बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलन अन्योलमा

मङ्गलबार, २२ फागुन २०८०, १२ : ०८
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन आएसँगै लुम्बिनी प्रदेशमा हुन लागेको ‘लोरेट्स एण्ड लिडर्स शिखर सम्मेलन’ प्रभावित हुने भएको छ ।

फागुन २८ र २९ गतेका लागि तय भएको सो सम्मेलन हुने कि नहुने भन्नेबारे लुम्बिनी सरकार अन्योलमा देखिन्छ । कांग्रेस नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरीले केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय सम्मेलनबारे अन्योल देखिएको बताए ।

उनले भने, ‘आज सरकारका मन्त्री तथा कर्मचारीहरुसँग यो विषयमा छलफल गर्छु, त्यहाँबाट आउने निष्कर्षका आधारमा कार्यक्रम हुने नहुने तय हुन्छ ।’

तर अहिलेकै अवस्थामा उक्त कार्यक्रम हुन्छ जस्तो आफूलाई नलागेको उनले बताए । ‘सुरुदेखि यो कार्यक्रममाथि विभिन्न टिप्पणी भइरहेको थियो, कर्मचारीले रिस्क लिएर यो कार्यक्रम गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने ।

यो शिखर सम्मेलनप्रति सुरुदेखि नै चीनको चासो थियो ।  नोवेल पुरस्कार विजेता दलाई लामा पनि सो कार्यक्रममा आउने चर्चा चलेसँगै चीन सो कार्यक्रमप्रति सशंकित थियो । लुम्बिनी प्रदेश सरकार स्रोतका अनुसार चीनले कार्यक्रम नै स्थगित गराउन चाहेको थियो ।

यस विषयमा नेपालस्थित चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि लिएर लुम्बिनी सरकारसँग पनि कुराकानी गरेका थिए ।

राजदुत सोङको त्यो प्रयासले कार्यक्रम छोट्याइएको थियो । सुरुमा तीन दिन (फागुन २७, २८ र २९ गते)का लागि तय गरिएको कार्यक्रम दुई दिनमा सीमित गर्ने गरी छोट्याइएको थियो ।

फागुन २७ गते अर्थात् मार्च १० मा तिब्बतका शरणार्थीहरुले ‘तिब्बतीयन अपराइजिङ् डे’ मनाउने गरेका हुनाले त्यो दिनलाई चीनले संवेदनशील दिनको रुपमा लिएको छ ।

मार्च १० कै दिन कार्यक्रम उद्घाटन गर्ने र त्यही कार्यक्रममा भारतमा निर्वासित जीवन बिताइरहेका दलाई लामा आउने भएपछि चीनको विरुद्ध केही गतिविधि हुन सक्ने आशंका चिनियाँ पक्षको थियो । त्यही भएर मार्च १० अर्थात् फागुन २७ को कार्यक्रम रद्द गरी २८ र २९ गते मात्र कार्यक्रम हुने जनाइएको थियो ।

लुम्बिनीमा हुन गइरहेको यो चौथो सम्मेलनमा नौ जना नोबेल पुरस्कार विजेता आउने कुरा थियो । त्यसमध्ये सन् २०१४ मा नोवेल पुरस्कार विजेता कैलाश सत्यार्थी भारतका हुन् । यो सम्मेलनको संयोजन उनै सत्यार्थीले गरेका छन् । सत्यार्थीलाई दलाई लामा निकट मानिन्छ । स्रोतहरुको दाबीलाई मान्ने हो भने सत्यार्थीले लामालाई सम्मेलनमा ल्याउन चाहेका थिए ।

मुख्यमन्त्री चौधरीको अगुवाइमा उक्त कार्यक्रम आयोजना हुने तयारी भएसँगै गठबन्धनमै रहेका दलहरुले विरोध जनाइरहेका थिए । यहाँसम्म कि प्रदेश सभाको सभामुख तुलाराम घर्तीले पनि कार्यक्रमप्रति आपत्ति जनाएका थिए ।

उनले धर्म गुरु दलाई लामाले चीनविरुद्ध विद्रोह गरेकै दिन पारेर कार्यक्रम किन राखेको भनी प्रश्न गरेका थिए । लोरेट्स एण्ड लिडर्सको हेडक्वाटर अमेरिकामा रहेको र विश्व शान्तिका अग्रदुत गौतम बुद्ध जन्मभूमि अमेरिकाको रोजाइमा किन प¥यो भनेर पनि उनले प्रश्न गरेका थिए ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै सो कार्यक्रम स्थगित हुने अवस्थामा पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप