बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने

मङ्गलबार, २० चैत २०८०, २० : ०१
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा जान नदिने भएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा लामिछानेलाई संसद्को रोष्टममा जान नदिने सहमति भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने,‘यो हाम्रो पुरानै अडान हो । संसदीय छानबिन समिति गठन नभएसम्म हामी गृहमन्त्रीलाई रोष्टममा जान दिँदैनौँ । आगामी दिनमा पनि यो कुरा हुन्छ,’ उनले भने । संसदीय छानबिन समिति गठन नभई गृहमन्त्रीले जवाफ दिने कार्यसूची आयो भने संसद् अवरुद्ध हुने उनको भनाइ छ ।  चैत २ मा पनि सभामुखले गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी विधेयक पेस गर्न अनुमति दिँदा कांग्रेसले बेल घेराउ गरेका थिए ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने माग लगातार उठाउँदै आएको छ ।

बुधबारको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको माग गर्दै महामन्त्री विश्वप्रकाश शर्माले भनाइ राख्ने छन् । गृहमन्त्री लामिछानेले आफूले संसदमा जवाफ दिन पाउनुपर्ने बताउँदै आएका छन् । तर, सहकारी ठगीबारे छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेस गृहमन्त्री लामिछानेको जवाफ सुन्न तयार भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप