बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : नेपाल पत्रकार महासङ्घको ६९औँ स्थापना दिवस

पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा किशोर नेपाल

शुक्रबार, १६ चैत २०८०, ११ : ५८
शुक्रबार, १६ चैत २०८०

नेपाली पत्रकारितामा किशोर नेपाल चिनाइराख्नुपर्ने नाम होइन । भुइँतहका नागरिकसँग संवाद गरिरहने र उनीहरूका चिन्ता–चासोलाई सदैव उजागर गर्ने पत्रकार नेपाल नेपाली माटोसँग साक्षात्कार गर्ने पत्रकारको सूचीमा दरिन्छन् । उनको जन्म विसं २००८ जेठमा नुवाकोटको झिल्टुङमा भएको हो । पण्डित बुबा टंकनाथ नेपाल र सुसंस्कृत आमा दिव्यावती नेपालका तीन छोरीपछि जन्मिएका उनी सानैदेखि जिज्ञासु स्वभावका थिए ।

नेपाल जन्मनुभन्दा पहिल्यै उनका बुबा गाउँ छाडेर परिवारसहित काठमाडौँमा बसाइँ सरिसकेका थिए । आमा गर्भवती भएपछि बुबाले ज्योतिषशास्त्रका आधारमा छोरो जन्मिने भविष्यवाणी गरेका थिए । ‘त्यो सन्तान आफ्नै पुर्ख्यौली ठाउँमा जन्मियोस् भनेर बुबाले आमालाई लिएर गाउँ जानुभएको रहेछ । त्यही भएर मेरो जन्म झिल्टुङमा भएको हो,’ नेपाल भन्छन् ।

नुवाकोटको पुर्ख्यौली घरमा जन्मिएका नेपाल काठमाडौँमा हुर्किए । उनको परिवारलाई काठमाडौँमा स्थापित गराउन उनकी जेठी फुपू अर्थात् हजुरदिदीले मद्दत गरेकी थिइन् । फुपूको सहयोगले उनका बुबाले काठमाडौँको बत्तीसपुतलीमा घरजग्गा जोडेका थिए । फुपू शिक्षित थिइन् । उनी श्री ३ महाराज चन्द्रशमशेरका छोरा सिंहशमशेरको दरबारमा काम गर्थिन् ।

नेपाल पाँच वर्षको छँदा बुबाको निधन भयो । त्यसपछि नेपालको पठनपाठन हजुरदिदी र आमाको निर्देशन र रेखदेखमा अघि बढ्यो । त्यो बेला पढ्नु ठुलै कुरा थियो । पढ्नका लागि लगन र लगानी दुवै चाहिन्थ्यो । लगनमा कमजोर नभए पनि लगानी जुटाउन भने उनलाई हम्मे परेको थियो । त्यसैले काठमाडौँका गल्लीहरूमा अखबार बेचेर तथा चियाका गिलास माझेर उनले पढाइ खर्च जोहो गरे । ‘हजुरदिदीले मलाई काठमाडौँमा सङ्घर्ष गर्न नसघाउनुभएको भए आमाले शिक्षाको महत्त्व बुझेर पढ्न नघोटाउनुभएको भए म सायदै आजको परिचयमा उभिएको हुने थिएँ,’ उनी भन्छन् ।उनी सङ्घर्ष र साधनाको बलमा यहाँसम्म आइपुगेका हुन् । उनलाई सामान्य नागरिकका दुःखले बढी छुन्छ । किनभने उनको यात्रा पनि सङ्घर्षपूर्ण विगतबाटै सुरु भएको हो । ‘सानो उमेरमा म बिग्रिएर खत्तम हुनसक्ने वा सडकमा पुग्न सक्ने पर्याप्त आधार थिए । पाँच वर्षको उमेरमा मेरा बुबाको देहान्त भएको थियो । घरको आर्थिक स्थिति ठीक थिएन,’ विगत सम्झिँदै उनी भन्छन्, ‘तैपनि मभित्र अलिकति चेतना थियो । मेरो मस्तिष्कमा उत्सुकताको एउटा यस्तो किरो पसिसकेको थियो जसले मलाई चेतनाको विशाल क्षितिजतिर डो¥याइरह्यो । असल मानिससँग सङ्गत गर्न सिकायो । त्यसैको परिणामस्वरूप किशोर नेपाल लेखक र पत्रकारको अवतारमा देखापर्न सक्यो ।’

उसबेला बत्तीसपुतली एउटा सानो गाउँ थियो । इतिहासशिरोमणि बाबुराम आचार्य बस्ने यस गाउँमा पछि त पूर्वसभामुख दमननाथ ढुङ्गानादेखि अन्य व्यक्तिहरूको बसोबास भयो । स्थानीय स्कुलका शिक्षक दमननाथ सामाजिक–राजनीतिक अभियन्ताका रूपमा परिचित थिए । साथै उनी पत्रकारिता पनि गर्थे । किशोर नेपालको प्रारम्भिक शिक्षाको सुरुआत दमननाथले पढाउने स्कुलमै भयो । दमननाथका बुबा केदारनाथसँग उनले अङ्ग्रेजी र गणित सिके । धुरन्धर विद्वान् रोहिणीप्रसाद भट्टराईसँग संस्कृत पढ्ने मौका पाए ।

यी सङ्गतले उनमा पढाइ र लेखाइप्रति हुटहुटी मात्रै जगाइदिएन, चेतनाका बीज पनि उमारिदियो । फलतः उनी राजनीतिक परिवर्तन, प्रजातन्त्र र जनताका अधिकारप्राप्तिका लागि जागरूक बने । उनले चाबहिलको पशुपति हाइस्कुल र रानीपोखरीछेउको दरबार हाइस्कुलबाट विद्यालयीय शिक्षा पूरा गरे । त्यसपछि उनका लागि जीवनका लक्ष्य प्रस्ट हुँदै गए । प्रबुद्ध व्यक्तिहरूबाट उनले मार्गदर्शन पाउँदै गए । समयक्रममा उनले स्नातकोत्तर तह पनि पूरा गरे ।

प्रजातन्त्र प्राप्तिको लडाइँमा अग्रसर

समाचार र सम्पादकीय लेखुँला, टेलिभिजनमा कार्यक्रम चलाउँला भन्ने कल्पनासम्म उनलाई थिएन । उनी आफूलाई राजनीतिक कार्यकर्ताका रूपमा अघि बढाउन चाहन्थे । स्कुल पढ्दापढ्दै १४ वर्षकै उमेरमा प्रदीप गिरिसँग सङ्गत गर्ने मौका पाए । यही दौरान उनी बीपी कोइरालादेखि गणेशमान सिंहसम्मको सङ्गतमा पुगे । राजनीतिक व्यक्तित्वहरूसँगको सङ्गत र प्रेरणाले उनीभित्र नवीन चेत बढिरहेको थियो भने विद्रोहको आगो पनि सल्किरहेको थियो ।

निर्दलीय पञ्चायती व्यवस्थामा दलीय गतिविधि प्रतिबन्धित थियो । उकुसमुकुसपूर्ण वातावरणमा ठुला–साना दलहरूले गोप्य तवरले विविध राजनीतिक गतिविधि गर्थे । भित्रभित्रै हुर्किरहेको प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सहभागी हुने क्रममा उनी पनि पक्राउ परे । यसैक्रममा भद्रगोल जेलमा १४ दिन प्रदीप गिरिसँग बस्दा उनीभित्रको राजनीतिक चेत विस्तार भयो । त्यतिबेला नेपाल आठ महिनापछि जेलबाट छुटेका थिए ।

मभित्र अलिकति चेतना थियो । मेरो मस्तिष्कमा उत्सुकताको एउटा यस्तो किरो पसिसकेको थियो जसले मलाई चेतनाको विशाल क्षितिजतिर डो¥याइरह्यो । असल मानिससँग सङ्गत गर्न सिकायो । त्यसैको परिणामस्वरूप किशोर नेपाल लेखक र पत्रकारको अवतारमा देखापर्न सक्यो ।

२०२६ सालतिर उनी जनकपुरमा राजनीतिक चेतना विस्तारमा सक्रिय सरोज कोइरालाको सङ्गतमा पुगे । क्रान्तिकारी व्यक्तित्व सरोज कोइरालालाई पञ्चायती सत्ताले २०३० सालमा हत्या गरेपछि उनी जनकपुरबाट काठमाडौँ नै फर्किए । त्यो घटनाले उनलाई विचलित पनि बनायो ।

त्यही समय आसपास एक दिन प्रदीप गिरिले उनलाई भने, ‘किशोर, तँ राजनीतिको मान्छे नै होइनस् । तँ कार्यकर्ता हुने मान्छे होइनस् । तँ अब लेख्ने–पढ्ने काम गर्, पत्रकारिता गर् । कुनै पनि विचार र सिद्धान्तलाई पढ्ने–लेख्ने मान्छेको ज्ञानको खाँचो हुन्छ, त्यो पनि पूरा गर्नुपर्छ । सबैले क्रान्ति गर्ने, जुलुस निकाल्ने, झन्डा बोक्ने काम गर्ने हो भने त फेरि बाँकी काम कसले गर्ने ?’ यस्तै कुरा एक दिन उनीसँग किशुनजी (कृष्णप्रसाद भट्टराई) ले पनि गरे ।

त्यसपछि उनको बाटो पत्रकारितातर्फ मोडियो । पत्रकारिता सुरु गरेको पाँच दशक नाघिसक्दा पनि उनी अझै लेखन कार्यमा सक्रिय छन् ।

पत्रकारितामा पदार्पण

टाइम्स अफ इन्डियाको सह–प्रकाशन दिनमान साप्ताहिकबाट उनको पत्रकारिता यात्रा सुरु भयो । उनले नेपालबाटै दिनमानका लागि लेख्ने गर्थे । सन् १९६७ देखि १९८३ सम्म दिनमानमा काम गर्दा उनको सम्पर्क र सम्बन्ध नेपालको राजनीतिदेखि भारतसम्म फैलियो । उनी पत्रकारका रूपमा स्थापित मात्रै हुँदै गएनन्, पत्रकारिताको शक्ति र सामर्थ्यबारे पनि सुपरिचित बन्दै गए । त्यसयताका ५५ वर्ष उनी पत्रकारिता र साहित्य लेखनमा निरन्तर क्रियाशील छन् । नेपालमा ग्रामीण पत्रकारिताको सुरुवातकर्ताका रूपमा उनी एक समय गोरखापत्रमा ‘हाम्रो गाउँघर’ स्तम्भ चलाउँथे ।

गोरखापत्र दैनिकको प्रधानसम्पादकदेखि नेपाल टेलिभिजनको अध्यक्षसम्म र कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन नेपाल साप्ताहिकदेखि देशान्तर र नयाँ सडक साप्ताहिकसम्मका सम्पादकका रूपमा उनी सक्रिय रहे । नयाँ पुस्ताका निम्ति नयाँ शैलीको पत्रकारिताको बाटो खन्न उनले कान्तिपुर मिडिया ग्रुपको सह–प्रकाशन साप्ताहिकको जग बसाले भने नेपाल रिपब्लिक मिडिया ग्रुपको सह–प्रकाशन शुक्रबारको आधार खने । यसका अलावा अन्य कैयन् पत्रपत्रिका छन्, जहाँ उनी कुनै न कुनै रूपमा जोडिएका थिए । 

विसं २०५४ देखि २०५६ सम्म नेपाल पत्रकार महासङ्घका सभापति रहेका उनी पत्रकारिताको स्तरोन्नति, क्षमता अभिवृद्धि र प्रेस स्वतन्त्रताको आन्दोलनमा पनि जोडिए । २०५४ देखि २०५६ सम्म रहेको नेपाल नेतृत्व कार्यसमितिमा देवेन्द्र गौतम, मेघराज शर्मा, चिरञ्जीवी अर्याल, शिवहरिप्रसाद भट्टराई र कर्णदेव भट्ट उपसभापति रहेका थिए भने महासचिव सुरेश आचार्य, सचिव किशोर श्रेष्ठ र कोषाध्यक्ष कृष्ण केसी थिए । त्यस्तै सदस्यहरूमा झपेन्द्र गैरे, शिव गाउँले, केदार सुवेदी, कुन्दन अर्याल, विष्णु निष्ठुरी, रमण घिमिरे, क्षितिजअरूण श्रेष्ठ, मनोज आचार्य, सुवास ढकाल, जसुदा प्रधान, शोभा गौतम र मधुसुदन वैद्य थिए ।

सन् १९८३ मा अमेरिकाको स्ट्यानफोर्ड युनिभर्सिटीमा छात्रवृत्तिमा पढ्ने अवसर पाएका नेपाल सन् २००४ देखि सेन्टर फर प्रोफेसनल जर्नालिज्म स्टडिजमार्फत पत्रकारिताको अध्ययन–अनुसन्धानमा सक्रिय छन् ।

दशक लामो माओवादी द्वन्द्वमा उनी देशका कुनाकाप्चामा पुगेर द्वन्द्व प्रभावित जनताको आवाज बाहिर ल्याउने काममा लागे । ‘मत–अभिमत’ नामक टेलिभिजन कार्यक्रममार्फत उनले सरकार र विद्रोही पक्षको द्वन्द्वको घानमा आम जनता कसरी पिल्सिरहेका छन् भन्ने सुसूचित गर्ने काम गरे ।

साहित्यिक गतिविधि र कृतिहरू

किशोर नेपाल पत्रकारिताबाहेक साहित्यिक र गैरसाहित्यिक लेखनमा समेत सक्रिय छन् । निर्बन्ध शैलीका निबन्धहरू, समयको पदचाप पछ्याउन सकिने कथा र उपन्यासका कारण समेत उनी चर्चित छन् । जनमतसङ्ग्रहदेखि जनआन्दोलनसम्म र नेपाली पत्रकारिताको विकासक्रम जस्ता नेपाली पत्रकारिताका सङ्घर्ष र घुम्तीहरू बुझाउने पुस्तकमार्फत उनले इतिहास अभिलेखीकरण गरेका छन् ।

सन् १९७८ मा साझा प्रकाशनबाट अर्कै प्रस्तर कथासङ्ग्रह ल्याएका नेपालका चिन्ताका छायाहरू (सन् १९८२) र राक्षसको गीत ( सन् २००६) निबन्धसङ्ग्रह प्रकाशित छन् । उनी निजात्मक अनुभूतिभन्दा पर रहेर समाज, राजनीतिक र समकालीन समयको चित्र उतार्ने कुशल निबन्धकार हुन् । पाताल (सन् २०११) र सहरको कथा ( सन् २०१२ ) उपन्यासहरूका सर्जक नेपालको सन् २०१४ मा आत्मकथा पनि प्रकाशित भयो– मेरो समय, जसमा उनले आफू र आफूले बाँचेको समयलाई उजागर गरेका छन् ।

पत्रकारिताका चुनौती

पत्रकारिता र साहित्य दुवै क्षेत्रमा नवीन प्रयोग र चेत स्थापना गर्न प्रयत्नशील नेपाल जनतासँग साक्षात्कार नगर्ने मानिसले पत्रकारिता गर्नै सक्दैन भन्ने ठान्छन् । उमेरको चढाइमा पनि उनी तन्नेरी पुस्ताका पत्रकार मानिससँग अन्तर्क्रिया र भेटघाट गरिराख्छन्; समाचार, विचार र साहित्य लेखिराख्छन् ।

मिसनबिनाको पत्रकारिताको कुनै अर्थ हुँदैन भन्ने नेपाल हरेक राजनीतिक कालखण्डको पत्रकारितामा फरक–फरक मिसन हुने विश्वास राख्छन् । कहिले पञ्चायतविरूद्ध लड्नु, कहिले प्रजातन्त्र त कहिले शान्ति प्रक्रिया त कहिले लोकतन्त्र स्थापना गर्नु पत्रकारिताको मिसन हुने उनी बताउँछन् ।

बदलिँदो समय अनुसार पत्रकारिता बदलिन नसकेको र पत्रकारहरू समयको गतिभन्दा पछि परेको उनको ठम्याइ छ । उनले विगततिर फर्किंदै सुनाए, ‘हाम्रो जमाना एउटा आदर्शको खोजीमा थियो । स्वतन्त्रता थिएन, लोकतन्त्र थिएन । हामीलाई लेख्न सेन्सरसिप लाग्थ्यो । तर अहिले त्यस्तो छैन र पनि पत्रकारिता जनताबाट टाढिन थालेको छ । हामीले हिजोको बन्द समाजलाई जसरी अगाडि बढाएका थियौं, त्यसरी नै खुला समाजलाई पनि निर्देश गर्न सक्नुपर्छ ।’

(नेपाल पत्रकार महासङ्घले आफ्नो ६९औँ स्थापना दिवस मनाएको छ । सङ्घका रुपमा २०१२ चैत १६ गते स्थापना भएको नेपाली पत्रकारहरुको साझा संस्थालाई महासङ्घका रुपमा तत्कालीन सभापति हरिहर विरही (२०५२–५४)को कार्यकालमा अगाडि बढाउने निर्णय भएको थियो । महासङ्घको पहिलो निर्वाचित अध्यक्ष भने पत्रकार किशोर नेपाल (२०५४–५६) बनेका थिए । वरिष्ठ पत्रकार नेपालको पत्रकारिता यात्राबारे प्रतिष्ठान प्रदेश, नेपाल पत्रकार महासङ्घले प्रकाशन गरेको पुस्तक ‘अग्र अनुहार’मा केशव बोहोराले लेखेका छन् । सोही लेखलाई हामीले प्रकाशन गरेका हौँ ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप