यसकारण सन्दीपले पाए थुना बाहिरैबाट पुनरावेदन गर्ने अनुमति

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बिहीबार उच्च अदालत पाटनमा काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनको निवेदन दिएका छन् । बलात्कारकार कसुरमा उनी दोषी ठहर भएसँगै उनले उच्च अदालतमा पुनरावेदन दर्ता गराएका हुन् ।
पुनरावेदन दर्ता गर्दै उनले थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने अनुमति दिन समेत माग गरेका थिए । उच्च अदालतले पाटनले पनि लामिछानेलाई थुना बाहिरैबाट मुद्दाको पुर्पक्ष गर्न अनुमति प्रदान गरेको छ ।
लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३७ बमोजिम थुना बाहिरै रहेर पुनरावेदन गर्ने अनुमति दिइएको हो । लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले बलात्कारको कसुरमा दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय तोकेको थियो । साथै उनलाई ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलासमेत सुनाइएको थियो ।
उनले काठमाडौँ जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी राखेको र उक्त रकमले कैद तथा जरिवाना बराबरको रकम पुग्ने भएकाले फैसला अन्तिम नभएसम्मका लागि उनी थुनामा जान नपर्ने भएको हो ।
मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५५ अनुसार कैदमा नबसी कैद किन्ने सुविधा अन्तर्गत प्रतिदिन ३ सय रुपैयाँका दरले किन्न पाउनेछन् । यद्यपि सो व्यवस्था एक वर्षभन्दा कम कैद सजाय हुनसक्ने व्यक्तिका लागि मात्रै भए पनि कैदबापतको रकम भुक्तानीको गणना गर्दा सोही बमोजिम प्रतिदिन ३ सय रुपैयाँका दरले गणना गरिन्छ ।
सोही आधारमा हेर्दा सन्दीपलाई भएको ८ वर्ष कैदलाई ३ सय ६५ दिनले गुणा गर्दा कुल २ हजार ९ सय २० दिन हुन आउँछ । २ हजार ९ सय २० दिन कैदमा बस्नुपर्दा प्रतिदिन ३ सय रुपैयाँका दरले कैदबापतको रकम भुक्तानी हुँदा लामिछानेले १० लाख ६५ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।
त्यसबाहेक जरिवाना बापत लामिछानेले ३ लाख रुपैयाँ र क्षतिपूर्तिबापत २ लाख गरी कुल ५ लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ । यसरी हेर्दा लामिछानेले १५ लाख ६५ हजार ८ सय रुपैयाँ धरौटीमा रहेको अवस्थामा उनले थुना बाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन् । तर यसअघि नै लामिछानेले उच्च अदालत पाटनको आदेश अनुसार २० लाख रुपैयाँ धरौटी राखिसकेकाले सो रकमले धानेसम्म सोही रकम र सो रकमले नधानेको अवस्थामा थप धरौटी लिई थुनाबाहिरै रहेर पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेकाले लामिछानेले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड विध्वंस गर्दै हिँड्छन्, अरूलाई पनि त्यस्तै देख्छन् : योगेश भट्टराई
-
संसद् भवन प्रवेश गर्न खोजेको आरोपमा एक जना नियन्त्रणमा
-
चीनमा बिहे गर्नेको संख्या घट्यो
-
मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट सर्वसहमतिले पारित
-
आफैँमाथि चक्कु हान्नेलाई किन बिचरा भन्दैछन् सैफ अली खान ?
-
कार्बन व्यापार गर्नको लागि नियमावली संशोधनको मस्यौदा अन्तिम चरणमा छ : मन्त्री ठकुरी