सोमबार, १७ मङ्सिर २०८१
ताजा लोकप्रिय

बढ्यो सुनको आयात, ७ महिनामा १२ अर्ब ५८ करोडको भित्रियो

बुधबार, १६ फागुन २०८०, १५ : ०६
बुधबार, १६ फागुन २०८०

काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/८० को ७ महिनाको तुलनामा चालू वर्षको सोही अवधिमा सुनको आयात बढेको देखिएको छ ।

चालु आर्थिक  वर्षको ७ महिनामा १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ बराबरको सुन भित्रिएको छ । गत वर्षको सोही अवधिमा १२ अर्ब ५७ करोड ७४ लाख रुपैयाँको सुन भित्रिएको थियो । 

चालू वर्षको ६ महिनासम्मको अवधिमा गत वर्षको तुलनामा सुन आयात सुस्त थियो । तर, ७ औँ महिनामा आइपुगेर गत वर्षको तुलनामा आयात बढ्न थालेको विभागको भनाइ छ । 

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विदेशबाट १० अर्ब ८५ करोड रुपैयाँ बराबरको सुन भित्रिएको थियो । जबकि, गत वर्षको सोही ६ महिनाकै अवधिमा १० अर्ब ९५ करोड रुपैयाँ बराबरको सुन आयात भएको तथ्यांक छ । 

नेपालमा व्यवसायीक प्रयोजनका लागि सुनको आयात गर्ने अधिकार वाणिज्य बैंकलाई मात्रै छ । यस्तै बैंकले आयात गर्ने सुनको कोटा केन्द्रीय बैंकले तोक्ने प्रावधान छ । कोरोना महामारीका कारण विदेशी मुद्राको सञ्चिति घट्न थालेपछि सुन आयातको कोटा घटाइएको थियो ।

सबैजसो बस्तुको आयातमा प्रतिबन्ध लगाए पनि सुनको आयात भने दैनिक २० किलोग्रामबाट घटाएर १० किलोग्राममा ल्याइएको थियो । तर गत वर्ष २०७९ सालको असोज महिनादेखि भने नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा २० किलोग्राम नै बनाएको थियो । 

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालमा सुनको मूल्य प्रतितोला १ लाख १८ हजारको हाराहारीमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप