बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय

निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने

आइतबार, ०९ वैशाख २०८१, २० : ५९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को न्यारो बडी जहाज इजरायलमा मर्मतपछि सोमबार काठमाडौँ आइपुग्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले निगमको न्यारो बडी जहाज मर्मतपछि सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने जानकारी दिए ।

मन्त्रालयमा आज आयोजित पत्रकारसँगको अन्तरक्रियामा मन्त्री तामाङले सो जानकारी दिनुहुँदै लामो समयदेखि इजरायलमा मर्मतमा रहेको जहाज काठमाडौँ आउन लागेको बताए । आफू मन्त्रीको जिम्मेवारीमा आएदेखि नै जहाज चाँडो मर्मत गरेर ल्याउन ताकेता गरेको भए पनि प्राविधिक कारण ढिलो गरी भए पनि जहाज आउन लागेको बताए ।

जहाज ग्राउन्डेड भएको झन्डै तीन महिनापछि निगमले उक्त जहाज इन्जिन मर्मतका लागि इजरायल पठाइएको थियो । इजरायलमा करिब पाँच महिनाको मर्मतपछि जहाज काठमाडौँ फर्किन लागेको हो ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीका अनुसार इजरायलमा मर्मत भएको न्यारो बडी जहाज भोलि राति काठमाडौँ आइपुग्नेछ । जहाज चाँडो मर्मतका लागि पहल गर्दा पनि प्राविधिक कारण विलम्ब भएको उनले जिकिर गरे ।

नाइन–एकेएक्स जहाजको इन्जिन मर्मतका लागि एमआरओ कम्पनी इजरायल एरोस्पेस इन्डस्ष्ट्रिजसँग लिजसहितको इन्जिन मर्मत सम्झौता भएअनुसार जहाज मर्मत गरिएको हो । जहाज मर्मतका लागि चार साइकल राखेर जहाज ग्राउन्डेड गरिएको थियो ।

इयूको उडान प्रतिबन्ध हटाउन पहल
पर्यटनमन्त्री तामाङले युरोपेली सङ्घ (इयू) ले नेपालको हवाई उडानमाथि लगाएको उडान प्रतिबन्ध हटाउन मन्त्रालयले योजनाबद्ध काम अगाडि बढाएको जानकारी दिए ।

उनले भने, “नेपालका जहाज युरोपका आकाशमा सिधै उडान गर्नेगरी कार्ययोजना बनाउनुपर्छ भन्ने हिसाबले मैले पद बहालीका क्रममा बोलेको थिए । त्यो कुरामा म अहिले पनि अडिग छु । सम्बन्धित संस्था, विज्ञ र निजी क्षेत्रसँग छलफल र परामर्श गरिरहेका छौँ, नेपालका जहाज संसारको आकाशमा निर्बाध रुपमा उड्न पाउनुपर्छ ।”

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव डा.दीपक काफ्लेले मन्त्रालयल र मातहत निकायबाट गरिनुपर्ने काम नियमित भइरहेको बताए । नेपाल पर्यटन बोर्डका अध्यक्ष समेत रहेका सचिव डा.काफ्लेले बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति निष्पक्ष र पारदर्शी हुने बताएका छन् । उनले सिइओ छनोटट समिति आफैँमा स्वतन्त्र भएकाले नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष ढङ्गले हुने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप