बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
कला

जसले सानो चित्र राजा महेन्द्रलाई देखाएपछि छात्रवृत्ति पाए

शनिबार, १७ चैत २०८०, १८ : ५३
शनिबार, १७ चैत २०८०

८० नाघेका पाका कलाकार विजय थापा (जन्म : सन् १९४३) अझै चित्र बनाउन अभ्यस्त छन् । कहिलेकाहीँ कलाका औपचारिक कार्यक्रममा पनि झुल्कन्छन् । हामीबिच चिनजान निकै पुरानो हो, झन्डै चार दशक पुरानो । यही पुरानो चिनजानका कारण अहिले पनि उनी बेलाबेला मलाई भेट्न आउँछन् । 

दुई साताअघि उनी मलाई भेट्न मेरो घरमै आएका थिए । भेटमा हामीबिच सधैँझैँ कलाबारे कुराकानी हुन्छन् । यसपालि उनले स्मार्ट फोनमा आफ्ना केही काम देखाए । पछिल्लो समयका उनका अमूर्त कला केही पृथक् छन्, जसले भावकलाई तरंगित गर्ने सामथ्र्य राख्छन् । मैले सोधेँ— चित्रहरु थोरै नयाँ देखिनुको केही राज छ कि ? 

‘आँखा बेसरी चिम्म गरी, केही न केही नयाँ बनाउँछु भनेर बनाएका कला हुन् यी । केही नयाँ बन्न सक्यो सकेन थाहा छैन । यद्यपि केही न केही पुरानो कलागत शैली आइहाल्दो रहेछ,’ उनले भने ।

सन् २०१० मा उनको एकल कला प्रदर्शनी भएको थियो, त्यति बेलाको शैलीकै निरन्तरता र केही फरकपन उनका यतिबेलाका कलामा देखिन्छन् । सन् २०१० मा उनले बनाएका बढीजसो चित्र ठोस, दृढ अनि स्थिर थिए; अहिले बढी मात्रामा लयात्मकता र ‘स्मुथनेस’ समावेश हुन गएको देखिन्छ । यसैमाथि आकार र आकारविहीनताको द्वन्द्वलाई रङमार्फत उद्घोष गर्ने प्रक्रिया उनका यसपालिका चित्रमा देखिन्छन् । 

FB_IMG_1711002118130

साहित्यिक पत्रिकामा छापिने कथा–कविताको भाव मिल्ने स–साना स्केच यसअघि उनले थुप्रै बनाइसकेका छन् । अधिकांश आकारमूलक यस्ता स–साना रेखाङ्कनमा पनि यथेष्ट भाव देखिन्छ । रेखाहरू पावरफुल नै देखिन्छन् । यी स–साना स्केच पनि मिहिनेत, समय लगाएरै बनाएको देखिन्छ । यसले उनको कलामाथिको लगनशीलता र दृढता देखाउँछ । 

पछिल्लो समय उनले विभिन्न प्रतीक र विम्बलाई जोडेर अनेकानेक आकृति वा रेखाङ्कन निर्माण गरेका छन्; त्यसमाथि अमूर्ततालाई घुसाएका छन् । उनी यथार्थवादी व्यक्तिचित्र बनाउने अब्बल कलाकारका रूपमा मानिन्छन् । ‘स्केची टेक्निक’मा अलि बढी विश्वास गर्ने भएकाले व्यावसायिक कलाकारले जस्तो चिल्लो गरी बनाइने व्यक्तिचित्र बनाउन उनलाई मन पर्दैन ।

प्रधानमन्त्रीको कार्यालयमा उनले नेपालका प्रधानमन्त्रीहरूको व्यक्तिचित्र बनाएका छन् । शीतलनिवासमा राष्ट्रपतिका पनि चित्र बनाएका छन् । उनका चित्रमा अमूर्तताभित्र पनि यथार्थता देखिन्छ, जुन उनको कलागत स्वभाव बनेको छ । अलि गहिरिएर अवलोकन गर्दा पछिल्लो समयका उनका नितान्त अमूर्त चित्रमा तुलिकाघातका द्रूत गतिका डोब अनि निर्धक्क बगेका गतिपूर्ण आवेग देखिन्छन् । अझ बढी कोमलता र नरम समधर्मी रङको प्रयोग उनका पछिल्ला चित्रमा देखिन्छ । 

उनकै अलि पहिलाको एउटा चित्र छ, जसमा पे्रमिकाको काखमा प्रेमी मस्त भएर ढल्केको अवस्था देखिन्छ । अमूर्ततातिर उन्मुख यो चित्रमा ‘कन्ट्रास्ट कलर स्किम’ थोरै अलग्ग पाराले संयोजन गरेको देखिन्छ । प्रेमिकाको मुख चहकिलो रातो छ; रातो वरिपरि पनि रातो मात्र देखिँदा देखिँदै चित्रपटको पृष्ठभूमिमा नीलो भई अगाडि बढ्दा एक किसिमको अद्भुतपन आएको आभास हुन्छ । उनले धेरै अघिदेखि यस्तो अभ्यास गर्दै आएका छन्, जसकारण उनका चित्रमा रङ–रेखाहरू बलियो भएर उभिएको भान हुन्छ । 

पछिल्ला चित्रमा गाढा हरियो र निक्खर सेतो रङको प्रयोग गरी उनले अमूर्त विम्बहरू सिर्जना गरेका छन्, जसकारण उनको कलागत संयोजन लोभलाग्दो बन्न पुगेको देखिन्छ । उनको एउटा चित्र नीलो–हरियो कोमल पहाड र चट्टानजस्तै लाग्छ, बिचोबिच बगेका सेता नदीले अर्कै आकर्षण पैदा गर्छन् । यसमाथि बिचको भाग रातो रङसँगै कालो, हल्का निलो र हरियो र रङ परेको छ, जसले चित्रलाई आकर्षक बनाएको छ । रङहरूसँग खेली बस्दा अनायासै तर एउटा लक्ष्यका साथ जन्मेका उनका चित्रहरू मनमोहक छन् । खँदिलो तर नरम देखिने रङको प्रयोग उनको पहिचान र विशेषता बनेको देखिन्छ । 

उनका पछिल्ला चित्रमा सरल, सहज र ‘कलर कन्ट्रास्ट’को चलखेल अझ बढी मात्रामा देखिन्छ । समतलीय प्रभावलाई गाढा बनाउँदै आकारभित्रको आकार विहीनतालाई उजिल्याउने उनको मुख्य विशेषता हो ।

समतलीय प्रभावसँगै बिचबिचमा निक्खर रातो रङ र यसैको सन्तुलनमा सेतो रङ आउँदा चित्रले आकर्षण रुप धारण गरेको छ । उनको चित्रपटमा रङहरूले आपसमा द्वन्द्व गर्दैनन् । यसरी मिलेर बसेका रङहरू अनेक प्रकृतिमा भए पनि एउटा गजबको रङ–संगति (हार्मोनी) सिर्जना भएको देखिन्छ । रातो, नीलो, बैजनी अनि सेता–काला रङबिच फैलिएको सद्भाव नै उनका चित्रको शक्ति बनेको छ । 

  • बनारसमा कला अध्ययन र नेपालमा प्रदर्शन

सन् १९४३ मा नवलपरासीमा जन्मेका थापाले भारतको इलाहावादबाट म्याट्रिक र इन्टरमिडियट गरेका थिए; कलाको अध्ययन गर्ने मेरो मिलेको थिएन । यही बेला उनको भेट तत्कालीन राजा महेन्द्रसँग भयो । महेन्द्रकै सल्लाह र सुझावमा उनले कला अध्ययन गरे । 

सन् १९५८ मा उनले बनारस हिन्दु युनिभर्सिटी (बीएचयू)मा कला सङ्कायमा भर्ना हुने अवसर पाए । चारवर्षे सिनिएर डिप्लोमा गरी सन् १९६२ मा काठमाडौँ आएर थोरै समय कलामा सक्रिय भए । यसै बेला (२०१९ साउन ९ गते) उनको पहिलो एकल कला प्रदर्शनी भयो । त्यसपछि २०२० सालतिर पोखरा र धरानमा पनि आफ्ना सहपाठीका कलाकृतिसहित उनले आफ्ना कलाको प्रदर्शन गरे । यसपछि पुनः उनी थप कला अध्ययन गर्न बीएचयु नै गए अनि बीएफए गरी सन् १९६५ तिर नेपाल फर्के । त्यति बेला उनले ‘कस्तो छ तिमीलाई’, ‘एम्बिसियस’, ‘साँझको घाम’ आदि शीर्षकमा भावनात्मक चित्र बनाए । 

FB_IMG_1711002120427 (1)

नेपाल ललित कला संस्थाको कार्यकारी पद सम्हालेका  बेला २०२७ सालतिर उनको प्रधान सम्पादकत्वमा ‘कलाकार’ नामक ललितकला विषयक त्रैमासिक पत्रिका निस्केको थियो । त्यसपछि उनी नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सभासद् बने । त्यही बेला उनको प्रधानसम्पादकत्वमा ‘आकृति’ नामक कला पत्रिका निस्केको थियो । अन्य कलाकारभन्दा अलि फरक सोच राख्ने उनी कला लेखनमा पनि चासो राख्छन् ।

रङहरुमार्फत क्यानभासमा भाव र संवेदना पोख्न सक्ने थापाका कलामा कल्पनाको पराकाष्ठा पाइन्छ । माया–प्रेम, प्रेमालापमा हराएका जोडी उनका चित्रमा आउँछन् । नेपाली समसामयिक कलामा उदाउँदै गरेका किशोरावस्थाका उनले आफूभन्दा निकै पाका कलाकारमाझ मिलेर काम गर्न पाएका थिए । अर्थात् सानै उमेरमा उनलाई नेपाली कलाको मूल धारमा प्रवेश हुन अनुकूल जुरेको थियो । कलाविद् तथा निबन्धकार नारायणबहादुर सिंंहले ५३ वर्षअघि (२०२७ सालमा) ‘नेपाली चित्रकार’ नामक पुस्तक निकाले; समसामयिक नेपाली चित्रकला विषयमा यो पहिलो पुस्तक हो । तत्कालीन २० समसामयिक कलाकार समेटिएको यस पुस्तकमा विजय पनि परेका छन् । करिब ६५ वर्षअघि अर्थात् १७ वर्षको उमेरमा ‘एम्बिसियस’ अर्थात् ‘महत्त्वाकाङ्क्षी’ शीर्षकको अमूर्त चित्र कोरेका थापा २८ वर्षकै उमेरमा देशका २० कलाकारभित्र पर्नु ठुलो कुरा हो ।

आज नेपाली कलामा अमूर्तन प्रवृत्ति झन्डै हराइसकेको अवस्था छ; यस्तो बेला थोरै अलग्ग अनि आफ्नै पाराको कलागत संयोजन, कलर–स्किमलाई उनले पस्कने गरेका छन्; त्यस कारण भावकले अलग स्वाद पाउनु निर्विवाद छ । 

उनले सन् १९६२/६३ तिर गरेको एकल कला प्रदर्शनी पनि ऐतिहासिक नै बन्यो । किनकि नेपालको समसामयिक कलाको इतिहासमा सन् १९६२–६३ तिर चारवटा महत्त्वपूर्ण एकल कला प्रदर्शनी भए— उत्तम नेपाली, लैनसिंह बाङ्देल, उर्मिला उपाध्याय अनि विजय थापाको । यी एकल कला प्रदर्शनीमा अलग–अलग कलागत शैली देखापरेका छन् । लखनउमा पढेका उत्तम, युरोपमा पढेका लैनसिंह, मुम्बईमा पढेकी उर्मिला र बनारसमा पढेका विजय एकैपटक नेपालमा देखापर्दा कलाको माहोल नै बनेको थियो; जसले नेपालमा आधुनिक कलाको जग हालेको थियो । 

यसै बेलादेखि देशबाहिर कलाको अध्ययन गर्न जानेको सङ्ख्या ह्वात्त बढेर गयो । पढेर फर्कनेबित्तिकै आ–आफ्नो एकल कला प्रदर्शनी गरिहाल्नु परम्पराजस्तै बनेको थियो, जसले आधुनिक कलाको विकास र प्रवद्र्धनमा टेवा पु¥यायो । कलाको व्याख्या–विश्लेषण परम्परा पनि त्यति बेलादेखि सुरु भएको हो । यसै बेलादेखि नेपाली आधुनिक कलाका अनेकौँ शैली र वाद देखिँदै गए; नेपालमा आधुनिक कलाको एउटा गजबको लहर फैलिँदै गयो । 

१६ वर्षको उमेरमा राजा महेन्द्रलाई चित्र देखाएपछि 

पछिल्ला केही भेटमा नेपाली कला गतिविधिसँग सम्बन्धित धेरै कुरा धेरै कुरा उनले मलाई सुनाएका छन्; जुन कुरा अभिलेख हुन सकेका छैन । 

२०१५ सालतिर  (जतिबेला उनी १६ वर्षका थिए) उनको भेट राजा महेन्द्रसँग  भएको थियो । भेटघाटमा उनले आफ्नो सानो चित्र राजालाई देखाए । त्यसपछि उनले छात्रवृत्ति पाए । त्यतिबेला उनी बीएचयूमा चित्रकलाको जुनिएर डिप्लोमामा भर्ना भएका थिए । त्यस बेला दुई–दुई वर्षको जुनियर र सिनियर डिप्लोमा हुन्थ्यो । त्यसपछि दुई वर्ष पढेपछि बीएफएको डिग्री लिन सकिन्थ्यो । 

FB_IMG_1711002093321

त्यसबखत उनले मासिक भारु एक सय २० रुपैयाँ पाउँथे । त्यो पैसा लिन काठमाडौँको भद्रकाली आउनुपथ्र्यो । यसैका लागि पनि उनी नवलपरासीबाट काठमाडौँ आइरहनुपथ्र्यो । यसै बेला अर्थात् सन्  १९५७ तिर काठमाडौँमा कलाकार चन्द्रमान सिंह मास्केसँग उनको भेट भयो । मास्केले आयोजना गरेको कला प्रदर्शनीमा समेत उनले भाग लिन पाएका थिए । 

त्यसबेला अहिलेजस्तो सजिलै कला प्रदर्शनी हँुदैनथ्यो । विजय झोलामा चित्र बोकेर हिँड्थे । एकपटकको भेटमा मास्केले उनलाई भनेछन्— खै त तिम्रा चित्र हेरौँ ! विजयले तुरन्तै झोलाबाट साना चित्र निकालेर मास्केलाई देखाए । 

त्यतिबेला उनले आफ्ना नौवटा चित्र प्रदर्शनीमा राख्न पाएका थिए— ‘उज्ज्वल तारा’, ‘दियोमुनि अँध्यारो’ लगायत शीर्षकका । ‘दियोमुनि अँध्यारो’ चित्रबारे उनीसँग राजा महेन्द्रले चासो राखेका रहेछन् । आफूले राजा महेन्द्रका लागि आफ्नो चित्रबारे व्याख्या गरिदिएको उनी सुनाउँछन् । 

उनका अनुसार, त्यतिबेला वसन्तपुरस्थित भारतीय सांस्कृतिक केन्द्रले पुस्तकालय खोलेको थियो; त्यहीँ रहेको ठुलो कक्षमा कला प्रदर्शनी हुने गथ्र्यो । सन् १९६१–६२ तिर ‘स्क्वायर एक्जिबिसन’का नाममा एउटा अर्को पनि समूह कला प्रदर्शनी भयो; जहाँ तेजबहादुर चित्रकार, कालीदास श्रेष्ठ, अमर चित्रकार उर्मिला उपाध्यायका चित्र प्रदर्शित भएका थिए । पछि सन् १९५९ तिर उर्मिला उपाध्यायको आधुनिक कलाको पहिलो एकल कला प्रदर्शनी पनि यहीँ भएको थियो । हालसम्मको प्राप्त अभिलेख अनुसार, उर्मिलाको प्रदर्शनी नै आधुनिककलाको पहिलो एकल कला प्रदर्शनी हो । 

‘मैले राजा वीरेन्द्र, डा. तुलसी गिरी, शैलेन्द्रकुमार उपाध्याय आदिलाई कला सिकाएको छु,’ विजय पुराना कुरा सुनाउँछन् । त्यसको केही समयपछि उनी ललितकला विद्यालयमा प्राध्यापक भए । ‘म त चित्रकलाको मान्छे तर ललितकलामा नियुक्ति दिँदा मलाई मूर्तिकलाको प्राध्यापक भनेर नियुक्ति दिइएको थियो,’ उनले हाँस्दै भने, ‘किनभने त्यस बेलासम्म आधुनिक मूर्तिकलाका प्राध्यापक कोही थिएनन् ।’ 

(मल्ल कलाकार र कला समीक्षक हुन् ।)  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप