बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : विश्व नेवा: दिवस

नेवार शब्द र नेवार समुदायको उत्पत्ति कसरी भयो ?

शनिबार, १७ चैत २०८०, ०९ : ५०
शनिबार, १७ चैत २०८०

विश्व नेवा सङ्गठनले आज (मार्च ३० मा) विश्व नेवा: दिवस मनाइरहेको छ । विश्वभरि छरिएर रहेका नेवार समुदायका सदस्यलाई एकत्रित गर्ने र आफ्नो संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘विश्व नेवाः अर्गनाइजेसन’ले सन् २०१८ देखि हरेक मार्चको अन्तिम शनिबार यो दिवस मनाउँदै आएको छ । 

यस आलेखमा हामी नेवार समुदायको उत्पत्ति इतिहासतिर फर्कने चेष्टा गर्नेछौँ । 

  • नेवार शब्द र नेवार समुदायको उत्पत्ति

नेवार शब्दलाई लिएर इतिहासकारहरूले विविध परिभाषा र आकलन गरेका छन् । २०४० सालमा प्रकाशित पुस्तक ‘नेपाल निरुक्त’मा इतिहासकार ज्ञानमणि नेपाल विभिन्न स्रोत उद्धृत गर्दै लेख्छन्, ‘नेपाल वा नैपालबाट नेवाल नेवार भएको भन्नेमा कुनै शङ्का छैन । नेवार शब्दले कुनै जाति विशेषलाई मात्र नबुझाएर समस्त देशवासीलाई बुझाएको हो । यस वर्गमा चार वर्ण छत्तीसै जातका मानिस परेका छन् ।’ 

उनले करिब आठ सय वर्षअघि लेखिएको एक पद्यमा नेपालवासीलाई णिवाला (निवार) भनिएको उल्लेख गरेका छन् । 

२०३५ सालमा प्रकाशित डा. जगदीशचन्द्र रेग्मीको पुस्तक ‘नेवारी संस्कृतिको रूपरेखा’मा उल्लेख छ, ‘‘किरातवर्गीय नेवारी भाषा बोल्ने एउटा कुनै पुरानो किराती जाति यो नेवार समुदायको मूल रहेको देखिन्छ । ...उपत्यकाबाहिरका मानिसले उपत्यकाभित्रका बासिन्दालाई ‘नेपाल’ वा ‘नेवार’ नाम दिए भन्ने बुझिन्छ । ‘नेपाल’हरूको भाषा भन्ने अर्थमा ‘नेपाल’ (नेपाली) र ‘नेवार’ शब्दको प्रयोग भएको पाइन्छ । जातिवाचक नेवार नाम देश वा राष्ट्रवाचक नेपाल नामकै व्यावहारिक रूप हो भन्ने कुरा स्पष्टै छ ।’’ 

रेग्मीका अनुसार नेपाल उपत्यका, उपत्यकाबाट बाहिर छरिन गएका, वा त्यसको सांस्कृतिक प्रभावमा रहेकाहरूबिच तिब्बत–बर्मी खलकको भाषा लोकप्रिय थियो । ‘मध्यकाल (ईश्वीको चौधौँ शताब्दी)तिर त्यसलाई नेपालभाषा भन्न थालिएको देखिन्छ । त्यस्तो भाषा जुन जुन वर्गले आफ्नो मातृभाषा स्विकार्दै आए ति–तिनले नै नेवार समाजको संरचना गरेका छन्,’ रेग्मीले लेखेका छन्, ‘अर्थात् उक्त भाषा मङ्गोलायड खलकको भए पनि यसको क्रमशः उपयोग बढाउँदै जाने आर्य–वर्गका सन्तान नै आजसम्म अधिसंख्य नेवारका रूपमा रहेका छन् ।’

नेवार समुदायमा हिन्दु वर्ण व्यवस्थाअनुरूप चारै वर्ण छन् । चाँगुनारायणस्थानको मानदेवको अभिलेख अनुसार, काठमाडौँ उपत्यकामा लिच्छविकालदेखि हिन्दु वर्ण व्यवस्था अन्तर्गतका चार वर्ण र १८ जात रहेको पाइन्छ । त्यतिबेला ब्राह्मणलगायत चाण्डाल (शूद्रको एक भेद)सम्मको बसोबास यहाँ थियो, (धनवज्र वज्राचार्यको पुस्तक ‘लिच्छविकालका अभिलेख’) । 

नेपाल उपत्यकामा मानव वस्तीको विकास गर्ने गोपाली र महिषपालहरू (नेपाल भाषामा क्रमशः सापु र मेःपु भनिने) नै वर्तमान नेवार समुदायका आदिम पुर्खाहरू हुन् । किराती शासक आएपछि गोपाली र महिषपालीहरूका सन्तान ज्यापू तथा महर्जन वर्गमा समाहित हुन पुगे ।

रेग्मीका अनुसार, किरात र लिच्छविकालदेखि नेपालका ठाउँ–ठाउँमा र उपत्यकामा बाहुनहरू धेरै संख्यामा थिए । मध्यकालसम्म ती पुराना बाहुन या त खतमै भए वा तलका जातमा झरे भन्ने अनुमान गर्न सकिन्छ । मध्यकालतिर कान्यकुब्ज वर्गका अनेक थरी बाहुनहरू उपत्यकामा भित्रिएका थिए— उपाध्याय, झा, मिश्र, सीमित संख्यामा पञ्चद्रविड वर्गका भट्ट बाहुनहरू आदि । यी चार थरका बाहुनमध्ये केहीले नेवार संस्कृति लिएकाले यिनलाई नेवार समाजका बाहुन (राजोपाध्याय, देओभाजु, देओ ब्रम्हु आदि सम्मानवाचक पदवी प्रयुक्त भई) मानिन्छ ।

२०७४ सालमा प्रकाशित डा. तुलसी नारायण श्रेष्ठको पुस्तक ‘नेपालका नेवारहरू ः पहिचान र पृष्ठभूमि’ अनुसार, मध्यकालीन नेवार समाजमा चक्रवर्ती, भट्टाचार्य र राय थर भएका केही बङ्गाली ब्राह्मण पनि थिए । यी बङ्गाली ब्राह्मणहरू पनि नेवार समाजमा पूर्ण रूपले विलीन भइसकेका छन् । उनीहरूले सायद राजोपाध्याय थर नै प्रयोग गरी आफ्नो मौलिक पहिचान गुमाइसकेको आभास पाइन्छ । 

नेवार समुदायका श्रेष्ठ थरधारीहरू क्षत्रीअन्तर्गत मानिएको छ । १९९३ सालमा जुद्धशमशेरले द्यौभाजु ब्राह्मण र श्रेष्ठको थिति बाँधेका थिए । जसमा श्रेष्ठलाई क्षत्री भनिएको छ । त्यतिबेला सामाजिक कर्मकाण्ड गर्दा द्यौभाजु र श्रेष्ठबिच देखासिखी र तडकभडक खुब चलेको थियो, जसले समाजका कतिपयलाई मर्का पारेको थियो । आफूलाई शक्तिशाली र ठुलो प्रमाणित गर्न पनि देखासिखी र तडकभडक बढेको हुन सक्छ । 

जुद्धशमशेरको इस्तिहार बोल्छ, ‘ब्राह्मण द्यौभाजु क्षेत्री श्रेष्ठ जातहरू जातपिछे १०÷८ जनालाई कौसलमा राखी छलफल गर्दा आफ्ना–आफ्ना जातमा गर्नु चलाउनु पर्ने देखासिखिले भडक बढाई आएका तपसीलका कुरामा तपसील बमोजिम छोट्याई किफायत गरी गर्ने भएमा पनि कर्मकाण्डमा नछुट्ने अरु साबिकै गरी चलिआए बमोजिम गरे हुने... ।’

यस इस्तिहारमा द्यौभाजु र श्रेष्ठले खासगरी कर्मकाण्डहरूमा कति सगुन प्रयोग गर्ने भनी तोकिएको छ । जस्तो : श्रेष्ठ जातको हकमा इस्तिहार बोल्छ, ‘छोरीबेटीको गर्भ रहँदा पैलापटक मात्र माइत घरबाट दही च्युरा खुवाउन लैजानेमा दही १ च्युरापाथी १ रोटी मोरु १ फलफुल किस्ती १ सम्म लैजाने गर्नु सोभन्दा बढी लैजान पठाउन हुँदैन... ।’ 

रेग्मीका अनुसार, नेवार समुदायमा क्षत्रिय वर्ग वा सोबाट बनेका जात वा थरहरूको संख्या थुप्रै छन् । ‘भाषा वंशावलि’ (देवीप्रसाद लम्साल सम्पादित, द्वितीय भाग, नेपाल राष्ट्रिय पुस्तकालय) अनुसार, ईस्वीको चौधौँ शताब्दीतिर जयस्थिति मल्लले आफ्नो राज्यमा जातीय व्यवस्था गरेका थिए, जसमा विभिन्न ७२५ थर ठह¥याइएको छ । 

‘सूर्यवंशी लिच्छवि, देव (?), मल्ल जस्ता प्रख्यात राजखलक र अनेक राजपुत (सोलकी, राठोर आदि) खलकहरू नेवार समुदायमा सम्मिलित भएका छन्,’ रेग्मी लेख्छन्, ‘अनेक तहका ‘श्रेष्ठ’को अस्तित्व मान्नुपर्ने देखिएको छ । व्यवहारमा पनि ‘६ थरे श्रेष्ठ’ र ‘पाँच थरे श्रेष्ठ’ तहको अस्तित्व मानिएको देखिन्छ ।’ 

रेग्मीका अनुसार, ६ थरे श्रेष्ठका मुख्य थर (अमात्य, प्रधान, मास्के, भण्डिल, जोशी, अचाजु) मानिएका छन् । ‘श्रेष्ठ थरको विस्तृत ऐतिहासिक अध्ययन भएमा बडो रमाइलो सामाजिक इतिहास तयार हुने तथ्य देखिन्छ,’ उनले लेखेका छन् । 

२०३५ सालसम्म ‘श्रेष्ठ’ र ‘श्रेष्ट’ गरी दुई किसिमले थर लेख्नेहरू थिए । श्रेष्ठ शब्दको सम्बन्ध शिष्टसँग रहेको देखिन्छ । 

नेवारमा शूद्र र अस्पृश्य वर्ग समेत रहेका छन् । रेग्मीका अनुसार, नेवार समाजको सबभन्दा तल्लो तहमा अस्पृश्य वर्ग (कुसले, कुलू, पोडे र च्यामे तथा हाराहुरु) पर्छन् । ‘यीमध्ये कुसले र पोडे केही अज्ञात कारणले गर्दा माथिको कुनै तहबाट झरेका हुन जस्तो लाग्छ,’ उनी लेख्छन्, ‘नाथ सम्प्रदायका अनुयायी कुसले किन अस्पृश्य हुन गए भन्ने कुराको ऐतिहासिक विश्लेषण हुनु जरुरी छ ।’ 

‘नेपाल उपत्यकामा मानव वस्तीको विकास गर्ने गोपाली र महिषपालहरू (नेपाल भाषामा क्रमशः सापु र मेःपु भनिने) नै वर्तमान नेवार समुदायका आदिम पुर्खाहरू हुन् ।

शास्त्रीय सिद्धान्तअनुसार शूद्र पनि सत् र असत् गरी दुई प्रकारका छन् । ज्यापूहरूलाई सत् शूद्रमा राख्नुपर्ने रेग्मीको मत छ । ‘अबाल, कुमाले, कसाई सम्भवतः असत् (अलि कमसल) शूद्रमा पर्दछन्,’ रेग्मीले लेखेका छन्, ‘ज्यापूहरू ऐतिहासिक कालका शासक क्षत्रिय खलक र राजपूतहरू पनि होचिएर रहेका छन् जस्तो लाग्छ ।’

काठमाडौँ उपत्यकामा हिन्दुहरूको प्रवेशसँगै वर्ण व्यवस्थाले प्रश्रय पाउन थाल्यो । वर्ण व्यवस्थाका प्रमुख आधार हुन्— भोजनको नियम (कुन वर्णले के खाने के नखाने), विवाहको नियम (वर्णमै विवाह गर्दा वर्ण च्युत हुनुनपर्ने; कुन वर्णले कुन वर्णसँग विवाह वा संसर्ग गरी जन्मेको सन्तानको कुन वर्णसङ्कर हुने भन्ने नियम) र पेसाको नियम (कुन वर्णले कुन पेसा गर्ने) । यी नियममा आधारित कानुन नै बनाइएको र समय क्रमसँगै पेसाहरू पनि थपिँदै गएकाले हिन्दु र हिन्दु रहेको अन्य समाजमा पनि विभिन्न जात जन्मँदै गए । त्यसमाथि सधैँ शासनको केन्द्र रहेको काठमाडौँ उपत्यकामा शासकले जात चढाउने र खसाल्ने उपक्रम चलिरह्यो । वीरशमशेरले ‘कौ’ जात (नेवारभित्रको पानी नचल्ने जात)लाई पानी चल्ने गराएका थिए । कारण उनकी कान्छी महारानी कौ जातकी थिइन्, (राजेश गौतमको पुस्तक ‘राणाकालीन नेपालको एक झलक’) ।

जात खस्ने प्रवृत्तिको कुरा गर्दा— योगनरेन्द्र मल्लको पालामा गुणी ओझाले सुँगुरको माला लाए, श्याम ओझा गङ्गाधर ओझालाई देश निकाला भयो भन्ने उल्लेख छ, (धनवज्र बज्राचार्यको पुस्तक मध्यकालका अभिलेख) । सुँगुरको पाठो भिराउनु भनेकै जात खसाल्नु हो । 

राणाकालसम्म नेवार समुदायमा पारपाचुके व्यापक रूपमा थियो । सन् १८५३ को मुलुकी ऐन (सुरेन्द्र विक्रम शाहका पालामा बनेको) मा ‘पाचुके गन्र्या’ शीर्षकमा ९ दफा रहेका छन् । यो ऐन पारपाचुके रोक्नका लागि ल्याइएको थियो । त्यतिबेला नेवार स्त्रीले लोग्नेको सिरानीमुनि सुपारी राखे सम्बन्धविच्छेद हुन्थ्यो । सो मुलुकी ऐनको पहिलो महलमा भनिएको छ, ‘नेवार जातका स्वास्निलाई लोग्न्याले षान लाउन दिँदा दिँदै र सौतार हालि घरबाट निकालि वा राजकाजले देस पर्देस टाढा जान्याका स्वास्निको वा अ‍ैनले पाचुके नहुन्या अरु कुरामा पाचुके गराइ देउ भनि अदालत ठाना अमालमा भन्न आया सुपारि फर्काइ पाचुके जान पाउदिन. कसैले एस्तामा पाचुके गराया भन्या पाचुके गरि दिन्यालाई जौन जातका स्वास्निको पाचुके गरिदियाको छ उसै जातकालाई लेष्याका विहा षर्चका ३ षंडको १ षंड दंड गरि लोग्न्याका सपुर्त गरिदिनु. स्वास्निले छाडि जान पाउँदिन ।’ 

यसले यो सङ्केत गर्छ कि स्त्रीलाई पारपाचुके गराउने कोही मध्यस्थकर्ता हुन्थ्यो; अथवा जसले पारपाचुके गराएको हो, उसैले पछि ती स्त्रीलाई विवाह गथ्र्यो । यस्तो विवाहबाट कुनै कथित सानो वा ठुलो थर जन्मायो कि जन्माएन यो पनि अनुसन्धानको विषय छ ।

  • कहाँबाट आए ?

डा. तुलसी नारायण श्रेष्ठको उपर्युक्त पुस्तक अनुसार, नेवार समुदायको बनावटलाई बुझ्नका लागि आदिम पुर्खाहरू, किरात नेवार तथा नेपारहरू, लिच्छविहरू, बैश ठकुरी र थकुजुजुहरू, मल्ल सिंहहरूलाई आधार मानी अध्ययन गर्नुपर्ने हुन्छ । 

‘नेपाल उपत्यकामा मानव वस्तीको विकास गर्ने गोपाली र महिषपालहरू (नेपाल भाषामा क्रमशः सापु र मेःपु भनिने) नै वर्तमान नेवार समुदायका आदिम पुर्खाहरू हुन् । ...किराती शासक आएपछि गोपाली र महिषपालीहरूका सन्तान ज्यापू तथा महर्जन वर्गमा समाहित हुन पुगे । नेपाल उपत्यकाबाहिर सुनकोशीको किनारसम्म किरात नेवारहरूको बस्ती फैलिएको थियो,’ डा. श्रेष्ठले विभिन्न स्रोत उद्धृत गर्दै लेखेका छन्, ‘लिच्छविहरूले बहुसंख्यामा रहेका स्थानीय किरात नेवार वा नेपारहरूको भाषा बोल्न र उनीहरूको संस्कृतिलाई अपनाउन बाध्य भएका थिए ।’

नेवारहरू भारततिरबाट आए भन्ने भनाइहरू पनि छन् । श्रेष्ठको पुस्तक अनुसार, नेवारहरू दक्षिण भारतको मालवा समुद्री किनारामा अवस्थित नायर भन्ने स्थानबाट नेपाल उपत्यका आएको र नायर भन्ने स्थानवाचक शब्दको अपभ्रंश भई नेवार शब्द बनेको भनाइ पनि छ । यस्तै, नेवारहरू (विशेषतः हिन्दु वर्ग) राजस्थानको निवाड भन्ने स्थानबाट आएको र कर्णाटक वंशी नान्यदेव यिनीहरूको पुख्र्यौली पुरुष हो भन्ने विचार पनि व्यक्त भएको छ । 

डा. श्रेष्ठले डिल्लीरमण रेग्मीको मतको समेत सहारा लिँदै नेवार समुदायलाई ‘राष्ट्र’ भनेका छन् । उनका अनुसार, नेवार समुदायमा राष्ट्र कहलिनका लागि आवश्यक तत्त्व (साझा पुख्र्यौली भूमि, साझा भाषा, साझा आर्थिक सम्बन्ध, साझा संस्कृति र साझा मनोवैज्ञानिक भावना) विद्यमान छ । ‘नेपाल मण्डल भनिएको नेपाल उपत्यका र वरपरका क्षेत्रहरू नेवार समुदायको साझा पुख्र्यौली भूमि हो । नेपालभाषा नेवारहरूको आफ्नो साझा मातृभाषा हो,’ डा. श्रेष्ठले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप