बुधबार, ०५ असार २०८१
ताजा लोकप्रिय

बर्खा अघिनै भूकम्प पीडितहरूलाई स्थायी आवासको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

सोमबार, ०३ वैशाख २०८१, १७ : २६
सोमबार, ०३ वैशाख २०८१

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले जाजरकोटलगायतका भूकम्प पीडितलाई बर्सात अघि नै स्थायी आवासको व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । सोमवार सिंहदरबारमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २१ औँ बैठकमा बोल्दै उनले सो निर्देशन दिएका हुन् । 

त्यसैगरी उपप्रधानमन्त्री लामिछानेले भूकम्प पीडितको अधिकार सङ्कुचन नहुने गरी सहकार्यका साथ काम गर्न सम्बन्धित मन्त्रालयलाई पनि आग्रह गरे । अन्तर मन्त्रालयले पनि पीडितको स्थायी आवास निर्माणको कामलाई छिटो छरितो ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सहकार्य गर्न उपप्रधानमन्त्री लामिछानेको अपिल थियो ।

प्रक्रियागत अलमलहरू र कानुनी जटिलताहरूको मारमा पीडितहरू पर्न नहुने कुरामा पनि हेक्का राखेर काम गर्न उनले सम्बन्धित पक्षलाई सचेत गराए । उपप्रधानमन्त्री लामिछानेले सरकारले भूकम्प पीडितहरूको घरभित्र बस्न पाउने अधिकार हनन नहोस् भन्ने कुरामा सरकार गम्भीर भएर लागि परेको पनि बताए ।

उपप्रधानमन्त्री लामिछानेले पीडितलाई राहत हुने कुरामा हुने ढिलाइको विषय सबैभन्दा बढी गुनासोको रूपमा आउने गरेको उल्लेख गर्दै त्यस्तो अवस्था आउन नदिन पनि सम्बन्धित पक्षले विशेष ख्याल राख्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप