मङ्गलबार, ११ असार २०८१
ताजा लोकप्रिय
राजनीति

गणतन्त्र औपनिवेशिक भएको कारण जनताको स्वाभिमान बोक्न सकेन : राजेन्द्र महतो

सोमबार, १४ फागुन २०८०, १४ : २२
सोमबार, १४ फागुन २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको संविधान २०७२ पश्चिमा ज्ञानसत्ताको जगमा जारी भएको आरोप लगाएका छन् । लोसपाबाट विद्रोह गरेका नेता महतोले पहिलो पटक आफ्नो अभियानको बारेमा जानकारी गराउन सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष वक्तव्य जारी गर्दै नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिक र वैचारिक पश्चिमा ज्ञानसत्ताको जगमा जारी भएको दाबी गरेका हुन् ।

वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशिक, पर–शासित छ र पर–निर्भर रहेको उनको टिप्पणी छ । गणतन्त्र औपनिवेशिक भएको कारणले जनताको सत्त्व र स्वाभिमानलाई बोक्न नसकेको बताउँदै उनले त्यसले गर्दा राज्यसत्ताको स्थिरता नरहेको जिकिर गरे । उनले भने, ‘देश विकासको निरन्तरता छैन, सांस्कृतिक राष्ट्रवाद निर्माण हुन सक्दैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सक्दैन, देश र जनता पर–शासित र पर–निर्भर बनाइयो मात्रै हैन, निरन्तर नेपाली समाज खण्डित भएर गइरहेको छ ।’

 

उनले देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको बताउँदै नेपाली समाजको सत्त्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धराशायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य निर्माण सम्भव रहेको बताए ।

 उनले वक्तव्यमार्फत भनेका छन्, ‘नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सोतर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडि बढ्छ ।’

राजनीतिक हिसाबले नेपाली समाज दोसाँधबाट लामो समयदेखि गुज्रिरहेको उल्लेख गर्दै नेता महतोले देशका युवा विदेश पलायन भइसकेको बताए । यो कुनै प्राविधिक समस्या मात्र नभएर गम्भीर दार्शनिक र वैचारिक राजनीतिक समस्या हो, उनले भने, ‘नेपाली जनताको सत्त्व र ग्रहण गरेको राजनीतिक दार्शनिकी बिच गहिरो खाडल छ र नै यतिबेला नेपाली समाज सबैजना सबैसँग लडिरहेका छन् ।’

विशेष वक्तव्य

प्रिय पत्रकार बन्धु तथा सहयोद्धा मित्रहरू,

हार्दिक स्वागत तथा नमस्कार ।

आज यहाँहरू सँग भइरहेको साक्षात्कार हाम्रो निमित्त विशेष रहेको छ । विशेष यो अर्थमा हो कि, लामो राजनीतिक जीवनमा हामीलाई अनेकौँ पटक यहाँहरू सँग साक्षात्कार गर्ने अवसर मिलेको छ तर, आज फरक परिस्थिति बिच मुलुकको जल्दाबल्दा तात्कालिक र दीर्घकालिक विषयहरू माथि हाम्रो विचार सम्प्रेषण गर्न यहाँहरू सँग साक्षात्कार गर्दैछौँ ।

वर्तमान विश्व परिस्थितिलाई विद्वानहरूले ठुलो अनिश्चितता र भ्रमको युग भनेको छ, जुन हामी माझ ठुलो अविश्वास र शङ्का उत्पन्न गराउँदै नेपाली आकाशमा पनि मडारिरहेको छ । नेपाली समाज भित्र पनि ठुलो विचलनको स्थिति पैदा गरेको छ । हामीले समग्र सामाजिक(सांस्कृतिक, राजनीतिक तथा आर्थिक पक्षहरूमा सामना गरिरहेको चुनौतीहरू सँग मुकाबिला गर्दै त्यसभित्र रहेको अवसरहरूलाई मुलुकको हितको निमित्त उपयोग गर्ने वातावरण निर्माणको खातिर वर्तमान अनिश्चितता तथा भ्रमको मूल कारणको विश्लेषण गर्दै नयाँ कार्यदिशा संश्लेषण गर्नु वाञ्छनीय भएको छ ।

पश्चिमा ज्ञान सत्तामा आधारित आधुनिकीकरण र विकास रुपी वायुपंखी घोडामाथि सवार हुँदै संसार भरि शासकहरूले करोडौँ मानिसहरूको हत्या गरे, सयौँ भाषा विनाश गरे, हजारौँ मानव समूहहरूलाई पहिचान विहीन बनाए, करोडौँ जीवजन्तु, वनस्पति, सम्पदा, नदी, पोखरी, ताल, हिमाल, पहाड लगायत समुन्द्रमाथि समेत अतिक्रमण गरे र आज पृथ्वी बचाउँ नारा लगाउनु पर्ने स्थानमा विश्वलाई पुर्‍याए । यस्तो विशाल ध्वंसकारी कार्यको नेपाली संस्करणको नेतृत्व राजा महाराजाहरू र तत्पश्चात् काँग्रेस र कम्युनिष्टहरुले गरे । आज उनीहरूका कारण हाम्रो सभ्यता संस्कृतिलाई असभ्य भनियो, बहुलता, पहिचानलाई इन्कार गर्ने काम भयो, हाम्रो उन्नत ज्ञान मास्ने काम भयो, हामीलाई पश्चिमा र विदेशमुखी बनाइयो । यहाँका स्वदेशी वहुलज्ञान-दर्शन, कला, साहित्य, सौन्दर्यताको संहार भयो, बहुल समाज व्यवस्थालाई निषेध गरायो, ऐतिहासिक बहुल राष्ट्रहरूलाई राज्यविहीन बनायो । प्रकृतिको विनाश गरायो । यसर्थ पश्चिमा ज्ञानले यावत समस्याहरूको सामना गर्नु त परको कुरा भयो, समस्याको सृजनाकर्ता नै आफै रहेको प्रमाणित नै भइसक्यो । अत: अब पूर्वीय सभ्यतामा आधारित रहेको स्वदेशीय दर्शन मार्फत स्वदेशवादको पुनर्स्थापना जरुरी भइसकेको छ ।

 अब हाम्रा अगाडि प्रश्न खडा भएको छ : के गर्ने रु कहाँ देखि गर्ने ?

यी प्रश्नहरूको जवाफ खोज्नु नै वर्तमान राजनीतिको प्रमुख रणनीतिक कार्यभार हो । यहाँ लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, विकास, वृद्धि-संवृद्धि, समाजवादको बहस सम्भ्रान्तीय झुट, फरेब, जनता झुक्याउने र ठग्ने प्रपञ्च साबित भयो ।

  •  अब के गर्ने ?

वर्तमानको ठुलो अनिश्चितता र भ्रमलाई चिर्न सक्ने वैकल्पिक राजनैतिक शक्ति दाबी गर्दै केही नयाँ समूहहरूको उदय तथा पुराना शक्तिहरू भित्रको नयाँ पुस्ताले उठाएको रूपान्तरणको बहस सुनिरहेका नेपाली जनताहरूले न नयाँ समूहहरूको उदय, न त पुराना शक्तिहरूको रूपान्तरण नै देखिरहेका छन्, बरु, उनीहरू अनिश्चितता तथा भ्रमले सृजना गरेको अविश्वास र शङ्काको परिस्थितिलाई थप गिजोल्दै लाभ उठाउने अवसरवादी समूहहरूको रूपमा देखिएको छ । 

यो परिस्थिति तबसम्म रहनेछ जबसम्म हाम्रो प्रयत्न हाल सम्म हाबी रहेको राजनीतिक पार्टी एवं वर्तमान शक्ति संरचना भित्रै वैकल्पिक राजनीति वा शक्तिको खोजीमा सीमित रहने छ । यसर्थ हामीले हाल सम्म हाबी रहेको राजनीतिक शक्ति संरचनाकै विकल्प खोज्नु पर्दछ जुन सम्भव मात्र होइन कि अनिवार्य भएको छ ।

  • कहाँ देखी गर्ने ?

नेपाल देशको सरहदको निर्धारण गोर्खाका राजा पृथ्वी नारायण शाहको राज्य विस्तार र त्यसपछि सुगौली सन्धि एवं नयाँ मुलुकको पुनर्स्थापितपछि भएको हो । यसरी राज्य विस्तार हुँदा अनेकौँ सार्वभौम राज्य मात्र होइन अनेकौँ संस्कृति पनि एउटै सरहद भित्र रहन गयो । तत्काल विद्रोह नहोस् भनेरै राजा पृथ्वी नारायण शाहले निर्दिष्ट गरे नेपाल चार जात छत्तिस वर्णको साझा फूलबारी हो सबैलाई चेतना भया । तर त्यसपछिका कुनै शासकमा उक्त चेतना आउन सकेन । शासकले आफ्नो बाहेक सबै संस्कृतिलाई सिध्याउन्ने प्रयास गरे, असभ्य भने, विदेशी भने, अराष्ट्रिय भने, मासिन्या घोषित गरे । फगत शाह राजाहरूको शासन केवल वंशको निम्ति, राणाहरूको शासन जहानको निम्ति, प्रजातन्त्रदेखि गणतन्त्रसम्मको शासन केवल एउटा नश्लको निम्तिमात्र आत्म गौरवको सत्ता हुन गयो । पृथ्वीनारायणले जगाउन खोजेको चेतना उनका बंस, जहान र नश्लमा आउन सकेन । त्यसैले त तराई मधेसमा गजेन्द्रनाराण सिंह, रघुनाथ ठाकुरहरूले तथा हिमाल, पहाडमा गोरेबहादुर खपाङगी, एम एस थापा, गोपाल गुरुङहरूले विद्रोह गरे । गुलाम बनाइएका उत्पीडितहरूमा आत्मसम्मान जगाए, अपमान सूचक बनाइएको आफ्नो पहिचानमा गर्भ गर्न लगाए । त्यस आन्दोलनको निरन्तरता आज पनि छ । दुर्भाग्य उक्त आन्दोलनहरूले ठोस उपलब्धि दिन सकेको छैन ।

संविधान निर्माणको क्रममा भएको ऐतिहासिक मधेस र थरुहट आन्दोलनलाई पहाड विरोधी, जातीय, साम्प्रदायिक, आपराधिक, भारतद्वारा सञ्चालित आन्दोलन जस्ता कु नियतका साथ कु(प्रचार गरि यसै बहानामा दुस्मन देशका दुस्मन नागरिक सरह बर्बरतापूर्ण दमन गर्दा पनि ६ महिनासम्म जनताले प्रतिरोध गरि रहे, बलिदान दिई रहे तर मधेस थरुहटका जनताको दुःखद हार भयो, आन्दोलन तुहिन गयो । मुस्लिम, दलित, पिछडा वर्ग लगायतको सामाजिक न्यायको आन्दोलन पनि अगाडी बढ्न सकेन । निरन्तर आन्दोलनरत रहेका लिम्बुवान लगायत अन्य आदिवासी जनजातिहरूको पहिचानवादी आन्दोलन पनि सफल हुन सकेन । उपरोक्त सबै आन्दोलनहरू एकल नश्लीय शासन व्यवस्था विरुद्ध थियो तर त्यस विरुद्ध गरिएका आफ्नै आन्दोलन पनि एकल आयामिक थियो । हामी पहिचानवादीहरू पनि एकल आयामिक गोल चक्करमा फसेकै कारण विगत चार दशक अगाडी सुरु भएको पहिचानवादी आन्दोलन शासकीय षडयन्त्रको शिकार भइ अधुरो रहन गयो । शासन पनि एकल नश्लीय त्यस विरुद्धको आन्दोलन पनि एकल आयामिक । त्यसैले त उत्पीडनमा परेका जनताले चाहेको जस्तो राजनीतिक उपलब्धि प्राप्त गर्न सकेन, देश पनि बन्न सकेन । अब गहिरो संकथन गरी अधिकार र पहिचानवादी आन्दोलन वहुआयामिक हुनु जरुरी भैसकेको छ । अब हिमाल, पहाड, तराईका अधिकार तथा पहिचानवादी सम्पूर्ण उत्पीडित राष्ट्रियताहरू तथा देशमा सुशासन र संवृद्धि चाहनेहरू सबै संयुक्त रूपमा एकताबद्ध भई बहुल राष्ट्रिय राज्य निर्माणको निम्ति राष्ट्रिय मुक्ति क्रान्ति अर्थात् सम्पूर्ण क्रान्ति आवश्यक भैसकेको छ ।

नेपालमा आजसम्म भएको राजनीति भनेको आफ्नो स्वदेशीय मौलिक सभ्यताबाट पर हटी पश्चिमा ज्ञान प्रणालीको दर्शनमा आधारित भएर सिद्धान्त एवं कार्यक्रमहरू बनाइए, त्यसले गर्दा स्वदेशीय जरा काटिए, पर-देशको जरा समाएर बाँच्नुपर्ने भयो । जरा काटिएको समाज र समुदायको आफ्नो मौलिक जीवन र सपना केही पनि हुँदैन । किनभने समाज र समुदायको जरा काटिएपछि आफ्नो सत्त्व मर्छ । समाज र समुदायको जीवन, सपना र सत्त्व हराएपछि त्यो देश, त्यो देशका समाज र समुदायको इतिहास, सभ्यता, संस्कार र संस्कृतिप्रति चासोको विषय बन्दैन । र, समाजका युवा पुस्ताको जीवनको अवस्था पर(शासन र पर-निर्भरतामा पुग्ने मात्र होइन कि त्यही नै सपना बन्न थाल्दछ । राजनीतिक हिसाबले नेपाली समाज यो दोसाँधबाट लामो समय देखी गुज्रिरहेको छ । परिणामतः युवाहरू विदेश पलायन भइसकेका छन्, दिनानुदिन पलायन हुने क्रम तीव्र गतिमा जारी छ । यो कुनै प्राविधिक समस्या मात्र नभएर गम्भीर दार्शनिक र वैचारिक राजनीतिक समस्या हो । नेपाली जनताको सत्त्व र ग्रहण गरेको राजनीतिक दार्शनिकी बिच गहिरो खाडल छ र नै यतिबेला नेपाली समाज सबैजना सबैसँग लडीरहेका छन् । त्यो समस्या भनेको एकातर्फ नेपालमा आयातित र औपनिवेशीक मार्क्सवादी र पुँजीवादी ज्ञानसत्ताको उदयले नेपाली समाजको स्वदेशीय जरा काटिएर भएको हो भने अर्को तर्फ नेपालको राजनीतिमा पश्चिमा ज्ञानमिमांसाको राजनीतिक हतियार बोकेर स्थानीय मौलिक सनातन सभ्यता, इतिहास र मूल्यमान्यताहरू भत्काउने दलको रूपमा मूलतः मार्क्सवादी र उदारवादी भनाउँदाहरु नै हुन् । त्यसैले त नेपालको संविधान २०७२ राजनीतिक सैद्धान्तिकी र वैचारिकी पश्चिमा ज्ञानसत्ताको जगमा जारी हुन पुग्यो । यसर्थ, वर्तमान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र औपनिवेशीक छ, पर-शासित छ, पर-निर्भर छ र यसले आम नेपाली जनताको सत्त्व र स्वाभिमानलाई बोक्न सकेन र सक्दैन पनि । परिणामतः राज्यसत्ताको स्थिरता छैन, देश विकासको निरन्तरता छैन, सांस्कृतिक राष्ट्रवाद निर्माण हुन सक्दैन, सार्वभौम र स्वतन्त्र देशको हैसियतमा राष्ट्रिय दृष्टिकोण बन्न सक्दैन, देश र जनता पर-शासित र पर-निर्भर बनाइयो मात्रै हैन, निरन्तर नेपाली समाज खण्डित भएर गइरहेको छ । हामीले स्पष्ट रूपमा देखिरहेका छौँ कि राज्य र समुदायबिच अलगाव र सम्बन्ध विच्छेदको मनोविज्ञान तीव्र रूपमा बढिरहेको छ । यसलाई नरोक्ने हो भने देश गम्भीर दुर्घटनामा कुनै पनि बेला फस्न सक्दछ । यो दलदलबाट मुलुकलाई निकाल्न अनिवार्य बन्न गएको छ ।

देशमा एकल राष्ट्रिय राज्यको चिन्तन सोंचबाट संविधान निर्माण र राज्यको सञ्चालन भई रहेको कारणले नेपाल सबै नेपालीको लागि बन्न सकेन । नेपाली समाजको सत्त्वसँग मेल नखाने यिनीहरूको वैचारिकी धराशायी गराएपछि मात्र स्वदेशीय सभ्यताको आत्मिक जगमा बहुल राष्ट्रिय राज्य व्यवस्थाको निर्माण सम्भव छ । नेपाल राज्यको प्राकृतिक सत्ता भनेको बहुल राष्ट्र राज्य हो, सो तर्फ नेपालको राजनीति स्वाभाविक रूपले अगाडी बढ्छ नै । तसर्थ देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै वर्ग, समुदाय, धर्म, जात(जाती, क्षेत्र, लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वशासन, सुशासन, संवृद्धि तथा सामाजिक न्याय प्रदान गर्नको लागि विगतमा जस्तै मधेसी, आदिवासी, जनजाति, थारु, दलित, मुस्लिम, पिछडा वर्ग लगायत स्वशासन, सुशासन  र संवृद्धि चाहने हिमाल, पहाड, तराई मधेसका जनता अब एकल एकल रूपमा छुट्टाछुट्टै फुटेर संघर्ष गर्दा भोगेको पिडा र असफलताबाट सबक लिँदै ‘फोड़ र राज्य गरु शासकीय नीति विरुद्ध जुटौँ र आफ्नो सत्ता हासिल गरौँ’ अभियान तहत सबै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नुको विकल्प नै रहेन । यही क्रान्तिले देशमा सबै नेपालीका लागि शासन र संविधानमा परिवर्तन ल्याउने छ र नेपाल सबै नेपालीका लागि निर्माण गर्ने छ । अबको आगामी क्रान्ति कुनै एक दल वा कुनै एक पीडित समुदायबाट सम्भव नै छैन तसर्थ विद्यमान सम्पूर्ण परम्परागत पार्टीबाट माथि उठी, औपनिवेशिक चिन्तन सोचको प्रभावलाई तिलाञ्जलि दिएर सम्पूर्ण उत्पीडित जनता जुटेर उठे हाम्रो देशको गौरवशाली वैभव प्राप्त गर्न सम्भव छ, यसको निम्ति यस नवीन युगका नवीन नेपाल निर्माण निम्ति युगिन अभियानमा सरिक हुन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सादर आह्वान गर्दछु । जय मातृभूमि । धन्यवाद । 

राजेन्द्र महतो

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप