अन्यत्रै बरालिदिन्छन् । त्यसैले उनी के निचोडमा पुगेका थिए भने ‘एउटा क्रान्तिकारी आन्दोलन, क्रान्तिकारी दर्शनको अभावमा उठ्न सम्भव हुँदैन’ । मुलुकका दैनन्दिनको हर किसिमका घटनालाई आफूखुसी प्रचार गरेर नराम्रोलाई राम्रो बताउन राज्य र पुँजीपति वर्ग लागिपर्छन् । असत्यलाई पनि सत्य साबित गर्न खोज्छन् । जसको मुख्य लक्ष्य आफूविरुद्ध हुने सम्भावित विद्रोहलाई टाल्नु हो । त्यसैले संगठनका अनेकन् मोर्चा हुन आवश्यक हुन्छ, खासगरी खुलापन, पारदर्शिता एकातर्फ हुनुपर्छ भने अर्काेतर्फ रणनीतिक तथा गोपनीयता संगठनको अर्काे पाटो बनाइनुपर्छ । लेनिनको यो द्वैधतालाई लिएर विपक्षीले जालसाजी भनेर पनि अर्थाए । तर लेनिनले ‘एक स्टेप अगाडि, दुई स्टेप पछाडि’मार्फत आवश्यकताका रूपमा व्याख्या गरेका छन् । वास्तवमा एउटा क्रान्तिकारी पार्टीका लागि आफ्नो ठिक विपरीत सोच र विचार राख्ने प्रतिक्रान्तिकारीको क्रियाकलाप र रणनीति जान्न आवश्यक हुन्छ । अर्काे अर्थमा आफैँले शिक्षा ग्रहण गर्ने, सिक्ने र सिकाउने सांगठनिक पाटो हो भन्ने लेनिनको मान्यता देखिन्छ । लेनिनको यो मनसायलाई जर्ज लुकासले ‘हिस्ट्री एन्ड क्लास कन्सियसनेस’मा राम्ररी व्याख्या गरेका छन् । 

‘अन वार’ का लेखक कार्ल भन क्लजविट्ज नेपोलियनले बनाएको युद्ध रणनीतिबाट अत्यधिक प्रभावित थिए । मिलेटरी शक्ति कसरी बन्छ ? खास केका लागि बनाइन्छ ? लेनिनले भने कार्लविट्जलाई महत्त्व दिएर पढेका थिए र राज्यका लागि सेना किन अपरिहार्य हुन्छ भन्ने थाहा पाएका थिए । उनले युद्ध सम्बन्ध र संगठनबाटै सिकेर एउटा रूपान्तरण गर्ने पार्टीका लागि क्रान्तिकारी युक्ति र क्रान्तिकारी रणनीति निर्माण गर्नुपर्ने ठाने । युक्तिले वर्ग संघर्षको एउटा निश्चित अवयवको मूल्याङ्कन गर्न सघाउँछ । त्यसले अल्पकालीन समयमा कोसँग सम्बन्ध र कोसँग दूरी तय गर्नलाई खुट्ट्याउन सिकाउँछ । जस्तो : पार्टीको ट्रेड युनियन ब्रान्चले के गर्ने, संसद् फाँटले के गर्ने, वा किसान संगठनले के गर्ने भन्ने अनेकन् मुद्दामा संघर्षको युक्ति सिकाउँछ । क्रान्तिकारी रणनीतिले सबै युक्तिहरूको गठजोड मिलाएर समष्टिमा रणनीति तय गर्छ । यही रणनीतिमाथि टेकेर गरिने क्रान्तिले श्रमजीवी शक्तिलाई विजयी तुल्याउँछ । युक्तिहरूको गठजोड र क्षमता मापन गरेर बनाइएको रणनीतिमार्फत नै लेनिनले मार्क्सवादवादलाई विज्ञानबाट कलामा उतारेका थिए । मार्क्सवादवाद विज्ञानमा आधारित भए पनि उपयुक्त क्रियाकलापका लागि निर्देशित गर्ने विज्ञानमा रूपान्तरण गर्न आवश्यक थियो । र त्यसका लागि कला आवश्यक हुन्थ्यो । वास्तवमा विज्ञानले अस्तित्वमा रहेको पदार्थलाई मात्र स्विकार्छ, तर कलाले कसरी ठोस रूपमा कार्यान्वयन गर्ने भन्ने पाठ पढाउँछ । लेनिनको योगदान भनेको मार्क्सवादवादलाई कलाको रूपमा विकास गर्नुलाई मान्न सकिन्छ । लेखक तथा इतिहासकार टोनी क्लिफ लेख्छन्, ‘मार्क्सवादले पहिलो अन्तर्राष्ट्रियमा भाग नलिई मृत्युवरण गरेका भए पनि यतिवेला पनि मार्क्सवादलाई सम्झिइन्थ्यो । यदि लेनिनले बोल्सेभिक पार्टी नबनाएको भए र १९०५ र १९१७ मा क्रान्ति नगरेको भए तथा तेस्रो अन्तर्राष्ट्रिय नबनाएको भए लेनिनलाई सम्झनुपर्ने कारण बाँकी रहन्थेनन् । वास्तवमा सिद्धान्तलाई व्यवहारमा उतार्ने र विज्ञानलाई कलामा उतार्ने कामका कारण मार्क्सवाद सँगसँगै लेनिनको नाम पुरककै रूपमा आउने गर्छ । 

  • राष्ट्रिय राज्य तथा राज्य र क्रान्तिको प्रश्न

आन्तरिक अन्तर्विरोध खासगरी पुँजीवादी एकाधिकारवाद विद्रोहको एक मात्र कारण हुन्थ्यो भने आपसी अन्तर्र्विरोधकै कारण विभाजनमा गएर पुँजीवाद ध्वस्त हुन्थ्यो । यद्यपि यो थ्यौरीलाई अझ सन् २०१३ मा रोजा लक्जेम्बर्गको खोज तथा अनुसन्धानमा आधारित ‘दी एकुमुलेसन अफ क्यापिटल’ पुस्तक बहसमा आयो । यो पुस्तकले संसारमा अर्थतन्त्रमा पुँजीको सञ्चिति गरिन्छ वा हुन्छ र विश्वव्यापी रूपमा कसरी पुँजीवादीकरणका लागि विस्तार हुन्छ भन्ने विषयमा विषद व्याख्या पस्किएको छ । संसारभर वर्गीय शोषण तथा उत्पीडन हुन्छ र क्रान्तिकारी सर्वहारा वर्गको तादात बढ्छ र पुँजीवादभित्र अन्तर्विरोध बढेर त्यो शक्ति विभाजित हुन्छ भन्ने तथ्य यसले छर्लङ्गयाएको छ । लेनिन भने पुँजीवादमा विभाजन होइन पुँजीवादको समग्रमा अन्त्यको पक्षपाती बन्न पुगे । किनकि पुँजीवादलाई विश्वव्यापी रूपमा जोड्ने आजको जस्तो संगठित रूप (जस्तो : जी–सेभेन, जी–ट्वान्टी वा नाटो आदि) नभए पनि धेरैवटा धागोका गुच्छा उपलब्ध थिए ।

सन् १९१४ मा लेनिनको जीवनमा सबैभन्दा पीडादायी क्षण देखापर्‍यो, जुन दिन जर्मन सोसियल डेमोक्रेटिक पार्टीले पहिलो विश्वयुद्धमा जर्मन संसद् राइखस्ट्यागमा जर्मन साम्राज्यको पक्षमा युद्ध गर्नका लागि आफ्नो समर्थन रहेको भनेर भोट खसाल्यो । उक्त पार्टी युरोपमै सबैभन्दा ठूलो मजदुरहरूको भ्याङगार्ड पार्टी मानिन्थ्यो । उसले पटक–पटक युद्धको विरोधमा भोट गर्ने प्रतिबद्धता जनाएको थियो । उनीहरूले युद्धको पक्षमा भोट नखसालेका भए विश्वको समाजवादी आन्दोलनको स्वरूप नै भिन्न रूपमा विस्तार हुने सम्भावना त्यस वेलाको युरोपमा आकलन गरिएको थियो । यो झड्काले लेनिनलाई ‘राज्य के हो ?’ भन्ने प्रश्नमा उल्झाइदियो र त्यसलाई भित्रदेखि नै कुन प्रेरणा जगाइदियो । तपाईं हामीलाई पनि लाग्छ, अहिले पनि ‘राज्य एउटा स्वतन्त्र निष्पक्ष संस्थाका रूपमा खडा हुनुपर्छ ।’ सर्वसाधारण सबैको हक र हितमा राज्य उभिनुपर्छ ।

के राज्य निष्पक्ष हुन्छ त ? यस सम्बन्धमा मार्क्सवाद, एंगेल्स र लेनिनका तर्कमा कुनै विवाद देखिँदैन । राज्यविहीनताको अवस्थामा बाहेक अरु उत्पादन पद्धतिमा राज्य न्युट्रल रहँदैन । उनीहरूको निचोड देखिन्छ । त्यसैले पुँजीवादी विश्वमा झन् राज्य सर्वसाधारणको हितमा उभिँदैन । किनभने वर्गीय समाजमा वर्गैपिच्छे सामाजिक पक्षधरता एक–अर्काविरुद्ध देखा पर्छन् । अर्थात् उत्पादनका साधनमाथिको स्वामित्व जसको हातमा हुन्छ र धन आर्जन उसैले गरिरहेको हुन्छ । ऊ आफूमा निहित स्वामित्व छोड्न ऊ लाग्दैन बरु सुरक्षा गर्ने उपाय खोज्नतर्फ लाग्छ । शोषित हुने र शोषण गर्ने बीच मतभेद तीव्र बन्छ, बन्न सक्छ । तर गृहयुद्ध हुने गरी वा आपसमा भिड्ने गरी मतभेद बढ्न नदिन एउटा स्पेसल अथोरिटी खडा गरिएको हुन्छ जसलाई ‘राज्य’ भनिन्छ । लेनिनको विचारमा त्यो स्पेसल अथोरिटीले कुनै पनि वर्गसँग सामेल नभएको तर राज्यप्रति लोयल हुने सैन्यशक्ति संस्थागत रूपमा खडा गर्छ । राज्य आफैँ भने वर्गीय हुन्छ ।

पुँजीपति र धनाढ्य वर्गको पक्षधर वा माथि उल्लेख गरिएझैँ उत्पादनका साधनहरूमाथि कब्जा जमाएर बसेको शक्तिको पहरेदारको रूपमा राज्य खडा हुन्छ । त्यसैले राज्यले मौका पर्दा वा त्यो वर्गको हितार्थ सैन्य शक्तिको उपयोग गर्छ, यो अनौठो हुँदै होइन । ऐतिहासिक तबरमै राज्य सञ्चालन गर्न चाहिने खर्च सेना पाल्न होस् या पुरेत वा शासकहरू पाल्न, कर उठाउन राज्यले धनाढ्य पुँजीवादीहरूकै पक्षपोषण गर्छ । किनकि ऊ त्यही वर्गको प्रतिनिधि पात्र हो । परिभाषित कुरा के हो भने राज्य एउटा वर्गले अर्को वर्गलाई दबाउने साधन नै हो र गर्छ । लेनिनले गरेको अन्तिम तर्क के छ भने, समाजवादीहरूले राज्यमाथि जित हासिल गरेपछि उनीहरूले पनि वर्गीय पक्षधरता अनुरूप मजदुर र किसानकै अर्थात् श्रमजीवी वर्गकै मुक्तिका खातिर राज्यलाई उपयोग गर्ने गर्छन्, अलि बेग्लै ढंगले । किन यस्तो हुन्छ भने राज्यको नाममा शासन सत्ता चलाउने एउटा स्पेसल बडी हुन्छ र सम्पूर्ण जनताका नाममा उसले शक्ति खर्चिन्छ उस्तै गरी ।

त्यो सम्पूर्ण समाजका नाममा एउटा सानो समूहले सुरक्षा दस्ताको बलमा शासन गर्छ । त्यसरी उभिएको राज्यलाई परास्त गर्न गाह्रो छ । त्यसैले आम रूपमा जनतालाई त्यसका विरुद्ध खडा गर्न संगठित, अनुशासित तथा विचारधाराप्रति प्रतिबद्ध शक्ति निर्माण गर्न आवश्यक हुन्छ । राज्य र क्रान्तिमा लेनिनको अन्तिम तर्क नै पुँजीवादीहरूको संगठित राजकीय शक्तिलाई परास्त गर्न स्वस्फूर्त आन्दोलन वा विद्रोहले मात्र सम्भव हुँदैन संगठित पार्टी चाहिन्छ भन्ने उल्लेख छ । वास्तवमा संसार भएका पछिल्ला क्रान्ति र विद्रोह खासगरी अरब मुलुकमा सन् २०११ म भएका विद्रोहपछिको असफलताले लेनिन ठिक ठाउँमा उभिएका थिए भनेर प्रमाणित हुन्छ ।

लेनिनले उठाएको विशेष प्रतिनिधित्वले वास्तवमा गम्भीर प्रश्न खडा गर्छ । पहिलो त के यसले आम रूपमा श्रमजीवी वर्गको प्रतिनिधित्व गर्न सक्छ ? श्रमजीवी वर्गले क्रान्ति गरे अनि र पावर एक्सरसाइज गर्ने समय र अवसर पाए भने कसरी त्यो स्पेसल बडीले राज्यको काम गर्ला ? के श्रमजीवी वर्गले आफ्नो क्रान्तिकारितालाई त्यसपछि तिलाञ्जली दिनुपर्ने हुन्छ ? लेनिनको तर्क छ, यदि वास्तविक रूपमा शक्ति श्रमजीवी वर्गको हातमा प्राप्त भयो भने उनीहरूले राज्यलाई ध्वस्त गर्नुपर्छ । लेनिनको यो भनाइ नाटकीय र अविश्वसनीय लाग्छ । त्यस्तो राज्यविहीन समाज निर्माण हुन धेरै ठूलो समय र सैद्धान्तिक वैचारिक तथा चारित्रिक हिसाबले स्वस्थ समाज निर्माण हुन आवश्यक हुन्छ ।

  • समाजवादी क्रान्ति

हामी सबैलाई थाहा भएकै कुरा हो फेब्रुअरी १९१७ मा जारशाही फालियो । त्यसका ठाउँमा एउटा अस्थायी सरकार बन्यो । उक्त सरकारले पश्चिमा मुलुकहरूमा जस्तो उदार प्रजातान्त्रिक व्यवस्था स्थापित गर्ने वाचा गर्‍यो, तर त्यही समयमा रुसको औद्योगिक सहरहरूमा वर्कर काउन्सिलहरू, जो लोकतान्त्रिक पद्धति बमोजिम निर्वाचित भएर शक्तिशाली बन्न पुगेका थिए । प्रवासबाट स्वदेश फर्किएपछि लेनिनले अस्थायी सरकारलाई समर्थन दिएनन् । अपितु उनले अनिर्वाचित अस्थायी सरकारले राज्य चलाउने होइन, निर्वाचित सोभियतहरूलाई राज्य चलाउन दिइनुपर्छ भन्ने माग गरे । वास्तवमा लेनिनको प्रस्तावना उदारवादी बुर्जुवा क्रान्तिलाई समाजवादी क्रान्तिमा रूपान्तरण गर्नु थियो । 

लेनिनको उक्त प्रस्तावमाथि पार्टीभित्र र सोभियतहरूमा धेरै लामो छलफल र बहस गराए । उनको प्रस्ताव स्वीकार हुँदै गयो । अन्ततः बुर्जुवा क्रान्ति सम्पन्न भएको ८ महिनापछि अक्टोबर क्रान्ति सम्पन्न भयो । तर यो युरोपेली महादेशको समाजवादी क्रान्ति नभएर रुसी क्रान्ति बन्न पुगेको थियो । वास्तवमा सन् १९१४ मा भएको समाजवादी शिविरभित्रको (दोस्रो अन्तर्राष्ट्रिय) खासगरी जर्मन सोसलिस्टहरूले गरेको धोखाघडीका कारण एक देशमा क्रान्ति सम्पन्न गर्नुपर्ने परिस्थिति बन्यो । वास्तवमा लेनिनले सन् १९१७ को अप्रिल थेसिसमार्फत राज्यको रूपान्तरणका लागि हस्तक्षेप नगरेको भए सुधारवादी अन्ततः दक्षिणपन्थी सुधारवादमा रुसको फेब्रुअरी क्रान्ति पनि टुंगिन्थ्यो र संसारभर त्यस्तै जात्रा आज दोहोरिएजस्तो दोहोरिरहन्थ्यो ।

क्रान्तिको लगत्तैपछि सत्ता सोभियतहरूले नै सञ्चालन गरे, यद्यपि आफ्ना लागि आफैँ सरकार चलाउन श्रमजीवीसँग अनुभव थिएन । उनीहरूले सिक्नैपथ्र्यो । अनुभवजन्य कठिनाइहरू खडा हुन्थे र ती आए । कतिपय पुरानो कुराको सिको गर्दै दोहोरिए । प्रतिक्रियावादी अनुभवजन्य त्रुटिविरुद्ध नारा लगाउँदै प्रतिक्रान्तिमा उभिए । वास्तवमा सत्ताको आसनबाट ढलेका तानाशाह र तिनका अनुयायी घाइते बाघझैँ झन् खतरनाक भएर निस्कन्छन् भन्ने कुरा केही दिनमै पुष्टि हुन पुग्यो । रेड गार्डविरुद्ध ह्वाइट गार्ड, सोभियत राज्यविरुद्ध युरोप तथा अमेरिकी सेना जाइलागे । यसले सन् १९१७ मा प्रकाशित भएको राज्य र क्रान्तिमा उल्लेख गरिएका मान्यताभन्दा सोभियत संघ लेनिनकै पालामा पनि अलग ढंगले पनि शासन व्यवस्थित गर्नुपर्ने अवस्था आयो । जस्तो ः वार कम्युनिजम, नयाँ आर्थिक नीति, र कतिपय अवस्थामा क्रान्तिका उपलब्धिलाई जोगाउने नाममा जनबोली र बहसमाथि प्रतिबन्ध आदिका घटना दोहोरिए ।

सोभियत क्रान्तिपछि आजका मितिसम्म संसारभरका बुर्जुवाहरू लेनिनलाई राजनीतिक तथा वैचारिक रूपमा बर्खास्त गर्न लागिपरे, लागिपरेका छन् । वास्तवमा मार्क्सवादवादलाई विश्वव्यापी रूपमा स्थापित गर्न र उदारवादको विकल्पको रूपमा मार्क्सवादवादको जग बसाल्न र मजदुर र किसानजस्तो श्रमजीवीले पनि स्वराज कायम गर्न सक्छन् भनेर मार्क्सवादवादको विकास गर्ने काममा सबैभन्दा अग्रणी भूमिका निर्वाह गरेकाले नै लेनिनमाथि यो आक्रमण भएको हो बुझ्न सकिन्छ । पछिल्ला दिनहरूमा मार्क्सवादवादी लेनिनवाद तथा कम्युनिस्ट पार्टी भनेर नामलाई ब्रान्ड बनाउनेहरूले पनि लेनिनको हुर्मत लिने काम गरिरहेको देखिन्छ ।

  • वर्तमान समयमा लेनिनवादको सान्दर्भिकतालाई कसरी बुझ्ने ?

यस सन्दर्भमा तमास क्राउजले आफ्नो पुस्तक रिकन्सट्रक्टिङ लेनिनमा केही बुँदा अघि सारेका छन् । तिनलाई परिमार्जन गर्दै केही बुँदा मैले पनि अघि सार्ने धृष्टता गरेको छु । लेनिनले अघि सारेका प्रस्तावनाहरूको मूल सार निम्नानुसार रहेका छन् ।

१) परिवर्तन तलबाट आउनुपर्छ भन्ने हो । लेनिनले कान्तिकारी आन्दोलन बनाउन धेरैखाले मौकापरस्त शक्ति र व्यक्तिहरू जो बुर्जुवा संसद्वादबाट ओर्लन्छन् विरुद्ध आवाज उठाइरहे । अहिले नेपालकै सन्दर्भमा पनि देखिरहेका छौँ समाजवाद माथिबाट अर्थात् संसद्बाट ओर्लने कुनै छाँटकाँट नै देखिन्न । संसद् यदि आम जनताप्रति उत्तरदायी बनाउन सकिएन भने मौकापरस्तहरूको झुन्डले संसद्लाई पङ्गु बनाउँछ भन्ने लेनिनको घोषणा आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ ।

२) विधि चाहिन्छ भन्ने लेनिनको प्रस्ताव आज पनि उत्तिकै सान्दर्भिक देखिन्छ । लेनिनले दर्शनका बारेमा थोरै लेखेका छन् तर जति लेखेका छन्, त्यसको सान्दर्भिकता क्रान्तिकारी सिद्धान्तमा मात्र होइन क्रान्तिकारी क्रियाकलापमा पनि देखिने गरेको छ । लेनिनले हरेक कुरा आम मानिसको जीवनपद्धति तथा व्यवहारमा लागू हुने विधिको निर्माण गरे । लेनिनको लेखाइमा दुईवटा तर्कले भित्रैदेखि स्थान पाएको देखिन्छ । पहिलो एकीकृत रूपमा विकासको ऐतिहासिकता र आजको विकाससँगको अन्तर्सम्बन्ध । दोस्रो, इतिहास जोडिएर आउने प्रक्रिया होइन, जसलाई साधारण सुधारले समाजलाई जोडोस् । यसको अर्थ एउटा विकासको चक्र फेरि त्यही रूपमा दोहोरिँदैन जो सुधारवादीहरू चाहना राख्छन् । त्यसैले परिवर्तन अपरिहार्य बन्छ । वास्तवमा हेगलले प्रतिपादन गरेको टोटालिटीको थेसिसलाई लेनिनले आत्मसात गरेको देखिन्छ । नेपालको सन्दर्भमा जसरी सत्ताधारीहरू उही संरचनामा सुधार खोजिरहेछन्, त्यो असम्भव छ भन्ने कुरा लेनिनले सय वर्षअघि नै बताएका थिए ।

३) मानिसले इतिहास निर्माण गर्छ । लेनिन मार्क्सवादले जस्तै ‘व्यवहारलाई’ केन्द्रमा राख्थे । ‘कसले के भन्छ होइन कसले के गर्छ’ त्यो महत्त्वपूर्ण हुन्छ । मान्छेले जे सोच्छ, त्यो गर्छ कि गर्दैन, बाहिरबाट विचार गरिने र विश्वास बनाउने आधार तय हुन्छ । पुँजीवादले वर्ग निर्माण गर्छ र समाजमा तह खडा गर्छ । जहाँसम्म मुक्तिको कुरा छ, वर्गीय समाजले आफ्नो वर्गको मुक्ति खोज्छ, त्यही अनुसार विश्वव्यापी रूपमा वर्गहरू बिच समन्वय र भ्रातृत्व प्रेमको कुरा हुन्छ । त्यसैले यस्तो नहोस् भन्ना खातिर वर्गीय लडाइँ लड्नेहरूले क्रान्तिकारी विचारले ओतप्रोत पार्टी निर्माण गर्नुपर्ने हुन्छ । जो जुझारु होस् र आफ्नो सिद्धान्त र संगठनप्रति प्रतिबद्ध होस् । त्यस्तो पार्टीले मात्र क्रान्ति सम्पन्न गर्न सक्छ ।

४) साम्राज्यवादले कुनै पनि देशको राजनीतिक प्रणालीमा हस्तक्षेप गर्न सक्छ । लेनिनको बुझाइको आधुनिक पुँजीवाद कहीँ न कहीँ साम्राज्यवादको चंगुलमा जकडिएको हुन्छ । त्यो चंगुलबाट मुक्त हुन क्रान्तिकारी रणनीति अख्तियार गर्नुपर्ने हुन्छ । साम्राज्यवादीहरूबिचको अन्तर्विरोध तथा उनीहरूको द्वन्द्वभित्रै आमूल परिवर्तनको सम्भावना खोज्न सकिन्छ । त्यसैले साम्राज्यवादीहरूको अन्तर्विरोधमा कुनै एक शक्तिको पक्षधरता खोज्ने होइन । आफ्नै असंलग्नताभित्र परिवर्तन खोजिनुपर्ने हुन्छ । नेपालको सन्दर्भमा अहिले सुरु भएको शीतयुद्ध र विश्व विकास परियोजनालाई हेर्न सकिन्छ । कार्ल लिवनेकका शब्दलाई विचार गर्ने हो भने ‘मुख्य शत्रु घरमै भेटिन्छ । राष्ट्रवादको गफ दिएर साम्राज्यवादको तलुवा चाट्नेहरू तेस्रो विश्वमा प्रशस्तै भेटिन्छन्, यसर्थ वर्ग संघर्षका लागि विश्वव्यापी ऐक्यबद्धता आवश्यक हुन्छ । 

५) क्रान्तिका लागि संगठित हुन आवश्यक छ । क्रान्ति आफैँ सम्पन्न हुँदैन, क्रान्तिका लागि संगठित गर्न जरुरी हुन्छ । सुधारले परिवर्तनलाई पर धकेल्छ तर कालान्तरमा असाध्यै संकट निम्तिन्छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने सन् १९८५, १९९२ का सुधारले नेपाललाई गहिरो संकटमा धकेलेको छ । ‘के गर्ने ?’ले देखाएको बाटो आज पनि सान्दर्भिक देखिन्छ । 

वास्तवमा आममान्छेको चेतना आफसे आफ जाग्दैन, एउटा क्रान्तिकारी पार्टीले मात्र जगाउन सक्छ । कुनै पनि क्रान्तिकारी आन्दोलन क्रान्तिकारी दर्शन वा विचारधाराको अभावमा सम्भव हुँदैन, त्यसका लागि क्रान्तिकारी संगठन अपरिहार्य हुन्छ भन्ने लेनिनको बुझाइ आज पनि नेपालको सन्दर्भमा सान्दर्भिक देखिन्छ ।

६) क्रान्ति अन्तर्राष्ट्रिय हुन्छ । रुसको क्रान्ति दबाउन १४ वटा पुँजीवादी मुलुकहरूले रुसमा हस्तक्षेप गरे । बुर्जुवाहरूले समकालीन संसदीय व्यवस्था निरूपण गर्ने नाममा तिनै साम्राज्यवादीहरूसँग सहकार्य गर्न पुगे । लेनिनको विचारमा यो बुर्जुवा शक्तिहरूबिचको गठजोड थियो, जो रुसी समाजवादी क्रान्तिको चिहान खन्न ऐक्यबद्धता खोजिरहेका थिए । लेनिन र उनको बोल्सेभिक पार्टी उक्त समयमा संसारका मजदुरहरूको साथ खोजिरहेका थिए । अहिलेको संसार साम्राज्यवादी र क्षेत्रीय हैकमवादी शक्तिहरूबाट मुक्ति चाहन्छ, त्यसका लागि पनि ऐक्यबद्धता आवश्यक हुन्छ, जसलाई कथित वामपन्थीहरूले मतलब राखेको देखिन्न । 

धेरै समय नबित्दै नवउदारवादी पुँजीवाद आफैँ धराशयी हुँदै गयो । एकपछि अर्को दुर्घटनाहरू घट्दै गए । राष्ट्रहरू अर्थराजनीतिक समस्याले ग्रसित हुँदै गए । फेरि पहिलो समाजवादी क्रान्तिका वाहक लेनिनमाथि नयाँ शिराबाट खोज तथा अनुसन्धान सुरु भयो ।

वास्तवमा लेनिनको राज्य र क्रान्ति पुस्तिका काल्पनिकता वा बोल्सेभिकहरूको पार्टी लाइन थिएन । तत्कालीन समयको विश्वका राज्यहरूको चरित्र चित्रण थियो । राज्य सञ्चालन तलको निर्वाचित निकायले गर्न सक्छ भन्ने विश्वासले करोडौँ रसियनहरूलाई मूलधारको राजनीतिमा ओराल्यो । मजदुर र किसानले भरिएको सोभियत । आजको हाम्रो संघीयता र संसद्हरू त्यही विचारको विस्तारित रूप हुन । तर तिनको प्रशिक्षण अत्यन्त कमजोर छ र व्यापक सहभागिताको माग खुम्चँदो छ । त्यसका लागि फेरि पनि बुझ्न चाहनेका लागि लेनिनको ‘राज्य र क्रान्ति’सम्बन्धी पुस्तिकाको अध्ययन अपरिहार्य छ ।

  • लेनिनका कमजोरी 

क्रान्तिलाई जोगाउने नाममा लेनिनको नेतृत्वमा रहेको बोल्सेभिक पार्टीले पार्टीहरूमाथि प्रतिबन्ध लगाउनु गल्ती थियो । यसले बोल्सेभिकहरूलाई आफ्नो गल्ती औँल्याउने र सच्याउने मौका मिलेन । लेनिनले सोचे अनुसार श्रमजीवी किसान र मजदुरको स्वस्फूर्त संगठनले राज्यको बहसमा भाग लिन पाएनन् । जनताको नाममा सीमित व्यक्ति समेटिएको सानो गुट तथा ब्युरोक्रेसी हाबी हुँदै गयो ।

गोली लागेर घाइते भएका लेनिनले श्रमिकहरूको राज्य उनले सोचे र व्याख्या गरेभन्दा फरक ढंगले अघि बढेको थाहा नपाएका होइनन् तर उनले त्यसलाई रोक्न सक्ने परिस्थिति निर्माण हुनै सकेन । किनकि त्यो समयमा रुस नितान्त एक्लाइएको थियो । आर्थिक रूपमा कमजोर र जर्जर थियो । श्रमशक्तिको क्षमता (बौद्धिक) र उत्पादकत्व तुलनात्मक रूपमा कमजोर थियो । मुक्तिलाई सही निर्देशन गर्ने अवसरमा लेनिनको मृत्यु हुन पुग्यो र परिवर्तनलाई उनका उत्तराधिकारीले भने जस्तो गरी आत्मसात गरेनन् ।

  • क्रान्तिको परिभाषा

लेनिनको शब्दमा क्रान्तिको सुरुवात हुन केही नयाँ वातावरण चाहिन्छ । त्यो वातावरणका पनि खुड्किला हुन्छन् । पहिलो, शासक वर्गका लागि शासनलाई निरन्तरता दिन असम्भव जस्तो लागोस् । वास्तवमा शासक वर्गमाथि तलको श्रमजीवी वर्गको विश्वास उठ्दै गर्दा यस्तो अवस्था देखापर्छ । किनभने शासक वर्ग जनताको पक्षमा काम गर्न नसकेको आफ्नो कमजोरी महसुस गर्न नै चाहन्न । जस्तो ः नेपालमा अहिले कथित वामपन्थी शासकहरू जनताबाट कटिएर शासनमा पुग्दै गर्दा पनि कमजोरी महसुस गरिहेका देखिन्नन् । ’क्रान्ति’ सरकार परिवर्तन मात्र होइन समूलमा आर्थिक तथा सामाजिक रूपान्तरण हुनु हो र जनताले त्यसलाई अनुभूत गर्न सकून् ।

हामी सबैले योबिचमा अनेकन् विद्रोहहरूलाई भोग्यौँ, र सामेल भयौँ । नेपालदेखि अफ्रिकासम्म यो क्रम चल्यो, तर नवउदारवादी राज्यले सबैखाले विद्रोहलाई क्रान्तिकारी संरचनागत परिवर्तन हुनबाट रोक्यो । वित्तीय भूमण्डलीकरणका लागि उक्त राज्यले मार्ग प्रशस्त गरिरह्यो र क्रान्तिकारी दस्तालाई समेत त्यस्तो भूमण्डलीकरणको एजेन्ट हुन प्रेरित गरिरह्यो । तर वर्तमान समयमा वित्तीय भूमण्डलीकरण असफल हुन पुगेको छ । विश्वव्यापी रूपमा विद्रोहको ज्वाला विस्फोट हुन लागेको देखिन्छ । अर्थात् लेनिनले भनेजस्तो एउटा मुलुकको शासकले धान्न नसक्ने गरी पुँजीवादी दुनियाँ विघटनको संघारमा उभिएको प्रतीत हुन्छ । यतिवेला लेनिनलाई सुन्न र बुझन जरुरी छ र सन् १९१४ दोहोरिन नदिन पहल लिन आवश्यक छ । त्यसका लागि क्रान्तिकारी दर्शन र विचारमा आधारित आमूल परिवर्तन चाहने शक्तिशाली संगठन आवश्यक पर्छ ।

क्रान्तिका लागि नेतृत्वको अहं भूमिका हुन्छ । तर सिद्धान्तमा आधारित रणनीति नहुँदा न त जुझारु संगठन निर्माण हुन सक्तैन । क्रान्ति गर्न क्रान्तिकारी नीति र क्रान्तिकारी पार्टी चाहिन्छ । लेनिनको संगठनात्मक सिद्धान्त विशिष्ट हिसाबले संरचनागत छ । तर संरचनागत अवस्था मात्र क्रान्तिका लागि पर्याप्त वातावरण हुन सक्दैन । त्यो वातावरण बन्न हिजोआज सरकार र प्रतिपक्षबिच सुधार र क्रान्तिबिचको फरक छुट्ट्याउन सक्ने गरी प्रतिपक्षको हकमा बहस आवश्यक देखिन्छ । यो नेपालको हकमा मात्र होइन दक्षिण एसियालगायत संसारभरि नै राजनीतिक बहस अपर्याप्त छ । कसको नेतृत्वमा क्रान्ति हुन्छ ? यो व्यक्तिगत कुरा होइन । लेनिनको विचारमा श्रमजीवी वर्गले नै क्रान्तिको अगुवाइ गर्ने हो । तर राज्यलाई सीमित व्यक्ति वा घेराबन्दीमा पार्ने गरी होइन, यी यावत् प्रश्नहरूको उत्तर लेनिनका प्रस्तावनासँग जोडिएर आउँछन्, जसलाई हामीले लेनिनवाद भन्ने गरेका छौँ । क्रान्ति गर्न या खोज्ने काम रहुन्जेल लेनिनवादको औचित्य सधैँ बाँकी रहनेछ ।

(नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाल वैकल्पिक अध्ययन समाजको सहकार्यमा आइतबार काठमाडौँमा आयोजित ‘नेपाली समाजका सन्दर्भमा लेनिनवाद’ विषयक अन्तक्र्रियामा स्तम्भकार तथा वामचिन्तक रोकाद्वारा प्रस्तुत कार्यपत्र ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरि रोका
हरि रोका
लेखकबाट थप