सोमबार, १० असार २०८१
ताजा लोकप्रिय
कला अभिलेखीकरण

‘द आइडिया अफ् ह्याभिङ नो आइडिया’ : अलमलमा पार्ने अब्बल कला

शनिबार, १३ माघ २०८०, ११ : ५४
शनिबार, १३ माघ २०८०

ललितपुरको पुल्चोकमा अवस्थित ‘विकल्प’ कला दीर्घामा २१ डिसेम्बर २०२३ देखि १८ जनवरी २०२४ सम्म नवयुवा कलाकार विनय हुँमागाईंको एकल चित्रकला प्रदर्शन भयो । 

‘द आइडिया अफ् ह्याभिङ नो आइडिया’ अर्थात् ‘निर्विचार विचार’ नाम दिएर गरिएको प्रदर्शनीमा १६ वटा चित्र राखिएका थिए— ‘निर्विचार विचार’ शीर्षकका दशवटा, जिरो (शून्य) नाम गरेका चारवटा र ‘एब्सेन्स अफ रेड’ शीर्षकका दुई । यी शीर्षकले इङ्गित गर्न खोजेको गन्तव्य गहन छ । आध्यात्मिकता पूर्ण रूपमा घोलिएको उनका चित्र ‘प्राक्टिस अफ मेडिटेसन’मा आबद्ध छन् । मानवीय आकारलाई खेलाएर धेरै कलाकारले ध्यानका अभ्यासलाई अंकन गर्न भ्याएका छन्, तर अमूर्ततामा पनि ध्यानको प्रतिविम्बलाई प्रस्तुत गर्नु विनयको गर्विलो प्रयास मान्नुपर्छ । यस कारण उनका यी चित्र अर्थपूर्ण देखिन्छन् ।     

‘निर्विचार विचार’ थिम बोकेर प्रकट भएका यी चित्रको प्रदर्शनी थोरै अनौठो भने देखिन्छ । प्रदर्शन कक्ष अलि अँध्यारो र चित्रहरू पनि त्यस्तै–त्यस्तै स्वभावको हुनुले भावक र सर्जकबिचको मिलनलाई अलि टाढै राखेको आभास हुन्छ । प्रदर्शन कक्षमा पुग्नेबित्तिकै दर्शकले साधा, कालो, खैरो, हल्का पहेँलो वा रातो र खालिजस्ता देखिने क्यानभास मात्र अवलोकन गर्न सक्थे । नितान्त साधा, अमूर्ततामा पूर्ण रूपमा घुलमिल भएका क्यानभास देखिँदा धैर्य नभएका भावकलाई त्यहाँ अडिरहन गाह्रो हुन्थ्यो । अलि गहिरिएर वा चाख मानेर कलाको अवलोकन गर्नेका लागि त्यहाँ कलाकारको काम पर्याप्त थियो । घोरिएर, अझ उज्यालो बत्ती पारेर क्यानभासमा ध्यान एकीकृत गर्दा स–साना रेखासँग भावकको साक्षात्कार हुन्थ्यो । हेर्दै जाँदा ती सयौँ रेखा सलबलाएका जस्ता पनि देखिन्छ । भावकको मनोभावलाई सलबलाएका रेखासँग डो¥याउन खोज्नु कलाकारको मूल ध्येय हुन सक्छ । मूलतः जसरी उनी आफ्ना कलामा धैर्यताको उच्चतम बिन्दु खोजिरहेका छन्, भावकलाई पनि उनले त्यसै गर्न आग्रह गरेझैँ लाग्छ । 

थुप्रै विचार सोची बस्नुभन्दा एउटै तर गतिलो आइडियालाई लिनु वा मन्थन गर्नु नै सबैभन्दा उचित बाटो हो भन्दै ध्यानलाई सर्वोपरि केन्द्रमा राखेर विनयले कला सिर्जना गरेका छन् । त्यसै पनि कला गर्नु भनेकै ध्यानमा बस्नु हो । अझ ध्यानलाई नै केन्द्रमा राखेर गरिएको चित्र गम्भीर हुने नै भयो । उनका कलामा मेहनत बढी देखिन्छ । यस्तो लाग्छ, उनले यी कला महिनौँ लगाएर सिर्जना गरेका हुन् ।

उनका कलाले बाह्य रूपमा भावकलाई तिरिमिरी पार्ने अर्थात् अप आर्टको स्वभाव बोकेको जस्तो देखिन्छ । मूलतः अप आर्ट अमूर्त फर्ममा हुन्छ र ‘अप्टिकल इल्युजन’ यसको स्वभाव हो । यसले दर्शकलाई गति प्रवाहित गर्दै यसभित्र लुकेका इमेजहरूलाई भाइब्रेटिङ प्याट्रनमा सम्प्रेषित गरिरहेको हुन्छ ।  

तहहरूसहित घनीय (क्युबिक) प्रभावमा आकृष्ट उनका यी काम समतलीय (कोप्लानर) प्रभावबाट विमुख देखिन्छ । ‘पायरोग्राफी टेक्निक’ (काठ वा छालामा तताइएको रड वा मधुरो आगोको ज्वालाले ड्रइङ गर्ने तरिका)को अवलम्बन गर्दै कलामा नौलोपन भित्र्याउने प्रयोजन उनको कलामा देखिन्छ । 

उनले प्रयोग गर्ने ‘पायरोग्राफी डिजाइन’ कलाको एक उपविधा र एउटा अत्याधुनिक टेक्निक हो । ईशाको १७औँ शताब्दीदेखि प्रारम्भ भएको मानिने यो डिजाइनको प्रविधिलाई ‘राइटिङ विथ फायर’ वा ‘फायर राइटिङ’ आदि नामले भन्ने प्रचलन पनि छ ।

प्रयोगात्मक विम्बहरू लिएर प्रदर्शनमा उत्रेका विनयले भर्खरै कलामा स्नातक गरेका छन् । अध्ययन, ज्ञान र दर्शनमा आकृष्ट हुनु र त्यसको प्रतिविम्ब कलामा उतार्नु उनको मूल ध्येय देखिन्छ । गौतम बुद्ध र विशेष गरी जेन–बुद्धिजममा उनको गहिरो आस्था, श्रद्धा–भाव छ । बुद्ध दर्शनजस्तो गहिरो र गहन दर्शनका केही पक्षलाई कलामा उतार्दा उनका कला खुला स्वतन्त्र हुँदाहुँदै पनि अनुशासनमा बाँधिएको पनि देखिन्छ । अमूर्तताभित्र अनुशासन नहुने भन्ने होइन, तथापि विषयमा उन्मुक्तता औधि मात्रामा रहने यो कला शैलीको प्रवृत्तिले गतिशील तुलिकाघातको बढी मात्रामा आग्रह र आह्वान गरिरहेका हुन्छन् । तथापि अहिले स्थिति अलि फरक छ । विश्व कला बजारमा विविध कलागत प्रवृत्तिलाई एकैपटक एकै ठाउँमा समीश्रण (मिक्स मेडिया भन्ने प्रचलन पनि छ) गर्ने प्रचलन बढेर आएको छ । यो प्रभाव नेपालमा नपर्ने कुरै भएन । विनय पनि यसैमा घुलमिल हुनु वा भएको देखिनु अन्यथा होइन ।  

जे–जस्तो कलागत प्रवृत्तिलाई लिएर हिँडेको भए पनि उनी जोसिला, जाँगरिला छन् । धैर्य, यथेष्ट मात्रामा बोकेका विनय पहिलोपल्ट नै अब्बल काम लिएर देखापरेका छन् । 

बुट्टाका कुरा 

डिजाइन वा प्याट्रन बुट्टाहरू आदि व्यावसायिक कलामा नभई नहुने अन्तर्वस्तु हुन् । इस्लामिक कलाको मूल आधारबिन्दु बुट्टामै केन्द्रित रह्यो । आधुनिक कलाको शुभारम्भका ‘फौभिजम’ (२०औँ शताब्दीको शुभारम्भमा देखापरेको कला)मा कलाकार हेन्री मेटिसले यही अवधारणालाई प्रयोग गरी आधुनिक कलाको पूर्वाधार खडा गरे । सिर्जनशील कलामा यसरी डेकोरेटिभ फर्म घुस्न जाँदा चित्र केटाकेटीले गरेजस्तो देखिन गई अमूर्तकलातर्फ सरलीकरणका साथ अग्रसर भएको अनुभूत हुन्थ्यो । विद्वान्हरू भन्ने गर्छन्– ‘पेन्टरर्ली क्वालिटी’ र ‘स्ट्रङ कलर’ नै फौभिजमको मूल विशेषता थियो । यी र यस्ता क्वालिटीले विनयलाई छोएको त देखिन्न तर मेटिसको कलामा देखापर्न थालेको थुप्रै थोप्ला अनि कलालाई सरलताले सिँगार्ने तरिकाले उनलाई कहीँ न कहीँ प्रभाव पारेको मान्नैपर्छ । 

उहिले हाम्रै धार्मिक (परम्परागत) कलामा मूल देवी–देवतालाई राम्रोसँग पस्कन विभिन्न प्रकारका बुट्टाको सहारा लिइन्थ्यो । नयाँ नौला प्रकारबाट पनि बुट्टाहरु आऊन् भन्नका खातिर यस्ता बुट्टा बनाउन कलाकारलाई स्वतन्त्रता थियो । हाम्रो पौभा वा थाङ्का कलामा अनेक शास्त्रीय विधि–विधान पालना गर्नुपर्ने हुन्छ । यो अनुशासन विद्यमान हुँदा आज पनि हाम्रा पारम्परिक कलाहरू विश्व कला बजारमा एक अलग्ग पहिचानका साथ स्थापित छन् । यसैको निरन्तरता स्वरूप आज यस्ता परम्परागत चित्र समसामयिक चित्रजस्तै बन्दै गएका छन् । आधुनिक कालमा यसलाई ‘टेक्चर’का नाममा कतै आकार वा कतै अमूर्त रूपमा कलामा प्रयोग गरिन्छ । यसले कलालाई एक अलग्ग स्वरूप दिने हुँदा चित्रकला र कहीँ कहीँ मूर्तिकलामा पनि अनेकौँ प्रकारका टेक्निक अपनाउने प्रचलन चलेको देखिन्छ । यसमध्ये पाइरोग्राफी पनि एक हो । मेटिसको शैली, हाम्रो धार्मिक कलाको संयोजनको परिकल्पना वा बुट्टाहरूको शैली, अप कलाको दृष्टि भ्रमको विशेषता सबै मिश्रित भई आउँदा विनयको काम थोरै अद्भुत रूपमा देखापरेको हो । 

‘द आइडिया अफ् ह्याभिङ नो आइडिया’को फरक सोचबाट निर्देशित यी कलाहरू स्वयं पनि केही नभएको तर धेरै कुरा भएको जस्तो शून्यताको प्रतिविम्बका रूपमा देखापर्छ ।

व्यावसायिक कलालाई सिर्जनशील कलामा समाहित गराउने कार्य कला बजारमा मूलतः पप (पपुलर) आर्टदेखि स्पष्ट भएर देखापरेको थियो । साठीको दशकको उत्तरकालमा देखापरेको यो कलाको प्रवृत्तिले एक प्रकारले व्यावसायिक कला र सिर्जनशील कलाबिचको सीमालाई केहीसम्म हटाएको महसुस हुन थालेको थियो । सामान्य मान्छेले दैनिक प्रयोग गर्ने वस्तुहरू, कमिक स्क्रिप्टदेखि कैयौँ व्यावसायिक कलाका डिजाइनहरू सिर्जनशील कलामा प्रवेश गर्दा एकताका त यो सिर्जनशील कला वा व्यावसायिक कुन हो भन्ने दुविधा परेको थियो । यही सोचलाई कलाकार विनयले आफ्नो कलामा भित्र्याएका छन् । 

कलाहरू अन्ततः एक–अर्काबिच फरक नहुनुलाई पर्दाफास गर्ने सोच पनि समसामयिक कलाको नवीन सोच हो । यो एउटा कलाकारको फड्को मार्ने रहर मात्र होइन, कलागत डिपार्चरको पहिलो पाइला पनि हो । बुद्ध दर्शनबाट प्रभावित उनले आफ्नो कलामा ध्यान र यसका प्रक्रियालाई बढी प्राथमिकतामा राखेका मात्रै छैनन्, त्यसमा नयाँ प्रयोगको चाहना समेत राखेका छन्, यो समसामयिक कलाको नयाँ चेत पनि हो । 

बुद्ध धर्ममा पनि जेन–बुद्धिजमतर्फ बढी आकृष्ट भएका उनका कलाले ‘म को हँु’ भन्ने खोजी मात्रै गर्दैनन्, ध्यान प्रक्रियामा मोह समेत जगाउँछन् । कोरकार गरिरहँदा प्राप्त हुने आनन्दानुभूति अनि आध्यात्मिक चेततर्फको संकेत उनको कलाको सार पनि हो । उनले कोरोना महामारीमा लक डाउन हुँदा प्रशस्तै रूपमा रेखाचित्र मात्र पनि बनाएर बसेका छन् ।  अर्थात् जस्तोसुकै अवस्थामा पनि केही न केही गरिरहनुपर्छ भन्ने उनको स्वभावलाई यहाँ देख्न सकिन्छ ।    

शून्यता 

‘द आइडिया अफ् ह्याभिङ नो आइडिया’को फरक सोचबाट निर्देशित यी कलाहरू स्वयं पनि केही नभएको तर धेरै कुरा भएको जस्तो शून्यताको प्रतिविम्बका रूपमा देखापर्छ । विनयको कथन छ ः मेरा हरेक साना–साना रेखाले ‘नथिङनेस’लाई प्रतिधित्व गर्दछ, अनि यस्ता–यस्तै थुप्रै ‘नथिङ’हरूले एउटा ठूलो ‘नथिङ’ बोक्छ । क्यानभासमा स–साना अवयव हुँदाहँुदै पनि शून्यताको उपमा दिनुपर्ने सम्भवतः अमूर्तताको यो एक अलग्ग विशेषता हो । 

स–साना हजारौँ टुक्रिएका रेखा, बाह्य आँखाले ठम्याउन नसकिने कीरा क्यानभासमाथि सलबलाइरहेजस्ता, घोरिएर हेर्दा रगतमा मिसिएर आएको जीवाणुहरू दृष्टिगोचर भएजस्तो, बोका वा बाख्रामा शरीरभरि बसेका राँैहरूजस्तो आदि रेखाहरू क्यानभासमा सलबलाउँदा उनका कलाले जमिनमाथि दुबो उम्रिएको भान दिन्छ । कलागत भाषामा यसलाई दृष्टिभ्रम (अप वा अप्टिकल आर्ट)को अवधारणामा बुझ्नुपर्ने हुन्छ । अत्याधुनिक कलाको बजारमा सत्तरीको दशकताका अप आर्टको उदय भएको थियो । पप र अप आर्ट सँगसँगै विकास भए पनि दुवैका ध्येय, आसय र विशेषता एक–अर्कादेखि विपरीत छन् । विनयले यी दुवैको थोरै–थोरै अंशलाई प्रयोग गरेर आफ्नो कलामा नौलोपन भित्र्याएका छन् । यही नै उनको खास विशेषता हो । उनका कलाले बाह्य रूपमा भावकलाई तिरिमिरी पार्ने अर्थात् अप आर्टको स्वभाव बोकेको जस्तो देखिन्छ । मूलतः अप आर्ट अमूर्त फर्ममा हुन्छ र ‘अप्टिकल इल्युजन’ यसको स्वभाव हो । यसले दर्शकलाई गति प्रवाहित गर्दै यसभित्र लुकेका इमेजहरूलाई भाइब्रेटिङ प्याट्रनमा सम्प्रेषित गरिरहेको हुन्छ ।  

केही पनि होइन अर्थात् ‘नथिङ’ आफैँमा एउटा कलाकारको एउटा अलग्गै ‘थट’ हो । तथापि ‘थट प्रोसेस’मै एउटा रुकावटजस्तो कलामा ल्याउनु निसन्देह आफैँमा कलाकारको नौलो सोच हो । यसर्थ एउटा कलागत डिपार्चर विनयमा समाहित छ । भावकलाई एउटा गहिराइमा पु¥याउनु तर केही नभेटेजस्तो अन्योलग्रस्त भई फर्कनु वा कलामै अल्झेर बसिरहनुको दोधारमा पार्नु मूलतः उनका कलाका विशेषता हुन् । अप–आर्टले यस्तै ध्येय राख्थे । 

विशेष गरी पूर्वीय अंकन पद्धति सिमेट्रिकल जिओमेट्रिक फर्म (एउटै रूपलाई घरीघरी दोहो¥याएर चित्रपटमा स्थापित गर्नु, जसबाट कहिलेकाहीँ बुट्टाहरू जस्तो देखिन सक्छ) बाट प्रभावित उनका यी चित्र रिपिटेसनमा बढी मोह राखेको देखिन्छ । पछिल्लो कालमा आएर ‘रिपिटेसन–एप्रोच’ आफैँमा कला निर्माणमा नभई नहुने तत्त्वका रूपमा आएको पनि छ । जसलाई ‘कलामा सन्तुलन’को पर्यायवाचीको रूपमा पनि हेर्ने गरिन्छ ।  यस्तो पनि कला हुँदो रहेछ भन्ने मनसाय हरेकजसो भावकलाई लाग्न सक्छ । नथिङलाई अभिव्यक्त गर्न एउटै कुरा निरन्तर दोहो¥याउनु पनि हो । जहाँ निश्चित विचार र आइडिया केही पनि छैन । 

केही न केही विचार, अवधारणा, मनसाय, इच्छा चाहना दुखेसो आदि राखेर आफ्नो मनका भाव पोख्ने गर्छन् कलाकारहरू । यसैले हामी भन्ने पनि गर्छौं— समाजको प्रतिविम्ब वा समाजका सवाललाई छाडेर नितान्त शून्यतामा झरेका यी कलाकारका चित्रमा केही देखिँदैन, मात्र कोरकार जस्तो देखिन्छ । विनयको कोरकार भने नितान्त पृथक् छ । नथिङ उनको कलाको केन्द्रबिन्दु हो ।  

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप