बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय

एकीकृत समाजवादीका नेता पौडेललगायतका नाममा ऋण तिर्न आउने सूचना

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्षदेखि योजना आयोगका सदस्य पनि कालोसूचीको संघारमा
मङ्गलबार, १५ फागुन २०८०, ११ : ४०
मङ्गलबार, १५ फागुन २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका नेता डा. विजय पौडेल लगायतको नेताका नाममा ऋण तिर्न आउन बैंकले सूचना जारी गरेको छ । प्रभु बैंकले गत फागुन २ गते नै ऋण तिर्न आउने सम्बन्धी ३५ दिने सूचना जारी गरेको हो । 

प्रभु बैंकको मुख्य कार्यालयले जनता टिभीका लागि लिइएको ऋणको सावाँ तथा ब्याजको भुक्तानी नभएको भन्दै सञ्चालक डा. विजय पौडेल लगायतको नाममा ऋण तिर्न आउने ३५ दिने सूचना जारी गरेको छ । बैंकले जारी गरेको सूचनामा एमालेका नेताहरू अरुण नेपाल र भागीरथ सापकोटा तथा समाजवादी पार्टीका नेताहरू डा. रमेशचन्द्र पौडेल, उदया शर्मा पौडेल, मार्क्सवादी चिन्तक गोपीरमण उपाध्याय, प्रेमलकुमार खनाल र नारायणप्रसाद सुवेदीको नाम पनि उल्लेख छ । त्यस्तै सञ्चालक तथा जमानतकर्ताको नाममा ठेकेदार लंकबहादुर केसी र व्यवसायी पोमनारायण अधिकारीका नाम पनि उल्लेख छ । 

प्रभु बैंकले जारी गरेको ऋण तिर्न आउने ३५ दिने सूचनामा बैंकबाट ऋणीले लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानी सम्बन्धमा शर्त तथा कबुलियत उल्लङ्घन गरेको र पटक पटक मौखिक एवं लिखित ताकेता गर्दा समेत बेवास्ता गरेको उल्लेख छ । 

बैंकले ३५ दिने सूचना जारी गर्दै सो अवधिभित्र ऋण तिर्न नआएमा ऋणीसहित जमानतकर्ता लगायतको नाम कालोसूचीमा राख्ने समेत बताएको छ । जनता प्रकाशन तथा प्रसारण पब्लिक लिमिटेडको सम्पत्तिबाट कर्जा असुल हुन नसकेमा जमानतकर्ता समेतको सम्पत्तिबाट बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ तथा अन्य प्रचलित कानुन बमोजिम लिलाम बिक्री वा अन्य व्यवस्थाबाट असुलउपर गरिने समेत बैंकले जनाएको छ ।

बैंकको कालोसूचीमा नाम समावेश हुन लागेका व्यक्तिहरूमध्ये डा. रमेशचन्द्र पौडेल राष्ट्रिय योजना आयोगका सदस्यसमेत हुन् । त्यसैगरी अर्का सञ्चालक तथा जमानतकर्ता नारायण प्रसाद सुवेदी पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष हुन् भने रम्भा पौडेल डा. विजयकुमार पौडेलकी धर्मपत्नी हुन् । 

जनता प्रकाशन तथा जनता टेलिभिजन सञ्चालन गर्न विभिन्न बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले ऋण तिर्न आउने ३५ दिने सूचना जारी गरेको हो । उक्त अवधिमा ऋण चुक्ता नगरे त्यसपछि सञ्चालक तथा जमानतकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया सुरु हुन्छ । त्यसपछि धितोमा रहेको सम्पत्ति तथा जमानतकर्ताको सम्पत्तिबाट समेत असुल गर्न सक्ने कानुनी व्यवस्था छ । 

423147328_748609477233659_1409229973980274659_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप