मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको विश्लेषण – ओली लम्पसारवाद उन्मुख नयाँ जङ्गबहादुर

बिहीबार, ०६ वैशाख २०७५, १० : ४०
बिहीबार, ०६ वैशाख २०७५

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चुनावअघि वामगठबन्धनको चर्को विरोध गरेका थिए । देउवाले अधिनायकवादी शासन व्यवस्थाका लागि गठबन्धन बनेको आरोप पनि लगाए । देउवाको बोलीलाई  केही वरिष्ठ नेताले समर्थन पनि जनाए । निर्वाचनपछि भने अधिनायकवाद शब्द काँग्रेस नेताहरूबाट कमै सुनिएको थियो  ।  दुई दिनअघि देउवाले चितवन र मकवानपुरमा बोल्ने क्रममा सरकार अधिनायकवादी र लम्पसारवादी भएको आरोप लगाएका थिए ।

गत सोमबार चितवन पुगेका देउवाले अधिनायकवाद सुरु भइसकेको बताए । सरकार एकलौटी तवरले सञ्चालन भएकाले अधिनायकवादतिर उन्मुख भएको उनको जिकिर थियो । देउवाले ओली सरकारले अधिनायकवादको विकास गर्ने भन्दै सरकारप्रति व्यङ्ग्य गरेका थिए । प्रतिपक्ष दलसँग कुनै सरसल्लाह नगरिएको प्रति उनले आपत्ति जनाएका थिए । 

मकवानपुरमा बोल्ने क्रममा देउवाले ओली सरकारको भारत भ्रमणप्रति लक्षित गर्दै वर्तमान सरकार लम्पसारवादी भएको आरोप लगाएका थिए । प्रतिपक्षी दलको नेता तथा काँग्रेस सभापतिले ओली सरकारको ‘अधिनायकवादी तथा लम्पसारवादी’ चरित्र के–के कारणले देखे होलान् ? प्रतिपक्ष दलको नेताले लगाएको आरोप पुष्टि गर्ने के–के आधार होलान् ? प्रश्न स्वभाविक उठ्छ । 

देउवाको बोलीमा कति दम छ अर्थात् उनको बोलीको आधार के–के हुन सक्लान् ? देउवाको बोलीलाई काँग्रेस नेताहरूले कसरी पुष्टि गर्छन् ? के भन्छन्, काँग्रेस नेताहरू ?

ओली नयाँ जङ्गबहादुर बन्न खोज्दैछन् : गोपालमान श्रेष्ठ

ओली सरकारको १०० दिनको कार्याकाल नसकिँदै मूल्याङ्कन गर्न हतार हुन्छ । तर वर्तमान सरकार मनलाग्दी तरिकाले चलिरहेको हुँदा आरोप आउनु स्वभाविक हो । काँग्रेस सभापतिको आरोप तथ्यमा आधारित छ ।

ओली पहिले पनि भारतसँग नजिक नै हुन् । बीचको समयमा नाटक गरे । भारत विरोधीको छवि बनाए । त्यो नाटक भएको वर्तमानको घटनाक्रमले बुझ्न सकिन्छ । अधिनायकवादी  प्रयास अदालतको घटनाबाट सबैले बुझेका हुन्छ । अदालतको हस्तक्षेप अधिनायकवादी सोचका कारण हो । 

माओवादी मन्त्रीहरूको कार्यक्षेत्र माथि ओलीले हस्तक्षेप गरेका छन् । मन्त्रीलाई जानकारी नै नदिएर सचिवहरू सरुवा गरेका छन् । संवैधानिक निकायमा हस्तक्षेप बढेको छ । संवैधानिक निकायहरूमा हस्तक्षेप तथा सचिवहरूको सरुवा ओलीको असल नियतले भएको होइन । ओली अधिनायक दिशामा चलेको सरकार गठनदेखिका घटनाक्रमले बुझिन्छ । 

ओली तानाशाही बाटोतिर उन्मुख छन् : मानबहादुर विश्वकर्मा 

नेपालीमा उखान छ– ‘हुने बिरुवाको चिल्लो पात, नहुने बिरुवाको फुस्रो पात’ । ओली सरकारको गतिविधिले उनको सरकार फुस्रो पात भएको देखिन्छ । ओलीले विगतमा पनि हावादारी भाषण गर्दै आएका हुन् । अहिले पनि पूरा नहुने भाषण गर्दै हिँडेका छन् । 

ओलीले आफ्नै मन्त्रीहरूलाई विश्वास नभएर आफूखुसी सचिवहरूको सरुवा गरेका छन् । आफ्ना मन्त्रीहरूको विश्वास नगर्ने, संवैधानिक निकाय आफू मातहत ल्याउनु तानाशाही सोच हो । एकदलीय कम्युनिष्ट सरकारको झल्को दिनेगरी शासन सञ्चालन गरिरहेका छन् । ओलीका गतिविधिका कारण वर्तमान सरकार तानाशाही बाटोमा लागेको सङ्केतहरू देखिएका छन् । राष्ट्रिय अनुसन्धान आयोग, राजस्व विभागजस्ता निकायहरू केन्द्रीकृत गर्दै आफ्नै मातहत ल्याउनु तानाशाही प्रवृत्ति हो । 

०५१ मा अरुण तेस्रो बनाउन हुँदैन भन्ने ओलीले अहिले आएर मोदीसँग सम्झौता गरेर आए । यसलाई लम्पसारवाद भन्ने कि नभन्ने ? एमालेकै कारणले मुलुकले लोडसेडिङ भोग्नुपरेको हो । वल्ड बैङ्कलाई पत्र लेखेर आयोजना बनाउन नदिने एमाले अहिले भने मोदीको असली मित्र बन्यो । भारु सटहीका विषयमा भ्रमणका बेला कुरा गर्न नसक्नु पनि लम्पसारवाद नै हो । 

तानाशाही प्रवृत्ति र लम्पसारवाद सतहमा देखिएकाले सभापतिको अभिव्यक्ति आउनु स्वभाविक हो । 

सभापतिको अभिव्यक्ति जायज छ : ज्ञानेन्द्रबहादुर कार्की 

हामी संसदीय व्यवस्थामा विश्वास गर्छौं । केही समय वर्तमान सरकारलाई हेर्नु छ । सभापतिले दुई दिनअघि भनेका विषयहरू जायज छन् । सभापतिको धारणा सिङ्गो काँग्रेसको धारणा हो । सभापतिको अभिव्यक्तिमा म सहमत पनि छु । ओली सरकार विधिसङ्गत तरिकाले चलेको छैन । वर्तमान सरकारका विषयमा बोल्नुपर्ने धेरै कुराहरू छन् । कुनै दिन विस्तृतमा भनौला । 

प्रधानमन्त्री निरङ्कुश बन्दैछन् : मोहनबहादुर बस्नेत 

गत सरकारले गरेका असल निर्णयहरू पनि एकपछि अर्को परिवर्तन गर्दैछन् । भूकम्प र बाढीपीडितलाई दिने भनिएको थप एक लाख निर्णय नै नभएको जस्तो गरी प्रचार गरियो । 

कामभन्दा गफ बढी गर्ने प्रवृत्ति छ । विगतको सरकारले सबै गलत गरेजस्तो गरी प्रचार गरिएको छ । राम्रो गरेको जस लिने नाममा विगतलाई कालो बनाउने प्रपञ्च गरिएको छ । श्वेतपत्रको नौटङ्कीका विषयमा सबैले बुझेका छन् । सङ्घीयताका नाममा जथाभावि खर्च बढाइएको छ । 

विगतका सन्धि सम्झौताको पुनरावोलकन भन्दै चिच्याउने ओली नै हुन् । भ्रमणपछिको ओलीको राष्ट्रवाद पनि जनताले देखे । भारतीय विदेशमन्त्रीको दुई दिने नेपाल भ्रमणले विकसित भएका घटनाक्रम सबैलाई थाहा छ । ओलीको लम्पसारवाद ती घटनाहरूबाट पुष्टि हुन्छ । राष्ट्रवादको नारा चुनाव जित्ने अस्त्र मात्रै थियो । 

राज्यका अङ्गहरूलाई ओलीले कमजोर बनाउँदै लगेका छन् । राज्यका निकाय बलियो बनाउनुको सट्टा प्रधानमन्त्रीलाई महाशक्तिशाली बनाउन लागिएको छ । संवैधानिक निकायहरूमा हस्तक्षेप गरिरहेका छन् ।  

भ्रामक चुनावी नाराको पुष्टि हुँदैछ : एनपी साउद 
शक्तिको केन्द्रीकरण गर्न लागिएको छ । संवैधानिक निकायहरूलाई आफू मातहत ल्याउने गलत प्रक्रिया ओली सरकारले गरेको छ । राज्यका अवयवहरूमा हस्तक्षेप बढेको छ । 

सरकार अधिनायकवादी हुँदै गएको घटनाक्रमले देखाएकाले सभापतिको अभिव्यक्ति आएको हो । महान्यायाधिवक्ताको कार्यालयलाई आफू मातहत ल्याउने काम भएको छ । संविधान संशोधनविना सम्भव नहुने प्रावधान पनि मिचिएको छ । भ्रष्टचार नियन्त्रण गर्ने निकायलाई निकम्मा बनाइएको छ । 

चुनावी जितका लागि बनाइएको गठबन्धन टुट्ने क्रममा छ । जनतालाई समृद्धिको झुठो आश्वासन दिएको पुष्टि भएको छ । ओलीको नक्कली राष्ट्रवादको पर्दाफास भएको छ । देउवाको भारतप्रतिको पछिल्लो अभिव्यक्तिले पनि उनको असली अनुहार स्पष्ट हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप