बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

व्यक्तिलाई ईश्वरै बनाउने साधना पद्धति छ तन्त्रमा : डा. माधवप्रसाद लामिछाने

आइतबार, ०२ वैशाख २०८१, ०९ : १५
आइतबार, ०२ वैशाख २०८१

वाल्मीकि क्याम्पसको पूर्वमिमांसा तथा तन्त्र विभागका सहप्राध्यापक तथा तन्त्रसम्बन्धी विविध पुस्तकका लेखक डा. माधवप्रसाद लामिछानेसँग रातोपाटीकर्मी ध्रुवसत्य परियारले तन्त्रसम्बन्धी गरेको वार्ताको सम्पादित अंंश :

तन्त्र भनेको के हो ?
तन्त्रलाई हामीले दुई–तीनवटा परिभाषाभित्र समेटेर हेर्न सक्छौँ । तन्त्रको एउटा परिभाषा छ— सिस्टम (पद्धति) विधि वा प्रक्रिया हो तन्त्र । अर्को परिभाषा छ— शास्त्र वा वाङ्मय हो तन्त्र । 

जस्तो : हामीले वेद भनेर बुझ्छौँ । वेदभित्र मन्त्र संहिता, ब्राह्मण, आरण्यक, उपनिषद् आदि विशाल वाङ्मय छ । त्यसैका आधारमा विकसित भएका स्मृति, शास्त्रहरू वैदिक वाङ्मयभित्र आउँछन् । तन्त्र अथवा आगम भनेको पनि वेदकै समानान्तर धारा हो । तन्त्र अझ व्यापक देखिन्छ । किनभने तन्त्रले सबैलाई समेटेको छ । अथवा यसमा सबैको अधिकार छ । 

वेदमा मन्त्र उच्चारणमा शुद्धता चाहिने इत्यादि कारण गर्दा निश्चित खालको योग्यता प्राप्त व्यक्तिलाई प्रवेश छ । तन्त्र अथवा आगमलाई समाजका हरेक (वर्ण, लिंग र समुदायका) व्यक्तिले अपनाउन सक्छन् । यसरी तन्त्रलाई विधि वा पद्धतिका रूपमा र वैदिक वाङ्मयका रूपमा बुझ्न सकिन्छ ।

वेद र शास्त्रहरूसँग तन्त्र कसरी जोडिएको छ ?
आचारका आधारमा तन्त्रका तीनवटा मार्ग छन् । जस्तो : दक्षिणाचार, वामाचार र कौलाचार । दक्षिणाचारलाई वेदअनुकूल मानिन्छ । वेद अनुकूल भनेको वेदमा जुन जुन द्रव्य वा चिजलाई देवताको उपासना वा पूजामा प्रयोग गर्न भनिएको छ, त्यसलाई स्वीकार गरेर विकसित भएको एउटा धारा हो, दक्षिणाचार । 

तन्त्रले ईश्वर भनेको म (उपासक)भन्दा फरक हो भन्दैन । तन्त्रको दृष्टिकोण छ— म स्वयं ईश्वर हुँ; हामी ईश्वर बन्न सक्छौँ । हामीभित्र ईश्वरीय लक्षण छ, त्यो खालि अज्ञानका कारणले ढाकिएको छ, अज्ञानको त्यो आवरण हट्यो भने हामी स्वयं ईश्वर बन्न सक्छौँ । 

वामाचार वा वाम मार्गका विभिन्न भेद छन् । मूल रूपमा यसमा पञ्चमकार (मद्य, मांस, मत्स्य, मुद्रा र मैथुन)लाई साधनामा प्रयोग गरिन्छ ।  कौलाचारलाई वैदिकाचार अथवा दक्षिणाचार र वामाचारको मिश्रित स्वरूप मान्न सकिन्छ । अथवा यी दुवैभन्दा माथि उठेको एउटा दिव्य आचार हो, कौलाचार । अथवा मानसिक रूपमा गरिने भावना प्रधान जुन योग छ, त्यो योगका माध्यमबाट ईश्वरको स्वरूप आफूमा प्रकट गर्ने पद्धति वा मार्गलाई कौलाचार भनिन्छ । 

पञ्चमकारमध्येको मुद्रा र मैथनको व्याख्या गर्नुपर्दा ?
देवी–देवतालाई आह्वान गर्न दुई हातको संयोगबाट विभिन्न प्रकारका मुद्राको निर्माण गरिन्छ । साधनाका बेला त्यो मुद्रा देवतालाई देखाइन्छ । खासगरी मुद्राले वाणीमय भाषाको प्रयोग नगरी सांकेतिक भाषाको प्रयोग गर्नुलाई बुझाउँछ । जस्तो : देवतालाई आह्वान गर्नका लागि अंकुश मुद्राको प्रयोग हुन्छ । 

मैथुनको खास अर्थ हो, दुइटाको एकत्व । चाहे स्त्री–पुरुष हुन्, चाहे देवता र देवताको उपासना गर्ने उपासक हुन्— यी दुइटाको एकत्त्वलाई मैथुन भनिन्छ । यसरी बुझ्यौँ— देवता र उपासकबिच वा उपास्य र उपासकका बिच एकत्व स्थापित गर्नुलाई मैथुन भनिन्छ । 

madhav lamichhane3

तन्त्रले ईश्वर भनेको म (उपासक वा साधक)भन्दा फरक हो भन्दैन । तन्त्रको दृष्टिकोण छ, म स्वयं ईश्वर हुँ । हामी स्वयं ईश्वर बन्न सक्छौँ । हामीभित्र ईश्वरीय लक्षण छ, त्यो खालि अज्ञानका कारणले ढाकिएको छ, अज्ञानको त्यो आवरण हट्यो भने हामी स्वयं ईश्वर बन्न सक्छौँ वा ईश्वरकै स्वरूपमा हामी स्थापित हुन सक्छौँ भन्ने मान्यता तन्त्रले राख्छ । 

त्यसैले एउटा व्यक्तिलाई ईश्वरै बनाउने साधना पद्धति वास्तवमा तन्त्रमा छ । अरु पद्धतिमा ईश्वर भनेको मालिक हो, ईश्वरलाई पूजा गर्ने व्यक्ति उसको दास हो भन्ने भावना हुन्छ; तन्त्रमा साधक स्वयंं ईश्वर बन्न सक्ने मान्यता छ । 

वेद र तन्त्र कसरी जोडिन्छ वा कसरी फरक छ ?
वामाचारमा प्रत्यक्ष पञ्चमकारको प्रयोग हुन्छ । दक्षिणाचारमा प्रत्यक्ष पञ्चमकारको प्रयोग हुँदैन, यसको ठाउँमा पञ्चामृतको प्रयोग हुन्छ । 

तन्त्रले व्यक्तिको गुण वा भावना अनुसार पूजा वा उपासनाका लागि फरक–फरक आचारको व्यवस्था गरेको छ । वेदमा त्यस्तो पाइँदैन । वैदिक पूजा मूलतः सात्त्विक हुन्छ ।
संसारमा सबै मानिस सत्त्व गुण प्रधान मात्रै हुन्छन् भन्ने छैन; कोही रजोगुण प्रधान, कोही तामसिक प्रवृत्तिका त कोहीमा तमोगुणको प्रधानता हुन्छ— तन्त्रले यसलाई ध्यान दिएको पाइन्छ । 

एकदमै क्षूद्र प्रवृत्तिका मानिस पनि छन् संसारमा, जसले अरुको अकल्याण गरेर आफ्नो कल्याण चाहन्छन् । कोही आफ्नो कल्याण चाहन्छन् तर अरुको अकल्याण नगर्ने वा नचाहने हुन्छन् । यस्तै, कोही यस्ता मानिस पनि हुन्छन्— आफ्नो कल्याण भए नहोस् तर अरुको कल्याण होस् भन्ने भावना उनीहरुमा हुन्छ । 

त्यसैले एउटै पद्धतिले पूजा गरेर सबै प्रकारका मानिसलाई फल प्राप्त हुँदैन । किनभने आफ्नो गुण वा भावना अनुसार ऊ काममा प्रवृत्त हुन सक्छ । यही अनुसार तन्त्रका तीनवटा मार्ग विकास गरिएका हुन् । यीमध्येको दक्षिणाचारको सम्बन्ध वेदसँग नजिक देखिन्छ । वामाचारमा आएपछि द्रव्यका कारणले पृथक् देखिन्छ । कौलाचार योगप्रधान भएकाले अझ उच्च स्तरको छ । यसरी वेदसँग पनि तन्त्रको केही न केही सम्बन्ध देखिन्छ । 

वैदिक हवन र मन्त्रहरू तन्त्रसँग सम्बन्धित होइनन् ?
हो, यो भन्न सकिन्छ । मैले अघि पनि भनेँ, तन्त्रलाई एक त साहित्यका रूपमा बुझ्न सक्छौँ; अर्कोतिर विधिका रूपमा । जस्तो: देवताको पूजा–उपासना गर्ने विभिन्न प्रकारका विधिहरूमध्ये हवनद्वारा ईश्वरलाई मन पर्ने द्रव्य वा चरु अग्निमा समर्पण गरिन्छ, यसो गर्दा ईश्वर खुसी हुन्छन् भन्ने मान्यता वेदको छ । 

जनै धारण गर्ने प्रक्रियाचाहिँ वैदिक संस्कार अनुकूल देखिन्छ, तर विधिका रूपमा हेर्दा यो तन्त्रसँग जोडिएको छ । किनभने तन्त्रमा मन्त्रको प्रयोग छ । आखिर वेदमा पनि मन्त्रको प्रयोग छ । खालि मन्त्रको स्वरूपमा फरक छ । 

तन्त्रमा पनि मन्त्रोच्चारणपूर्वक कुनै द्रव्य अग्निमा समर्पण गर्ने विधान छ । यस खालको विधिगत समानताका आधारमा वेदको प्रक्रियालाई पनि हामीले तन्त्र भन्न सक्छौँ, विधिको अर्थमा । तर वाङ्मयको अर्थमा वेद र तन्त्र फरक छन् । 

तन्त्रको मूल ग्रन्थ वा वाङ्मय के हो ?
तन्त्रमा शैव (शिवको उपासना), शाक्त (शक्ति देवीको उपासना गर्ने), वैष्णव (विष्णुलाई शक्तिको देवता मानेर उपासना गर्ने), गाणपत्य (गणेशको उपासना गर्ने), सौर (सूर्यलाई उपासना गर्ने), बौद्ध (बौद्ध मार्गका देवीदेवताहरूको उपासना गर्ने), जैन लगायत छन् । किरात समुदायमा कतिपय नलेखिएका तर परम्परागत रूपमा एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गर्दै आएका उपचारका पद्धति अर्थात् धामी–झाँक्रीका पद्धतिहरू छन्, जुन तन्त्रमा पर्छन् । 

जनै जुन अभिमन्त्रित हो, के यो पनि तन्त्रकै उपज हो ? 
जनै धारण गर्ने प्रक्रियाचाहिँ वैदिक संस्कार अनुकूल देखिन्छ, तर विधिका रूपमा हेर्दा यो तन्त्रसँग जोडिएको छ । किनभने तन्त्रमा मन्त्रको प्रयोग छ । आखिर वेदमा पनि मन्त्रको प्रयोग छ । खालि मन्त्रको स्वरूपमा फरक छ । 

तन्त्रका मन्त्रका स्वरूपहरू बीजात्मक हुन्छन्, सूत्रात्मक हुन्छन् अर्थात् छोटा मन्त्र हुन्छन्; जसरी एउटा बीजमा पूरै रुख अटाएको हुन्छ, त्यसरी नै मन्त्र सानो हुन्छ तन्त्रमा । मन्त्रसँगै मन्त्र साधनाको विधि पनि छन् । विधि आ–आफ्नै छन् । 

देवता विशेषका लागि निश्चित खालको एउटा बीज मन्त्र हुन्छ । जुन देवतालाई हामीले जुन मन्त्रको प्रयोग गरिरहेका छौँ, त्यसमा त्यही देवताको नाम कहीँ न कहीँ आउँछ तर वेदमा यस्तो कमै छ । 

हामीले सुन्दै आएको गायत्री मन्त्र (ओम् भूर्भुवस्व) तान्त्रिक मन्त्र होइन ? 
योचाहिँ सूर्यदेवको शक्तिको उपासना हो । उपासनाको विकासका क्रममा वैदिक र तान्त्रिक गरी दुईवटा गायत्री मन्त्र छन् । अहिले प्रचलनमा रहेको वैदिक गायत्री हो । तान्त्रिक गायत्री किताबहरूमा पाइन्छन् । 

तन्त्र, मन्त्र र यन्त्र भनेका के हुन् ? 
तन्त्र, मन्त्र र यन्त्र भनेका त्रिकोणका तीन कोणजस्तै हुन् । हरेक कुरामा यी तीनवटाको संयोग छ । जस्तो: यो हाम्रो भौतिक शरीर यन्त्र (मेसिन) हो । यो यन्त्र आफ्नै ढंगले चलिरहेको छ, यसलाई चलाउन एउटा पद्धतिले काम गरेको छ, त्यो तन्त्र भयो । जस्तो : श्वास–प्रश्वास पद्धति चलिरहेको छ । रक्त सञ्चारको तन्त्र चलिरहेको छ । पाचन क्रियालाई त पाचनतन्त्र नै भनिन्छ । अर्को प्रजनन तन्त्र पनि छ । 

अब शरीरका यी तन्त्रलाई कसले चलाइरहेको छ त ? यो बडो रहस्यमय छ । हाम्रा ऋषिहरूले यो तन्त्रलाई एउटा चेतना शक्तिले चलाइरहेको छ भने, त्यही चेतना शक्तिलाई मन्त्र भनिन्छ । 

यस्तै, हामी अहिले वाल्मीकि क्याम्पसभित्र छौँ । यो भवन यन्त्र भयो, यहाँ पठनपाठन हुन एउटा पद्धतिले काम गरेको छ, त्यो तन्त्र भयो । यो क्याम्पस जुन लक्ष्य, उद्देश्य वा आदर्शका साथ सञ्चालन भइरहेको छ, त्यो मन्त्र भयो । यो ब्रह्माण्डलाई पनि त्यही रूपले परिभाषित गरियो । यो सारा ब्रह्माण्ड यन्त्र भयो, यो एउटा पद्धतिमा चलिरहेको छ, त्यो तन्त्र भयो । यसलाई कुनै चैतन्य शक्तिले चलाएको छ भन्ने कल्पना गरेर त्यो चैतन्य शक्तिलाई मन्त्र भनियो । 

तन्त्रमा खासगरी कुनै देवीदेवताको कथा स्थापित गरेर, तिनै देवीदेवताको नाममा मन्त्र बनाएर विधिपूर्वक जपिन्छ । के हामीले अब कुनै नयाँ देवीदेवताको कथा र मन्त्र बनाएर साधना र सिद्धि गर्न सक्छौँ ? 
यो सैद्धान्तिक रूपमा सम्भव देखिन्छ । चेतना शक्तिलाई शास्त्रले एक पनि मानेको छ, अनेक पनि मानेको छ । किनभने हरेक कुरामा शक्ति छ, शक्तिरहित कुनै पनि चिज छैन । यसो हुँदा कुनै एउटा चिजलाई शक्तिको रूप मानेर त्यसलाई भावनाद्वारा मन्त्र बनाएर त्यसबाट पनि उपासना गरेर लक्ष्य प्राप्त गर्न सकिन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप