सोमबार, २८ असोज २०८१
ताजा लोकप्रिय
गिरिजाप्रसाद कोइराला १४औँ स्मृति दिवस

वृद्ध योद्धाको यथोचित अवसान

बुधबार, ०७ चैत २०८०, ११ : ५०
बुधबार, ०७ चैत २०८०

च्याँच्याँको भाकामा मैले यो धर्ती स्पर्श गर्दा ती जाग्रत मानव मेरो नागरिक हक, अस्मिता र मुक्तिको उदात्त ध्वजा बोकेर सङ्घर्षको मैदानमा होमिइसकेका थिए । म जीवितै छँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उद्घोष गरी महाविश्राममा उनी लीन भए । उनको उमङ्गमय यात्राको प्रस्थान भयो, निरङ्कुश राणातन्त्रविरोधी सिंहनादबाट । र, गतिमान भयो त्यो विराटनगर जुट मिलका मजदुरहरूलाई जगाउने तुफानी अभियानबाट । अथक, अटल र अविराम उनको यात्रा जहानियाँ राणातन्त्र र वंशवादी शाहतन्त्रको विनाशपछि सम्पन्न भयो । उनको यो नागबेली यात्रा अनेक् उकाली र ओराली, हन्डर र ठक्कर, सशस्त्र र निःशस्त्र विद्रोह, दमन र प्रतिरोध, हठ र लचकता एवं प्रशंसा र भ्रत्र्सनाले भरिपूर्ण एक रङ्गीन महागाथा हो । र, म हुँ यो महागाथाभित्रको एउटा लघुकथा । 

सम्झन्छु, धेरैअघि म सानै छँदा, विराटनगर–फारबेसगन्ज विमान अपहरणको कथा रचियो । रकम जतफी काण्डको लोमहर्षक कथा थियो त्यो । त्यो विस्मयकारी कथामा सवार भई एउटा जण्ड नाम पहिलोपटक मेरा कर्णपट स्पर्श गर्न आइपुगेको थियो । त्यो नाम थियो, गिरिजाप्रसाद कोइराला । नामी बीपीका सहोदर भाइ, दुस्साहसिक योद्धा, व्यवहारमुखी राजनीतिका एक हठी अभियन्ता । यस्ता थिए उनको नाउँसँग जोडिएर आएका बहुविध अलङ्कारहरू । पछि, उनको नाम ‘हवल्दार’को उपहासजनक उपमा जोडिएर मछेउ आयो । सुनिजानेको कुरा हो, यी ‘हवल्दार’मा सङ्घर्षको व्यवहारप्रति अतिशय लगाब र ज्ञान आर्जनप्रति अपेक्षाकृत कम रुचि थियो । त्यसैकारण दाजै बीपी स्वयंले आफ्ना भाइलाई ‘हवल्दार’को उपाधि दिएका हुन् भनी कांग्रेसी वृत्तभित्रैबाट गाइँगुइँ सुनियो । 

समय बित्दै जाँदा यी ‘हवल्दार’का नयाँनयाँ विम्ब लोकमानसमा प्रक्षेपित हुँदै गए । जनमत सङ्ग्रहपछिको कुरा हो यो । उनले एउटा दाबी अघि सारे— कांग्रेसी झन्डा बोकेर देशैभरि लड्न पाए लडिन्छ पञ्चायती चुनाव । उनका शब्दमा यो विपरीत व्यवस्थाको ‘उपयोगको नीति’ थियो । तर, सङ्कीर्णमति र असहिष्णु राजाले उनको ख्याउटे दाबी ठाडै बदर गरिदिए । यो मेसोमा कतिपयले उनलाई राजावादी पञ्च भनेर गिज्याए । छयालीस सालपछि उनले ‘माले, मसाले, मण्डले एकै हुन्’ भन्ने आक्रामक सूत्रवाणी रचे । र, कम्युनिस्ट वृत्तमा उनी फासीवादी कहलिए । 

छयालीस सालमा निर्दलीय हुकुमी शासन फालियो र बहुदलीय चुनावी शासन फर्केर आयो । शासनको बाहिरी रूप त फेरियो, तर पत्रु राज्यको क्रूर, अनुदार र असहिष्णु चरित्र ज्युँका त्युँ रह्यो । अनि संसदीय व्यवस्था बन्यो, चुनाव जित्ने दलले सत्तासुख एकलौटी भोग गर्ने साधन । र गिरिजाबाबु बने नेपाली कांग्रेसका सर्वाधिकारी प्रमुख । दलनायक पनि उनै, शासनाधीश पनि उनै । ‘लौह पुरुष’ भनी मान गरिने गणेशमान सिंह पार्टीबाट पाखा लगाइए, र कांग्रेसी वृत्तमा भावनात्मक चिरा प¥यो । ‘सन्त’ भनी पुकारिने किसुनजी सत्ता राजनीतिको किनारमा मिल्काइए र कांग्रेसी वृत्तमा अर्को भावनात्मक चिरा प¥यो । तत्पश्चात् भयो के ? तत्पश्चात् भयो यसो, कांग्रेस माने गिरिजाबाबु, गिरिजाबाबु माने संसदीयतन्त्र, वश । तत्पश्चात् भयो के ? तत्पश्चात् भयो, मन परेको मान्छे र आशीर्वाद, नातावाद र कृपावाद, चाकरी र चाप्लुसी, भ्रष्टाचार र घुसखोरीको बिगबिगी । अनि भयो के ? अनि भयो, माओवादीरचित विद्रोहको उथलपुथल, वीरेन्द्र परिवारको वंशविनाश र कलङ्कित संसदीय रङ्गमञ्चमा भुइँफुट्टा राजा ज्ञानेन्द्रको अशोभनीय उदय ।

एवं रीतले संसदीय व्यवस्थाको निम्छरो गर्धनमा ज्ञानशाही असोजतन्त्रको विषाक्त तरबार बज्रियो । अनि भयो के ? खिन्न र उद्विग्न गिरिजाबाबु सङ्कोच मान्दै लुखुर–लुखुर सडकमा उत्रिए । आखिर किन ? निकट अतीतमा आफ्नो शासनमा थुप्रिएको राजनीतिक र नैतिक फोहोर सफा गर्न । हो, इतिहासको त्यही विप्लवी क्षणमा रत्नपार्कमा गिरिजाबाबुसँग मेरो जम्काभेट भयो । रत्नपार्कमा शाही अश्रुग्यास, कटबाँस र पानीका फोहोेराको प्रहार व्याप्त थियो । त्यो निर्मम प्रहारको एकरती पर्वाह नगरी वृद्ध र कृशकाय गिरिजाबाबु आन्दोलनका सर्वमान्य कमान्डर बने । साता–दस दिनमा जब सडकमा ती आउँथे, हामीलाई आस, साहस र ढाडस सञ्चार गर्ने देवदूत आएझैँ लाग्थ्यो । शाही फौजी ताण्डवसँग आँखा जुधाउने ह्याउ भएका अग्ला, पत्यारिला र प्रभावी अभिभावक आखिर उनै त थिए । कुरूप शासनतन्त्रको गद्दामा शेरबहादुर देउवा जब ज्ञानशाही गोटीको औतारमा भर्ती भए, क्षुधापीडित एमालेजनका लोभी नजर दरबारतिर लहसिए । र, एमाले ‘आधा त्रुटि सच्चियो’ भन्दै लुसुक्क दरबार भित्रियो । गिरिजाबाबु राजीखुसीले सडकमै छुटे । शाही निरङ्कुशताको जुवामा नारिन काँध थाप्दै एमाले जब लुसुक्क दरबार छि¥यो, मलाई बुढाको ‘माले, मसाले, मण्डले’ नामक सूत्रवचनको झल्याँस्स याद आयो । मकरतन्त्रको उन्मादी बुट जब एमालेका चल्लीमा बज्रियो, टुटुल्को सुमसुम्याउँदै सडकमा गिरिजाबाबुको शरण पर्न एमाले विवश भयो । 

गिरिजाबाबुको व्यक्तित्वका दुई सर्वथा पृथक् पाटा छन् । प्रायः हठझैँ प्रतीत हुने दृढ सङ्कल्प र बिछट्टको लचकता । राज्ययन्त्रमा जब ऐँजेरुरूपी राजा ज्ञानेन्द्रको आतङ्क छायो, त्यसको प्रतिकार गर्न गिरिजाबाबुलाई माओवादी विद्रोहीको साथको खाँचो महसुस भयो । उक्सिँदो जनचेतनाको आभास हुने इतिहासका हलचलकारी पदचापहरू सुन्दै उनी बाह्रबुँदे मितेरीको तर्जुमामा लागे । स्वदेश र विदेशका कठोर दबाबहरूको उनले एकरती पर्वाह गरेनन् । इतिहासको एक कालखण्डमा माओवादीलाई उनले ‘आतङ्ककारी’ घोषित गरेका थिए । इतिहासको अर्को कालखण्डमा उही ‘आतङ्ककारी’सँग उनले सहकार्यको पे्रमिल हात बढाए । म त भन्छु— गिरिजाबाबुको इतिहासबोधी चेतनाको एक विलक्षण क्षण थियो त्यो । 

कमरेडद्वय प्रचण्ड र बाबुरामले वचन दिएर पनि गिरिजाबाबुलाई राष्ट्रपति पद दिन कन्जुसी गरे । किन ? प्रचण्ड र बाबुरामकै मुखबाट डाक्टर देवेन्द्रराज पाण्डे र मैले सुनिजाने अनुसार— समानान्तर शक्तिकेन्द्रको उदय होला भन्ने डरले । आखिर किन ? सजावटी राष्ट्रपति गिरिजाको व्यक्तित्वको विराटता र व्याप्तिले कार्यकारी प्रधानमन्त्रीलाई छायामा पार्ला भन्ने डरले ।

बीपीको राजासँग गर्धन जोड्ने आशययुक्त ‘राष्ट्रिय मेलमिलाप’ इतिहासको विशेष परिस्थितिको उपज थियो । परिस्थिति फेरियो तर कतिपय कांग्रेसीहरू मेलमिलापको कालातीत रटनामा अल्झिएर समयको गतिमा पछाडि नै छुटे; शैलजा छुटिन्, खुमबहादुर एन्ड कम्पनीले इतिहासको रथै उल्ट्याउन हठ गरिरहेका छन् । वागमतीको पुलमुनि कतिकति पानी बगेर गइसक्यो, तैपनि ‘सन्त’ नेता किसुनजी अझै उही बासी रटानको घिडघिडोमा अल्झिएका छन् । समयको धड्कन बुझेर गिरिजाबाबुले भने गजबले छलाङ मारे । 

कांग्रेसमा देशदेशावरले चिनेका, गनेका र मानेका वटवृक्षतुल्य गिरिजाबाबुको उपस्थिति थियो र नै हिजोको ‘ज्यानी दुश्मन’सँग बाह्रबुँदे मितेरी सम्भव भयो । र नै गणतन्त्र र सङ्घीयताको घोषणा सम्भव भयो । गिरिजाबाबुको यो नितान्त नूतन चेष्टा र दृढतम अठोट कुनै ठट्टा थिएन । यसमा वास्तवमा कांग्रेसको सनातनी निष्ठालाई नै दाउमा रााखिएको थियो । संवैधानिक राजा, सजावटी राजा र शिशु राजाको आग्रह गर्दै स्वदेशी र विदेशी जनमतको नाडी छामेर गिरिजाबाबुले राजतन्त्रलाई मारीमेटी मिल्काउन चालेको कदम कम्ता विस्मयकारी छैन । उनको यो क्रमागत कायाकल्पमा उनको व्यवहारवादी प्रयोगवादको बिछट्टको कार्यनीतिक कौशल अन्तर्निहित छ । राजनीतिमा भयङ्कर जोखिम उठाउने यो साहस र यो अठोट गिरिजाबाबुको लचकदार र दृढनिश्चयी व्यक्तित्वको अविस्मरणीय एवं अनुकरणीय गुण हो । 

गिरिजाबाबु ईखालु थिए । जर्मन दार्शनिक फ्रेडरिक नित्से ईखालुपनलाई मानिसमा अन्तर्निहित एक सहजवृत्ति मान्थे । नित्सेको दृष्टिमा मानिसको ईखालुपन कुनै लज्जाजनक कुरा होइन । यो त बरु मानिसलाई जीवन सङ्घर्षमा अघिल्तिर डो¥याउने हुटहुटीकारी भावना पो हो । नित्सेसँग मत मिलाउँदै नेपाली उखान भन्छ— इख नभ’को मानिस र बिख नभ’को सर्प दुवै पङ्गु हुन् । पत्रु शाही राजतन्त्रलाई फाल्नमा गिरिजाबाबुको ईखालुपनको सायद निकै ठुलो हात हुँदो हो । दुई अपमानजनक घटनामा क्रूर शाहीतन्त्रले गिरिजाबाबुको ईखालु चित्तमा असह्य पीडादायी चोट लगाएको थियो सायद । कथा नारायणहिटी दरबारको हत्याकाण्डपछिको हो । अकथित यो कथा भन्छ— आधा राततिर एक शाही जर्नेल जवानहरूको झुन्ड लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे । तिनले हैकमी लबजमा गिरिजाबाबुलाई दरबारले डाकी पठाएको छ भने । गिरिजाबाबुलाई केही अनिष्टको आभास भयो । चर्पीमा पसेर उनले किसुनजीलाई जेबी फोनमा भने, ‘मलाई दरबारले पक्रिन लाग्याजस्तो छ । बाहिरबाट तपाईंहरू बोल्नुहोला ।’

पक्राउको शैलीमा नारायणहिटी दरबार पु¥याइएपछि पक्राउकारी जर्नेलले मुख छाड्दै भने— ‘तँ मुलुकको प्रधानमन्त्री । यहाँ पूरै राजपरिवारको हत्या हुँदा तँ मु** के हेरेर बस्या थिस् ?’ लासहरूको लस्करसँगै गिरिजाबाबुलाई छाउनी ब्यारेक लगियो । न साथमा अङ्ग रक्षक, न हातमा जेबी फोन— गिरिजाबाबुलाई पक्राउ परेको चोरलाई झैँ घन्टौँ ब्यारेकको पेटीमा बसाइयो । यो भयो, अपमानकारी पहिलो घटना ।

युगान्तकारी परिवर्तनमा गरेको योगदानको गुरुताका दृष्टिले गिरिजाबाबु सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रेमी सकल नेपालीका हृदयका सम्मान्य राष्ट्रपति हुन् । इतिहासका सजीव पात्रको निर्जीव सालिक खडा गर्ने नै हो भने सम्मानको त्यो आसन त रामराजाप्रसाद सिंह र गिरिजाबाबुको साझा हुनुपर्ने पो हो ।

जब ज्ञानेन्द्र अपुताली राजा भए, सडकमा विरोधको लहर उठ्यो । उमेर वृद्ध थियो र देह थियो निकै अशक्त । तैपनि गिरिजाबाबु विरोधको लहरमा नेतृत्वकारी ऐक्यबद्धता जनाउन रत्नपार्कमा ओर्लिए । शाही प्रहरीले पानीका फोहोराले गिरिजाबाबुलाई आकाशमा उडाएर भुइँमा पछा¥यो । यो भयो, अपकारी दोस्रो घटना । घायल चित्तमा जब ईख उर्लियो, गिरिजाबाबुले ऐनमौकामा शाही राजतन्त्रको अवसानको घोषणामा सहीछाप ठोकिदिए । 

इतिहासको नेपथ्यमा लुकाइएको गुनगुन भन्छ— कमरेडद्वय प्रचण्ड र बाबुरामले वचन दिएर पनि गिरिजाबाबुलाई राष्ट्रपति पद दिन कन्जुसी गरे । किन ? प्रचण्ड र बाबुरामकै मुखबाट डाक्टर देवेन्द्रराज पाण्डे र मैले सुनिजाने अनुसार— समानान्तर शक्तिकेन्द्रको उदय होला भन्ने डरले । आखिर किन ? सजावटी राष्ट्रपति गिरिजाको व्यक्तित्वको विराटता र व्याप्तिले कार्यकारी प्रधानमन्त्रीलाई छायामा पार्ला भन्ने डरले । कुन्नि, पछि कटवाल काण्डमा मार खाँदा वृद्ध गिरिजाबाबुलाई धोका दिएकामा कमरेड प्रचण्ड र बाबुरामलाई किञ्चित् पछुतो लाग्यो कि ! 

नाटकीय परिपञ्चद्वारा कसैलाई अर्पण गरिने पदभन्दा व्यक्तिको सत्यनिष्ठा, साहसिक कर्म र समर्पणद्वारा जनमानसमा स्वतःस्फुर्तरूपले अङ्कित सम्मानको महत्त्व कता हो कता बढी हुन्छ । युगान्तकारी परिवर्तनमा गरेको योगदानको गुरुताका दृष्टिले गिरिजाबाबु सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रेमी सकल नेपालीका हृदयका सम्मान्य राष्ट्रपति हुन् । वीरहरूको हत्या गर्ने लिखतमा लालमोहर ठोक्ने विलासी राजा त्रिभुवनको सालिक सहिदगेटमा सहिदहरूका शिरमाथि कलङ्कको दागका रूपमा विराजमान छ । इतिहासका सजीव पात्रको निर्जीव सालिक खडा गर्ने नै हो भने सम्मानको त्यो आसन त रामराजाप्रसाद सिंह र गिरिजाबाबुको साझा हुनुपर्ने पो हो ।

राजनीतिक डबलीको वटवृक्षमुनिको भूमि बटुवाहरूका लागि वर्षात्मा ओत लाग्ने र गर्मीमा शीतल ताप्ने गुनिलो थलो हुन्छ । त्यो वटवृक्षको विशालतामुनि उम्रिने बोटबिरुवाहरू भने टाक्सिन्छन् । गिरिजाबाबुको महाविश्रामसँगै नेपाली राजनीतिको अजङ्गको वटवृक्षले धेरैका लागि ठाउँ खाली गरिदिएको छ र धेरैलाई धेरै कुराबाट मुक्त हुने अवसर पनि दिएको छ । वटवृक्षको परिक्रमा गरेर वा भक्तिभजन गाएर राजनीतिको तर मार्न जो–जो अभ्यस्त छन्, अब तिनले आफ्नै सामथ्र्यको सहाराले उभिन सिक्नुपर्ने छ । वटवृक्षको सेपमा परी टाक्सिएका बोटबिरुवाले अब पर्याप्त प्रकाश, ताप र स्वच्छ हावा पाएर मौलाउने मौका पाएका छन् । हरेक राजनीतिक सङ्कटमा निहित स्वार्थवश वटवृक्षको नाम जप्दै अलोकतान्त्रिक शक्तिकेन्द्र कायम राख्न यत्न गर्नेहरूले अब सामूहिक विवेक र सहकार्यद्वारा लोकतान्त्रिक मूल्यको महल खडा गर्ने यात्रातर्फ लम्किनु नै बुद्धिमत्ता हुनेछ ।

सोभियत सौन्दर्यविद् अनातोली लुनाचास्र्कीले मानिसको अवसानको भव्य प्रकृतिबारे गहन चिन्तन गरेका छन् । आफ्ना यावत् सामाजिक–नैतिक दायित्वहरू पूरा गरेर आफ्ना उदात्त कर्महरूको लोकमङ्गलकारी फल हेर्दै महाविश्राममा लीन हुनु उनको विचारमा मानिसको भव्य अवसान हो । यस अर्थमा एकबारको जुनीमा आफूले सक्नेजति गरिसकेर कीर्तिमान रचेका, राजनीतिको नाभिस्थलबाट सीमान्तकृत हुँदै गएका र उमेर पुगेका गिरिजाबाबुको अवसान हो नितान्त सामयिक र भव्य अवसान !

‘आफू आफैँतिरबाट फर्केर’बाट साभार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप