मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
विचार

त्यसैले राजतन्त्र फर्कँदैन

आइतबार, २८ माघ २०८०, १२ : ४९
आइतबार, २८ माघ २०८०

यदाकदा देखिने विरोधाभास गतिविधि र अप्रासङ्गिक बहस हाम्रो राजनीतिका फुटकर विशेषता हुन् । यहाँ अनेकन् खालका विचार र प्रतिविचारहरू सतहमा आउन सक्छन् । यस्तै परिदृश्यमा विगत केही समयदेखि छिटफुट सहरहरूमा राजतन्त्र पक्षीय बहस चल्दै छ । राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन गर्ने भन्दै पहिले दुर्गा प्रसाईं सडकमा थिए । अहिले अन्य केही दलले पनि यो बाटो समात्ने सपना देखेका छन् । 

संघीय गणतन्त्रको स्थापनासँगै निर्मूल भएको राजतन्त्रलाई पुनर्स्थापना गर्ने भनेर आफैँ स्थापित हुन नसकेका केही व्यक्ति र दल नागरिकलाई भड्काउने बाटोमा उद्यत देखिन्छन् । यसको पक्षपोषणमा टीका–टिप्पणी गर्न हतार गर्नेहरूको जमघट पनि यदाकदा देखिन्छ । मानवीय चेतनाले कतिपय विषय अनि अवस्थामा फरक–फरक दृष्टिकोण राख्नु स्वाभाविक अभिव्यक्ति स्वतन्त्रता र संविधानप्रदत्त मानव अधिकारको उपयोग पनि होला ।  यद्यपि प्रजातन्त्रको विकल्प राजतन्त्र हुन सक्ने र त्यसका लागि सडकमा नागरिकको समूह आउनुपर्ने भन्ने कुरा किञ्चित जायज हुँदैन र भएको छैन । 

विख्यात राजनीतिक चिन्तकदेखि दार्शनिकसम्मले यदाकदा राजनीतिमा असीमित र असामान्य सम्भावनाहरूको अवस्था रहने बताउँछन् । प्राचीन ग्रिक दार्शनिक अरस्तुले ‘अन पोलिटिक्स’ नामक पुस्तकभित्र सरकारका चक्रीय परिवर्तनको स्वरूप (क्लासिकल टाइपोलोजी)को व्याख्या गर्छन् । यसमा प्रजातन्त्र निष्प्रभावी भएपछि राजतन्त्रको पुनर्स्थापना हुने भनेर तर्क गर्छन् । बिलकुलै फरक राजनीतिक अवस्थाका परिणामस्वरूप ब्रिटेनमा सन् १६६०, स्पेनमा १९७८ र कम्बोडियामा १९९३ मा विस्थापित राजतन्त्रको पुनर्स्थापना भएको थियो, तर हाम्रो सवालमा कुनै पनि कारण र आधारले राजतन्त्रको पुनर्स्थापना सम्भव र आवश्यक दुवै छैन । 

गम्भीर कारणमा राजतन्त्रको अवसान भएको धेरै भएको छैन । आम जनताले राजतन्त्रको बिदाइ स्वीकार गरिसकेका छन् । स्वयं राजा–महाराजाका सन्तति भनिनेहरू पनि अब राजतन्त्र फर्किन सक्ने कुरामा विश्वस्त छैनन्, लालायित पनि छैनन् । बाहिर राजतन्त्रको नारा लगाउने दल समेत वास्तवमै राजतन्त्रका लागि उदार र निष्ठ छन् जस्तो लाग्दैन । नागरिकको आशाचाहिँ केवल सक्षम नेतृत्वकेन्द्रित छ । लोकतन्त्र समूल रूपमा अफापसिद्ध भएको होइन । 

कमसल चिकित्सकको विकल्प योग्य र दक्ष चिकित्सक मात्र हो, धामी वा झाँक्री होइन । कुनै पाइलटले हवाईजहाजलाई राम्रो गरी उडान गराई यात्रुलाई सहज, भयरहित अनि सुरक्षित तवरबाट गन्तव्यमा अवतरण गर्न नसके उसको सट्टा बस चालकलाई करारमा लिने कुरा हुन सक्दैन ।

प्रजातन्त्रमा पनि कहिलेकाहीँ समस्या देखिन सक्छन्, नेतृत्व नचाहेरै चुक्न सक्छन् । यसमा पनि सीमितता, अप्ठेरा र असहजता अवश्य हुन्छन् । कमजोरी भएमा व्यवस्थामाथि सुधारको खोजी गर्नुपर्छ, विद्रोहको होइन । हरेक लोकप्रिय कुरा नै सत्य वा लाभदायक समेत हुन्छ भन्ने छैन । उत्तेजित जोशले जकडेको भिडबाट वैधानिक लोकतन्त्रको विकल्प खोज्नु केवल भिडतन्त्र (मोबोक्रेसी) हो । राजतन्त्रको पक्षमा हुने सानातिना प्रदर्शन यही अवस्थाका उपज मात्र हुन् ।

खराब नेताको ठाउँमा राम्रो नेता मात्र प्रजातन्त्रको विकल्प हो । नैतिकवान् अनि इमानदार नेतृत्व नभएको अवस्थामा त्यस्तो नेतृत्व कौशलको विकास नै प्रजातन्त्रको अनुपम आकर्षण हो । हामी बिरामी भएर अस्पतालमा गएका बखत यदाकदा चिकित्सकले राम्रो उपचार तथा शल्यक्रिया गर्न नसकेको महसुस हुन सक्छ । त्यसको विकल्पको रूपमा गैरचिकित्सकीय अप्राविधिक अन्य मानिसको छनोट र खोजी गर्दैनौँ । कमसल चिकित्सकको विकल्प योग्य र दक्ष चिकित्सक मात्र हो, धामी वा झाँक्री होइन । कुनै पाइलटले हवाईजहाजलाई राम्रो गरी उडान गराई यात्रुलाई सहज, भयरहित अनि सुरक्षित तवरबाट गन्तव्यमा अवतरण गर्न नसके उसको सट्टा बस चालकलाई करारमा लिने कुरा हुन सक्दैन । उसको ठाउँमा अर्को दक्ष, अनुभवी, इमानदार र अझै गुणस्तरीय पाइलट मात्र अदक्ष पाइलटको विकल्प हुन सक्छ । त्यस्तै राजनीतिकर्मीबाट अपेक्षित कार्यसम्पादन नभएको अथवा प्रजातन्त्रले आशातीत सफलता र नतिजा प्रदान गर्न नसकेको महसुस हुँदा त्यसको विकल्प राजतन्त्र कदापि हुन सक्दैन । 

यथार्थमा खराब नागरिकबाट खराब नेताको जन्म हुन्छ । अधिकांश समय हामी नागरिक पनि नेतृत्वलाई आम समुदायको अनि सम्पूर्ण जनसरोकारभन्दा आफ्नो व्यक्तिगत अथवा पारिवारिक लाभमा मात्र बढी प्रयोग गर्न खोजिरहेका हुन्छौँ । आफूलाई फाइदा हुने काम गर्दा सबै ठिक, नभए बेठिक देख्छौँ । सरकारभन्दा नागरिक जहिल्यै उपल्लो स्थानमा हुन्छन् । प्रजातन्त्रको परिभाषा तथा भाषिक संरचना दुवैले जनतालाई प्राथमिकतामा राखेको छ । ‘डेमो’को अर्थ जनता अनि ‘क्रेसी’ भनेको पावर अथवा शक्ति हो । अब्राहम लिङ्कनको परिभाषामा त जनताका लागि जनताले जनतालाई नै गर्ने शासन प्रजातन्त्र हो । यसरी हेर्दा सफल प्रजातन्त्रका लागि जनताचाहिँ सबैभन्दा सचेत रहनुपर्छ, अनि सचेत जनताले अब राजतन्त्रको नारा बोक्न र सार्थकता देख्न सक्दैनन् । 

आम जनताले राजतन्त्रको बिदाइ स्वीकार गरिसकेका छन् । स्वयं राजा–महाराजाका सन्तति भनिनेहरू पनि अब राजतन्त्र फर्किन सक्ने कुरामा विश्वस्त छैनन्, लालायित पनि छैनन् । बाहिर राजतन्त्रको नारा लगाउने दल समेत वास्तवमै राजतन्त्रका लागि उदार र निष्ठ छन् जस्तो लाग्दैन ।

राजनीति गणितको सूत्रजस्तो होइन, जहाँ माइनस र माइनसको गुणा प्लस हुन्छ । एउटा गलत कामको प्रत्युत्तर अर्को गलत कदम कदापि हुन सक्दैन । दुईवटा गलत कुरा बराबर एउटा सही कुरा समेत हुँदैन । कुनै अभिभावकले बिरामी परेको आफ्नो सन्तान अस्पतालमा लगेर त्यही छाडी अर्को कोहीलाई टिपेर हिँड्छु र सन्तान सुखको आभास गर्छु भन्नु एक सानदार भ्रम अनि आपराधिक कर्म दुवै हुन्छ । आफ्नो अपनत्व भएको वैधानिक सन्तानलाई नै सकेसम्मको प्रयास लगाएर स्वस्थ बनाउँदा मात्र सन्तोष मिल्छ, संगतिपूर्ण पनि हुन्छ । अहिलेको व्यवस्थाले अपेक्षित सही नतिजा दिन नसेको भनेर अर्को खराब व्यवस्थाको वकालत किञ्चित सही हुँदैन । व्यवस्था परिवर्तनको दुहाइ दिँदै हिँडेका अनि व्यवस्था परिवर्तनले स्थापित गर्नुपर्ने भनिएका दुवै खालका पात्रहरूको पृष्ठभूमि तथा विगत नागरिकसँग लुकेको छैन । व्यक्तिले गर्ने शासन अबको समयमा ग्राह्य हुँदैन । त्यसमा पनि जीवनभर एउटै व्यक्ति र कुनै कुल खानदानमा जन्मिएकै आधारमा शासक बन्न पाउने प्रथा प्रजातान्त्रिक पनि होइन । 

संघीय गणतन्त्रको स्थापनासँगै निर्मूल भएको राजतन्त्रलाई पुनर्स्थापना गर्ने भनेर आफैँ स्थापित हुन नसकेका केही व्यक्ति र दल नागरिकलाई भड्काउने बाटोमा उद्यत देखिन्छन् । यसको पक्षपोषणमा टीका–टिप्पणी गर्न हतार गर्नेहरूको जमघट पनि यदाकदा देखिन्छ ।

प्रजातन्त्रमा कहिलेकाहीँ नेतृत्व कमजोर देखिन अनि अलमलिन सक्छ । हाम्रो सवालमा पनि त्यस्तो भएको छ । सत्ता स्वार्थको टकराबले सबै दल ग्रसित भएको सर्वज्ञात छ । नेतृत्वले नागरिक अपेक्षाका काममा जोडबल तथा अतिरिक्त प्रयास गर्नुपर्ने स्पष्ट छ । नागरिकलाई अधिकार तथा सार्वभौमसत्ता सुम्पने प्रजातन्त्र जतिको अन्य कुनै व्यवस्था छैन । शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, पूर्वाधार विकास, नेपालको अन्तर्राष्ट्रिय पहुँच र पहिचानले यही लोकतन्त्रको समयमा उल्लेख्य उपलब्धि प्राप्त गरेको छ । विश्वका दुई तिहाइ देशमा लोकतन्त्र छ । राजतन्त्रीयभन्दा लोकतान्त्रिक समयमा नेपालको सर्वपक्षीय उन्नयनले धेरै फड्को मारेको छ । फुटबल खेल्न मैदानमा उत्रिएका खेलाडीबिच कहिलेकाहीँ तोकिएको समयमा कुनै समूहबाट पनि गोल नहुन सक्छ । खेल त नसकिएला जस्तो छ, कुनै नतिजा आएन भनेर खेल टुङ्ग्याउँदै नतिजा दिनकै लागि आफ्नै पोस्टमा गोल हान्न सुहाउँदैन । प्रजातन्त्रको विकल्पमा अन्य राजतन्त्रको वकालत यस्तै आत्मघाती हुनेछ । विजयका लागि खेलाडीले अझै राम्रो खेल्नुपर्छ, प्रशिक्षकले राम्ररी प्रशिक्षित गर्नुपर्छ । आफू हारेर अरूलाई जिताउने अभिप्राय (म्याच फिक्सिङ) हरेक आधारमा आफैँलाई धोका अनि देशमाथि समेत बेइमानी हो । घर चुहियो भने छाउनुपर्छ, भत्काएर सडकमा सुत्ने अस्वाभाविक बहुलठीपना देखाउनु हुँदैन ।

राम्रा, असल अनि अझै इमानदार नेतृत्व निर्माणमा जोड दिनुपर्छ, अरूले गर्न नसकेको भए त्यस्तो आँट र विश्वास भएको नागरिक पंक्ति अगाडि आउनुपर्छ । शक्ति हस्तान्तरण र पुस्तान्तरणको अभ्यासमा लाग्नुपर्छ । सशक्त वैकल्पिक नेतृत्व तयार हुनुपर्छ । प्रजातन्त्रलाई नै सर्वाधिक हितकारी र परिणाममुखी बनाउन नागरिकले समेत नेतृत्वलाई दबाब अनि सहयोग बढाउनुपर्छ । राजतन्त्र फर्किन्छ भन्ने वा सोच्नेतिर होइन, यही व्यवस्थालाई सार्थक बनाउनतिर लाग्नुपर्छ । राजतन्त्र सुकिसक्यो, अब फर्कन सक्दैन र फर्काउनु पनि हुँदैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. अतीन्द्र दाहाल
डा. अतीन्द्र दाहाल
लेखकबाट थप