शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

...त्यो मोबाइल, जसको अनुसन्धानले देश नै हल्लायो

दावाको मोबाइल नभेटिएको भए के हुन्थ्यो होला सुन तस्करीको अनुसन्धान ?
मङ्गलबार, २० चैत २०८०, १६ : ०५
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । गत साउन १४ गते राजस्व अनुसन्धान विभागले ठमेलको होटल भियनाबाट चिनिया मूलका बेल्जियन नागरिक दावा छिरिङ लामालाई ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ गरेको थियो ।

साउन २ गते रेडी ट्रेडको नाममा आएको ब्रेक प्याडमा सुन तस्करी भएको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागले सामानसहित पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान गर्दै गर्दा दावा छिरिङ लामा सो प्रकरणमा जोडिएका थिए ।

विभागले दावा छिरिङ लामालाई पक्राउ गर्दासम्म ६० किलो सुन तस्करी प्रकरणमा कसको कस्तो भूमिका हो भन्ने खुल्न सकेको थिएन । प्रारम्भिक अनुसन्धानमा पनि दावाले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरिरहेका थिए । तर सुन तस्करीमा संलग्न चाइनिज गिरोहको सेल्टर होटल भियना भएको र त्यहाँ पटकपटक आवतजावत भएको पाइएपछि विभागले दावालाई पनि पक्राउ गरेको थियो ।

दावाले सुन तस्करीमा आफ्नो संलग्नता नरहेको तर कहिलेकाहीँ आफ्नो होटलमा आउने चिनियाँ नागरिकसँग चिनजान भएको बताएका थिए । तर राजस्व अनुसन्धान विभाग दावाको दाबीमा सन्तुष्ट बनेन । त्यसपछि दावाको मोबाइल नियन्त्रणमा लिई त्यसको ‘डीएफएल’ (डिजिटल फरेन्सिक ल्याबोरेटरी) गराइयो ।

  • अनि खुल्यो तमाम तथ्य

दावा छिरिङ लामाको मोबाइलको ‘डीएफएल’ गरेपछि सुन तस्करी र त्यसमा कुनै न कुनै किसिमबाट जोडिएका व्यक्तिहरूको विवरण र प्रमाण खुल्न थाले । दावा छिरिङ लामालाई पक्राउ गरी मोबाइलको ‘डीएफएल’ गरिएपछि सुनसँग सम्बन्धित व्यक्तिहरूसँग निरन्तर सम्पर्क भएको पाइयो ।

दावा छिरिङ लामाकै मोबाइलको सीडीआर र डीएफएल रिपोर्टपछि नै अन्य व्यक्तिहरू सुन तस्करी प्रकरणमा जोडिएका थिए । त्यसपछि नै ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान मोडिएको थियो । अलमलमा परिरहेको राजस्व अनुसन्धान विभाग पनि दावा लामाकै सीडीआर र डीएफएल रिपोर्टकै आधारमा थप सक्रिय भएको थियो । दावाकै सीडीआरका आधारमा किशोर बस्नेत, जीवन चलाउने, याओ पुचेङ, विक्रम चन्द, दिपेश कुमार पुन, झलक प्रसाद अधिकारी, भीमकान्त भण्डारी, पेम्बा शेर्पा, खुवा प्रसाद न्यौपाने, केटीभी रेष्टुरेण्टका सञ्चालक याङ वेन, लुओरोङ गोंग्बु, दाओजिन वाङको बारेमा जानकारी मिलेको थियो ।

  • दावाका सहयोगीमध्ये को के हुन् ?

चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङ लामाको सीडीआर एनालाइसिस र डीएफल रिपोर्टका आधारमा अनुसन्धान हुँदा सुन तस्करी प्रकरणसँग जोडिएका व्यक्तिमध्ये कसले के काम गर्थे भन्ने छोटकरी विवरण यस्तो छ :

  • किशोर बस्नेत : सुन गाल्ने मेसिन ल्याइदिन सहयोग गर्ने, सुन पगाल्न प्रयोग हुने केमिकल ल्याइदिने ।
  • जीवन चलाउने : दावा छिरिङसँग सुन सम्बन्धी विषयमा कुराकानी भएको, क्रिप्टोकरेन्सीको कारोबार भएको देखिएको ।
  • याओ पुचेङ : सुन तस्करीमा संलग्नमध्ये दोस्रो तहका चिनियाँ नागरिक । नेपालमा सुनको आयात, व्यवस्थापन र बिक्रीमा प्रमुख भूमिका खेल्ने व्यक्ति ।
  • विक्रम चन्द : दावा छिरिङसँग जोडिएका किशोर बस्नेतको साथी ।
  • दिपेश कुमार पुन : पूर्व उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा । दावा लामासँग पटकपटक कुराकानी भएका व्यक्ति ।
  • राहुल महरा : दावा छिरिङ लामासँग नियमित सम्पर्क भएको पाइएको । दावाको समूहबाट हुन सुन तस्करी प्रकरणमा भन्सार छुटाउने लगायतका कार्यमा सहयोग गर्न खोज्ने व्यक्ति ।
  • झलक प्रसाद अधिकारी : राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देशक । दावा लामासँग सुन तस्करीका सम्बन्धमा कुराकानी भएको पाइएको । पानी तान्ने मोटरको स्वरूपमा आएको सुनको फोटो दावा र अधिकारीसँगको कुराकानीमा आदानप्रदान भएको पाइएको । पछि उक्त पानी तान्ने मोटरभित्र तस्करी गरी ल्याएको सुन निकालेर मोटरको बाहिरी आवरण मात्रै टोखामा सुन गाल्ने स्थानमा फेला परेको ।
  • भीमकान्त भण्डारी : दावा लामा र भीमकान्तबिच पटकपटक कुराकानी भएको पाइएको । सुन तस्करी, क्रिप्टोकरेन्सी र अवैध रकमको लगानी आदि बारेमा कुराकानी भएको पाइएको ।
  • पेम्बा शेर्पा : दावा छिरिङ लामाका लागि सुन पगाल्न प्रयोग हुने केमिकल खोजिदिने, जीवन चलाउने र दावाका लागि अवैधरुपमा चाइनिज नोटको सटही गरिदिने र अवैध क्रिप्टोकरेन्सीका लागि सहयोग गर्ने व्यक्ति ।
  • खुवा प्रसाद न्यौपाने : दावा छिरिङ लामासँग पटकपटक कुराकानी भएको पाइएको । विमानस्थलमा बरामद भएको भेपभित्र छिपाइ ल्याएको सुन छुटाउन प्रयास गरेको र त्यसका लागि खुवा प्रसाद न्यौपानेसँग कुराकानी भएको पाइएको ।
  • याङ वेन : केटीभी रेष्टुरेण्टका सञ्चालक । दावा छिरिङ लामासँग कारोबार भएको पाइएको । उनीसँग याओ पुचेङसँग पनि सम्पर्क, कारोबार, अवैध रकमलाई वैध बनाउन प्रयोग गरिएको पाइएको ।
  • दाओजिन वाङ : नेपालमा सुन तस्करीको प्रमुख पात्रमध्येको एक । माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा निकट देखिएका व्यक्ति । नेपालमा सुन तस्करी, व्यवस्थापन आदि गर्ने व्यक्ति । दावा छिरिङ लामासँग समेत मिलेर विभिन्न काम गरेका ।
  • दावाकै कारण समातिए मुख्य पात्र

राजस्व अनुसन्धान विभागले दावा छिरिङ लामालाई नियन्त्रणमा लिई सीडीआर एनालाइसिस र मोबाइलको डीएफएल गरेपछि लिङ्क चार्टका आधारमा एलेक्स भन्ने याओ पुचेङ पक्राउ परेका थिए भने उनीहरूकै सम्पर्क र सम्बन्धबाट दाओजिन वाङको संलग्नता खुलेको थियो । सुन तस्करी प्रकरणमा दाओजिन वाङ नै प्रमुख पात्र हुन् भन्ने खुलेको थियो । वाङको मोबाइलको सीडीआर एनालाइसिस हुँदा कृष्ण बहादुर महरा, राहुल महरा, चाइनिज लुई, लोकेन्द्र पौडेल, श्याम साह आदिको संलग्नता खुलेको थियो ।

  • मोबाइलको डीएफएलपछि दावा भन्थे– मोबाइलकै कारण म फसेँ

राजस्व अनुसन्धान विभागले दावा छिरिङ लामाको मोबाइल नियन्त्रणमा लिई त्यहाँको वी च्याट, ह्वाट्सएप, सीडीआर, फोटो आदिको एनालाइसिस गरेको थियो । मोबाइलको डीएफएलमा डिलिट गरिएका फोटो र कुराकानी तथा अडियो, सुन तस्करी, कारोबार र व्यापार आदिबारेको जानकारी, क्रिप्टोकरेन्सीको कारोबार आदिका विषयमा प्रमाणहरू संकलन भएपछि दावा आत्तिएका थिए ।

दावा छिरिङ लामामाथि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतका अनुसार दावाले आफू मोबाइलकै कारण फसेको र अब सहजरुपमा छुटकारा पाउन नसक्ने गुनासो गरेका थिए । ती अनुसन्धान अधिकारीसँगको कुराकानीमा दावाले आफूले समयमै मोबाइल नष्ट गर्न नसक्दा फसेको बताएका थिए ।

मोबाइलको सबै कागजात, फोटो, कुराकानी आदि देखाइ त्यसबारेमा सोधपुछ गर्दा दावाले दुई वटै हात आफ्नो टाउकोमा राखेर भनेका थिए, ‘यही मोबाइलकै कारण म फसेँ, अब बाहिर निस्कन सक्दिनँ होला । मैले मोबाइल नलुकाएर ठुलो गल्ती गरेँ । यो सबै कुरा आउँछ भन्ने थाहा नै थिएन ।’

  • दावाको मोबाइल नियन्त्रणमा नआएको भए के हुन्थ्यो होला सुनको अनुसन्धान ?

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा जुटेका एक प्रहरी अधिकारीका अनुसार यदि दावा लामाको मोबाइल भेटिएको थिएन भने यो तस्करी प्रकरण अर्कै स्वरूपमा जान सक्थ्यो । गोरे जोडिएको सुन तस्करी प्रकरण जस्तै हुन सक्ने र तस्करको फ्याक्ट्रीसम्म पुग्ने अवस्था पनि नआउन सक्ने उनको भनाइ छ ।

सुन तस्करले प्रयोग गरेको गाडीमा जीपीएस जडान नभएको भए, उक्त गाडी दावा छिरिङ लामाको होटल भियनामा नपुगेको भए र दावाको माध्यमबाट एलेक्ससम्मको कनेक्सन नदेखिएको भए यो अनुसन्धान अन्यत्र मोडिन सक्ने ती अधिकारी बताउँछन् । उनले भने, ‘अर्को कोणबाट अनुसन्धान भएको भए कि थप केही भेटिदैनथ्यो, कि सुनका वास्तविक मालिकसम्म पुग्न सकिन्नथ्यो । तर दावाको त्यही एउटा मोबाइल डिभाइसले नै देश हल्लिने अनुसन्धान भयो र दावा हुँदै वेन, एलेक्स र दाओजिन वाङको कनेक्सन खोज्दै जाँदा अनुसन्धान महरासम्म पुगेको हो ।’

  • भन्सार कार्यालयको कमजोरीबारे छानबिन नै भएन

नेपालमा सुन तस्करीमा संलग्न चिनियाँ गिरोहले नेपालकै विमानस्थल भन्सार कार्यालयमार्फत १ दर्जन सुन पगाल्ने मेसिन ल्याएको थियो । नेपाल राष्ट्र बैंकसँग समेत एउटामात्रै सुन पगाल्ने मेसिन भएको र सुन व्यापारी वा पसलेले त्यस्तो मेसिनको प्रयोग नगर्ने हुँदा सोको जानकारी भन्सार कार्यालयले सम्बन्धित निकायमा सूचना दिनुपर्थ्यो ।

पटकपटक शङ्कास्पद मेसिनको आयात भएपछि र सानो कम्पनीले त्यस्तो सामान ल्याएको भए पनि भन्सार कार्यालयले सो को जानकारी कुनै पनि निकायलाई दिएको थिएन ।

सुन तस्करीको अनुसन्धान गरेका एक प्रहरी अधिकृत भन्छन्, ‘हामीले टोखा, लाजिम्पाट लगायतका क्षेत्रबाट बरामद गरेको सुन पगाल्ने मेसिन (गोल्ड मेल्टिङ मेसिन)को सङ्ख्या एक दर्जन थियो । तर ती मेसिन कसका लागि किन मगाइँदैछ भन्ने सामान्य जानकारी भन्सार जाँचपास गर्ने निकायले राख्नुपर्थ्यो र शङ्कास्पद देखिए त्यसको जानकारी दिनुपर्थ्यो । तर त्यसो गरेको देखिएन । पटकपटक डमी कम्पनीबाट ५ सय अमेरिकी डलरभन्दा कमको सामान आयात हुँदा पनि चासो देखाइएन । त्यही कारण यसरी पटकपटक सुन तस्करी भयो ।’

  • भन्सार नीतिको लुपहोलमा सुन तस्करको खेल

निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने कार्यविधि, २०७८ को दफा ४ को उपदफा १ (घ) मा एक्जीम कोड लिन कम्पनी भ्याटमै दर्ता भएको हुनुपर्ने उल्लेख छ । तर रेडी ट्रेड लगायतका अधिकांश कम्पनी भ्याटमा दर्ता थिएनन् । एक्जिम कोड जारी गर्ने भन्सार विभागका कर्मचारीले त्यति सामान्य विषयमा पनि नजरअन्दाज गरी एक्जिम कोड जारी गरेका थिए ।

  • एलसीटीटीमा तस्करको चलखेल

निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) प्रदान गर्ने कार्यविधि, २०७८ मा ५ सय अमेरिकी डलरभन्दा बढीको सामान ल्याउँदा एलसीटीटी खोलेर सामान ल्याउनुपर्ने र उक्त रकम बैंकले सोझै विक्रेतालाई पठाउने गर्छ । तर ५ सय डलरभन्दा कमको सामान भने नगदमै भुक्तानी गरी खरिद गरेर नेपाल ल्याउन पाइन्छ । सोही नीति वा लुप होल खोजेर सुनका तस्कर समूहले ५ सय डलरभन्दा कम मूल्यको बिल बनाइ विभिन्न स्वरूपमा सुनको तस्करी गरिरहेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप