भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन शिक्षा मन्त्रीको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन आग्रह गरेकी छन् । मन्त्री श्रेष्ठले बुधबार सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई आग्रह गरेकी हुन् ।
नयाँ शैक्षिक सत्रका लागि ति विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै आमन्त्रण गरी मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी लिन आग्रह गरेकी हुन् ।
‘ती विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनुपर्यो भनेर दबाब दिइरहनु भएको छ। उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ रे’ मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ।’
छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए। मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन् ।
‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्,’ मन्त्री श्रेष्ठले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ।’ मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई अनुरोध गरेकी थिइन् ।
छलफलमा सेन्ट जेभियर्सले चार वर्षअघि देखि नै गोलाप्रथाबाट भर्ना लिने गरिएको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा भर्ना लिइएको र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरिएको जानकारी दिएका थिए। मन्त्री श्रेष्ठले गोला प्रथाबाट भर्ना लिने प्रक्रियालाई निरन्तरता दिएर थप विश्वसनीय बनाउन आग्रह गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अफ्रिकन स्वाइन फिभरले भटाभट बङ्गुर मरेपछि ओसारपसारमा रोक
-
रातोपाटी ब्रिफिङ : ६ महिनाको अवधिमा सरकारको काम जम्मा ४.२ प्रतिशतदेखि यूएईले पाँच हजार नेपाली घरेलु कामदार लैजानेसम्म
-
दिल्लीको मुख्यमन्त्रीमा महिला, रेखा गुप्ता बनिन् दलको नेता
-
ट्रम्पले भने– हामीले युक्रेनलाई अर्बौं डलर दियौँ, बदलामा केही पाएनौँ
-
‘विद्यार्थी विदेश जाने अवस्था अन्त्य हुनुपर्छ’
-
झलनाथ खनालको आक्रोश : यस्तो तरिकाले पार्टी चल्दैन, जनसङ्गठन पनि चल्दैनन्