एसीसी प्रिमियर कप क्रिकेट : साउदी अरेबियाले हङ्कङलाई ५५ रनले हरायो
काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेटको आइतबार खेलिएको खेलमा साउदी अरेबियाले हङ्कङलाई ५५ रनको फराकिलो अन्तरले हराएको छ । हारसँगै हङ्कङले अंक तालिकाको पहिलो स्थानमा उक्लने अवसर पनि गुमाएको छ ।
दुई खेल खेलेको हङ्कङ एक जित र एक हारको नतिजाबाट दुई अंक बटुल्दै समूह ‘ए’ तालिकाको चाैथाे स्थानमा झरेको छ । आफ्नो दुबै खेलमा विजयी भएको नेपाल भने चार अंकसहित तालिकाको पहिलो स्थानमा रहेको छ ।
टस जिती पहिले ब्याटिङको निर्णय लिएको साउदी अरेबियाले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो । साउदी अरेबियाका लागि ओपनर ब्याट्सम्यान अब्दुल वाहिदले ७७ रनको योगदान गरे । उनले केवल ५१ बलमा एक छक्का र १० चौका पनि प्रहार गरे ।
साउदी अरेबियाका लागि मनन अलीले पनि ४४ रन बनाए । उनले १८ बलमा चार छक्का र दुई चौका हिर्काएका थिए । फैसल खानले पनि टोलीको खातामा ३० रन थपे । कप्तान हिसाम शेखले पनि २२ रन बनाएका थिए । हङ्कङका बलर एहसान खानले तीन र ईजाज खानले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ४७ रनमात्र बनाउन सक्यो । हङ्कङका लागि कप्तान निजाकत खानले ७३ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
टोलीका अन्य ब्याट्सम्यानले उनलाई गतिलो साथ दिन सकेनन् । निजाकत खानले ५१ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काएका थिए । टोलीका ओपनर ब्याट्सम्यान अंशी रथले पनि २९ रन बनाएका थिए ।
जिसन अली १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । साउदी अरेबियाका बलर जाइन उल अबिदिन र उसमान नजिबले तीन-तीन तथा हिसाम शेखले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो ६ महिनामा गौर भन्सारद्वारा लक्ष्यको ८५ प्रतिशत राजस्व सङ्कलन
-
बुण्डेस लिगामा बायर्न म्युनिखलाई थप सफलता
-
ग्वार्डिवलाको म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो
-
केवलकारको विषयलाई लिएर पाथीभरामा प्रहरी र आन्दोलनकारीबीच झडप, चार घाइते
-
ला लिगामा एटलेटिकोलाई फेरि धक्का
-
लिभरपुल र आर्सनललाई थप अग्रता, नटिङघमको पोष्टमा बर्नमथको गोल वर्षा