बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
कथा

सहिदहरूको जुलुस

शनिबार, १७ चैत २०८०, २० : २९
शनिबार, १७ चैत २०८०

म जाँदै थिएँ । कहाँ जाँदै थिएँ, आफैँलाई थाहा थिएन । मिर्मिरे उज्यालो थियो । मलाई देखेर बसिरहेको एउटा मानव आकृति उठ्यो र मसिनो स्वरले सोध्यो, ‘को हो, यो हाम्रो इलाकामा आउने ?’ 

एकलासमा त्यो आवाज सुनेपछि म टक्क अडिएँ । अलिअलि डर पनि लाग्यो । त्यो आकृति मनजिकै आयो र भन्यो, ‘तिमी नडराऊ । बरु भन को हौ ? कहाँबाट आएका हौ ?’

मेरो टाउकोमा एउटा रातो फेटा पनि थियो । मैले मुड्की उठाएर लाल सलामको अभिवादन गरेर भनेँ, ‘म सहिद हुँ । नेपाल राज्यबाट आएको ।’

‘ओहो, नेपालबाट ?’ 

‘हो ।’ 

त्यसपछि उनले शिष्टाचारपूर्वक मलाई लिएर गए । आफूभन्दा पनि उच्च आसनमा लगेर बसाले । उनले देखाएको शिष्टताले मलाई लज्जाबोध भइरहेको थियो । यतिबेलासम्म मैले त्यो आकृति ठम्याइसकेको थिएँ ।

‘म पनि त नेपालबाटै आएको हुँ । म आएको आठ दशकभन्दा बढी भइसक्यो,’ आँखीभौँतिर चस्मा सार्दै त्यो मानव आकृतिले भन्यो । 

‘तपाईं आएको मिति मलाई थाहा छ । इतिहासका पानामा तपाईंको नाम पनि पढेको छु, तपाईंको कर्तव्य पनि सम्झन्छु । देशका खातिर तपाईंले गरेको योगदान र उत्सर्गका बारेमा मलाई भलीभाँती थाहा छ । राणाहरूको एकतन्त्रीय जहानियाँ शासनका विरुद्ध ज्यानको पर्वाह नगरी तपाईंहरूले गरेको सङ्घर्षलाई हामीले कसरी भुल्न सक्छौँ र ? त्यसैले तपाईंलाई म चिन्छु । तपाईं शुक्रराज शास्त्री त हो नि । अनि अरु तीनजना तपाईंसँगै सहादत प्राप्त गरी आएका योद्धा कमरेडहरू कहाँ हुनुहुन्छ त ?’ मैले सोधेँ । 

‘ऊ उतातिर पर्चा छाप्दै हुनुहुन्छ । लोकतन्त्र र प्रजातन्त्रको चिरस्थायीका लागि उहाँहरू यहाँ आएर पनि निरन्तर लागिरहनुभएको छ । म अलिक बुढो पनि भएँ । उनीहरू त युवा नै छन्, युवा कालमै यहाँ आए । बिचराहरू अहिले पनि निरन्तर लोकतन्त्र लोकतन्त्र भनिरहन्छन् । यहाँ आएर पनि कहिलेकाहीँ राणाहरूसँग झगडा परिरहन्छ । राणाहरू आरोप लगाइरन्छन्, ‘तिमीहरूले गर्दा त हो नि हाम्रो गाथगादी गएको, हामीले १०४ वर्ष लामो शासन गुमाएको । के गर्नु उता हुँदा पनि दुखै दिए, यता आएपछि पनि दुखै दिन्छन् ।’ 

‘अँ, साँच्ची अहिले नेपाल राजेमा लोकतन्त्रको हालत कस्तो छ ?’ 

जहाँ शान्ति र समुन्नति हुन्छ, सुन र पुनका कुरा हँुदैनन् । जहाँ आहाराका कुरा हुन्छन्, महराका कुरा हुँदैनन् । आचारका कुरा हुन्छन्, भ्रष्टाचारका हुँदैनन् ।

‘लोकतन्त्र ? कस्तो लोकतन्त्र ?’ 

‘हामीले रोपेको लोकतन्त्र वा प्रजातन्त्रको रूपको, रुखको कुरा गर्दै छु म ।’ 

खै के भनुँ, त्यो त बिरामी परेको छ । कुन दिन मर्छ थाहै छैन । त्यो रूप पनि छैन, त्यो रुख पनि छैन । तपाईंहरूले रोपेको बिरुवा अजङ्गको होला, हराभरा होला, सबैलाई आनन्द देला भनेको त अहिले त्यसको जरा र हाँगा सबका सब सुकेका छन् । नेताहरूले सानैमा उखेले प्रजातन्त्रको रूप र बनाए कुरूप । तपाईंहरूका बारेमा प्रत्येक वर्ष सहिद गेटमा भव्य कार्यक्रम हुन्छ । प्रजातन्त्र, मानवाधिकार र नागरिक स्वतन्त्रताका लागि; जनताको मुक्ति र भुक्तिका लागि तपाईंहरूको योगदानको स्मरण प्रत्येक वर्ष राज्यले गर्र्ने गर्छ । तर अहँ, तपाईंहरूले दर्शाएको, तपाईंहरूले... । 

‘त्यो विशाल हुल देखेर शास्त्रीजी एकपटक मजाले हाँस्नुभयो र सोध्नुभयो, ‘कतिजना छन् ?’ गणना त पक्कै पनि होला ।

‘बालबालिका, युवायुवती, वृद्धवृद्धा सबै गरी हामी दुई हजार ६७४ जना छौँ । हो, यी सबै तपाईंहरूजस्ता सहिद होइनन्; यी सबै मजस्तै सहिद हुन्, जसको योगदानको कदर र वर्णन कतै छैन । 

त्यो जुलुस नजिक नजिक आउँदैथ्यो । यताबाट शास्त्रीसँगै सहादत गरेका अरु तीनजना (धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल) पनि आए । हामी सबैको जम्काभेट भयो । हामीले ती चारैजनालाई मुठी कसेर कमरेडियन अभिवादन ग¥यौँ । आपसमा अभिवादन साटासाट भयो । हामी सबैलाई थाहा थियो, ती पथिक सहिदहरूको बारेमा । उनीहरूले भनेजस्तै गरी हामी उनीहरूको पछिपछि लाग्यौँ ।

गोधूली साँझ भइसकेकाले चराहरूको चिर्बिराहटको मधुर स्वर आइरहेको थियो । हामी एउटा टहरामा पुग्यौँ । टहरानजिकै चौर थियो, चौरमा भतेरको रामरमिता थियो । एकातिर भात पाकिरहेको थियो भने अर्कोतिर खसीबाख्राको मासु । हामी सबैले त्यो भोज मिठो मानेर खायौँ । त्यसपछि विशाल ज्यान भएका धर्मभक्तनजिकै आएर भने, ‘आउनुहोस् साथीहरू ! तपाईंहरूलाई स्वागत छ । अब हामीले एउटा असल राज्य बनाउनुपर्छ । एउटा धर्मराज्य बनाउनुपर्छ । हाम्रो संख्या थोरै थियो, अब तपाईंहरू मिसिएपछि हाम्रो विशाल साम्राज्य खडा भएको छ । तपाईंहरूले विगतमा के गर्नुभएको थियो, कसरी सहिद हुनुभयो ? त्यो सबै बिर्सेर अब हामी सबै मिलेर हामी बसेको क्षेत्रको उन्नयनमा लाग्नुपर्छ र यसलाई रामराज्य बनाउनुपर्छ । जहाँ शान्ति र समुन्नति हुन्छ, जहाँ हत्या र हिंसा हुँदैन; सुन र पुनका कुरा हँुदैनन् । जहाँ आहाराका कुरा हुन्छन्, महराका कुरा हुँदैनन् । आचारका कुरा हुन्छन्, भ्रष्टाचारका हुँदैनन् ।’ यति भनेर उहाँ थचक्क आफ्नो आसनमा बस्नुभयो ।

त्यसपछि परर्रर ताली बज्यो । तर एकजना बिचमा उठे र भने, ‘रामराज्य होइन, रामको राज्य होइन, यहाँ अब माक्र्सीय राज्य स्थापना हुनुपर्छ, गरिबको हातमा राज्यसत्ता हुनुपर्छ; तब मात्र तपाईं र हामीबिचको विभेद अन्त्य हुन्छ । नत्र तपाईं र हाम्राबिच वर्ग सङ्घर्ष चलिरहन्छ ।’

एकछिन सन्नाटा छायो । सुनसान भयो । चारैजना सहिदले आपसमा मुख हेराहेर गरे, कोही बोलेन । एकछिनपछि शास्त्रीजी आफैँ बोले, ‘तपाईंहरू माक्र्सीय राज्य स्थापना गर्ने हो भने ऊ त्यो परको क्षेत्रमा जानुस् र बस्नुस् । हामी हाम्रो बाटो लाग्छौँ । कोही हामीसँग आउन मन छ भने आउनुस् ।’ यति भनेपछि उनी मञ्चबाट उठे र आफ्नो क्षेत्रतिर लागे । अघि मिसिएको विशाल भिड चारजना सहिदको पछि लागेन । मुर्दावाद, मुर्दावाद भन्दै अज्ञात स्थलतर्फ हिँड्यो । म पनि त्यही भिडको पछिपछि लागेँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णराज खनाल
कृष्णराज खनाल
लेखकबाट थप