सोमबार, १० असार २०८१
ताजा लोकप्रिय

बृहत् विद्यार्थी महोत्सव किन ?

सोमबार, ३१ वैशाख २०८१, १९ : २३
सोमबार, ३१ वैशाख २०८१

विद्यार्थी आन्दोलनको सबैभन्दा ठुलो सङ्गठन अनेरास्ववियुले आफ्नो स्थापना दिवसका अवसरमा बृहत् विद्यार्थी महोत्सव आयोजना गर्दै छ । भृकुटीमण्डपमा भोलिदेखि आयोजना हुने तीनदिने (जेठ १–३) महोत्सवले शैक्षिक, व्यावसायिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रचनात्मक प्रभाव पार्न सक्ने विश्वास सङ्गठनले लिएको छ ।

हामी यतिबेला इतिहासकै यस्तो मोडमा छौँ, रोजगारी वा अवसर खोज्दै दैनिक सरदर दुई हजार युवाले देश छाडेको अवस्था छ । केही वर्षयता नेपाली युवामा उल्लेखीय रूपमा स्वदेशी उद्यमशीलता र रोजगार छाडेर विदेश पलायन हुने सोच बढिरहेको पाइन्छ । भारतबाहेकको देशमा ५० लाखभन्दा बढी जनशक्ति अध्ययन वा रोजगारीका लगि औपचारिक वा अनौपचारिक रुपमा बिदेसिएको अनुमान गरिन्छ ।

केन्द्रीय तथ्याङ्कले देखाएको विवरण अनुसार नेपालमा मास्टर्स डिग्री गर्ने २.२ प्रतिशत, स्नातक गर्ने ४.६ प्रतिशत र प्लस टु गर्ने १२.७ प्रतिशत रहेका छन् । लगभग २० प्रतिशत हाराहारीको यही शिक्षित वर्गले बेरोजगारी, ब्रेन ड्रेन र पलायनको मार खेपिरहेको छ । 

युवा पलायन र प्रतिभा पलायन (ब्रेन ड्रेन) बढिरहनुले यति बेला मुलुकको विभिन्न क्षेत्रमा असर परिरहेको छ ।  युवा अभावका कारण शैक्षिक संस्थामा विद्यार्थी कम छन्, व्यावसायिक क्षेत्र धराशायी छ, सामाजिक तथा सांस्कृतिक जीवनमा पनि संकटहरू देखिन थालेका छन् ।  

यो अवस्थामा सबैभन्दा बढी चिन्ता र चिन्तन विद्यार्थी संगठनहरूले नै गर्नुपर्नेछ । यही चिन्ता र चिन्तनले नै अनेरास्ववियुलाई यो महोत्सव गर्न झकझकाएको हो । 

सरकारको नीति, बजारीकरणको समस्या र व्यावसायिक झन्झटका विषयमा बारम्बार प्रश्न उठिइरहेकै छन् । यस्तो अवस्थामा सबै सरोकारवालाले एउटै साझा मञ्चमा छलफल गरी समाधान निकाल्न आवश्यक छ । 
श्रम शक्तिलाई देशमै रोजगारी वा स्वरोजगारी दिई राष्ट्रिय उत्पादन बढाउनु र विश्व बजारमा पु¥याउनु आजको आवश्यकता हो । यस्तै, विदेशबाट सिकेर आएको सीपलाई देशमै प्रयोग गर्नेतर्फ पनि राज्यले ध्यान दिन आवश्यक छ । अर्कोतिर ज्ञान, विज्ञान र प्रविधिका क्षेत्रमा विदेशमा योगदान गरिरहेको जनशक्तिलाई पनि देशमा झिकाउनुपर्नेछ, त्यसका लागि आकर्षक कार्यक्रम राज्यसँग हुनुपर्छ । यिनै विषयमा महोत्सवले छलफल चलाउनेछ । स्वदेशमा सिर्जना र उद्यमशीलताको मूल सुक्दै जानु र भएकालाई पनि जोगाउन नसकिरहेको वर्तमान यथार्थबिच यस्ता किसिमका बहस उपलब्धिमूलक हुन जानेछ ।

अनेरास्ववियु विगतमा पनि यस्ता मुद्दाप्रति जागरुक रहँदै आएको छ । अनेरास्ववियुले आयोजना गरेको विद्यार्थी महोत्सव आफैँमा सम्पूर्ण सरोकारवालाको साझा मञ्च हो । यो महोत्सव बहुउद्देशीय र बहुआयामिक कार्यक्रम हो ।

कार्यक्रम
विद्यार्थी महोत्सवले आफ्नो प्रस्तावनाका अग्रभागमा लेखेको छ— यस महोत्सवको उद्देश्य विद्यार्थीलाई अन्तर्विषय सिकाइको सुविधा प्रदान गर्नु र विद्यार्थीको प्रतिभा र रचनात्मकताको प्रदर्शन गराउँदै उद्यमशीलता र नवीनतालाई बढावा दिनु हो ।

कतिपय विज्ञ तथा जानकार भन्ने गर्छन्— नेपालको शिक्षा र व्यावसायिकता विपरीत बाटोतिर हिँडिरहेको जस्तो देखिन्छ । 

हुन पनि हाम्रो शिक्षा त्यति व्यावहारिक छैन । विद्यालय शिक्षा, स्नातक वा स्तातकोत्तरको प्रमाणपत्र लिएर निस्कँदा कुनै पनि जागिर खान वा पेसा गर्न सहज हुँदैन; त्यसका लागि छुट्टै पढ्नुपर्ने वा तालिम लिनुपर्ने हुन्छ । त्यसैले शिक्षासँगै व्यावसायिक कौशलताको बहस र विषयलाई महोत्सवले अर्को उद्देश्यका रूपमा स्थान दिएको छ ।

यो विद्यार्थी महोत्सव अन्य शैक्षिक महोत्सवभन्दा फरक र धेरै नै प्रभावकारी कार्यक्रम हो । यस्ता किसिमका विद्यार्थी महोत्सवको अन्तर्राष्ट्रिय अभ्यासले विद्यार्थी वर्ग, औद्योगिक विज्ञ, वैचारिक नेता तथा शिक्षाविद्लाई एक साथ एउटै साझा मञ्चहरूमा उभिने मौका प्रदान गर्दै आएको छ । अनेरास्ववियुले आयोजना गरेको महोत्सवले पनि यस्तै किसिमको अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याएको छ ।

यस महोत्सव रोजगार, वृत्तिविकास र उद्यमशीलतालाई जोड्ने कडीजस्तै हुनेछ । महोत्सवका कार्यक्रममा विद्यार्थीले बनाएका परियोजनाहरूको प्रदर्शनलाई समावेश गरिनेछ । इन्जिनियरिङका तथा अन्य विद्यार्थीले बनाएका लाइभ प्रोजेक्ट महोत्सवका मुख्य आकर्षण हुनेछन् । करिअरसम्बन्धी परामर्श, वादविवाद, ई–गेमिङ तथा विभिन्न प्रतियोगिता एउटै छानामुनि विभिन्न स्टलमा देख्न सकिन्छ । 

यस्तै, पर्यटनसम्बन्धी जानकारी, लाइभ पेन्टिङ तथा लाइभ म्युजिकको मजा लिन पनि सकिनेछ । विभिन्न सांस्कृतिक प्रदर्शनी यस महोत्सवको अन्य आकर्षण हुन् ।

यस महोत्सव रोजगार, वृत्तिविकास र उद्यमशीलतालाई जोड्ने कडीजस्तै हुनेछ । महोत्सवका कार्यक्रममा विद्यार्थीले बनाएका परियोजनाहरूको प्रदर्शनलाई समावेश गरिनेछ । इन्जिनियरिङका तथा अन्य विद्यार्थीले बनाएका लाइभ प्रोजेक्ट महोत्सवका मुख्य आकर्षण हुनेछन् ।

 
कृषि, पर्यटन र प्राविधिक क्षेत्रमा हामीकहाँ प्रचुर सम्भावना छन् । सरकारको नीति तथा कार्यक्रम र शैक्षिक संरचनाले यस्ता सम्भावनालाई अपनाउन सकेका छैनन् । शिक्षाको संरचनागत सुधार र व्यावहारिक शिक्षामा ध्यान पु¥याउन विद्यार्थी महोत्सवको माग हो । 

नेपालका क्याम्पस र विश्वविद्यालयमा विद्यार्थी भर्नामा आइरहेको ह्रासलाई रोक्न छिटोभन्दा छिटो पहलकदमी लिन सके र विद्यार्थीलाई सम्भावित स्वदेशी बजारसँग जोड्न सके स्वदेशमा पनि सम्भावना छ भन्ने भावना विकसित हुन मद्दत गर्छ । 

सकारात्मक विचारहरूको यथोचित प्रवाहले नैराश्यताको कालो बादल फाटेर सम्भावनाहरूको खोजीमा युवाहरू लाग्नेछन् । राज्य युवाहरूका लागि सहायक र मार्गदर्शक बन्नुपर्छ । अनेरास्ववियुले महोत्सवमा यी विषयलाई गम्भीर ढङ्गले उठान गर्नेछ ।

सामाजिक तथा सांस्कृतिक पक्षलाई पनि यस महोत्सवमा समावेश गरिएको छ । जस्तै ः सामाजिक मुद्दामा सचेतना जगाउनु, वातावरणीय जिम्मेवारीप्रति प्रोत्साहन गर्नु, विद्यार्थी नेतृत्वलाई सशक्त पार्नु, सांस्कृतिक विविधताको उत्सव मनाउनु र स्थानीय प्रतिभाहरूको प्रवद्र्धन गर्नु । साथै यस महोत्सवमा सहभागी हुने विद्यार्थीले करिअरसम्बन्धी परामर्श लिन सक्नेछन् । 

नेपालको शैक्षिक क्षेत्र र विद्यार्थी आन्दोलनसँग जोडिएर आउने यस्तो बृहत् विद्यार्थी महोत्सव इतिहासमै सबैभन्दा ठुलो हो । अन्य शैक्षिक महोत्सवभन्दा यो बृहत् र बहुआयामिक महोत्सव हो भन्ने कुरामा कुनै सन्देह छैन । विद्यार्थी सङ्गठन र आम विद्यार्थीले आफ्नै स्तरबाट यति बहुमुखी महोत्सव आयोजना गर्नु गर्विलो कुरा हो ।

युवाहरू र उनीहरूको प्रतिभालाई पहिचान गर्दै उत्प्रेरणा र सशक्तीकरणमा टेवा पु¥याउने लक्ष्य महोत्सवले राखेको छ । यसमा समाविष्ट कार्यक्रम हेर्दा यसले लिएको निश्चित लक्ष्य हासिल गर्नेमा कुनै शङ्का छैन । महोत्सव आयोजनाको समापनपश्चात् पनि प्राप्त उपलब्धिका विषयमा समीक्षा गर्ने नै छ । दिगो विकास र नेटवर्किङमा अवसर प्रदान गर्नु यसका अन्य सकारात्मक प्रभावमा पर्छन् । 

अनेरास्ववियुले स्थापनाकालदेखि रचनात्मक भूमिका खेल्दै आएको सर्वविदितै छ, यद्यपि पछिल्लो समय हामीकहाँ विद्यार्थी राजनीति र विद्यार्थी आन्दोलनप्रति नकारात्मक धारणा बढेका पनि छन् । कतिपयले विद्यार्थी राजनीतिको औचित्यमाथि नै प्रश्न उठाइरहेका छन् । 

तसर्थ आफ्नो औचित्य साबित गर्ने वा प्रभावकारी विद्यार्थी आन्दोलनलाई टेवा पु¥याउने खालका कार्यक्रम तथा बहसहरूको आयोजना गर्नुपर्ने जिम्मेवारी र दायित्व संगठनमाथि आइलागेको हो । 

विद्यार्थी अधिकार र विद्यार्थी आन्दोलनसँग जोडिएका वास्तविक शक्तिले गुणात्मक र व्यावहारिक शिक्षाको सदैव वकालत गर्दै आएका छन् ।  सङ्गठनले बारम्बार उठान गरिरहेको समाजवाद लक्षित शिक्षा, उद्यमशीलता विकास, नवीन प्रविधिको प्रयोग र व्यावहारिक शिक्षा यस महोत्सवको केन्द्रबिन्दु हो । यसकारण महोत्सवको सफलताले विद्यार्थी आन्दोलनलाई एउटा नयाँ दिशा दिनेछ । 

यस महोत्सवको समापनपश्चात् पनि अनेरास्ववियुले नेपाली विद्यार्थी राजनीतिको दिशा, कर्तव्य र कार्यनीतिलाई स्पष्ट ढङ्गले बहसमा ल्याउँदै अन्य कार्यक्रम अगाडि बढाउँदै लानेछ । समग्रमा अनेरास्ववियुद्वारा आयोजित विद्यार्थी महोत्सवले प्रभावकारी शैक्षिक र व्यावसायिक आन्दोलनको उठान र सामाजिक तथा सांस्कृतिक मुद्दामा बलियो र जबर्जस्त प्रभाव छाड्नेछ भन्ने हाम्रो विश्वास हो । 
(खनाल अनेरास्ववियुको केन्द्रीय सदस्य हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रवेशिका खनाल
प्रवेशिका खनाल
लेखकबाट थप