बिहीबार, १० जेठ २०८१
ताजा लोकप्रिय

रित्ता भए गाउँघर, गर्ने के ?

बुधबार, १४ चैत २०८०, १० : ५८
बुधबार, १४ चैत २०८०

आज हाम्रा खेतबारी सबै बाँझा छन् । गाउँ उराठलाग्दो छ । बुढाबुढी र केटाकेटीबाहेक गाउँघरमा मुस्किलले युवा भेटिन्छन् । देशमा रोजगारी र अवसर नभएपछि युवायुवती विदेश पलायन छन् । कोही पढ्न र काम गर्नका लागि युरोप अस्ट्रेलियातिर पुगेका छन् भने कम पढे–लेखेका युवा खाडी मुलुकतिर लागेका छन् । उनीहरूले पठाएको रेमिट्यान्सले मुलुक जेनतेन धानिएको छ । 

गाउँघरतिर कोही बिरामी प¥यो भने अस्पतालसम्म पुर्‍याउने युवा भेटिँदैनन्; लास उठाउन विदेशमा रहेको छोरोलाई कुर्नुपर्छ । विकासका बजेटबाट प्रायः गाउँघर वा गाउँघरनजिक बाटो, कुलो, पानी, स्कुल, कलेज, स्वास्थ्य चौकी, प्रहरी चौकी लगायत सुविधा पुगिसकेका छन्, तर काम गर्ने मान्छे पाइँदैनन् । काम गर्ने मान्छे नभएपछि अधिकांश जग्गा–जमिन बाँझा छन् । बाक्लो बस्ती भएका घर पनि खाली छन् । माटो र ढुङ्गाले बनेका घर धमिराले खोक्राइसकेका छन् । विदेशमा कमाउन गएका कतिपय युवाका पत्नी छोराछोरी पढाउने बहानामा सहरमा छिरेका छन् । त्यसैले गाउँघर रित्तो छ । यो अवस्था कहिलेसम्म रहला ? अब गम्भीर भएर सोच्नुपर्ने बेला भएको छ । 

आज हाम्रो देश जुन किसिमले विकासको गतिमा अघि बढ्नुपर्ने थियो, त्यो हुन सकेन । युवाविना देश बन्न सक्दैन । जुन देशमा युवा गएका छन् त्यहाँ कृषि लगायत उत्पादन भइरहेका छन्, भौतिक संरचना बनिरहेका छन् । समस्या मात्र देखाएर समाधान हुँदैन, समाधानको खोजी गर्नुपर्छ । हामी वैज्ञानिक कृषितर्फ पूर्ण रूपमा लागिसकेका छैनौँ, परम्परागत कृषिले मात्र कृषकलाई जीविका धान्न मुस्किल परेको छ । कृषि क्रान्तिका लागि सरकारसँग विभिन्न योजना आवश्यक छ, जसले युवालाई कृषि लगायत कृषिजन्य उत्पादनमा जोड्न सकोस् । कृषि क्रान्तिले नै देशको मुहार फेर्न सकिन्छ, कृषि अर्थतन्त्रको मेरुदण्ड हो । अब नेपाल सरकारले कुनै ढिलाइ नगरीकन कृषिमा लगानीको वातावरण बनाउनुपर्छ ।  

माटो परीक्षण गरी जुन भेगमा जे उत्पादन हुन्छ, त्यसैको उत्पादनमा जोड दिनुपर्नेछ । अझ यसमा राज्यले सहयोग ग¥यो, उत्पादनले बजार पायो र उचित मूल्य पायो भने कृषकलाई खेती गर्न जाँगर चल्छ; उनीहरू आफ्नो उत्पादन बढाउनतिर लाग्छन् । 

विश्व मानचित्रमा नेपाल कृषिप्रधान देश भनेर चिनिन्छ तर अझै हामी कृषिमा आत्मनिर्भर हुन सकेका छैनौँ, यो दुःखद पक्ष हो । अब कृषिमा जोड दिने बहससँगै योजनाबद्ध काम गर्नुपरेको छ । हाम्रो देश नेपाल जलस्रोतको धनी देश हो । पानी, बिजुली र पानी (सिँचाइ)बाट हुने कृषि उत्पादन बेचेर हामी धनी हुन सक्छौँ । यसका लागि हामीसँग सङ्कल्प हुनुपर्छ । 

काम गरे के हुँदैन ? बाटोमा बसेर फलफूल, चटपटे बेचेर पनि राम्रै कमाइ हुन सक्छ, यसका लागि मिहिनेत चाहिन्छ, तर स्वदेशमा बसेर काम गर्ने बानी अधिकांश नेपालीको बिग्रिएर गएको छ । काम गर्ने बानी सबैले बसाल्नुपर्छ । काम गर्न लाज मान्ने बानीले हामी पछाडि परिरहेका छौँ । भारतका नागरिक नेपाल आएर कबाडी सामान उठाएर राम्रै कमाइ गरेका छन् । गरे के हुँदैन ? तर कामलाई सानो–ठुलो मान्नु हुँदैन ।

हामी स–साना कृषिजन्य वस्तुमा पनि आत्मनिर्भर हुन सकेका छैनौँ । हामीले बर्सेनि अर्बौँ मूल्यको कृषिउपज आयात गरिरहनुपरेको छ । लसुन, प्याज, आलु, गेडागुडी, कागती, खुर्सानी, टमाटर, धनियाँ लगायत कृषिजन्य उत्पादनमा हामीले भारतसहित तेस्रो मुलुकको मुख ताक्नुपर्ने अवस्था छ । हामी दिन प्रतिदिन आयातित महँगो कृषिजन्य वस्तु उपभोग गर्न बाध्य छौँ । 

सरकारले कृषिका अत्यावश्यक वस्तुमा आत्मनिर्भर बन्ने योजना नल्याएको होइन, तर कार्यान्वयनको पक्ष फितलो भयो । अर्कोतिर कृषि उत्पादन बढाउन राज्यले विभिन्न आयामबाट योजना ल्याउन सकेको छैन । हामी मल र बिउमै परनिर्भर हुनुपर्ने अवस्था छ । कृषिमा आत्मनिर्भर हुँदा कृषिमा आधारित अन्य उद्योग समेत चल्न सक्छन् । जस्तोः चिनीमा आत्मनिर्भर हुन उखुमा आत्मनिर्भर हुनुपर्छ । 

देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । माटो परीक्षण गरी जुन भेगमा जे उत्पादन हुन्छ, त्यसैको उत्पादनमा जोड दिनुपर्नेछ । जस्तैः हिमाल, पहाड र तराई तीनवटै हावापानी भएको माटोमा आलु फल्छ भने चिया गर्मी मौसम भएको झापा र ठन्डा मौसम भएको इलाम दुवै ठाउँमा हुर्कन्छ । राज्यले सहयोग ग¥यो, उत्पादनले बजार पायो र उचित मूल्य पायो भने कृषकलाई खेती गर्न जाँगर चल्छ; उनीहरू आफ्नो उत्पादन बढाउनतिर लाग्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आरपी गैरे
आरपी गैरे
लेखकबाट थप