बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

गृहमन्त्री रविका अगाडि चुनौतीका पहाड र सम्भावनाका मैदान सँगसँगै

मङ्गलबार, २० चैत २०८०, १४ : ४०
मङ्गलबार, २० चैत २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कति दिन गृहमन्त्रीको पदमा रहन्छन्, त्यो यकिनका साथ भन्न सकिँदैन । यो कुरा उनी स्वयंले बोलिसकेका छन् । 

यसअघि नागरिकता विवादका कारण उनले सोही पदबाट राजीनामा दिएका थिए । यस्तै कुनै अर्को प्रपञ्च कसैले अँध्यारो कुनामा बसेर नबनाउला भन्न सकिन्न । नेपाल भ्रष्टहरूको अखडा भएकाले यसको शुद्धीकरण गर्छु भनेर लाग्नेलाई अप्ठेरोमै पारिन्छ ।  सम्भावित षड्यन्त्र र प्रपञ्च छल्दै हालको गतिलाई ‘गेयर डाउन’ गरेनन् भने २०८४ को चुनावी परिणाम धेरै हदसम्म रविको पक्षमा आउन सक्ने आकलन गर्न सकिन्छ । 

नेपाली राजनीतिको मियोमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् भन्ने विगतदेखि देखिएको हो । प्रचण्डको सत्ताको पासा कतिबेला कता पल्टिन्छ भन्ने वर्तमानमा बसेर बुझिँदैन ।  यसअघिको आम निर्वाचनबाट पहिलो र दोस्रो शक्ति बनेका नेपाली कांग्रेस र नेकपा एमालेलाई एउटै जुवाले नार्ने र कसलाई कतिबेला लौरोले बसाल्ने वा पुच्छर निमोठ्ने भन्ने निर्णय प्रचण्डले गरिरहेका छन् । यसका पछाडि कांग्रेस नेतृत्वको ‘जड राजनीति’ र एमाले नेतृत्वको ‘आत्मरति राजनीति’ मुख्य कारक तत्त्वका रूपमा देखिन्छन् । प्रचण्डले जनयुद्धका अधिकांश सहयात्रीलाई छाडिसकेको पृष्ठभूमिमा भएको सत्ता हेरफेर र गृहमन्त्री लामिछानेको ‘भ्रष्ट लक्षित फायर’ले एउटै दिशा ताकेको स्पष्ट देखिन्छ । 

गृहमन्त्री लामिछानेका टाउकामाथि पनि दोषका खात नभएका होइनन् । श्रीमतीमाथि अन्याय गरेको, कुनैबेला देशको नागरिकता त्यागेको र सहकारी ठगी प्रकरणमा मुछिएको लगायत आरोप उनीमाथि छन् । यसबारे विगतमा पनि उनी स्वयंले पटकपटक आफ्नै लबजको स्पष्टीकरण दिइसकेका छन् । प्रधानमन्त्री प्रचण्डमाथि क्यान्टोनमेन्ट घोटालाको सङ्गीन आरोप छँदै छ । अर्कोतिर शान्ति–प्रक्रिया टुङ्गिएको छैन; जनयुद्धका मुख्य कमान्डर प्रचण्ड र तत्कालीन सत्ता पक्षका उच्च पदस्थलाई नागरिक हत्याको आरोप लागिरहेकै छ । आरोपको पोतो मुखमा नदलिएका नेता खोज्न नेपाली समाजमा असम्भवजस्तै छ । आरोपको पुष्टि सही प्रमाण र प्रविधिले गर्ने हो, त्यसपछि मात्र त्यो कार्यान्वयनको तहमा पुग्छ । कहिले सासुको पालो त कहिले बुहारीको भनेझैँ आगतका कुनै दिनमा आजका आरोपहरू प्रमाणले पुष्टि भए भने नेताहरूको हालत के हुने हो यसै भन्न सकिँदैन । 

यसका पछाडि कांग्रेस नेतृत्वको ‘जड राजनीति’ र एमाले नेतृत्वको ‘आत्मरति राजनीति’ मुख्य कारक तत्त्वका रूपमा देखिन्छन् । प्रचण्डले जनयुद्धका अधिकांश सहयात्रीलाई छाडिसकेको पृष्ठभूमिमा भएको सत्ता हेरफेर र गृहमन्त्री लामिछानेको ‘भ्रष्ट लक्षित फायर’ले एउटै दिशा ताकेको स्पष्ट देखिन्छ ।

कांग्रेसले लामिछानेमाथिका आरोपलाई राजनीतिक एजेन्डा बनाएर संसद् बैठकमा निरन्तर अवरोध प्रयास गरिरहेको छ । यसका पछाडिका कारणहरूको फेहरिस्त निकै लामो छ । गृहमन्त्री लामिछानेले पुराना नेताले गरेका घोटालाका फाइल खोल्दै गए भने कुन कुन दलका नेता पर्ने हुन्, यसै भन्न सकिँदैन । केही मिडियाको विश्लेषणलाई आधार मानेर भन्ने हो भने देउवापत्नी आरजु दिल्लीबाट आएको केही दिनपछि पुनः दिल्ली उड्नु ‘रवि एक्सन’कै भूकम्पको परकम्पनको नतिजा हो । भुटानी शरणार्थी काण्डमा धेरै नेताप्रति प्रश्न उठेकै थिए । 

कांग्रेसभित्र सिद्धान्तहीन आचरण अभिवृद्धि भएको लामो समय भइसक्यो । राजनीतिक सिद्धान्त कुनै पनि दलका निम्ति मेरुदण्ड हो; जसले पार्टीका सबै अङ्गलाई अड्याएको र उभ्याएको हुन्छ । कुनै बेला बीपी, सुवर्णशमशेर, गणेशमान र कृष्णप्रसादको राजनीतिक निष्ठालाई बचाउने कांग्रेस हिजोआज आफैँ नैतिक सङ्कटको खडेरीले सुकेको छ । कतिपयले नेपाली कांग्रेसलाई ‘नेपाली आरजु कांग्रेस’ भनी गरेको टिप्पणीभित्र शेरबहादुरको निरीहपन र आरजुको हाली–मुहाली बुझ्न कठिन छैन । कांग्रेसमा उदाउँदै गरेका विश्वप्रकाश शर्मा र गगन थापा वरको फेदमा रोपेको खुर्सानीजस्ता निन्याउरा छन् । आरजुका पछि लागेर समय–समयमा यिनीहरूले आ–आफ्नो साख गुमाउँदै गएको जगजाहेर छ । 

पार्टी अध्यक्ष केपी ओलीको हुकुम प्रमाङ्गीबाट एमाले चलेको विषय राजनीतिमा सामान्य आस्था राख्नेहरूका लागि नयाँ कुरा होइन । इलाम– २ को उपनिर्वाचनमा सुवास नेम्वाङ पुत्रलाई टिकट दिने निर्णयले एमाले चरित्रलाई प्रतिविम्बित गर्छ । जीवनभर पालो कुरेर बसेका र पार्टीका निम्ति हाड खियाएका इलामेली एमालेजनलाई केपीको सुवासपुत्र मोहको जिद्दीपन घाँटीमा अड्किएको हड्डी साबित भएको छ । 

इलाममा बागी उम्मेदवार उठे भने यसलाई अनौठो नमाने हुन्छ, किनकि जहाँ नीति–नियमलाई मिचिन्छ, त्यहाँ अनौठा प्रवृत्ति स्वतः सतहमा आउँछन् । काठमाडौं बसेर गाउँमा राजनीति गर्ने धन्दा बन्द गर्न इलामेली मतदाताहरू योपटक नचुक्नुपर्ने हो । सुवास नेम्वाङको राजनीति ‘इलामको सांसद इलामको पाहुना’ भएर बितेको नजिर इलामेलीका आँखाअघि छ र त्यसको उचित फैसला मतदाताले पक्कै गर्ने छन् । 

रवि लामिछानेको उदय पुराना राजनीतिक दल र तिनका नेताका लागि उल्का वर्षाजस्तै आश्चर्यजनक थियो । जनताले मतदान गरेपछि कसलाई को मन पर्छ वा पर्दैन, त्यो विषयले खासै महत्त्व राख्दैन । नेपाली राजनीतिमा लागेको ग्रहण हट्ने विषयमा केही आशाका सङ्केत वर्तमानमा देखिएका भने पक्कै छन् । जसको पुष्टि आगामी दिनमा हुँदै जाला । मूल सफा भए धारामा सफा पानी आउँछ नै । रविका अगाडि चुनौतीका पहाड र सम्भावनाका मैदान दुवै सँगसँगै छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उद्धव लुइटेल
उद्धव लुइटेल
लेखकबाट थप