बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
कथा

सिङ, पुच्छर र जुरो

शनिबार, १९ फागुन २०८०, १८ : ०६
शनिबार, १९ फागुन २०८०

विजयस्वामिनी अश्व सवार भई सिङधारी पुरुषको खोजीमा निस्किइन् । 

केही दिनअघि उनी सेविकाहरूसँग नजिकैको श्लेष्मान्तक वनमा गएकी थिइन् । सेविकाहरूले घाँस काट्दै थिए, उनले विभिन्न रङका चराहरू र मृगको बथानलाई नियाल्दै थिइन् । वनमा उनले अनौठो दृश्य देख्न पुगिन्, एउटा मात्रै सिङ भएको पुरुषले झाडीमा छेलिएर शौच गरिरहेका थिए । शौचपछि उनले टोपी लगाए र बयलगाडामा सवार भई पूर्व दिशातिर लागे । उनको पछिपछि केही सिपाही पनि थिए ।

यस मञ्जुगर्त राज्यमा सिङधारी पुरुष को छ ? जसलाई सिपाहीले सुरक्षा दिनुपरेको छ ! को हो यो सिङधारी पुरुष ? यिनै जिज्ञासाको खोजीमा पुरुषको भेष धारण गरी विजयस्वामिनी पूर्व दिशातिर लागेकी थिइन् । 

बिहानै घरबाट निस्केकी उनी मध्याह्नसम्म निकैवटा ग्राम छिचोलेर एउटा डाँडामा पुगिन् । त्यहाँ ठूलो वरको रूख थियो, उनले त्यसैको जरामा अश्वलाई बाँधिन् र एउटा ढुंगामा बसेर वरपर नियाल्न थालिन् । झाडीमा अलि पर उनले अद्भुत दृश्य देखिन्, त्यहाँ स्वाभाविकभन्दा ठुलो लालीगुराँस फुलिरहेको थियो । त्यसको सौन्दर्यले उनलाई आकर्षित गर्‍यो र उनी त्यसलाई नजिकबाट नियाल्न गइन् । त्यहाँ कसैले कपडाको कलात्मक फूल बनाएर राखेको रहेछ । त्यसको नजिकै उनले अर्को अद्भुत दृश्य देखिन्, त्यहाँ कसैले ठुलो कपडामा चित्र कोरेर टाँगेको थियो । चित्रमा घोडसवार स्त्री थिइन्, उनको पहिरन पौराणिक कथाकी राजकुमारीको जस्तो थियो तर अनुहार दुरुस्तै उनैसँग मिल्थ्यो । यो अनकन्टार ठाउँमा मेरो चित्र कसले कोर्‍यो ? उनी अलमलमै थिइन्, नजिकै अर्को चित्र देखिन्— चित्रमा उनले भव्य दरबारको झ्यालबाट कतै नियालिरहेकी थिइन् । यस चित्रलाई हेरेर उनी केहीबेर सोचमग्न भइन् । एउटै जिज्ञासाले उनलाई बिथोल्यो— यो अनकन्टार ठाउँमा मेरो चित्र ? 

उनले नजिकै अर्को चित्र देखिन्— जहाँ उनी पलङमाथि उदास मुद्रामा बसिरहेकी थिइन्, उनको नजिकै कम्मरमा तरबार भिरेको बलिष्ठ पुरुष उभिएको थियो । त्यस पुरुषको पहिरन पनि पौराणिक कथाको कुनै राजकुमारको जस्तो थियो । चित्रको त्यस बलिष्ठ पुरुषको शरीरका हरेक अवयवलाई उनले दुवै हातका करपल्लवले स्पर्श गर्दै नियालिन् । 

त्यसको नजिकै अर्को चित्र देखियो— चित्रमा उनी पलङमा निर्वस्त्र पल्टिरहेकी थिइन्, उनको दायाँ हत्केलाले उनीमाथि आउन लागेको त्यस बलिष्ठ पुरुषको आँखा छोपिरहेको थियो । यस चित्रलाई उनले मन अघाउन्जेल हेरिन्, चित्रसँगै बहकिँदा उनको श्वास बढ्न थाल्यो । पुरुषजस्तो देखिन लगाएको दाह्री–जुँगा निकालिन्, त्यसपछि कपडाले बेरेर लुकाइएको लामो नागबेली केश फुकाउँदै उनले वरपर नियालिन्, नजिकै हरिया काठ–पातले बनाइएको छाप्रो थियो । छाप्रोभित्र काठको सामान्य पलङमाथि पातलो कपडा ओछ्याइएको थियो । पलङको छेवैमा दीपाधारमा दीप बलिरहेको थियो । यसबाहेक त्यहाँ अरु केही थिएन, कोही थिएन । उनले दुवै हातका औँलाहरू दीपमाथि राखिन्, आगोले बेसरी पोलेपछि मात्रै हात हटाइन् । त्यसपछि उनी त्यस पलङमा आनन्दसँग के पल्टिएकी थिइन्, छाप्रोको द्वारमा एउटा सामान्य पुरुष झुल्कियो । कम्मरमा तरबार भिरेको त्यस पुरुष साधारण कृषक पहिरनमा थियो, उसको शरीर पनि त्यति बलिष्ठ थिएन, जति चित्रमा राजकुमार देखिन्थ्यो ।  

यस मञ्जुगर्त राज्यमा सिङधारी पुरुष को छ ? जसलाई सिपाहीले सुरक्षा दिनुपरेको छ ! को हो यो सिङधारी पुरुष ? यिनै जिज्ञासाको खोजीमा पुरुषको भेष धारण गरी विजयस्वामिनी पूर्व दिशातिर लागेकी थिइन् ।

‘को हौ तिमी ?’ विजयस्वामिनीले सोधिन् । 

‘अनुपरम गुप्त भन्छन् मलाई । मेरा पितापुर्खाले अनुलोम बिहे गरेकाले मञ्जुगर्त राज्यमा मलाई शूद्र वर्णमा झारिएको छ । यहाँ नजिकै मैले केही बाख्रा पालेको छु, जीविकाका लागि ।’

– यो एकान्त ठाउँमा तिमीले मेरो चित्र किन कोर्‍यौ ? तिमीले यसअघि मलाई देखेका थियौ ?

‘यसको लामो कथा छ, विजयस्वामिनी ।’ 

‘पलङमै बसेर त्यो लामो कथा सुनाऊ न त,’ अनुपरमका लागि केही ठाउँ छाडिदिँदै उनी बोलिन् । 

विजयस्वामिनी सामन्तकी छोरी हुन् । मञ्जुगर्त राज्यको राजधानी रहेको क्षेत्रमा उनका पितापुर्खाको जग्गा छ, जहाँ उनीहरूले खेतीपातीसँगै गाईपालन गर्छन् । राजधानीमा उनका पिताका थुप्रै महल छन्, केही महल भाडामा दिइएको छ, जहाँ राजधानीका गुरुकुलमा पढ्ने शिष्यशिष्याहरू बस्ने गर्छन् ।

अनुपरमका दुई बहिनी दीपाश्री र रूपश्रीले गुरुकुलमा पढ्नका लागि विजयस्वामिनीकै एक महलमा एउटा कक्ष भाडामा लिएर बसेका थिए । एक दिन विजयस्वामिनीकी आमाले यी दुई बहिनीको वर्ण शूद्र भन्ने थाहा पाइन् र कक्षमा बस्न दिइनन् । यी दुई बहिनी निकालिएपछि मञ्जुगर्त गणराज्यको राजधानीमा खैलाबैला भयो । शूद्रलगायत विभेदमा परेका भनिएका समुदायले निकै दिन वर्णभेदविरुद्ध आन्दोलन गरे । 

राजाको शासन ढलाएर गणराज्य भएदेखि मञ्जुगर्त राज्यमा सबै नागरिक मानवीय रूपमा समान भएका थिए । पहिले ब्राह्मण र क्षत्री भनिएकाले मात्रै पढ्ने गुरुकुलमा अन्य समुदायका व्यक्तिले पनि पढ्न पाएका थिए । वर्णभेद हटाएर नियम ल्याइएको थियो । यद्यपि नियमअनुसार विजयस्वामिनीकी आमालाई सजाय भएन, किनभने उनलाई सजाय गर्दा ठुलो समाजलाई नै एक–एक गरी सजाय गर्नुपर्ने देखियो । नयाँ नियम आए पनि मानिसको सोच, विचार र आचार–व्यवहारबाट वर्णभेदको भाव हटिसकेको थिएन । 

अर्कोतिर, विजयस्वामिनीका दाइ वामनदेवले रूपश्रीसँग प्रेम गरेका थिए । गर्भवती हुँदा पनि गर्भपतन गराएर उनले रूपश्रीलाई अपनाउन अस्वीकार गरे । त्यसको एक कारण थियो, वर्णभेद । यी सबै घटनामा विजयस्वामिनी साक्षी मात्रै थिइनन्, मतियार थिइन् । रूपश्री आरक्षणबाट गणराज्यको कर्मचारी भएकी थिइन्, उनले काम गर्ने ठाउँमै गएर विजयस्वामिनीले भनिन्— तँ आरक्षण खाने नीच वर्ण होस्, मेरो दाइसँग विवाह गर्ने सपना नदेखेकै उत्तम । सदियौँदेखि विभेद र उत्पीडनमा राखिएको क्षतिपूर्ति स्वरूप मञ्जुगर्त राज्यमा स्त्रीका लागि पनि आरक्षण छुट्ट्याइएको थियो । यस आरक्षणबाट कर्मचारी हुने सबैभन्दा बढी ब्राह्मण र क्षत्री भनिने कुलकै स्त्री थिए । अंश र वंशको हक नभएकाले सबै स्त्रीलाई एकै मानिएको थियो । हिजो धर्म चलाउनेलाई ब्राह्मण र राज्य चलाउनेलाई क्षत्री भनियो; व्यापार गर्नेलाई वैश्य र युद्धका हारेकाहरू वा विभिन्न सामाजिक नियम तोडेकाहरूलाई जबर्जस्त शूद्रमा पारियो । यिनै चार वर्णका स्त्रीहरू बलात्कृत भएर वा उनीहरूले विद्रोह गरेर अन्य वर्णसंकर जातहरू जन्मिए, किनभने वर्णव्यवस्थाको नियम नै यस्तो थियो । किन्तु विजयस्वामिनीलाई यस्ता कुरामा कुनै ज्ञान र रुचि थिएन । उनलाई आफू ठुलो कुलवंशकी हुन पाए वा हुँ भन्न पाए पुग्थ्यो । 

यति कथा सुनिसक्दा अनुपरम र विजयस्वामिनी दुई शरीर र दुई मनबाट एक भइसकेका थिए । 

‘अनुपरम ! तिमीले मलाई पाउन छल गर्‍यौ ।’ 

के गरेँ मैले ? यहाँ त सबै स्पष्ट छ । तिमी र मबिच जे भएको छ, सबै सहमतिमा र तिम्रो आग्रहमा भएको छ ।’

‘उसो भए मेरो चित्र किन कोर्‍यौ त ?’

‘यो सबै मैले तिम्रो दाइलाई यहाँ ल्याउन गरेको हुँ । वाग्वती नदीको किनारमा स्नानका लागि गएकी मेरी बहिनी रूपश्रीलाई भेट्न तिम्रो दाइ धेरैपटक गएका थिए । अन्ततः एक दिन उनले घोडामा चढाएर कतै लगे ।’ 

– त्यसरी घोडामा चढेर जानु तिम्रो बहिनीको दोष थियो । 

‘उसो भए चित्र हेर्दै यहाँसम्म आउनु तिम्रो दोष होइन ? मैले भनिसकेँ, यो पासो तिम्रा लागि थापेकै होइन । अस्ति म बहिनीहरूलाई भेट्न राजधानी गएको थिएँ । श्लेष्मान्तक वनमा पुगेपछि घाँस काट्ने स्त्रीहरूबाट थाहा पाएँ— सिङधारी पुरुषलाई चिन्नका लागि तिमीले घरबाट भाग्ने योजना बनाइछौ । यो कुरा तिम्रो दाइले थाहा पाए छन्, अनि उनले तिम्रो रक्षाका लागि र त्यस सिङधारी पुरुषलाई खोज्नका लागि केही सिपाहीसहित निस्कने योजना बनाए । तिमीलाई थाहा छैन होला, किन्तु मलाई थाहा छ, तिम्रो दाइ राज्यका गुप्तचर हुन् । 

मलाई यो पनि थाहा थियो— तिमी बयलगाडाका चिह्न पछ्याउँदै आउनेछौ, बयलगाडा गुडाएर पूर्वदिशातिर लाग्न सकिने एक मात्र नाका डाँडा यही हो । तिमीलाई खोज्दै आउने वामनदेव अवश्य पनि तिम्रो चित्रले बहकिन्छन् भन्नेमा म विश्वस्त थिएँ । त्यसैले मैले यो पासो बनाएको थिएँ । तिमीले वरको छहारी काटिसकेपछि घोरेटोमै तिम्रो चित्र टाँग्ने मेरो योजना थियो । त्यसैले वरै लुकाएर राखेको थिएँ । किन्तु तिमीले नक्कली लालीगुराँस देख्न पुग्यौ । त्यो लालीगुराँस मेरी बहिनी रूपश्रीले बनाएकी हुन्, हावाले उडाएर त्यहाँ अल्झन पुग्यो, तिमीले देखिहाल्यौ । उनले त्यसलाई हटाउन भ्याइनन् । उनी अहिले यतै कतै लुकेकी छन् । 

‘विजयस्वामिनी ! तिमीलाई केही भन्नु छ भने, मेरो दाइसँग आँखा जुधाएर भन र मैले जसरी नै उनका पाउनेर भुइँमा थुकिदेऊ । सच्चा प्रेम गर्ने स्त्री वा पवित्र मन भएकी स्त्रीले थुकेको पुरुष कहिल्यै सप्रन सक्दैन ।’

विजयस्वामिनी ! मलाई क्षमा गर, तिमीलाई यो सब गर्नुमा मलाई कुनै रुचि थिएन । तिमीले नै मलाई जगाएकी हौ ।’

– अनुपरम ! तिमीले प्रतिशोध लियौ, यसको अंक गणितलाई बराबर गर्न मैले जानेकी छु । अँ भन त, मेरो दाइलाई यहाँ ल्याएर के गर्न सक्छौ ! काट्छौ, मार्छौ ? उल्टै तिमीहरूको सत्यनाश हुनेछ । 

‘विजयस्वामिनी ! धैर्य गर, सबै तिम्रो आँखा अगाडि हुनेछ र त्यो प्रतीक्षाको घडी समाप्त भइसकेको छ । तिम्रो दाइ वामनदेव यहाँ आइपुग्नै लागे ।’ 

छाप्रोबाट बाहिर निस्केर उनले तलतिर नियालिन् । वामनदेवसँगै केही सिपाही हावामा तरबार उजाउँदै आइरहेका थिए । 

‘ए हुतिहारा ! मेरी बहिनीलाई कस्तो पासोमा पारिस् ?’ वामनदेव कड्किए, ‘तँलाई यहीँ दुई टुक्रा पारिदिन्छु ।’

‘पासोमा होइन, तिम्री बहिनी उसरी नै मेरो प्रेममा परेकी हुन्, जसरी मेरी बहिनी रूपश्री तिम्रो प्रेममा परेकी थिइन् । तिमीले त मेरी बहिनीलाई धोका दियौ, मैले तिम्री बहिनीलाई धोका दिने छैन । म उनीसँग विवाह गर्न तयार छु,’ अनुपरमले निर्धक्कसँग भने ।

– को होस् तँ ?

 म रूपश्रीको दाइ हुँ । यो पासो तिम्री बहिनीका लागि होइन, तिम्रा लागि थापेको हुँ । 

– के चाहन्छस् तँ ?

‘मैले केही चाहन्नँ । मेरी बहिनीले तिमीसँग नजिकबाट आँखा जुधाएर केही भन्न चाहन्छिन् ।’

यतिन्जेल त्यहाँ रूपश्री आइसकेकी थिइन् । उनी वामनदेवको नजिक जाँदै थिइन्, वामनदेवले तरबार उनको घाँटीमा राखे । 

‘वामनदेव ! यो तरबार हटाऊ, यहाँ यसको कुनै काम छैन । हामी सबै यस्तो कठघरामा उभिएका छौँ, क्षणभरमै यहाँ आगलागी भएर कोही पनि बाँकी रहँदैनौँ,’ रूपश्री बोलिन्, ‘हामी दाजुबहिनीको सानो तयारी र केटाकेटी खेलले तिमी यहाँसम्म आएका होइनौँ । यसको पछाडि ठुलै तयारी छ ।’ 

अनुहारमा त्रासको भाव ल्याउँदै वामनदेवले तरबार हटाए । रूपश्रीले उनीसँग आँखा जुधाउँदै भनिन्, ‘वामनदेव ! हिजो मैले तिमीलाई प्रेम गर्थें, त्यो मेरो भ्रम रहेछ । अब म तिमीलाई घृणा गर्छु वामनदेव ! तिम्रा कानले मेरो बोली सुन्ने गरी यही भन्नु थियो मलाई ।’ 

यति भनेर रूपश्रीले वामनदेवका पाउनेरको भुइँमा थुकिन् । अनि, विजयस्वामिनी भएतिर गएर भनिन्, ‘विजयस्वामिनी ! मलाई थाहा छैन, यो छाप्रोभित्र मेरो दाइ र तिमीबिच के के भयो । यसमा तिमीलाई केही भन्नु छ भने, मेरो दाइसँग आँखा जुधाएर भन र मैले जसरी नै उनका पाउनेर भुइँमा थुकिदेऊ । सच्चा प्रेम गर्ने स्त्री वा पवित्र मन भएकी स्त्रीले थुकेको पुरुष कहिल्यै सप्रन सक्दैन ।’ 

‘मलाई केही भन्नुछैन,’ अवरुद्ध गलासँगै विजयस्वामिनी बोलिन् । 

रूपश्रीले वामनदेवतिर फर्केर भनिन्, ‘वामनदेव ! अब हामीले एकअर्कालाई चिन्नेछैनौँ र मैले तिमीप्रति कुनै प्रतिशोध पाल्नेछैन । तिमीलाई प्रतिशोध साध्नु छ भने अहिले नै तरबार उठाएर मेरो घाँटी रेटिदेऊ । होइन भने, यहाँबाट चुपचाप निस्क ।’ 

उनीहरू सबै आ–आफ्नो बाटो लागे । 

०००

मञ्जुगर्त गणराज्यमा गणपतिका लागि निर्वाचन भएको थियो । तीन नेता सुपुष्प, भौमगुप्त र ध्रुवदेवलाई लोकवासीले बराबरीजस्तो मत दिएका थिए । राजतन्त्र ढालेर गणराज्य ल्याउनुमा यी तीनै नेताको आ–आफ्नै भूमिका थियो । 

गणराज्य ल्याउनका लागि सुपुष्पले युद्ध नै छेडेका थिए, उनले गरेको विद्रोह सम्झौतामा टुंगिएको थियो । निरंकुश राजतन्त्र फाल्नका लागि विद्रोह गर्ने सुपुष्प र शान्तिपूर्ण आन्दोलन गर्ने भौमगुप्त र ध्रुवदेवबिच भएका पटकपटकका सम्झौतामा विभिन्न बुँदा समेटिएका थिए— वर्णभेद हटाउने; धनी र गरिबबिचको खाडल पुर्ने; युद्धका क्रममा बेपत्ता भएका, सहादत प्राप्त गरेका, मारिएका वा कुनै पनि प्रकारको अन्यायमा परेकाहरूको परिवारलाई न्यायको अनुभूति गराउने, घाइतेलाई उपचारसँगै जीविकाको बन्दोबस्त गर्ने; एउटा व्यक्तिलाई भन्दा बढी समाजलाई नै हित हुने गरी समृद्धि ल्याउने आदि । यिनै बुँदा समेटेर पछि मञ्जुगर्त गणराज्यको विधान बनाइयो ।

लोकवासीबाट बराबरजस्तो मत पाएपछि यी तीन नेता मिल्न सकेनन्— गणपति को बन्ने, सत्ताको भागबन्डा के कसरी गर्ने भन्नेमै यिनीहरू अलमलिए । सत्ताकै लुछाचुँडीमा यिनीहरूले वर्षौं बिताए र आफूहरूले हिजो गरेको सम्झौता बिर्संदै गए । यिनीहरूले बुढो गोरुले कोरली गाई ओगटेजसरी सत्तालाई ओगटिरहेका थिए । 

सत्ताकै चिन्ताले हो वा कुन चिन्तनले हो, यिनीहरूमा अनौठो रोग देखियो— सुपुष्पको पुच्छर पलाउन थालेको थियो । अलिकति लामो भएपछि उनले आफैँ काट्ने कोसिस गरे, तर बेसरी दुखेर र रगत आएर पूरै काट्न सकेनन् । यो कुरा उनले कसैलाई भनेका थिएनन्, सुरुवालभित्र पुच्छर लुकाएर हिँडिरहेका थिए । बेला–बेला उनी तीर्थ यात्रा पनि गर्थे । एकपटक यिनको भेट एक तपस्वी बाबासँग भयो । बाबाले यिनको मुहारमा हेरेरै पुच्छर आएको थाहा पाए र खुसुक्क कानमा भनिदिए— तिमीले भैँसीको पूजा गर, पुच्छर आफैँ झरेर जान्छ । उनले भैँसीको पूजा गरे, तर पुच्छर झन्झन् मोटो हुन थाल्यो । उल्टै लोकवासीले यिनको आलोचना गर्न थाले । पहिले विद्रोह गर्नेताका यिनले लोकायती विचार पस्केका थिए, यिनले भनेका थिए— यो दुनियाँमा प्रकृति र लोकवासीको जुन शक्ति छ, त्यसबाहेक अर्को कुनै शक्ति छैन । जे गर्छ, प्रकृतिको प्राकृतिक स्वभाव र लोकवासीको सामूहिक शक्तिले नै गर्छ । देउता, पूजाआजा भन्नु सबै भ्रम हो । मानसिक शक्ति बढाउन हामीले प्रकृति र सामूहिकतामा भर पर्नुपर्छ, विश्वास गर्नुपर्छ ।

अर्का नेता भौमगुप्तको पछाडि जुरो पलाएको थियो । यस रोगले गर्दा यिनले मान्छेहरूसँग भेटघाट र वार्ता त्यति गर्दैनथे । यिनलाई ज्योतिषीले उपाय सुझाएका थिए— जति सक्छौ, त्यति दान गर । 

यिनले सोधे— दान के गर्ने ?

ज्योतिषीले भने— सत्ताको सिंहासन नै दान गर । तिमीले दान गरेपछि सत्ता पुनः तिम्रै पोल्टामा आउँछ । पुनः दान गर, यसरी पाँचपटकसम्म तिमीले सिंहासन दान गर्न पाउने योग लिएर आएका छौँ । किन्तु, यिनले ज्योतिषीको कुरा पत्याएनन् ।

सत्ताकै चिन्ताले हो वा कुन चिन्तनले हो, यिनीहरूमा अनौठो रोग देखियो— सुपुष्पको पुच्छर पलाउन थालेको थियो । अलिकति लामो भएपछि उनले आफैँ काट्ने कोसिस गरे, तर बेसरी दुखेर र रगत आएर पूरै काट्न सकेनन् । यो कुरा उनले कसैलाई भनेका थिएनन्, सुरुवालभित्र पुच्छर लुकाएर हिँडिरहेका थिए ।

अर्का नेता, ध्रुवदेवको सिङ पलाएको थियो । उनलाई पनि ज्योतिषीले भनेका थिए— बलयगाडा चढेर एकपटक गणराज्यको भ्रमण गर । लोकवासीको पीरमर्का बुझ्ने कोसिस गर । अनि, रामायणका पात्र राम र शम्बूकको मूर्ति बनाऊ, त्यसमा प्राणप्रतिष्ठा गर । यति गरेपछि तिम्रो सिङ आफैँ झरेर जान्छ । किन्तु, यिनी शम्बूकको मूर्ति बनाउन राजी भएनन् र यिनको सिङ झन्झन् बढ्दै गइरहेको थियो ।

नेता सुपुष्पले राजतन्त्र फाल्ने विद्रोह गर्दा अनुपरम पनि एक योद्धा थिए । आफ्ना नेताको सोच–चिन्तन स्खलन हुँदै गएकामा अनुपरम चिन्तित भए । उनको निष्कर्ष थियो— अब केही त गर्नैपर्छ । उनले आफूसँगै युद्ध लडेका अन्य साथीहरूसँग सल्लाह गर्दै थिए । यिनको गतिविधिलाई राज्यका गुप्तचर वामनदेवले नियालिरहेका थिए । 

एक दिन, एउटा ग्राममा अनुपरम लगायत थुप्रै युवाहरू भेला भएर अधिवेशन गरे । युवाहरूलाई लिएर एउटा दल खोल्ने, वा कुनै प्रकारको राजनीतिक गतिविधि गरेर समाज र राज्यलाई मार्ग निर्देशन दिने निर्णयमा उनीहरू पुगेका थिए । अधिवेशन सकिएपछि सामूहिक भोजको तयारी गरियो । ठिक त्यही बेला विजयस्वामिनी र वामनदेव अनुपरमलाई भेट्न पुगे । 

वामनदेवले भने, ‘अनुपरम ! मन्जुगर्त गणराज्यलाई एउटा निकास दिनैपर्छ । हामी तिम्रो साथमा छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप