६ सय जनाबाट ६९ करोड ठग्ने ‘नटवरलाल’, ठग्नकै लागि कन्सल्टेन्सी दर्ता
काठमाडौँ । ललितपुरको कोन्जोसोम गाउँपालिका–४ घर भएका सुजन तामाङ अहिले वैदेशिक रोजगार विभागको थुनामा छन् । ३२ वर्षका सुजन १७ माघमा पुल्चोकबाट पक्राउ परेका हुन् । आफूलाई विकास वाइबा भनेर चिनाउने सुजनले दुई वटा नाममा ६९ करोड रुपैयाँ ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
आरोपीविरुद्ध ताहाचल स्थित वैदेशिक रोजगार विभागमा ६ सय २ जना पीडितले उजुरी दिएका छन् । बालाजुमा ‘युरो विङ्स’ नामको कन्सल्टेन्सीको आवरणमा सुजनले ठगी धन्दा चलाएका हुन् । कन्सल्टेन्सी मार्फत युरोपियन मुलुकमा पठाउने सपना देखाएर उनले ठगी धन्दा चलाएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।
नक्साल बस्ने सुस्मिता क्षेत्रीले फेसबुकमा क्रोएसियामा जाने पाउने विज्ञापन देखिन् । विज्ञापन ‘युरो विङ्स’को फेसबुक पेजमा थियो । सामाजिक सञ्जालको विज्ञापन हेरेर उनी बालाजुस्थित सो कन्सल्टेन्सीको अफिसमा पुगिन् ।
त्यहाँ उनले भेटेकी हुन्, विकास वाइबा । तर, उनी विकास वाइबा नभएर सुजन तामाङ भन्ने ‘नटवरलाल’ रहेको प्रहरीले पक्राउ गरेपछि मात्र सुस्मिताले थाहा पाइन् । ‘मलाई सुरुमा पुलिस रिपोर्ट बनाउनुपर्छ भनेर ५० हजार मागेका थिए’ सुस्मिताले रातोपाटीसँग भनिन्, ‘१ महिनामा कन्ट्याक्ट लेटर आउँछ त्यसपछि बायोमेट्रिक गर्न २ लाख ५० हजार चाहिन्छ भने ।’
क्रोएसियामा गएर ‘प्याकेजिङ’को काम गर्न पाइने आशामा सुस्मिता र उनका साथीले सुजनलाई ४ लाख तिरेका हुन् । तर, अहिले उनीहरू सो पैसा फिर्ता हुने आशामा प्रहरी कार्यालय र वैदेशिक रोजगार विभागमा धाइरहेका छन् ।
सुजनले सञ्चालन गरेको कार्यालयमा काम गर्ने ‘मिका’ नाम गरेकी कर्मचारीले पीडितको विवरण अनलाइनमा देखाउने गर्थिन । सो सफ्टवेयर उनीहरूले नक्कली बनाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुस्मिता भन्छिन्, ‘दसैँ अगाडि बायोमेट्रिक लिनुपर्छ भनेका थिए तर, चार लाख लिएपछि कन्सल्टेन्सी संचालक सम्पर्कविहीन भए ।’
सुजन तामाङले क्रोएसिया, पोल्याण्ड, माल्टा, लक्जम्बर्ग र क्यानडा पठाउँछु भनेर रकम लिएपछि सम्पर्क विहीन भएको पीडितहरू बताउँछन् । विकास वाइबाको नामबाट उनले ३७ करोड र सुजन तामाङको नामबाट ३२ करोड ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।
ललितपुरका बद्री घिमिरेले पनि सुजनलाई बालाजुमा भेटेका हुन् । क्रोएसिया पठाउने मान्छे भेट्न जाँदा बालाजुमा सुजन तामाङसँग भेट भएको बद्री घिमिरेले बताए । उनी भन्छन्–‘सुरुमा मलाई मेडिकल गर्न १ लाख लाग्छ भने, मेरो परिवारका ४ जनाले ५ लाख ९० हजार बुझायौँ ।’
युरो विङ्स कन्सल्टेन्सीका कर्मचारीले २०८० असोजतिर अनलाइनमा आफ्नो भिसा देखाएपछि विश्वास लागेको घिमिरेले बताए । उनी भन्छन्, ‘पैसा बुझाएपछि मात्र ठगिएको थाहा पायौँ ।’
सुजनबाट पीडित भएकाहरु उपत्यका अपराध अनुसन्धान कार्यालय परिसरमा
गोरखाका ठाकुर बरामले पनि युरोपियन मुलुक उड्न पाउने आशामा सुजनलाई रकम बुझाए । सुरुमा ५० हजार र त्यसपछि पटक पटक गरेर ४ जनाले ५ लाख ५० हजार बुझाएको बरामले रातोपाटीसँग बताए । ठाकुर बराम जस्तै ६ सय जनालाई आरोपीले ठगेको एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । उनी भन्छन्, ‘पीडितको सङ्ख्या अझै बढ्न सक्छ ।’
सुजनसँगै हिँड्ने र ठगीमा संलग्न उनका सहयोगी अर्जुन तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ । अर्जुन नुवाकोटका स्थानीय हुन् ।
ठगेको रकम लगानी
सुजनले पीडितहरूबाट लिएको मध्ये ५० लाख रुपैयाँ बसुन्धाराको राप्ती म्यानपावरमा लगानी गरेको भेटिएको छ । म्यानपावरमा उनले ५० लाख लगानी गरेको अनुसन्धानमा संलग्न डिएसपी अनिल घिमिरेले रातोपाटीलाई बताए ।
४ करोड रुपैयाँ उनले व्यक्तिगत ऋण तिरेका छन् । ३५ लाख रुपैयाँमा हुण्डाइको क्रेटा गाडी खरिद गरेको सुजनले प्रहरीलाई बताएका छन् ।
भाइ सुवास तामाङको खातामा १५ लाख ५० हजार डिपोजिट गरिदिएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनी ५ लाखको सुनका ब्रासलेट लगाएर हिँड्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पितृपक्षमा पुरोहितलाई भ्याइनभ्याइ
-
संघीयता आयो, मानसिकतामा परिवर्तन आएन : मुख्यमन्त्री कँडेल
-
पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु
-
लागुऔषध कारोबारमा छ वर्षदेखि सक्रिय गिरोह पक्राउ
-
भ्यालुयर्स एसोसिएसनको अध्यक्षमा सञ्जय महतो निर्वाचित
-
नासा र स्पेसएक्सले अर्को हप्ता नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण गर्ने