सोमबार, १० असार २०८१
ताजा लोकप्रिय
कृषि

रैथाने बालीको उत्पादन कम, माग बढी

मङ्गलबार, २२ फागुन २०८०, १२ : २५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । पछिल्लो समय नेपालमा रैथाने बालीको माग बढे पनि उत्पादन र बजारीकरणमा समस्या देखिएको जानकारहरूले बताएका छन् । वर्षौँदेखि परम्परागत रूपमा कृषकले संरक्षण गर्दै आइरहेको कृषि बालीलाई रैथाने बाली भनिन्छ । उच्च खडेरी र चिसो तथा मलजल कम भए पनि यस्ता बालीबाट उत्पादन लिन सकिन्छ ।

चिनो, कागुनो, फापर, उवा, कोदो स्थानीय जातका धान, गहुँ, मकै, स्थानीयस्तरमै पाइने विभिन्न प्रजातिका फलफूलका रैथाने बाली छन् । तर रैथाने अन्तर्गत पर्ने सबै बालीको खेती गरिने क्षेत्र र उत्पादनको यकिन तथ्याङ्क भने सरकारीस्तरबाट पाउन सकिँदैन ।

रैथाने बालीको यकिन तथ्याङ्क नभए पनि पछिल्लो समय माग बढ्दै गएको सम्बद्ध अधिकारीहरूको दाबी छ । रैथाने बालीमा महत्त्वपूर्ण आनुवंशिक स्रोतका साथै गुणस्तरीय, स्वास्थ्यवर्द्धक खानाको सुनिश्चितता हुने रैथाने एग्रो प्रोडक्ट्सका अध्यक्ष तिलक ढकालले बताए । जलवायु परिवर्तनबाट बालीमा हुने अनुकूलित प्रभावबाट जोगाउन, खाद्य सुरक्षामा जोड दिन रैथाने बालीको माग बढेको उनको भनाइ छ ।

‘खाद्य परनिर्भरता कम गरी व्यापार घाटा कम गर्ने र स्थानीय खाद्य संस्कृतिको संरक्षण गरी आफ्नो पहिचान कायम राख्न यस्ता बालीको संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘हाम्रो रैथाने बाली र संस्कृतिलाई व्यावसायिक तुल्याउन आवश्यक छ ।’

पछिल्लो समय रैथाने बालीप्रतिको जागरण राष्ट्रियस्तरमै भएको छ । आफ्नो ठाउँमा भएको जात नै सर्वेसर्वा हुनु पर्ने र यसलाई नै सुधार्नु पर्ने भन्ने सोच राष्ट्रियस्तरमै अभिवृद्धि भएको राष्ट्रिय कृषि अनुवांशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले बताए । ‘स्वास्थ्यका लागि राम्रो भएकाले बजारमा रैथाने बालीको माग बढेको छ,’ उनले भने ।

विभिन्न सरकारी निकायबाट रैथाने बालीलाई प्रवर्द्धन र संरक्षण कार्यक्रम गरिएकाले रैथाने बालीप्रतिको जागरण राष्ट्रियस्तरमा पुगेको जोशीले उल्लेख गरे । खाद्यान्न बालीमा धान, मकै र गहुँमात्रै नभई कोदो, कागुनो लगायत रैथाने बालीलाई राख्नसमेत जोड दिनुपर्ने उनको भनाइ छ ।

पछिल्लो समय पौष्टिक तत्वको महत्त्व आममानिसले बुझ्न थालेपछि रेस्टुरेन्ट, सरकारी कार्यालय, स्कुलहरूमा रैथाने बालीका परिकारको मागसमेत बढेको छ ।

  • कोदो र फापरको उत्पादन कति ?

समुद्र सतहबाट करिब ६० मिटरदेखि ५ हजार मिटर उचाइसम्मको क्षेत्रमा नेपाली रैथाने बाली पाइन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कोदो वार्षिक रूपमा २ लाख ६ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ । सो क्षेत्रफलबाट ३ लाख मेट्रिक टनभन्दा बढी कोदो उत्पादन हुने तथ्याङ्क छ । यस्तै, फापर वार्षिक रूपमा १६ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ भने १९ हजार मेट्रिक टन उत्पादन हुन्छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार कोदो उत्पादन केही बढेको छ । आर्थिक वर्ष २०७६/०७७ मा २ लाख ६२ हजार क्षेत्रफलमा ३ लाख २० हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो भने आर्थिक वर्ष २०७७/०७८ मा २ लाख ६५ हजार हेक्टर क्षेत्रफलमा ३ लाख २६ हजार मेट्रिक टन उत्पादन भएको थियो । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८/०७९ मा २ लाख ६७ हजार मेट्रिक टन कोदो उत्पादन भएको थियो ।

फापरको उत्पादन पनि केही बढेको छ । मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा १० हजार हेक्टर क्षेत्रफलमा ११ हजार मेट्रिक टन फापर उत्पादन भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा १३ हजार हेक्टर क्षेत्रफलमा १६ हजार मेट्रिक टन फापर उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७८/०७९ मा १५ हजार हेक्टर क्षेत्रफलमा खेती हुँदा १९ हजार मेट्रिक टन फापर उत्पादन भएको थियो ।

  • रैथाने बाली उत्पादनमा चुनौती

नेपालमा बढी मात्रामा माग हुने रैथाने बाली कोदो, फापर, चिनो, कागुनो विकट क्षेत्रमा उत्पादन हुन्छन् । रैथाने बाली उत्पादनका लागि कृषिमा औद्योगिकीकरण नभएकाले खेत बाँझो हुने, मल तथा सिँचाइको अभाव, गुणस्तरीय बिउ र पुँजीको अभाव, रोगकिराको प्रकोप बढ्दो लगायतका समस्या रहेको लमजुङको मर्स्याङ्दी गाउँपालिकाका कृषि विकास शाखा प्रमुख तिलक कट्टेलले बताए ।

‘बजारीकरणका लागि यातायात साधनको कमी र व्यवस्थित कृषि उपज सङ्कलन केन्द्रको अभाव देखिएको छ,’ उनले भने, ‘संरक्षण र प्रवर्द्धनतर्फ बिउको आयात, रैथाने बिउ संरक्षणमा सरकारी नीतिको उदासीनता, स्थानीय बिउ सूचीकरण नभएको, बिउ छनौट र भण्डारणको ज्ञानको कमी हुँदा कतिपय स्थानीय जातहरू लोप हुनसक्ने खतरा बढेको छ ।’

  • रैथाने बाली संरक्षणका लागि पहल

रैथाने बाली जोगाउन सरकारी र निजीस्तरबाट विभिन्न कार्यक्रम सञ्चालित छन् । रैथाने बाली संरक्षणका लागि मुलुकका विभिन्न स्थानमा ७५ वटा सामुदायिक बिउ बैंक स्थापना गरिएको छ ।

ती बीउ बैंकले समुदायमा रहेका रैथाने बाली साटासाट गरी प्रयोग गर्ने र लोप हुने तथा सङ्कटमा रहेका बाली जीन बैंकमा संरक्षणका लागि पठाउने जीन बैंकले उल्लेख गरेको छ ।

मुलुकभरका ७ सय ५३ स्थानीय तहमध्ये १ सय ३३ पालिकामा रैथाने बाली प्रवर्द्धन तथा संरक्षण कार्यक्रम सञ्चालन गरिएको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले जनाएको छ । जसमध्ये रैथाने बाली प्रवर्द्धनका लागि १ सय ६ पालिका र जैविक विविधता संरक्षण कार्यक्रम २७ वटा पालिकामा सञ्चालित छन् ।

यस्तै, संयुक्त राष्ट्रसंघले गत वर्ष (२०२३) लाई विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्षको रूपमा मनाएको थियो ।

रैथाने बालीको उत्पादन बढाउन प्रोत्साहन गर्न बिउ उपलब्ध गराउने, गोठ सुधार, प्राङ्गारिक र गोठे मल प्रयोग गर्ने, खेती प्रविधि तालिम दिने लगायत कार्य भइरहेको केन्द्रले जनाएको छ ।

यस्तै, रैथाने बाली बजारीकरणका लागि विभिन्न स्थानमा रैथाने हाटबजार पनि सञ्चालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप