कांग्रेसले भन्यो– कोशीका मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेको भन्दै राजीनामा दिनुपर्ने बताएको छ । कोशी प्रदेशका कांग्रेस सभापति समेत रहेका संसदीय दलका नेता उद्धव थापाले एमाले र माओवादी एक ठाउँमा उभिइसकेपछि अल्पमतमा परेको भन्दै मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन सुझाव दिएका हुन् ।
‘एमाले र माओवादी एक ठाउँमा उभिएर समर्थन फिर्ता गरिसकेपछि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाउने सम्भावना देखिन्न,’ दलका नेता थापाले भने, ‘त्यो अवस्थामा राजीनामा दिनु उपयुक्त हुन्छ ।’
कोशी प्रदेशसभा विघटन हुने कुनै सम्भावना नभएको जनाउँदै उनले मध्यावधिको कुरा अनावश्यक रहेको बताए । ‘मध्यावधिमा जानु पनि हुँदैन, मध्यावधिको अहिले समय पनि छैन,’ उनले भने, ‘मध्यावधिको पक्षमा जनता तथा दलहरू पनि छैनन् । त्यसैले कोशी प्रदेशको स्थायित्व र स्थिरताको लागि कांग्रेस बाधक बन्नुहुँदैन ।’
कांग्रेस संसदीय दलकै उपनेता हिमाल कार्कीले पनि मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । ‘कांग्रेस संसदीय दलको बैठक हामी बस्न खोजिरहेका छौँ । दलका नेतासँग मेरो कुरा भइरहेको छ । दलले आधिकारिक धारणा बनाउँछ,’ उपनेता कार्कीले भने, ‘मेरो व्यक्तिगत धारणा भनेको बहुदलीय व्यवस्था, संसदीय व्यवस्थामा अल्पमतमा परिसकेपछि संविधानको जुनसुकै धाराबाट सरकार बनेपनि अल्पमतले बहुमतलाई शासन गर्नु संसदीय मान्यता विपरीत हुन्छ । अल्पमतमा परिसकेपछि उहाँले राजीनामा गर्नु उपर्युक्त हुन्छ । यसले मुख्यमन्त्रीज्यूलाई र पार्टीलाई पनि हित गर्छ ।’
कांग्रेस प्रदेशका महामन्त्री तथा प्रदेशसभा सदस्य भूपेन्द्र राईले भने यस विषयमा दलको बैठक बसेर आधिकारिक निर्णय गरिने बताए । ‘हामी दलको बैठक बस्छौँ । संविधान र कानुन अनुसार कसरी अगाडि बढ्दा ठिक हुन्छ त्यही गर्छौं,’ राईले भने । उनले यसअघि पनि संविधानको बर्खिलाप हुने गरी कोही पनि जान नहुने बताएका थिए । ‘कुनै एउटा दलले, एउटा सांसदले अर्घेल्याई गरेर प्रदेशलाई सङ्कटमा पार्ने छुट पनि छैन र सङ्कटमा पार्नु पनि सक्दैन,’ उनले भने ।
एमाले र माओवादीका ५२ जना सांसदले सोमबार प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएका थिए । उनीहरुले समर्थन फिर्ता लिँदै एमाले दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया सुरु गर्न प्रदेश प्रमुखलाई निवेदनसमेत दिएका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनको मन्त्रीमण्डलमा सहभागी माओवादीका तीन मन्त्रीहरू गणेश उप्रेती, राजेन्द्र कुमार कार्की र नारायण बुर्जा मगरले सोमबार नै राजीनामा बुझाइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक