शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय
अलबिदा

परशु प्रधानले २१ वर्षमा लेखेका थिए - उम्केको छ काठमाडौँको घेरोबाट साहित्य...

मङ्गलबार, ०६ चैत २०८०, २० : ३४
मङ्गलबार, ०६ चैत २०८०

२०२१ सालमा ‘भोजपुरका कविता’ शीर्षकको सङ्ग्रह निकाल्ने भए, कृष्ण जोशीले । भोजपुरका १० कवि र भोजपुरइतरका सात कविका १७ कविता रहेको यस सङ्ग्रहमा जोशीले परशु प्रधानलाई भूमिका लेख्न आग्रह गरेका थिए— ‘भोजपुरका कविता’ नेपाली साहित्य संसारका लागि मेरो अन्तिम फूल हो, परशु । म दिक्क भइसकेँ, साहित्यिकहरूको हिलो छ्यापाछ्याप घाँटी निमोठानिमोठदेखि । सत्य ! मलाई केही गर्ने रहर छैन अब । 

परशुले पत्राचार शैलीमा भूमिका लेखेका छन्, ‘यो युग नै विकृत छ । समय नै विकृत छ । तर जोशी ! प्रत्येक निराशा र पलायनभित्र एउटा आशा र उत्साह पनि हुन्छ । सुदूरपूर्वी जिल्ला भोजपुरमा राष्ट्रियताको एउटा लहरले छोएको छ । मेची र काली जुर्मराउँछन् । उम्केको छ काठमाडौँको घेरोबाट साहित्य । शुभ लक्षण हो यो सबैका लागि । यद्यपि म ठोकेर भन्न सक्छु— गुटबन्दी र खुट्टा तान्ने प्रवृत्ति पोखरीमा बेसरी गर्दा रहेछन् भ्यागुताहरू । छाडिदेऊ यिनीहरूका ट्वार्–ट्वार् र गनगनलाई । काठमाडौँ मात्र नेपाल होइन । साँचो साहित्य, जनताको साहित्यको मृत्यु कहिल्यै हुन सक्तैन । हामीले देशको माटोमा उभिएर सिर्जनुपर्छ साहित्य । बस्— हाम्रो विजय हुन्छ ।’

झोँछेँ, काठमाडौँमा बसेर २०२१ फागुन १३ गते परशुले यी हरफ लेखेका हुन् । यी हरफ लेख्दा परशु २१ वर्षकै थिए । आफूभन्दा तीन वर्ष जेठा कृष्णलाई साथी नाताले सम्बोधन गर्दै परशुले जे लेखेका छन्, त्यसमा उनको युवा जोश मात्रै छैन, देशको तत्कालीन मुहार पनि झल्केको छ । यसले दर्शाउँछ— साहित्य क्षेत्रमा गुटबन्दी र खुट्टा तान्ने प्रवृत्ति आजको मात्रै रोग होइन, उतिबेला पनि रहेछ । केन्द्र काठमाडौँले उतिबेला साहित्यलाई आफ्नो मात्रै बिर्ता ठान्दो रहेछ । 

८० वर्षीय परशुको सोमबार राति काठमाडौँ बानेश्वरस्थित आफ्नै निवासमा निधन भयो । उनका पुत्र प्रतीक प्रधान (बाह्रखरीका प्रधानसम्पादक)ले यो दुःखद खबर फेसबुकमार्फत दिएपछि कमेन्टमा श्रद्धाञ्जलीको ओइरो लागेको छ । 

यस पङ्क्तिकारले २०७४ वैशाख २३ गते ‘नागरिक’ दैनिकमा ‘परशुको राजधानी प्रस्थान’ शीर्षकको फिचर लेखेको थियो । जसमा परशुले आफ्ना जीवनका खासखास पाटालाई सम्झेका थिए । भोजपुर बजारमा २००० माघ ३० गते जन्मेका परशुले केन्द्र काठमाडौँलाई घर–गाउँ बनाउन पहिले आफूलाई लेखक र प्रशासकका रूपमा स्थापित गरे । १५ वर्षकै उमेरदेखि स्कुलको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका परशु नेपाल सरकारको उपसचिवबाट २०५१ सालमा अवकाश लिएका थिए । पञ्चायतकालको सीडीओ भएकाले सहसचिवमा बढुवा हुने छाँट नदेखेपछि उनले राजीनामा दिएका थिए । त्यसपछि उनी साहित्यमा सक्रिय भए । 

बहुदल आएपछि बढुवा हुन नपाएका उनलाई पञ्चले नै कम्युनिस्ट भनेर जाागिर खोस्न लागेका थिए । उनले ०२७ सालमा लोकसेवा दिएर नाम निकालेका थिए, त्यतिबेला सरकारी जागिर खान स्थानीय प्रहरीले सिफारिस गर्नुपथ्र्यो । भोजपुरको प्रहरीले रिपोर्ट गरेछ— परशु कम्युनिस्ट हुन्, उनलाई सरकारी सेवामा प्रवेश गराउनु उचित हुँदैन । उनका काका गजेन्द्रमणि प्रधान कम्युनिस्ट भएकाले उनलाई पनि कम्युनिस्ट ठानिएको थियो । त्यतिबेला भनसुन गरेर परशुले जागिर जोगाए । 

  • १५ वर्षमा प्रधानाध्यापक

इन्दिरा र रामबहादुर प्रधानका ११ सन्तानमध्ये जेठा परशुको न्वारनको नाम पशुपति हो, घरमा भने परशुराम भनेर बोलाइन्थ्यो । पछि उनी परशु प्रधानबाट नेपाली साहित्य क्षेत्रमा स्थापित भए । २०६८ सालमा प्रकाशित डा. कृष्णप्रसाद दाहालको पुस्तक ‘परशु प्रधानको कथायात्रा’ अनुसार, परशुभन्दा ६ पुस्ता अगाडिका पुर्खा काठमाडौँबाट भोजपुर पुगेका थिए । उनका पुर्खा खासगरी हुलाकका जागिरे थिए । 

परशु यस्तो मिर्मिरे याममा जन्मेका थिए, जतिबेला राणाशासन ढल्दै र प्रजातन्त्र उदाउँदै थियो । २००३ सालमा समाजसेवी, क्रान्ति योद्धा तथा शिक्षाप्रेमी नादरमुनि थुलुङले भोजपुरमा उदय मिडिल स्कुलको स्थापना गरे । यही स्कुलबाट परशुले चार वर्षको उमेरदेखि शिक्षारम्भ गर्ने अवसर पाए । प्रजातन्त्रपछि २००८ सालमा यो स्कुल विद्योदय हाई स्कुलमा परिणत भयो । यसै स्कुलबाट परशुले २०१४ सालमा एसएलसी गरे, त्यतिबेला उनले भोजपुरदेखि काठमाडौँ आएर एसएसली दिएका थिए । 

आर्थिक अभावका कारण उनले एसएलसीपछि स्थानीय सरस्वती मावि पोखरेमा पढाउन थाले । स्वअध्ययनबाटै उनले २०१८ सालमा द्वितीय श्रेणी आईए उत्तीर्ण गरे, त्रिविको मानविकी संकायअन्तर्गत । स्वअध्ययनबाटै २०२१ सालमा स्नातक, २०२९ सालमा नेपाली विषयमा र २०३१ सालमा राजनीतिशास्त्रमा स्नातकोत्तर गरे, त्रिविबाटै । 

उनी २०१५ सालमा भोजपुरको अति दुर्गम गाउँ हतुवाको मिडिल स्कुलमा प्रधानाध्यापक भएका थिए । ‘यस विद्यालयमा परशुले कलिलो उमेरका कारण एक महिना नौ दिनमा मात्र सेवा गरे । विकट गाउँमा टिक्न गाह्रो परेकाले उनले राजीनामा दिए,’ दाहालको उपर्युक्त पुस्तकमा उल्लेख छ, ‘हतुवाबाट फर्केपछि उनी २०१५ सालमै सरस्वती प्रावि पोखरेमा प्रधानाध्यापक पदमा रही सेवा प्रारम्भ गर्छन् । यस विद्यालयमा उनले २०२० सालसम्म सेवा गरे । २०२२ सालको अन्त्यतिर भोजपुरकै वीरेन्द्र हाइस्कुलको प्रधानाध्यापक भई कार्य गरेका थिए ।’

यसको ठिक एक वर्षअघि परशुको विवाह जानुकादेवी रेग्मीसँग भयो । जानुकालाई भेट्नुअघि स्थानीय स्तरमा उनी कवि, लेखक र प्रधानाध्यापकका रूपमा चिनिइसकेका थिए । २०१६ सालमा उनको पुस्तक ‘भोजपुर ः एक अध्ययन’ प्रकाशित भएको थियो । परशुले यस पङ्क्तिकारलाई भनेका थिए, ‘भोजपुरकै एक प्रकाशकले छापिदिन्छु भनेर लेखेको हुँ । त्यो किताब भोजपुरकै बारेमा छ । पुस्तक लेख्न मैले भोजपुरका विभिन्न ठाउँमा पुगी मान्छेसँग भेटेको थिएँ ।’

खोटाङ मार्सेकी हुनेखाने परिवारकी जानुकाको सानैमा विवाह भएको थियो, तर विवाहलगत्तै उनका पतिको निधन भयो । विवाह गरी माइतीमै बसेकी जानुकालाई पतिको निधनको त्यति ख्याल हुन पाएन । जानुका सानै छँदा उनका बाबुको निधन भयो । जानुकाका दुई भाइ पनि सानैमा खसे । जानुकालाई आमाले भोजपुर पढ्न पठाएकी थिइन् । उनले आफन्तकहाँ बसेर भोजपुर बजारको रात्रि हाइस्कुलमा पढ्न थालिन्, जहाँ परशु शिक्षक थिए । जानुकालाई ८ र ९ कक्षामा परशुले नेपाली र इतिहास पढाए ।

२०१८ सालतिर शिक्षक र विद्यार्थीका रूपमा भेटिएका परशु र जानुका एक–अर्काको गहिरो प्रेममा परे । जानुकाले गीत–कविता, बालकथा लेखेर शिक्षक परशुलाई देखाउने गर्थिन् । ‘मैले उनका कविता हेर्न थालेँ, पढ्न थालेँ । सम्पर्क बढ्दै गयो, एक–अर्कालाई मन पराउन थाल्यौँ,’ यस पङ्क्तिकारसँगको भेटमा परशु आफ्नो बैँसालु विगतको बगैँचातिर फर्केका थिए, ‘एक दिन मैले भनेँ– मलाई तिमी मन पर्‍यो के गर्ने ?’

परशुको प्रस्ताव जानुकाले स्विकारिन् । बाहुनी र नेवारबिचको अगाध प्रेम पुरानो मुलुकी ऐनका अगाडि ‘अपराध’ थियो । ब्राह्मणी बिहे गर्ने ब्राह्मणभन्दा तल्लो जुनसुकै जातलाई १२ वर्षसम्म र ब्राह्मणीलाई ६ वर्षसम्म जेल सजाय हुन्थ्यो । साँचो प्रेमका खातिर परशु र जानुकाले देशै छाड्ने निर्णय लिए । २०१९ सालमा उनीहरू भोजपुरदेखि तराई हुँदै बनारस पुगे । हिन्दुहरूको पवित्र तीर्थस्थल वाराणसीका धर्मशालामा बस्न–खान समस्या हुँदैन भन्ने उनीहरूले सुनेका थिए । त्यहाँ ६ महिना जति बसेर अर्थात् नयाँ मुलुकी ऐन आएपछि मात्रै उनीहरू देश फर्के । ‘नयाँ मुलुकी ऐन आउँदै छ र जातभात हटाउँदै छ भन्ने त सुनेका थियौँ,’ यस पङ्क्तिकारसँगको भेटमा परशुले पुराना प्रेमिल दिन सम्झेका थिए, ‘हाम्रो सम्बन्धबारे गाउँ–समाजमा हल्ला चल्न थालिसकेको थियो । कानुनै उस्तो, कि हामी भाग्नुपथ्र्यो, कि एक–अर्कालाई त्याग्नुपथ्र्यो ।’

जानुका उनै कल्पना प्रधान हुन्, जसको सर्वाधिक चर्चित कविता पढेर पछिल्लो पुस्ता हुर्केको छ— मेरो सानो खरायो, आज कता हरायो... । 

एक–अर्काको साथ र सहयोगमै कल्पना र परशु देशले चिन्ने लेखक भएका हुन् । २०७९ सालमा प्रकाशित ‘मनमन्दिरका तस्बिर’ संस्मरणमा कल्पना प्रधानले लेखेकी छन्, ‘२०२२ सालको असोजमा मेरा श्रीमान् र म दुई छोरीलाई बोकेर भोजपुरको दुर्गम उत्तरी गाउँ कुलुङ गयौँ । मेरा श्रीमान् त्यहाँस्थित वीरेन्द्र हाइस्कुलको प्रधानाध्यापकका रूपमा पुग्नुभएको थियो । त्यहाँ प्रधानाध्यापकका लागि एउटा बस्ने घर तयार पारिएको थियो, अग्राखेमा । त्यो निकै रमाइलो गाउँ थियो ।’ 

बनारसबाट फर्केपछि परशुले पुनः स्कुल पढाउँदै थिए । त्यहीबेला तत्कालीन मन्त्री केदारमान व्यथितले कथा प्रतियोगिता गर्ने भए । यो खबर पाएका परशुले एउटा कथा पठाए, ‘फेरि आक्रमण’ शीर्षकको । उनको कथा प्रथम भयो, झापा भद्रपुरमा हुने पुरस्कार वितरण कार्यक्रममा उनी पुगे । त्यतिबेला केदारमान व्यथितले परशुलाई भने— तपाईंमा सिर्जनात्मक क्षमता छ, यसलाई अरु प्रस्फुटन गर्नुपर्छ, काठमाडौँ आउनुस् । म तपाईंलाई साझा यातायात कार्यालयमा जागिर पनि दिन्छु । यसरी उनी ०२४ सालमा काठमाडौँ आए र साझामा जागिर सुरु गरे । 

  • कवि, कथाकार र उपन्यासकार

परशुले १३–१४ वर्षको उमेरदेखि कविता लेख्न थालेका हुन् । उनको प्रकाशित पहिलो कविता हो, ‘हाँसेकी ती चन्द्रमा’, जुन २०१६ सालमा विराटनगरबाट निस्कने ‘छहारी’ पत्रिकामा छापिएको थियो । यद्यपि उनले कविता लेख्न छाडेर कथा र उपन्यास लेखे । जीवनभर उनले तीन सयभन्दा बढी कथा लेखेका छन् । 

गोविन्द गिरी प्रेरणाले ‘रूपरेखा’का लागि २०४० सालमा परशुको अन्तर्वार्ता लिँदा सोधेका थिए, ‘कथा लेखनले तपाईंको कविता लेखनलाई छोपिदिएकामा दुःख लागेन ?’

परशुको जवाफ छ— मलाई दुःख छैन । कविता लेखनमा म आफूलाई त्यति सशक्त भएको जस्तो अनुभव भएन । हुन त मैले दुई–चारवटा यस्ता कविता लेखेँ, जसमा आफ्नो नाउँ नराखेर अरुको नाउँ लेखेँ । त्यस्ता कविता बडा चर्चित पनि भए । जस्तो ः २०२१ को रूपरेखाको कविताविशेषाङ्कमा मैले ‘कुमारी कल्पना’ भनेर एउटा कविता दिएको थिएँ । त्यो कविता साह्रै चर्चित भयो, साह्रै प्रशंसित भयो ।’

परशुको सबैभन्दा उर्वर क्षेत्र कथा हो । २०१९ सालमा ‘रूपरेखा’को कथा विशेषाङ्कममा ‘मेरो कोठाको आँखाबाट’ शीर्षकको कथा छापेर उनी नेपाली कथाको आकाशमा उदाएका थिए । बक्ररेखा (२०२५), फेरि आक्रमण (२०२५), यौटा अर्को दन्त्यकथा (२०२८), असम्बद्ध (२०३२) लगायत उनका १२ वटा कथा सङ्ग्रह प्रकाशित छन् ।

उपन्यासको कुरा गर्दा, २०२१ सालमा उनले तुवाँलो मासिकमा धारावाहिक रूपमा उपन्यास ‘रात जो पग्लन्छ’ छापेका थिए, (‘परशु प्रधानको कथायात्रा’ पुस्तक) । 

तर ‘मिर्मिरे’ पत्रिकाका लागि ज्ञानुवाकर पौडेललाई २०३९ सालमा दिएको अन्तर्वार्तामा परशुले यो उपन्यास त्यतिबेलासम्म नछापिएको र त्यसलाई बेचेको बताएका थिए । 

‘सबै बिर्सिएका अनुहारपछि किन अरु उपन्यास लेख्नुभएन ?’ भनी ज्ञानुवाकरले सोध्दा उनको जवाफ छ— सबै बिर्सिएका अनुहार वास्तवमा मेरो दोस्रो उपन्यास हो । त्योभन्दा अगाडि मैले ‘रात जो पग्लन्छ’ उपन्यास काठमाडौँमा बसेर लेखेको थिएँ । सय डेढ सय पेजको त्यो उपन्यास सेक्ससम्बन्धी थियो । त्यो उपन्यास मैले छाप्न सकिनँ । त्यो मेरो पहिलो उपन्यासललाई शङ्कर लामिछानेले सहयोगी प्रकाशनलाई बेचिदिनुभयो । सहयोगी प्रकाशनले छापिदिन्छ भनेर मैले तीन–चार सयमा बेचेको थिएँ र त्यो उपन्यास अझसम्म प्रकाशित भएको छैन ।’

यस्तै, २०३३ सालमा प्रकाशित ‘आकाश विभाजित छ’ उपन्यासमा परशुले सहलेखन गरेका छन् । १० जना आख्यानकारद्वारा लेखिएको यस उपन्यासको पहिलो परिच्छेद परशुले लेखेका हुन् । यसपछि उनको २०६४ सालमा ‘सीताहरू’ प्रकाशित भयो । कविता, कथा, उपन्याससँगै परशुका बालसाहित्य र निबन्ध पनि प्रकाशित छन् । 

नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान पदक २०२४, रत्नश्री पदक २०३१, उत्तम शान्ति पुरस्कार २०५१, छिन्नलता सम्मान २०५३, गरिमा पुरस्कार २०५८ लगायतबाट सम्मानित परशु यौनका विषयमा खुलेर बहस गर्थे । 

२०३९ सालमै मिर्मिरेका लागि ज्ञानुवाकर पौडेलले सोधेका थिए, ‘साहित्यकारहरू प्रायशः विवाहेतर यौनसम्बन्ध राख्ने पक्षमा देखिन्छन्, यस मामलामा केही लेखक कविहरू बदनाम पनि छन् । तपाईंको यस सम्बन्धमा दृष्टिकोण के छ ?’ 

परशुको जवाफ छ— मेरो विचारमा हाम्रो समाजको अपेक्षित विकास हुन नसक्नुको प्रमुख कारणमध्ये एक यौनप्रतिको हाम्रो सङ्कीर्ण सोचाइ नै हो । मेरो राय जान्न चाहनुहुन्छ भने— हाडनाताबाहेक जसले जोसित पनि सम्बन्ध राखे हुन्छ । 

‘यसले सामाजिक विकृति र पारिवारिक विघटनको खतरा ल्याउँदैन ?’ पक्कै लेराउँछ, तर यौनकुण्ठालाई दबाएर राख्नु पनि राम्रो कुरो होइन । हो, यस्तो सम्बन्ध मर्यादित र शालीनतापूर्वक चाहिँ हुनैपर्छ । छल र कपटपूर्ण यौनसम्बन्धले मात्र तपाईंले भनेजस्तो पारिवारिक विघटनको खतरा लेराउँछ, (२०६५ सालमा प्रकाशित ‘अन्तर्संवाद’ पुस्तक ।) । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप