बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

सर्वसाधारणलाई प्रिमियममा आईपीओ बेचेको सोनापुर १४ करोड घाटामा

सोमबार, २९ माघ २०८०, १५ : ५७
सोमबार, २९ माघ २०८०

काठमाडौँ । सर्वसाधारणलाई प्रिमियम शुल्कमा सेयर बिक्री गरेको सोनापुर मिनरल्स तथा ओयल लिमिटेड घाटामा देखिएको छ । चालू आर्थिक वर्षको ६ महिनाको रिपोर्टमार्फत कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा देखिएको हो ।

सोनापुरले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँमा १३७.५० रुपैयाँ थपेर २३७.५० रुपैयाँमा साधारण सेयर (आइपीओ) बिक्री गरेको थियो । सर्वसाधारणलाई प्रिमियममा सेयर बिक्री गरेको कम्पनीले गत आर्थिक वर्षसम्ममा उल्लेख्य नाफामा रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तर, प्रिमियम शुल्कमा सेयर जारी गर्न सफल भएपछि सार्वजनिक भएको पहिलो वित्तीय रिपोर्टमा भने घाटा देखाएको हो । कम्पनीले सार्वजनिक गरेको वित्तीय रिपोर्टअनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को ६ महिनाको अवधिमा १४ करोड ७८ लाख रुपैयाँभन्दा धेरै घाटा छ ।

सोनापुर मिनरल्सलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न व्यवस्था मिलाउनका लागि नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले नीति नै परिवर्तन गरेका थिए । उनले लगातार ३ वर्षसम्म नाफा आर्जन गरेको कम्पनीले मात्रै प्रिमियममा आईपीओ जारी गर्न पाउने व्यवस्था घटाएर २ वर्षमा झारेका थिए ।

सोनापुरले आफ्नो वित्तीय रिपोर्ट सार्वजनिक गर्दै चालू अवधिको ६ महिनाको अवधिमा आफ्नो आम्दानीमा व्यापक गिरावट आएको उल्लेख गरेको छ । यस्तै, कम्पनीको प्रति सेयर आम्दानी प्रतिकित्ता ९.६२ रुपैयाँले माइनसमा देखिएको छ ।

प्रतिकित्ता २३७.५० रुपैयाँमा आईपीओ बेचेको सोनापुरको दोस्रो बजारमा सेयर मूल्य ४५६.५० रुपैयाँ छ । आज घाटामा रहेको प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य ओरालो लागेको छ । चालू वर्षको ६ महिनाको प्रतिवेदन नै ऋणात्मक आएपछि कम्पनीले गलत रिपोर्ट देखाएर सर्वसाधारणलाई प्रिमियममा सेयर बेचेको आशंका बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप