राष्ट्रिय सभा उपाध्यक्षको चुनावमा के छ मधेसी दलको तयारी ?
काठमाडौँ । मधेस केन्द्रित दल जनता समाजवादी पार्टी नेपाल (जसपा)राष्ट्रियसभा उपाध्यक्ष पदमा हुने चुनावमा साझा उम्मेदवारको पक्षमा रहेको छ ।
पार्टीका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले भने आफूहरू सत्ता गठबन्धनबाट साझा उम्मेदवार तय होस् भने पक्षमा रहेको बताए । राष्ट्रियसभा अध्यक्षका लागि भएको चुनावमा सत्ता गठबन्धनबाट जसरी साझा उम्मेदवार बनेको थियो त्यसरी नै उपाध्यक्षका लागि साझा उम्मेदवार हुनुपर्ने पक्षमा पार्टी रहेको उनले बताए ।
उपाध्यक्षका लागि आज उम्मेदवारी दर्ता हुँदै छ, तर सत्ता गठबन्धनमा हालसम्म सहमति जुटेको छैन । साझा उम्मेदवार नबनेमा कसलाई मतदान गर्ने भन्नेबारेमा त्यतिबेला नै निर्णय गर्ने उनको भनाइ छ । यद्यपि जसपाले भने उपाध्यक्ष पदमा उम्मेदवारी नदिने उनको भनाइ छ ।
जसपा राष्ट्रिय सभाका संसदीय दलका नेता मृगेन्द्रकुमार सिंहले गठबन्धनभित्र भएको पद बाँडफाँटमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुने आफूले बुझेको बताए । तर, यस विषयमा गठबन्धनमा निर्णय हुन बाँकी रहेको बताए ।
राष्ट्रिय सभामा लोसपाबाट एक जना सदस्य छन् । लोसपाले पनि कसलाई मतदान गर्ने भनी अहिलेसम्म टुङ्गो लगाएको छैन । लोसपा राष्ट्रिय सभाका संसदीय दलका नेता शेखर सिंहले कहाँ मतदान गर्ने भन्ने विषयमा हालसम्म पार्टीमा कुनै छलफल नभएको बताए । मतदान हुनुभन्दा पहिला पार्टीले निर्णय गर्ने उनको भनाइ छ ।
उनले भने, ‘हाम्रो पार्टी सत्ता गठबन्धनमा नरहेको कारण त्यहाँ मतदान गर्ने कुरा हुँदैन । बाँकी अर्को कसले उम्मेदवार उठाउँछ त्यसको बारेमा त्यतिबेला नै सल्लाह हुन्छ ।’